बिहिबार, असोज १५, २०७७

धुम्बराहीमा जनयुद्ध दिवश– जनयुद्धको एमालेकरण कि बिसर्जन?

रासस

काठमाडौं, फागुन १ : २०५२ फागुन १ अर्थात तत्कालिन नेकपा माओवादीले राज्य व्यवस्था विरुद्ध शशस्त्र द्वन्द्व सुरु गरेको दिन। १० बर्षे युद्ध सुरु भएको २४ बर्ष बितेको छ। यो बीचमा मुलुकले ठूलै परिवर्तन व्यहोर्यो। युद्धमा १७ हजारले ज्यान गुमाए। मुलुक राजतन्त्रबाट संघिय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भयो।

संविधानसभा मार्फत संविधान जारी भयो। युद्धको नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीको अस्वित्व नै समाप्त भइसक्यो। तत्कालिन एमालेसँग माओवादी केन्द्र मिलेपछि दलको नाम नेकपा भइसक्यो।  अब माओवादी पार्टी उबेलाकोमा सिमित भयो।
 
युद्ध गर्नेहरु नै विभिन्न झुण्डमा विभक्त भए। र, फागुन १ को सम्झनामा जनयुद्ध दिवस होइन, श्रद्धान्जलीसभाको आयोजना गर्न थालियो। तथापी तत्कालिन माओवादीबाट फुटेका अन्य समुहले ‘जनयुद्ध’ दिवसकैरुपमा फागुन १ को सम्झना गरे होला। तर, नेतृत्वकर्ताले नै आज जनयुद्ध को श्राद्ध गरिदिए– तत्कालिन एमाले मुख्यालयमा । 
विहिबार नेकपा मुख्यालयमा फागुन १ को सम्झनामा श्रद्धान्जली सभा आयोजना गरि ‘जनयुद्ध’ दिवसको विधिवत अन्त्य गरिएको छ। त्यो पनि जनयुद्धका नाइके प्रचण्डकै प्रमुख आथित्यतामा । हुनत मुलुकमा एक दशक चलेको गृहयुद्धलाई दुई शब्दावलीको माध्यबाट सम्बोधन हुँदै आएको थियो। युद्ध गर्नेहरुले ‘जनयुद्ध’ भन्थे भने अरुले ‘शशस्त्र द्वन्द्व’। 

एमाले र माओवादीबीचको एकता हुँदा समेत विवाद थियो, जनयुद्ध स्विकार गर्ने की नगर्ने ? तर, अब भने यो बहस औपचारिकरुपमा सुल्झिएको छ। कारण के भने पूर्वमाओवादीले नै ‘जनयुद्ध’ शब्दावलीको ‘श्राद्ध’ गरेका छन्।   

चर्चा थियो, विहिबार धुम्बराहीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली सहभागि हुनेछन्। उनले ठट्टा मिश्रित मन्तव्य राख्नेछन्, सँगै जनयुद्धको बखानमा २÷४ शब्द खर्चनेछन्। 

अझ पूर्वमाओवादीलाई त ओलीले जनयुद्ध त्यो समयको आवश्यकता थियो भन्देलान भन्ने आशा हुनपर्छ। तर, ओली त के पूर्व एमालेका शिर्ष नेता नै कार्यक्रममा सहभागि भएनन्। 

पूर्वएमालेका शिर्ष नेतालाई लागेको हुनुपर्छ, ‘जनयुद्ध दिवस’ लेखिएको व्यानर टाँगिएको कार्यक्रममा गएर के बोल्ने?, पूर्व एमालेले जनयुद्ध औपचारिकरुपमा स्विकार गरे भन्ने प्रचार होला भन्ने डर लागेको हुनपर्छ। र त पार्टी मुख्यालयमै आयोजना गरिएको कार्यक्रममा उनीहरुले नाकमुख देखाउन आवश्यक ठोनेनन्। 

‘जनयुद्ध दिवस’लाई किन ‘श्रद्धान्जली सभा’ भनियो त? सबैका आ–आफ्नै तर्क हुनसक्छन्। कसैले भन्लान नेतृत्वले जनयुद्ध र त्यसका एजेण्डा, सपनालाई तिलान्जली दिए। कसैले भन्लान, आखिर शहिदलाई सम्झिने न हो, जुन व्यानरमा सम्झिएपनि हुन्छ। 

गणतन्त्रका माध्यमबाट समाजवाद ल्याउने बर्गिय विभेद अन्त्यको सपना देखेर सुरु भएको युद्ध र त्यस मार्फत प्राप्त उपलब्धीको जगमा टेकेर नेताहरु मोटाए। युद्धमा ज्यान गुमाउनेले केवल ‘शहिद’का नाममा श्रद्धान्जली पाए। घाइतेहरु चोटकै पिडामा छन्, आफन्त गुमाएकाहरुका आँखा चिसै छन् । वेपत्ताहरुको अत्तोपत्तो छैन। जनताको जीवनमा तात्विक फरक छैन। शान्तिप्रक्रिया पुरा भएकै छैन। 

जनयुद्ध दिवसलाई श्रद्धान्जली दिवसकारुपमा परिणत भएको कार्यक्रममा प्रचण्डले कुनै संकोच मानेनन्, अझ हर्ष नै माने। उनले संसारका अन्य मुलुकमा शान्ति प्रक्रिया पूरा हुन नसकेको बताए। ‘विश्वका अन्य मुलुकमा शान्ति प्रक्रिाय पूरा हुन सकेन। विद्रोहीका प्रमुख नेता नै मारिएका छन्। हामी शौभाग्यशाली भयौं,’ प्रचण्डले भने, ‘नेपालमा सशस्त्र विद्रोहलाई शान्तिपूर्ण राजनीतिको मुल बाटोमा ल्याउन सफल भयौं।’

जनयुद्धको श्राद्ध की एमालेकरण ?

फागुन १ को सन्दर्भ पारेर धुम्बराहीमा जुन व्यानर प्रयोग गरेर कार्यक्रम आयोजना गरियो, त्यस माथि टिकाटिप्पणी हुन थालेको छ। कसैले यसलाई जनयुद्धको ‘श्राद्ध’ भनेका छन् त, कसैले ‘एमालेकरण’। 

शब्दावली परिवर्तन गर्नुको कारण के रहेछ? भन्ने जिज्ञाशामा पूर्वमाओवादीका तर्फबाट नेकपा केन्द्रीय सदस्य रहेका हेमराज भण्डारीले जनयुद्ध र जनआन्दोलनमा शहिद भएकाहरुलाई सम्झनका लागि श्रद्धान्जलीसभा आयोजना गरिएको बताए। ‘जनयुद्ध र जनआन्दोलनमा शहिद भएकाहरुलाई सम्झने कार्यक्रम भएकाले श्रद्धान्जलीसभा राखिएको होला । दुवैपक्षलाई अपनत्व हुनेगरी यो शब्दावली प्रयोग भएको हुन सक्छ,’ उनी भन्छन्, ‘पूर्वएमालेहरुलाई जनयुद्ध दिवस भन्न अप्ठ्यारो महसुस भएको हुनसक्छ । तर, तल्लो तहमा भने जनयुद्ध दिवस नै भनेर कार्यक्रम भएका छन्।’ 

पूर्वमाओवादीका अर्का नेता लेखनाथ न्यौपाने भने श्रद्धान्जलीसभा भनेर जनयुद्धलाई एमालेकरण गरिएको बताउँछन्। सबै शहिदलाई सम्झिने भनेर कार्यक्रम आयोजना गरिएपनि रूप र सार नमिलेको उनको तर्क छ। ‘यो जनुयद्धको एमालेकरण हो। फागुन १ मा कार्यक्रम गरेपछि जनयुद्ध दिवस नै भनेको भए के विग्रन्थ्यो र?’ उनी भन्छन्, ‘श्रद्धान्जलीसभा भनेर कार्यक्रम गरियो, तर यसको रुप र सार नै मिलेन।’

जनयुद्धको जगमा टेकेर राजतन्त्रको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान र संघियता लगायतका महत्वपूर्ण राजनीतिक एजेन्डा स्थापित भएको भएपनि जनयुद्धले परिकल्पना गरेअनुसार जनताको स्तर भने उक्सन नसकेको आचार्यको बुझाइ छ। ‘राजनीतिक एजेन्डा पुरा भए। तर, जनतालाई ठ्याक्कै अनूभूती हुने खालका काम भने हुन सकेनन । यो नै विडम्वना हो,’ उनी भन्छन् । 

बामपन्थी विश्लेषक श्याम श्रेष्ठको बुझाइ भने अलि फरक छ। उनले जनयुद्ध दिवस नभएर श्रद्धान्जलीसभाका नाममा फागुन १ को सम्झना गरिएको प्रति तिखो टिप्पणी गरे। उनको बुझाइमा पूर्वमाओवादीहरुले जनयुद्धको श्राद्ध नै गरेका हुन्। ‘यीनहरु जनयुद्धको श्राद्ध नै गर्न लागे। सबै एजेण्डा आगोमा हालिसकेका छन्। अब जे सभा गरेपनि के फरक पर्छ र?,’ उनी भन्छन्, ‘१७ हजारको ज्यान गयो। राजनीतिक परिवर्तन त भयो नै । तर, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुन सकेन ।’

भ्रष्टाचार, विकृति, विसंगती उस्तै रहेको भन्दै पूर्वमाओवादीले आफ्ना एजेण्डा पोलेर खाएको उनको तर्क छ। ‘अहिले प्रचण्ड आफैंले श्रद्धान्जलीसभा आयोजना गर्नुले उनै हालत कस्तो छ भनेर सहजै अनुमान गर्न सकिन्छ।’ 

 Published Date: Thursday, 13th February 2020 10:37:25 am