मंगलबार, असोज १३, २०७७

पालना भएनन् जनस्वास्थ्यका मापदण्ड, परिस्थिति भयावह हुनसक्ने चेतावनी 

काठमाडौं, साउन २५ : कोरोना भाइरस रोकथामका लागि सरकारले तयार पारेको जनस्वास्थ्य मापदण्ड प्रभावकारी रुपमा पालना नभएको पाइएको छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अवलोकन विधिमार्फत गरेको अनुसन्धानले मापदण्डको पालना नभएको देखाएको हो।  सामाजिक दूरी, मास्कको प्रयोग, स्यानिटाइजर र सार्वजनिक स्थलमा साबुनपानीले हात धुने व्यवस्था नभएको  परिषद्को प्रतिवेदनमा उल्लेख छ। 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‍का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जिम्मेवार निकायले मापदण्डलाई कडाइका साथ पालना नगराए कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने बताए। 

'जिम्मेवार निकायहरुले मापदण्डलाई कडाइका साथ पालना गराउन ध्यान दिनुपर्नेछ। लापरबाहीलाई नियन्त्रण नगरे परिस्थिति भयावह हुन सक्छ,' उनले भने। 

यस्तो छ डा. ज्ञवालीले प्रस्तुत गरेको प्रतिवेदन :

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‍बाट ६ जना विज्ञ टोलीको निगरानीमा ३९ जना दक्ष जनशक्ति सर्वेक्षणका लागि खटिएका थिए। टोलीले काठमाडौं उपत्यकाभित्रका २३ वटा सार्वजनिक स्थलको अवलोकन गरेको थियो।

तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, मालपोत कार्यालय, मठ मन्दिर, सार्वजनिक यातायात र होटलमा अवलोकन गरी तथ्याङ्क संकलन गरिएको हो। व्यक्तिगत तहमा व्यक्तिहरुले मास्क लगाए-नलगाएको, मास्क लगाउने तरिकाबारे अवलोकन गरिएको थियो।

व्यक्तिगत तहमा ४५ सय २ जनामा अवलोकन गर्दा मास्क लगाउनेको संख्या ७२.१ प्रतिशत रहेको थियो भने नलगाउनेको संख्या २७.१ प्रतिशत थियो। मास्क लगाउने मध्येमा कपडाको मास्क लगाउनेको संख्या १५.१ प्रतिशत थियो। 

त्यसैगरी, सार्वजनिक स्थलमा जम्मा २७ सय ३ मध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२.३३ प्रतिशत रहेको थियो। मास्कलाई चिउडोमा झुड्याउने, मास्क हातमा झुड्याउने र सही तरिकाले प्रयोग नगर्नेको संख्या २७.३४ प्रतिशत थियो। संस्थागत तहमा अवलोकन गर्दा सार्वजनिक दूरीको पालना ३१.२ प्रतिशत क्षेत्रमा भएको पाइयो। साबुन पानी र सेनिटाइजरको व्यवस्था भने ६० प्रतिशत स्थानमा मात्र  उपलब्ध थियो। 

निजी र सरकारी अस्पतालमा अवलोकन गर्दा सामाजिक दूरीका लागि ओपीडी, फार्मेसी र टिकट काउन्टर अगाडि मार्किङ कायम भएको थियो। तर, कुनै पनि अस्पतालको चमेना गृहमा भने सामाजिक दूरीको चिन्ह थिएन। २० प्रतिशत अस्पतालमा मात्र सामाजिक दूरीको पालना भएको पाइएको थियो। ३० वटा सार्वजनिक यातायातमा अवलोकन गर्दा ५० प्रतिशतभन्दा कम यातायातमा मात्र एउटा सिटमा १ जना बस्ने व्यवस्था मिलाइएको थियो भने स्यानिटाइजरको पनि व्यवस्था भएको थियो। 

नेपाल सरकारले कोभिड-१९ विरुद्ध जारी गरेको सामाजिक दूरीको व्यवस्था, मास्कको प्रयोग, स्यानिटाइज र साबुन पानीले हात धुने व्यवस्था अन्तर्गत मापदण्डको प्रयोग जनमानसमा प्रभावकारी ढंगबाट पालना भएको पाइएन। यसको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक स्थानमा नियमित अनुगमन गर्न अति आवश्यक छ। जिम्मेवार निकायले मापदण्डलाई कडाइका साथ पालना गराउन ध्यान दिनुपर्नेछ। लापरबाहीलाई नियन्त्रण नगरे परिस्थिति भयावह हुन सक्छ। 
 

 Published Date: Sunday, 9th August 2020 11:43:20 am