नेपालले युरोप, अमेरिकाको जस्तो महामारी सामना गर्नुपर्ने त होइन?

विगत दुई महिनादेखि मुलक लकडाउनमा छ। खुकुलो लकडाउन, अपर्याप्त परीक्षण र भारतबाट मानिसहरुको प्रवेशले कोरोना संक्रमितको संख्या बढिरहेको छ। अब अबिलम्ब यो संक्रमण बढ्नुको कारण र निवारणको उपायको खोजी नभए हाम्रो जस्तो स्वास्थ्य सेवा कमजोर रहेको देशले अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।

हाम्रो पूर्व, पश्चिम र दक्षिण तीनै दिशातर्फ घेरिएको छिमेकी मुलुक भारतमा कोरोना भुसको आगो जस्तै फैलिइरहेको छ। करिब १ अर्ब ३७ करोड ८४ लाख जनसंख्या भएको भारतमा सवा लाख मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। संक्रमण तीव्र गतिमा बढिरहेको छ। जुन हाम्रो लागि समेत शुभ होइन।    

भारतबाट आएका मानिसमा संक्रमण देखिएको छ। तेस्रो मुलुकबाट आएका संक्रमितहरु पनि रोगमुक्त भइसकेका छैनन्। नेपालमा भारतबाट आउनेको उचित व्यवस्थापन गर्न सरकार सफल भएको भए सायद हामीले अहिले निरन्तर लकडाउनमा बस्न र त्रासलाई झेल्नु पर्ने थिएन। संक्रमण फैलिइरहेको अवस्थामा कहिलेसम्म लकडाउन हुन्छ? त्यो भन्न सकिन्न।

त्यसमाथि अर्को चिन्ता थपिएको छ, कतै नेपालले पनि युरोप, अमेरिकाको जस्तो भयानक स्थितिको सामना गर्नुपर्ने त होइन? विकसित मुलुकमा झैँ हामी कहाँ संक्रमित बढे भने हामीले उनीहरुको उपचार र संक्रमण नियन्त्रण गर्न असम्भव हुनेछ। यसबाट जोगिन हामीले धैर्य र संयमतापूर्वक आवश्यक योजना निर्माण, त्यसको कार्यान्वयन र विश्व स्वास्थ्य संगठनले सुझाएको सुझावको पूर्ण पालना गर्नुको विकल्प छैन।

सरकारले लागू गरेको लकडाउनलाई नागरिकले पालना गर्दै आएका छन्। स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले आफ्नो जीवनको प्रवाह समेत नगरी आफ्नो दायित्व निर्वाह गरिरहेका छन्। हालसम्म संक्रमितमध्ये तीन जनाको निधन भएको छ भने सयको हाराहारीमा संक्रमित निको भएर घर फर्किएका छन्।

महामारीकाबीचमा हामीले केही कमजोरी गरेका छौं। जसले कोरोनाविरुद्धको हाम्रो लडाइलाई कमजोर बनाउन सहयोग गरिरहेको छ। यस्तो विषम परिस्थितिमा समेत स्वास्थ्य सामग्री खरिद प्रकरणमा कमिसनको चलखेल भएका समाचार आए। छिमेकी मुलुक चीनमा संक्रमण बढी रहँदा नेपालले भने कोरोनामुक्त देश भनेर पर्यटक बोलाइरहेको थियो।

राज्यले जुन दूरदृष्टिका साथ सतर्कता अपनाएर आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रवन्ध गर्नुपर्ने थियो त्यो गर्न सकेन। परीक्षण किटको अभावका कारण पर्याप्त परीक्षण नहुनु, विना परीक्षण मानिसलाई आवतजावतमा छुट दिनु ठूलो गल्ती हो।  केही नागरिकका तर्फबाट कमजोरी भएका छन्। संक्रमण भएका लुक्ने, भाग्ने, क्वारेन्टाइनमा बस्न नमान्ने, सही सूचना नदिने र कतिपयले लकडाउनको पालना नगर्ने आदि छन्। यी प्रतिनिधिमुलक कमजोरीले राज्यको जिम्मेवार निकायमा बस्नेको नैतिकता र कार्यक्षमतामाथि प्रश्न उब्जिएको छ।  

भारतमा संक्रमण बढिरहनु, भारत लगायत विदेशका विभिन्न मुलुकमा धेरै नेपाली अलपत्र पर्नु, लुकिछिपी नेपाल प्रवेश गरिरहनु, संक्रमित भागेर लुक्न खोज्नु, प्रयाप्त परीक्षण नहुनु हाम्रा प्रमुख चुनौति हुन्। सीमा क्षेत्रमा उचित व्यवस्थापन गर्ने हो र अहिलेकै सीमा सुरक्षाको मात्र भर पर्ने हो भने नेपालमा कोरोना नियन्त्रण गर्ने कल्पना नगर्दा हुन्छ।

भारतीय सुरक्षाकर्मीले भारततिरबाट नेपाल छिर्न खोज्ने संक्रमितलाई रोक्न सहयोग गर्ने भन्दा छोड्ने सम्भावना धेरै छ। देशभित्र र सीमानामा सेवा दिने सुरक्षा शक्तिलाई कोरोना संक्रमणबाट जोगाउन पीपीई, एन-९५ माक्स र पन्जा जस्ता सुरक्षा सामाग्री उपलब्ध गराउनुपर्छ। सीमा क्षेत्रमा सुरक्षा सेवा दिने सुरक्षाकर्मीहरुमा उच्च मनोवल चाहिन्छ। त्यो मनोबल बढाउने काम सरकारको हो।

सरकारले मौज्दात नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको उचित प्रयोगको योजना बनाएर सीमामा सुरक्षाकर्मी थप्ने प्रबन्ध मिलाउन आँट गर्न आवश्यक छ। यसबाट एकातिर तत्काललाई कोरोना नियन्त्रणमा सहयोग पुग्छ भने अर्कोतर्फ दीर्घकालीन सीमा सुरक्षामा सहयोग पुग्छ।

क्वारेन्टाइन र आइसोलेसन बढाउन आवश्यक

कतिपय क्वारेन्टाइनको गुणस्तर राम्रो नभएको गुनासो आएका छन्।  क्वारेन्टाइनमा पोषिलो खाना, शुद्ध पानी, प्रयाप्त दूरी कायम, झुलसहितको चिसो नलाग्ने आरामदायी बेड, शौचालय, स्नानगृह, इन्टरनेट, योग, ध्यान, शारीरिक व्यायाम तथा मनोरन्जन लगायतका आवश्यक सुविधाको प्रबन्ध गर्न आवश्यक छ।

भारतबाट आएका एक जना संक्रमितको क्वारेन्टाइनमा निधन हुनुमा उनी लामो समयदेखि भारतबाट हिँडेर आएको र बाटोमा आवश्यक खानपिन नपाएका तथा क्वारेन्टाइनमा समेत उचित हेरविचार नपुगेको हुन सक्ने अनुमान गर्न सकिन्छ।

भारतबाट नेपाल आउन खोज्ने वा ल्याउनै पर्नेलाई सीमामै राख्ने गरी सीमा क्षेत्रमा नै व्यापक मात्रामा सुविधाजनक क्वारेन्टाइन  र आइसोलेसन बेड निर्माण गर्न सीमा क्षेत्रका स्थानीय सरकारलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्छ। देशभर  खाली भएका सार्वजनिक क्वारेन्टाइनलाई आइसोलेसन बनाउने गरी तयारी गर्नु पर्दछ।

क्वारेन्टाइन सुधार र आइसोलेसन निर्माणका लागि सरकारले जुनसुकै शिर्षकको रकमलाई पनि रकमान्तर गरी काम गर्न सक्नु पर्दछ। स्थानीय तहको नेतृत्वमा प्रत्येक टोलमा कम्तिमा १० बेडको सुविधाजनक आइसोलेसन स्थलको तयार पार्नु पर्दछ। 

आवश्यक सामग्रीको प्रवन्ध  

कोरोनाको समस्या अन्त्य नभएसम्म भारतबाट औषधि र अत्यावश्यक सामग्रीबाहेक दैनिक उपभोग्य तरकारी, फलफूल, खाद्यान्न, माछा र मासुजन्य सामग्रीको आयात रोक्नुपर्छ।  हामीले नेपालमै तरकारी, फलफूल, दूध, माछा, मासुको उत्पादन बढाउने र विक्री वितरण गर्ने व्यवस्था मिलाउनु पर्दछ।

शहरमा औषधि, खाद्यान्न, तरकारी आदिको अत्यावश्यक पसल कम्तिमा ८ घण्टा खुलाउनु पर्दछ। जसले गर्दा पसलमा भिड हुँदैन। तर, कम्तिमा तीन मिटरको दूरी कायम गर्न भने आवश्यक छ। पसलमा सामान किन्न जाने र बेच्नेले अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्छ।

लकडाउनमा थप कडाइ आवश्यक

लकडाउन अवधिभर सम्पूर्ण निर्माण कार्य, उद्योग, कलकारखाना, सरकारी कार्यालयहरु, नगद काउन्टर बैंक, औषधि र खाद्य पदार्थ ढुवानी गर्ने गाडी बाहेक सबैखाले सवारीसाधनको आवतजावतमा पूर्ण रुपमा रोक लगाउनु पर्छ। सामान बोक्ने गाडीमा लुकिछिपी मानिसहरु आउने जाने गर्ने, एम्बुलेन्सको दुरुपयोग गर्ने र विभिन्न बहानामा पास लिने कार्यलाई रोक्न थप कडाइ गर्नु पर्दछ।

नागरिकको जिम्मेवारी   

कोरोनाविरुद्धको लडाइ सेना, प्रहरीको फौज वा सामूहिक संघसंगठनको माध्यमबाट बाहिर खुला मैदानमा लडेर होइन, एक्लै र घरभित्रै बसेर लड्न पर्ने र जित्न सकिने लडाइ हो। यो लडाइमा हरेक व्यक्ति आफैँ सेनापति हो। यो यस्तो रोग हो, जसले श्रीमान र श्रीमतीलाई, आमा र दूधे बालकलाई समेत छुट्टयाइदिन्छ। उपचार र सेवामा आफ्नै नजिकको प्रिय पात्र र डाक्टर नर्स समेतलाई नजिक आउन दिँदैन। 

मृत्यु हुँदा मृत्यु संस्कारमा आफन्तलाई समावेश हुन दिँदैन। रोग लागि सकेपछि आफ्नै शरीरभित्रको रोग प्रतिरोधात्मक शक्ति, उचित खानपिन र धैर्यताबाहेक कुनै औषधि छैन। नागरिक आफैँ सजग र सचेत भई रोगको संक्रमण हुनबाट जोगिनु र रोग लागि हालेमा एक्लै धैर्यतापूर्वक लड्नु सिवाय अन्य न औषधि छ न कुनै उपाय नै। चीन, सिंगापुर, भियतनाम, दक्षिण कोरिया र जापान जस्ता कयौं मुलुकमा कोरोनाबाट कम क्षति हुनुको मूल कारण सरकारको पहलकदमी मात्र होइन जनताको सचेतना र अनुशासन पनि हो।

नागरिकले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपिन, शारीरिक व्यायाम, सरसफाइ, योग ध्यान, मनोरञ्जन आदि कुरामा ध्यान दिनु पर्दछ। साबुनपानीले मिचिमिची राम्रोसँग पटक–पटक हात धुने, घर बाहिर ननिस्कने र अत्यावश्यक कामले निस्कदा मास्क, चस्मा र ग्लोब्स लगाउने, खानालाई राम्रोसँग पकाउने र पानी उमालेको पिउने गर्नुपर्दछ।

घरमा बस्दा समेत दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, एउटा गाउँबाट अर्को गाउँमा वा एउटा टोलबाट अर्को टोलमा अझ एक घरबाट अर्को घरमा आवतजावत नगर्न नागरिकले आफैँ कडाइ गर्नु पर्दछ।  सम्भव भए प्रत्येक घरमा एउटा आइसोलेसन कोठा र छुट्टै शौचालयको प्रवन्ध पनि गरी राख्नु राम्रो हुन्छ। गर्मीको मौसम भएकाले लामखुट्टेको प्रकोप बढ्ने र त्यसको टोकाइबाट औलो, डेंगू अनि फोहर आदिको कारणबाट हैजा जस्ता पुराना रोगको संक्रमण फैलिन नदिन पनि त्यत्तिकै ध्यान दिन जरुरी छ।

(लेखक प्रवासी नेपाली मञ्च जापानका पूर्वअध्यक्ष हुन्।)
 

 Published Date: Tuesday, 26th May 2020 8:05:41 am