शुक्रबार, असोज ९, २०७७

पछिल्लो २४ घण्टामा फ्रान्ससहित ७५ देशमा काेराेना संक्रमित र मृत्यु दुवै शून्य 

काठमाडौं, साउन १९ : गत २४ घण्टामा कोरोना भाइरसले आक्रान्त बनेका यूरोपेली मुलक स्पेन र फ्रान्ससहित ७५ देशमा कोरोना संक्रमण शून्य देखिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ती देशमा संक्रमण र मृत्यु दुवै शून्य देखिएको हो। 

कोरोनाका कारण २८ हजार ४४५ जना नागरिक गुमाएको स्पेनले संक्रमणलाई शून्यमा झारेको छ। सुरुवाती चरणमा भयानाक स्थिती देखिएको स्पेनमा गत २४ घण्टामा शून्य संक्रमण देखिएको छ। यस्तै गत २४ घण्टामा मृत्युसमेत शून्य देखिएको छ। स्पेनमा हालसम्म २ लाख ८८ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै फ्रान्समा समेत २४ घण्टामा संक्रमण र मृत्यु दुवै शून्य देखिएको छ। विश्वस्वास्थ्य संगठनको तथ्यांक अनुसार फ्रान्समा हालसम्म १ लाख ७५ हजार ९२० जनामा संक्रमण पुष्टि हुँदा ३० हजार १४७ जनाको मृत्यु भइसकेको छ।

 यस्तै इक्वेडर र स्वीडेनमा समेत २४ घण्टामा संक्रमण र मृत्यु शून्यमा झरेको छ। जबकी इक्वेडरमा अहिलेसम्म ८६ हजार २३२ जना संक्रमित हुँदा ५ हजार ७३६ जनाको मृत्यु भएको छ भने स्वीडेनमा ८० हजार ४२२ जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ७४३ जनाले ज्यान गुमाएका छन्।  वेल्जियम र इजरायलमा समेत २४ घण्टामा संक्रमित भेटिएका छैनन्।  

यी देशमा ओर्लिँदै संक्रमण 

कोरोनाका कारण भयावह निम्तिएका मुलुकहरुमा समेत संक्रमणको दर घट्न थालेको छ। बेलायत, इटाली लगायतका मुलुकमा संक्रमण घट्दो क्रममा छ।

३ लाख ३९ हजार ५६ जनामा संक्रमण पुष्टि भइसकेको बेलायतमा पछिल्लो २४ घण्टामा ७७१ जनामा संक्रमण पुष्टि भएको छ, भने ७४ जनाको मृत्यु भएको छ। बेलायतमा हालसम्म मृत्यु हुनेको संख्या ४६ हजार १९३ छ। 

यस्तै इटालीमा समेत संक्रमणको दर घटेको छ। पछिल्लो २४ घण्टामा २९५ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु भएको छ। हालसम्म इटालीमा २ लाख ४७ हजार ७४६ जनामा संक्रमण पुष्टि हुँदा ३५ हजार १४६ को मृत्यु भइसकेको छ।  

जर्मनीमा २४ घण्टामा २४० जना संक्रमित भेटिएका छन् भने मृत्यु शुन्य छ। जर्मनीमा अहिलेसम्म २ लाख ९८ हजार ९३ जनामा संक्रमण पुष्टी हुँदा ९ हजार १४१ जनाको ज्यान गएको छ।  

कोरोना भाइरसको उत्पत्ति भएको चीनमा २४ घण्टामा १५८ जना संक्रमित भेटिएका छन् भने तीन जनाको मृत्यु भएको छ। चीनमा हालसम्म ८८ हजार ४६०  जना संक्रमित भेटिँदा ४ हजार ६७७ जनाको मृत्यु भएको छ। 

यी हुन् संक्रमण र मृत्युदर उच्च भएका शीर्ष पाँच देश 

२४ घण्टामा सबैभन्दा बढी अमेरिकामा संक्रमित भेटिका छन्। ५८ हजार ३८८ जना नयाँ संक्रमित भेटिँदा कुल संक्रमितको संख्या ४५ लाख ८२ हजार २७६ जना पुगेको छ। २४ घण्टामा १ हजार १२७ जना मृत्यु हुँदा १ लाख ५३ हजार ७५७ जनाको मृत्यु भइसकेको छ। 

संक्रमणसँगै मृत्युदर उच्च भएको देशहरुको सूचीको दोस्रो स्थानमा ब्राजिल छ। ब्राजिलमा २४ घण्टामा ४५ हजार ३९२ जना संक्रमित भेटिएका छन्, भने १ हजार ८८ जनाले ज्यान गुमाएका छन्। हालसम्म ब्राजिलमा २७ लाख ७८ हजार ७७ जना संक्रमित भेटिँदा ९३ हजार ५६३ जनाले ज्यान गुमाएका छन्। 

छिमेकी देश भारत यो सूचीको तेस्रो नम्बरमा छ। २४ घण्टामा भारतमा ५२ हजार ९७२ जना संक्रमित भेटिँदा ७७१ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा १८ लाख ३ हजार ७९५ जना संक्रमित भेटिएका छन् भने ३८ हजार १३५ जनाले ज्यान गुमाएका छन्।  

चौथो नम्बरमा रहेको रुसमा २४ घण्टामा ५  हजार ४२७ जना संक्रमित थपिएका छन् भने ७० जनाको मृत्यु भएको छ। रुसमा अहिलेसम्म ८ लाख ५० हजार ८७० जना संक्रमित भेटिँदा  १४ हजार १२८ जनाको मृत्यु भएको छ।  

यो सूचीको पाँचौ नम्बरमा दक्षिण अफ्रिका छ। २४ घण्टामा १० हजार १०७ संक्रमित थपिँदा १४८ जनाको मृत्यु भएको छ। अहिलेसम्म दक्षिण अफ्रिकामा ५ लाख ३ हजार २९० जना संक्रमित भेटिँदा  ८ हजार १५३ जनाको मृत्यु भएको छ।  

विश्वभर भने २४ घण्टामा २ लाख ६० हजार ३७४ जना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या १ करोड ७८ लाख ८९ हजार १३४ पुगेको छ। २४ घण्टामा ५ हजार ८०८ जनाको मृत्यु हुँदा हालसम्म ६ लाख ८६ हजार १४५ जनाले ज्यान गुमाएका छन्।

 Published Date: Monday, 3rd August 2020 11:43:02 am