सोमबार, चैत्र २४, २०७६

एयर अरेबियाबाट काठमाडाैं आएर होटलमा बसेका थिए कोरोना संक्रमित युवक

काठमाडौं, चैत १२ : कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएका युवक एयर अरेबियाबाट नेपाल आएको खुलेको छ। 

कोरोना भाइरसबाट संक्रमित धादिङका ३२ वर्षीय युवक चैत ६ गते एयर अरेबियाबाट काठमाडौं आएर होटलमा बसेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए। 

बुधबार पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री ढकालले ती युवक होटलमा बसिरहेको र मंगलबार बिरामी परेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँचका लागि भर्ना भएको बताए। 

‘एयर अरेबियाबाट काठमाडौं आएर होटलमा बसेका थिए। हिजो स्वास्थ्यमा समस्या आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए,’ मन्त्री ढकालले भने,‘परीक्षणको रिपोर्ट आउँदा उनमा कोरोना पोजेटिभ देखियो।’

मन्त्री ढकालले उनीसँग सम्पर्कमा आएका व्यक्ति को को थिए भन्ने विषयमा अध्ययन सुरु गरिएको बताए। ‘होटलमा बस्दा उनलाई भेटका र ती युवकले अरु व्यक्तिलाई पनि भेटेका हुनसक्छन्। उनीहरुको पहिचान गर्ने प्रयास भइरहेको छ,’ उनले भने। 

ती युवकमा कोरोना भाइरस पोजेटिभ भएको बुधबार पुष्टि भएको थियो।

 यसअघि फ्रान्सबाट फर्केकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। ती युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनका परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। त्यसअघि चीनमा फर्केका एक युवामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। तर, उनी उपचारपछि स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन्। 

नेपालमा अहिलेसम्म ६८७ जनाको कोरोना परीक्षण गरिएकोमा ६८४ जनामा नेगेटिभ र तीन जनामा कोरोना पोजिटिभ देखिएको छ।

 Published Date: Wednesday, 25th March 17:14:21 PM