बुधबार, साउन २१, २०७७

कांग्रेस र जसपाबीच छलफल, कोरोना र राजनीतिक गतिरोधबारे दु:खेसो पोखापोख

काठमाडाै‌ं, असार २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बिहान भएको दुई दलका शीर्ष नेताहरुबीचको भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको हो। 

नेकपाभित्रको अन्तरसंघर्षका कारण मुलुकमा देखा पर्न सक्ने लोकतन्त्र र संघीयतामाथि कठिनाइ लगायतका विषयमा छलफल भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलले बताए।

‘उहाँहरु (जसपाका नेताहरु) आउनुभएको थियो। मुलुकको पछिल्लो राजनीतिक घटना क्रमबारेमा छलफल भयो,’ पौडेलले काठमाडौंप्रेससँग भने, ‘खासगरी लोकतन्त्र, संघीयता र कोरोना महामारीका विषयमा छलफल भयो। सरकारले काम गर्न नसक्दा जनताले दुःख पाएको विषयमा दु:खेसो पोखापोख भयो।’ 

छलफलमा दुवै पार्टीका नेताहरुले कोरोना महामारी नियन्त्रणमा सरकार असफल बनेको निष्कर्ष निकालेका छन्। सरकारले प्रभावकारी कदम चाल्न नसक्दा महामारी थप फैलिइरहेको र  नेकपाभित्रको अन्तरसंघर्षका कारण जनतामा लोकतन्त्र र दलीय सिस्टमप्रति वितृष्णा जाग्ने अवस्था निम्तिएको निष्कर्ष छलफलले निकालेको छ। 

यस्तै, सरकारले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि १८ गते आकस्मिकरुपमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समेत छलफल भएको छ। पार्टीभित्रको विवादको निसाना संसदमाथि साँधिएको भन्दै प्रतिपक्षी दलहरु सरकारसँग रुष्ट छन्।

विवादित नागरिकता विधेयकका विषयमा भने छलफल नभएको पौडेलको भनाइ छ। ‘अहिले संसद छैन। नागरिकता विधेयकका विषयमा भन्नुपर्ने कुरा हामीले भनिसकेकै छौं। त्यसैले यसमा चाहिँ खासै कुरा उठेन,’ पौडेलले भने। 

सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिँदै गएपछि सरकारले आकस्मिक रुपमा असार १८ गते संसदको चालु अधिवेशन अन्त्य गरेको थियो। पार्टीभित्रको विवादकै कारण संसदको अधिवेशन अन्त्य भएपछि प्रतिपक्षी दलका नेताहरु सरकारसँग रुष्ट छन्। 

संसदबाट पारित गर्नु पर्ने महत्वपूर्ण विधेयक थन्किएको भन्दै सरकारको चर्को आलोचना हुँदै अँएको छ। तर, नेकपाभित्र प्रधानमन्त्रीको राजीनामाको विषयलाई लिएर विवाद चुलिएपछि प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्य गरेका थिए।  

भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला तथा जसपाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र बाबुराम भट्टराई सहभागी थिए। 

 Published Date: Tuesday, 7th July 13:17:13 PM