चमार समुदायबारेको पुस्तक सार्वजनिक

लहान, माघ २५ : सिरहाको सिनो बहिष्कार आन्दोलनको दुई दशक पुगेको अवसरमा चमार समुदायको पहिचान र अवस्था सम्वन्धी पुस्तक सार्वजनिक भएको छ। 

समता फाउण्डेशनले प्रकाशन गरेको उक्त पुस्तक शनिबार लाहानमा एक समारोहकाबीच विमोचन गरिएको छ। सप्तरी र सिरहाका ३५ पालीकाका ४२ जना युवतिहरु र अतिथीहरुले संयूक्तरुपमा पुस्तक विमोचित गरिएको छ।

कार्यक्रममा संविधानसभा सदस्य रामरति रामले चमार समुदायमाथिको शोषण विरुद्ध २० वर्षअघि गरिएको प्रतिरोधले केहि हदसम्म सफलता प्राप्त गरेको बताए। ‘अझै पनि विभेदका स्वरुपहरु परिवर्तन भएका छैनन्। सबै खाले विभेदविरुद्ध अर्काे प्रतिरोधको आवश्यकता छ’ रामले भने ।

अधिकारकर्मि गुलावदेवी रामले अरुलाई सहयोग गर्न जाने चमार समुदायका सुडेनीहरु आफै हिंसामा पर्नु पर्ने वाध्याता रहेको बताइन् । ‘डाक्टरको काम गर्ने सुडेनीहरु अवसर आँउदा बञ्चित हुनु परेको छ’ उनले भनिन्, ‘सिनो फालेकै कारण चमार समुदायको आर्थिक, समाजिक, राजनैतिक तथा सवै किसिमका विभेदमा परेको हो ।’
दुई दशक अघिको सिनो वष्हिकार आन्दोलनलाई स्मरण गर्दै चमार अभियान्ता रामलखन रामले तत्कालीन राजनैतिक दल तथा अगुवाहरुले सिनो बहिष्कार आन्दोलन दबाउन महत्वपूर्ण भूमिका खेलेका स्मरण गरे। 

पुस्तक लेखकहरु मध्येका एक गोपाल नेपालीले उक्त पुस्तकको बारेमा र चमार समुदायले आत्म सम्मानको लागि गरेको आन्दोलनको बारेमा समिक्षा गरेका थिए । उक्त कार्यक्रममको संचालन गर्दै दलित अभियान्त तथा पत्रकार भोला पासवानले हाम्रा अग्रजहरुले गरेको योगदानको कदर गर्दै अवको युवा पीढीहरुले सवै खाले विभेदको अन्त्यको लागि आवाज उठाउन आवश्यक रहेको कुरा बताएका थिए। 

कार्यक्रमको अध्यक्षता समता फाउडेशनका अध्यक्ष प्रदीप परियारले गरेका थिए। ‘दलितभित्र पनि मधेसी दलितहरुको आवाज अझै पनि राष्ट्रिय राजनीतिमा आउन सकेको छैन’ परियारले भने, ‘अवको युवाहरुले मधेसी दलितहरुको आवाज बुलन्दरुपमा निकाल्न आवश्यक रहेको छ ।’
 

 Published Date: Saturday, 8th February 2020 1:35:48 pm