बिहीबार, असोज ३०, २०७६

रातो, कालो र सेतो टिकाको संगम हो विजयादशमी

काठमाडौँ, असोज २१ : आज अधिकांश नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैंको मुख्य दिन हो - विजयादशमी। र, आजको दिनको प्रमुख आकर्षण हो टिका। आफ्ना मान्यजनको हातबाट घटस्थापनाका दिन रोपिएको जमरा र टिका लगाएर आशिर्बाद ग्रहण गर्ने दिन हो आज।

पन्ध्र दिन लामो दशैंको मुख्य दिन आज बहुमत हिन्दु धर्मावलम्बीहरुले नवदुर्गाको प्रसादका रुपमा रातो टीका र  समृद्धिको प्रतीक जमरा लगाएर मनाउँछन् भने नेवार समुदायले दशैंलाई मोहनीको रुपमा मनाउँछन् र आफ्नो सुस्वास्थ्यको कामना गर्दै कालो टिका (जसलाई मोहनी भनिन्छ) लगाउँछन्।

देशको पूर्वतिर भने किराँत समुदायले सेतो टिका लगाउने चलन पनि छ।      
 
राससका अनुसार, नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ भने टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन्। विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए।

तर, आफ्ना मान्यजनको हातबाट टिका लगाउन आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म कुनै साइत हेरी रहनु पर्दैन।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ, रासस लेख्छ।

 Published Date: Tuesday, 8th October 09:44:46 AM