बिहीबार, साउन २९, २०७७

बामदेवलाई जन्मदिनमा केक, गेटक्र्यास गरी भेट

काठमाडौं, साउन १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई संकट पर्दा उपाध्यक्ष बामदेव गौतमले सधैँ उनलाई त्राण दिइरहेका छन्। 

पार्टीमा प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने आवाज चर्को भइरहेका बेला मंगलबार ६ बुँदे प्रस्ताव पेश गर्दै उनले प्रतिनिधिसभाको अवधि कामय रहुन्जेल ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने र अध्यक्ष पद पनि कायमै राख्नुपर्ने प्रस्ताव अघि सारेपछि ओलीलाई त्राण मिलेको छ। 

उनको साथ र समर्थनमा शक्तिशाली बन्दै आएका ओली 'बामदेव भए आफू बलियो हुने नभए लुलो हुने' महशुस गरेका छन्। त्यसैले गौतमलाई रिझाउन ओलीले जन्मदिनमा केक काटेर शुभकामना दिनेदेखि गेटक्र्यास गरी भेटसम्म गरेका छन्। 

गेट क्र्यास गर्दै भेट

नेकपाभित्र शक्ति बाँडफाँडको छिनोफानो बहुमतीय आधारमा भएको थियो भने ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद गुमाइसकेका हुन्थे।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री  वा अध्यक्षमध्ये एकबाट ओलीले राजीनामा दिनै पर्ने अडान असार १० गते बसेको स्थायी कमिटी बैठक यता राख्दै आएका छन्।

प्रचण्ड-माधव समूह ओलीले सहमतिमा पद नछोडे बहुमतबाटै निर्णयमा पुग्नुपर्ने निष्कर्षमा पुगेका बेला उपाध्यक्ष गौतमले पदीय बाँडफाँडका लागि बहुमतको दम्भ देखाउन नहुने भन्दै ६ बुँदे प्रस्ताव अघि सारे। मंगलबार बसेको बहुमत स्थायी कमिटी सदस्यको बैठकमा उनले पदको झगडाका लागि टाउको गन्ने काम बन्द हुनुपर्ने मत राख्दै आफूले अघि सारेको ६ बुँदे प्रस्ताव अनुसार निर्णयमा पुग्न अध्यक्ष प्रचण्डलाई सुझाए।

उनको प्रस्ताव अध्यक्ष ओलीलाई स्पष्टै फाइदा पुग्ने खालको थियो। बामदेवले अघि सारेको प्रस्तावको एक नम्बर बुँदामा भनिएको छ,' कमरेड केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको  बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मवारी रहने।'

उपाध्यक्ष गौतमले मंगलबार यो प्रस्ताव ल्याएपछि त्यही रात प्रधानमन्त्री ओली भैसेँपाटीस्थित गौतमको निवासमा डिनरका लागि पुगेका  थिए। प्रधानमन्त्री ओली तथा  उपाध्यक्ष गौतमको सचिवालयले भेटलाई पारिवारिक भने पनि त्यो राजनीतिक हिसाबले महत्वपूर्ण रहेको विश्लेषक श्याम श्रेष्ठ बताउँछन्।

'प्रधानमन्त्रीको गेट क्र्यास निकै अर्थपूर्ण छ। उनले बामदेव गौतम आफ्नो पक्षमा रहेको सन्देश प्रवाह गर्नका लागि र गौतम स्वयंलाई पनि उनको आवश्यकताको महत्व रहेको जनाउका लागि भेट गर्न गएका हुन्,' श्रेष्ठले काठमाडौंप्रेससँग भने।

यस्तै, ओली र गौतमलाई नजिकबाट चिन्ने कम्युनिष्ट नेता राधाकृष्ण मैनाली विरोधी खेमालाई तर्साएर नयाँ खेल खेल्नका लागि ओली भैसेँपाटीस्थित गौतम निवासमा पुगेको तर्क गर्छन्।

'ओली कुटिल खेलमा निकै माहिर छन्। बामदेव आफ्नो साथमा भए बलियो हुने नभए लुलो हुने कुरा उनले बुझेका छन्,' मैनालीले भने',बामदेवको साथ पाएर आफू फेरि बलियो भएको सन्देश सिर्जना गर्दै विरोध गरिरहेका प्रचण्ड-माधव समूहलाई दबाब सिर्जना गर्न डिनरको बाहनामा ओली भैसेँपाटी पुगेका हुन्।'

जन्मदिनमा केक

६ वर्षअघि तत्कालीन एमाले संसदीय दलको निर्वाचनमा गौतमले ओलीलाई सशर्त सहयोग गरेका थिए।

गौतमको शर्त थियो- महाधिवेशनमा ओलीलाई निर्वाचित गर्न सहयोग गर्ने र ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि संसदीय दलको नेता र पार्टीको कार्यवाहक अध्यक्ष आफू हुने शर्तमा सहयोग गरेका थिए। सर्तअनुसार गौतमले दुवै पदमा निर्वाचित गर्न ओलीलाई सहयोग गरे तर शर्त बमोजिम गौतमले न त संसदीय दलको नेता बन्न पाए न त कार्यवाहक  अध्यक्षको जिम्मेवारी नै।

यस्तै, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि गौतमले पुनर्निर्माण प्राधिकरण प्रमुखको जिम्मेवारी माग गरेका थिए। त्यसमा पनि ओलीले उनलाई सहयोग गरेनन्। रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर उपनिर्वाचनमा उम्मेदवारी दिने उनको कदममा पनि गौतमले ओलीको साथ नपाउँदा उनीहरुबीचको दूरी निकै बढेको थियो।

ओलीसँग दूरी बढेपछि गौतमले माधव नेपाल र झलनाथ खनालसँग सम्बन्ध बढाउँदै लगे। पार्टीलाई विधान अनुसार नचलाएको, स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गरेको भन्दै ओलीको निकै आलोचना भयो। आफूविरुद्ध गठबन्धन बलियो हुन थालेपछि ओलीले फेरि गौतमको साथ खोज्न थाले।

गौतमसँग विग्रिएको सम्बन्ध सुधार्न ओलीले गत असार २६ गतेदेखि सुरु गरेका थिए। त्यस दिन गौतमको जन्मदिन थियो-ओलीले त्यसको उपलक्ष्यमा बालुवाटारमा गौतमलाई बोलाएर केक काटेर शुभकामना दिएका थिए। गौतमलाई नजिक बनाउन उनले केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडमा समेत सल्लाह लिएका  थिए। यसका बाबजुद पनि गौतम र ओलीबीचको सम्बन्ध सुधार हुन सकेन। उनी ओलीइतर समूहमा लागे।

आफूविरुद्धको गठबन्धन कसिलो हुन थालेपछि उनले गौतमलाई आफ्नो पक्षमा पार्न विधानमै नभएको पद सिर्जना गरी उपाध्यक्ष बनाए। गत माघमा केन्द्रीय कमिटीले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गर्‍यो। गौतममा रहेको पद लोलुलुपताको कमजोरीको फाइदा ओलीले लिइरहेको नेता मैनाली बताउँछन्।

'बामदेवमा पद लोलुपताको कमजोरी छ। त्यसको फाइदा उठाउँदै ओलीले कहिले उपाध्यक्ष बनाएर तर कहिले प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेर टाढिएका बामदेवलाई नजिक बनाउने काम गरिरहेका छन्। बारम्बार धोका पाउँदा समेत आफ्ना कमजोरीका कारण बामदेवजीले चेत्नु भएको छैन,' मैनाली भन्छन्। 

उपाध्यक्ष गौतम पक्षका नेता बलराम बाँस्कोटा मैनालीको आरोपको खण्डन गर्छन्। 'बेलाबखतमा अफर अघि सारेर उहाँलाई बदनाम गराउने काम भएका छन्। अब अफरको लहडमा नभई अडानमा रहेर पार्टी एकता विपरीतका गतिविधिमा कसैलाई साथ नदिने मनस्थितिमा पुग्नु भएको छ,' बाँस्कोटाले भने।

गेट क्र्यास गरी भैसेँपाटी पुगेका प्रधानमन्त्री ओलीलाई पनि गौतमले ६ बुँदे प्रस्तावलाई  आफ्नो पक्षधरताका हिसाबमा नलिन प्रष्ट पारेको गौतमको सचिवालयले जनाएको छ। विगतमा नेकपा एमालेबाट फुटेर नेकपा माले गठन हुँदा पार्टी फुटको कलंक लागेका गौतम यसपटक भने त्यो कलंकको टिको लगाउन तयार नरहेको उनी निकट नेताहरु बताउँछन्।

ओलीलाई बचाउन नभई पार्टी एकता बचाउनका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न गौतमले मध्यमार्गी प्रस्ताव अघि सारेको नेताहरुको भनाइ छ। 
 

 Published Date: Thursday, 30th July 15:40:51 PM