सोमबार, भदौ ३०, २०७६

सकिए भनिएका वामदेव नेकपामा फेरि शक्तिशाली

वामदेव गौतम। स्केच : रवि श्रेष्ठ/काठमाडाैं प्रेस

काठमाडाैं, साउन ३१ : ‘केपी ओलीलाई पार्टी जिम्मा लगाए लुलो हुन्छ, वामदेव गौतमलाई जिम्मा लगायो भने पार्टी धुलो हुन्छ ।’ ०५१ सालपछि मदन भण्डारीको मूल्याङ्कन भन्दै त्यसबेलाका उदीयमान दुई नेताका बारेमा एमालेभित्र उक्त टिप्पणी गरिन्थ्यो।

पूर्वका केपी शर्मा ओली र पश्चिमका वामदेव गौतम । समकालीन यी दुई नेताबारे अर्को टिप्पणी सुनिन्थ्यो, ‘ओली कुरा गर्न अत्यन्त सिपालु छन् तर पार्टीको काममा असाध्यै अल्छि छन् । गौतम काम चाहिँ अत्यन्तै मेहनत साथ गर्छन्, कुरा गर्न जान्दैनन्, सीधा छन्।’

शायद् ओली र गौतमले पनि सुनेको हुनुपर्छ उक्त टिप्पणीहरु । एमालेभित्र करिब १४ वर्षलामो माधवकुमार नेपालको शासनकालमा दुवैले खुबै पेलाइ खाए । नवौँ महाधिवेशनमा जब यी दुईले गठबन्धन गरे, अनि नेपाललाई समेत पराजय गर्ने शक्ति हासिल गरे । अर्थात्, ओलीको वाकपटुता र गौतमको मेहनत एक ठाउँमा जब उभियो, अनि केपी ओली संसदीय दलको नेता, पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भए।

आँट भएका र जोखिम मोल्न सक्ने नेता हुन्– गौतम र ओली दुवै। ओलीको वाकपटुतामा जब वामदेवको बल मिसियो, ओली सर्वशक्तिशाली भए। गौतमकै पहल र साथ–सहयोगमा दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीबीच एकता भयो । झण्डै दुईतिहाई बहुमतसहित ओली देशकाे प्रधानमन्त्री बने।

झण्डै एक वर्षदेखि गौतमले ओलीको साथ छाडेका छन् । पार्टीभित्र ओली कमजोर भएका छन् । यतिसम्म कि केन्द्रीय सचिवालयमा समेत ओलीले बहुमत गुमाउन पुगेएका छन्।

पार्टीहित नै मानक

पटक–पटक जोखिम मोलेका नेता हुन्– वामदेव गौतम । उनी सिद्धान्त बुझेका, अत्यन्त क्रियाशील र अध्ययनशील छन् । इतिहास र संस्कृतिमा राम्राे दखल छ उनकाे । कुनैबेला पार्टीभित्र अति आदर्श नेता पनि मानिन्थे उनी ।

आलोचकहरू भन्छन्– जब सत्तामा पुग्छन्, त्यसपछि वामदेवले सारा आदर्श बिर्सन्छन्, याे नै उनकाे सबैभन्दा कमजाेर पक्ष हाे । तर, उनी पार्टीका लागि भनेपछि जे गर्न पनि तयार हुने नेता हुन् । उनीनिकट एक स्थायी कमिटी सदस्य भन्छन्, ‘उहाँ पार्टीहित हुन्छ भनेपछि जे पनि गर्न तयार हुनुहुन्छ। साधनको पवित्रता खोज्नुहुन्न । यही स्वभावले उहाँलाई बेलाबखत विवादमा पनि पारेको छ।’

०५० साल जेठ ३ मा तत्कालीन एमाले महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा मृत्यु भयो । राष्ट्रिय राजनीतिमा वामदेव गौतमको त्यसपछि उदय भएको हो।

आश्रितको विरासत सीधै वामदेव गौतमकहाँ आइपुगेको थियो– सङ्गठन विभाग प्रमुखका रूपमा । मदन–आश्रितको अवसानपछि रिक्त पाेलिटब्युराे कमिटीका दुई पदमा पूर्व महासचिव झलनाथ खनाल र सङ्गठन विभाग प्रमुखको जिम्मेवारीसहित वामदेव गौतम बहाल भएका थिए । ‘मदन–आश्रित हत्याकाण्ड’ विरुद्ध तत्कालीन एमालेले गरेको ‘दासढुङ्गा आन्दोलन’ बाट शीर्षनेताका रूपमा स्थान बनाएका थिए– वामदेव गौतमले।

गौतम त्यसको २६ वर्षपछि फेरि सङ्गठन विभाग प्रमुखकाे जिम्मेवारी सम्हाल्दै छन्, माओवादीसहितको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा । २००१ साल असार २८ मा जन्मेका गौतम समकालीन नेताहरूमध्ये सबैभन्दा ज्येष्ठ हुन् । उतिबेला गौतम भर्खर ५० वर्ष लागेका उदीयमान नेता थिए, अहिले ७६ वर्ष लागे, अघिल्लो साताबाट।

उतिबेला सङ्गठन विभाग प्रमुख हुँदा गौतमको अत्यन्त्र सक्रिय, इमान्दार र ‘फलामे अनुशासन’ मा बाँधिएका कडा नेताको छवि दियो । उनी जस्तोसुकै जटिल काम पनि फत्ते गर्नसक्ने साहसी सीधा नेतामा गनिन्थे तर राष्ट्रिय राजनीतिमा पहिचान थिएन ।

पहिलेको साख र तागतमा काफी गिरावट आएको छ याे २६ वर्षमा । तर, अहिले विवादित नै सही, शीर्षनेताको पहिचान छ उनीसँग । राज्यसत्ता सम्हालेको अनुभव र ‘नेटवर्क’ पनि छ।

कमरेड ‘किङ मेकर’!

गौतम समकालीन नेतामध्ये सबैभन्दा पाका तर गतिशील छन् । औपचारिक शिक्षा नभएकाले उनको अङ्ग्रेजी त कमजोर हुने नै भयो तर पनि उनी अध्ययनशील नेता हुन् । नेपालको इतिहास र संस्कृतिबारे उनलाई राम्रो ज्ञान छ। जुन अरु शीर्ष नेतामा छैन ।

पाँच दशकभन्दा लामो कम्युनिष्ट राजनीतिमा उनी एक सशक्त नेताका रुपमा स्थापित त बने तर उनलाई हालसम्म पार्टी र सरकार प्रमुखकाे पद कहिल्यै प्राप्त भएन । उनको भूमिका सधैँ ‘किङ मेकर’ को रहिरह्यो। यसमा सफल रहे ।

माओवादीले सशस्त्र ‘जनयुद्ध’ सुरु गरेपछि त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने अध्ययन गर्न गठित सबैभन्दा पहिलो समितिको संयोजक भए– गौतम । माओवादीलाई सरकारले आतङ्ककारी घोषणा गरेको बेलामा समेत रोल्पा गएर प्रचण्डसँग उनले छलफल गरे । उनी माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने तत्कालीन एमालेका सूत्राधार नै हुन्।

यो पनि: वामदेव गौतम नेकपा उपाध्यक्ष

०६४ सालको संविधानसभा चुनावमा एमालेले नराम्ररी हार्यो । गौतम आफैँ पनि माओवादीका उम्मेद्वारसँग पराजित भए– बर्दियाबाट । ३३ सीटमा सीमित भयो एमाले । पार्टीमा चरम निराशा छायो । पार्टी प्रमुख तत्कालीन महासचिव माधवकुमार नेपाल काठमाडौं र रौतटह दुई ठाउँबाट पराजित भए। महासचिवबाट नेपालले राजीनामा दिए । त्यसपछि अन्तरिम कालका लागि झलनाथ खनाललाई महासचिव बनाउन गौतमको भूमिका प्रमुख थियो।

गौतम नेकपाका यस्ता आँटिला नेता हुन्, उनलाई दिलदेखि लागेपछि जतिसुकै कदम चाल्न पनि आँट गर्छन् । जस्ताेसुकै जाेखिम माेल्न तयार हुन्छन्। माओवादीको तीव्र दबाबका बावजुद सत्ता नछाडेका आफ्नै पार्टीका प्रधानमन्त्री माधवकुमार नेपाललाई राजीनामा दिन उनले आफूनिकट ६४ जनाको हस्ताक्षर गरी पत्र थमाए। त्यसपछि उनलाई माओवादीकाे आराेप समेत लगाइयाे ।

पहिलो संविधानसभा चुनावमा सबैभन्दा ठूलो दल भयो माओवादी । चुनावपछि चार महिनासम्म काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री छाडेनन् । माओवादीलाई सत्ता सुम्पिन र प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेका शीर्ष नेताका रुपमा उनको प्रमुख भूमिका थियो । चुनावपछि एमाले–माओवादी गठबन्धमा प्रचण्ड प्रधानमन्त्री भए । त्यो सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री पनि बने– गौतम।

प्रधानमन्त्रीबाट माधव नेपालको राजीनामापछि संसद्मा १७ चोटी भोटिङ भयो तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिन सकेनन् । त्यसपछि उम्मेद्वारी फिर्ता गरी नयाँ प्रक्रिया थालियो । एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीका उम्मेद्वार बने । एमालेभित्र त्यसबेला यस्तोसम्म झेली खेल खेलियो– संसद्मा भोटिङ हुनुअघि नै खनालले आफ्नो समर्थनमा संविधानसभाको दुईतिहाइको हस्ताक्षर जुटाउनुपर्ने, अन्यथा उनका समर्थक माधवकुमार नेपालले उम्मेद्वारी फिर्ता गरिदिने।

नभन्दै ३०१ संख्यामा प्रधानमन्त्री हुनसक्ने व्यवस्थामा ४०१ नजुटाएको भन्दै नेपालले खनालको उम्मेद्वारी फिर्ता लिइदिए । नेपाल–ओली खनाललाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिन ज्यान दिएर लागेका थिए । यस्तो प्रतिकूल अवस्थामा समेत गौतमले प्रचण्डसँग मिलेर खनाललाई प्रधानमन्त्री बनाई छाडे।

माधवकुमार नेपालसँग चाहिँ गौतमको कहिल्यै पट्टा खाएन । दोस्रो संविधानसभा निर्वाचनपछि अध्यक्ष झलनाथ खनाल केपी ओलीलाई संसदीय दलको नेता बनाउन राजी भइसकेका थिए तर माधव नेपालले खनाललाई उम्मेद्वार बन्न दबाब दिए । यसपटक गौतमले केपी शर्मा ओलीलाई समर्थन गरे । अध्यक्ष खनाललाई हराएर ओली संसदीय दलको नेता चुनिए । त्यसपछि भएको पार्टीको काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पनि गौतमले अध्यक्षमा ओलीलाई समर्थन गरे । ओली अध्यक्ष लडे । माधवकुमार नेपाललाई पराजित गर्न सफल भए । गौतम फेरि उपाध्यक्ष चुनिए।

यो पनि: नेकपाले लगायो विभागको टुंगो, अन्ततः ईश्वर पोखरेलले पाए स्कुल विभाग

ओली अध्यक्ष भएपछि संसदीय दलको नेता गौतमलाई बनाउने ‘जेन्टल मेन एग्रिमेन्ट’ ओलीले पालना गरेनन् । गाैतमलाई धाेका दिए । त्यसपछि गौतम उनीसँग असन्तुष्ट भएका छन् । गत संसदीय निर्वाचनमा सुरक्षित ठानिएको बर्दियाबाट गौतम चुनाव हारे । चुनावमा उनलाई भावी प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्सन’ गरिएको थियो । प्रचण्डले त सार्वजनिक अभिव्यक्ति नै दिएका थिए– भावी प्रधानमन्त्री भनेर। शायद् त्यही कारण उनलाई हराइयाे । गाैतमकाे बुझाइ यस्ताे रह्याे।

गौतमले स्थानीय चुनावमा ३० हजार भाेटले वाम गठबन्धन अगाडि रहेकाे उनकाे क्षेत्रमा पार्टीभित्रैको अन्तर्घातले हारेको ठाने । अनि फेरि दूरी बढ्यो ओलीसँग । गत मंसीर २९ देखि सुरु भएको स्थायी कमिटी बैठकमा गौतमले ओलीविरुद्ध ‘फरक मत’ राखे । त्यसपछि ओली पार्टीभित्र अल्पमतमा परे । गौतमले साथ छाडेपछि प्रधानमन्त्री ओली सचिवालयमा समेत अल्पमतमा परेका छन्।

गौतमको उदय

०४९ साल माघमा काठमाडौंमा भएको एमालेको पाँचौँ महाधिवेशनअघि ‘जनताको बहुदलीय जनवाद’ बनाउन मदन भण्डारीलाई सघाउने एक जना नेता थिए– वामदेव गौतम । ०५१ साल कात्तिकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गराएको मध्यावधि निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बन्यो । यो सफलता दासढुङ्गा आन्दोलनको बलमा प्राप्त भएको एमालेकाे मूल्याङ्कन थियो । काङ्ग्रेसको कलहले एमालेलाई लाभ मिलेको थियो । जे होस्, उक्त चुनावका बेला गौतम नै सङ्गठन विभाग प्रमुख थिए।

संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा  बनेपछि एमालेको अल्पमत सरकार बन्यो । मनमोहन अधिकारी प्रधानमन्त्री बने । महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्रीसहित परराष्ट्र र रक्षामन्त्री बने । अर्का नेता केपी शर्मा ओली गृहमन्त्री भए । सीपी मैनाली, राधाकृष्ण मैनाली पनि मन्त्री भए तर वामदेव गौतम चाहिँ मन्त्री भएनन्।

गौतमले पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी पाए । पार्टी विधानमै नभएको ‘उपमहासचिव’ भन्ने पद सिर्जना गरियो– उनका लागि । अनि पार्टीको सम्पूर्ण जिम्मेवारी उनको काँधमा गयो । सङ्गठन विभाग प्रमुख विष्णु पौडेललाई बनाए । त्यसपछि गौतम एमालेका शक्तिशाली नेतामा दरिए । उनले सरकारको बचाऊमा पार्टीको सबै तागत खर्चे।

यतिसम्म कि पार्टीनिकटका कुनै साप्ताहिक पत्रिकाले सरकारविरुद्ध लेख्यो भने त्यसविरुद्धसमेत ‘एक्सन’ लिन्थे। सम्पादकलाई स्पष्टीकरण सोध्थे । विज्ञप्ति निकाल्थे– फलानो पत्रिका हाम्रो पार्टीको हैन भनेर । नौमहिने मनमोहन सरकारको सफलता जनतामा स्थापित हुनुमा गाैतमले पार्टीकाे सम्पूर्ण शक्ति सरकारकाे समर्थनमा प्रयाेग गर्नुले पनि काम गरेको थियो।

नौ महिने सरकारकै पालामा बाँकेको सरशेरगञ्जमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी, गृहमन्त्री केपी ओलीसमेत महत्वपूर्ण नेता सवार नेपाली सेनाको हेलिकप्टर दूर्घटना भयो । त्यसमा उपमहासचिव वामदेव गौतम पनि थिए । तर संयोग ! प्रधानमन्त्री अधिकारी गम्भीर घाइते भए पनि अरु सकुशल रहे।

मनमोहन अधिकारीको अल्पमत सरकारविरुद्ध कांग्रेस–राप्रपाले संसदमा अविश्वास प्रस्ताव दर्ता गरे तर प्रधानमन्त्रीले संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरे । त्यसको पछाडि सरकारमा गएपछि पार्टी झन मजबुत भएको भन्ने आत्मविश्वासले काम गरेको थियो । एमालेले प्रष्ट बहुमत माग्दै चुनावमा जाने घोषणा गरेको थियो तर ०५२ भदौ १२ को सर्वोच्च अदालतको फैसलाले विघटित संसद् पुनर्स्थापना गरिदियो । अनि सरकार ढल्यो । कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो– राप्रपाको समर्थनमा।

सरकार ढलेपछि महासचिव माधवकुमार नेपाल पार्टी नेतृत्वमा फर्के । ‘महासचिव नै आइसकेपछि अब उपमहासचिवको के काम ?’ भन्दै गौतमको अधिकार खोसे तर गौतमको राजनीतिक उचाइ घटेन । उनले काङ्ग्रेस–राप्रपा गठबन्धन टुटाउने खेलको नेतृत्व गरे । यसका लागि उनले राधाकृष्ण मैनालीको साथ लिए ।

०५३ साल फागुनमा देउवासँगको गठबन्धन टुटाएर राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउन सफल भए । एमालेको नेतृत्व गर्दै सरकारमा गए । सो गठबन्धन सरकारको शक्तिशाली उपप्रधानमन्त्रीसहित गृहमन्त्री भए, जुन करिब सात महिना चल्यो।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री भएपछि उनी झन् शक्तिशाली भए । उनले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाए र ध्रुवबहादुर प्रधानलाई बनाए । खरेलजस्ता चर्चित आईजीलाई समेत हटाएपछि गौतमको चर्चा झन् चुलियो।

०५४ सालमा उनैको पालामा भएको स्थानीय चुनावमा एमालेले अपार सफलता पायो । गौतम सफल भए । भलै, त्यो नौमहिने मनमोहन सरकारको लोकप्रियताको परिणाम थियो । त्यतिबेला उनका सामु तत्कालीन महासचिव माधवकुमार नेपालको उचाइ ‘पुड्को’ देखिन थालिसकेको थियो । त्यसैबीच ‘सुन काण्ड’को आरोप लगाइयो, गौतमविरुद्ध । पार्टीभित्र गुटबन्दी तीव्र भइसकेकाले गौतम गुट पनि तयार भइसकेको थियो । उनी ‘जनताको बहुदलीय जनवाद’ का सबैभन्दा चर्को स्वरमा वकालत गर्ने नेता भए।

सात महिनामा चन्द सरकार ढाल्यो । कांग्रेसले राप्रपाकै अर्को धारका नेता सूर्यबहादुर थापालाई प्रधानमन्त्री भए । त्यसपछि महाकाली सन्धिको विवादमा फस्यो एमाले । महासचिव माधव नेपाल–केपी ओली भारतसँगको महाकाली सन्धिको पक्षमा भए, गौतमले उक्त सन्धिलाई ‘राष्ट्रघात’ को संज्ञा दिए। सुरुमा गौतमको पक्षमा बहुमत भए पनि अन्ततः गौतम महाकाली सन्धिको पक्षमा एमालेको बहुमतले मतदान गर्यो । गौतम पक्षका केही नेताले मतदान नै गरेनन्। यही विवाद चर्किँदै जाँदा ०५४ साल फागुन २१ गते गौतमको नेतृत्वमा एमाले फुट्यो।

गौतम नेकपा माले घोषणा गरेर त्यसको महासचिव भए । उनको पार्टीको अध्यक्ष सहाना प्रधान भइन् । गौतमलाई सीपी मैनाली, राधाकृष्ण मैनाली, काठमाडौंका वामपन्थी नेता पद्मरत्न तुलाधरलगायत वरिष्ठ नेताहरूको साथ थियो। ०५६ सालको आम निर्वाचनमा गौतमले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिए, जहाँ एमाले अध्यक्ष मनमोहन अधिकारी उठेका थिए।

बीचैमा अधिकारीको देहावसान भएर चुनाव स्थगित भयो। पछि भएको चुनावमा गौतमले हारे। एमालेले मालेलाई शुन्य बनाउन चुनावी अभियान चलायो । देशभरिबाट छ लाख भोट ल्याए पनि गौतमको पार्टी नेकपा माले संसद्मा शुन्य सीट भयो। यो नै गौतमको राजनीतिक जीवनको सबैभन्दा ठूलो असफलता थियो।

चुनावमा आफ्नो पार्टीको बहुमतको सरकारको नारा दिएर होमिएको नेकपा (माले)ले एक सीट पनि जितेन । गौतममा चरम निराशा देखियो । चुनावको खर्चसँगै गौतम आर्थिक रूपमा समेत अत्यन्त कमजोर भएको उनीनिकटहरू बताउँछन् । उनले पार्टी चलाउने अवस्था देखेनन् । अनि फुटाएको करिब चार वर्षपछि मालेलाई एमालेमै विलय गराए । फेरि स्थायी कमिटी सदस्य बने।

पार्टी विलय गरेपछि पनि गौतमको शक्ति एमालेमा निर्णायक रह्यो । गौतमले एमाले फुटाएपछि तत्कालीन महासचिव माधवकुमार नेपालको विपक्षी नेता केपी ओली थिए । यो दुई खेमाबीच गौतम समूह निर्णायक बन्यो । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला जनकपुरमा भएको सातौँ महाधिवेशनमा गौतमले नेपाललाई समर्थन गरे । पराजित हुने अवस्था देखेपछि केपी ओलीले उम्मेद्वारी नै दिएनन्।

सकिए भन्यो, फेरि शक्तिशाली

०६७ सालमा माधव नेपाललाई प्रधानमन्त्रीबाट हट्न दबाब दिएपछि एमालेभित्र खुब हल्ला चल्यो– वामदेव गौतम माओवादी भैसके भनेर । त्यसबेला जिज्ञासा राख्दा गौतमले व्यङ्ग्य गर्दै भनेका थिए, ‘म त जान लागेको हैन, साथीहरूले ठेलेर माओवादीमा पुर्‍याइदिन आँटिसके ।’ गजब त के भने वामदेव पार्टीमा सधैँ शक्तिमै रहे, उनका विरोधीहरू उनीविरुद्ध सधैँ क्रियाशील रहे।

गौतमका लागि ०५६ सालको संसदीय चुनावमा मालेको शुन्य सीट हुनु सबैभन्दा प्रतिकूल अवस्था थियो । एमालेभित्रका बहुसङ्ख्यक राम्रा ‘क्याडर’ लिएर पार्टी  फोरेका थिए उनले । पराजयसँगै धेरै राम्रा कार्यकर्ता माओवादी प्रवेश गरे । दुःखको कुरा, तीमध्ये धेरै मारिए, बेपत्ता पारिए । माओवादीलाई संगठन विस्तार गर्न मालेको पराजयपछिको निराशा सुवर्ण अवसर बनेको थियो । तर, गौतमले सीपी मैनाली, राधाकृष्ण मैनालीको असहमतिका बाबजुद फेरि मालेलाई एमालेमा निःशर्त विलय गराए । राजनीतिमा आफूलाई पुनर्जीवित गर्न सफल भए।

गत मंसीर–पुसको स्थायी कमिटी बैठकमा ओलीसँग फरकमत राखेपछि वामदेव गौतमलाई वर्षौँदेखि साथ दिँदै आएकाहरूले पनि छाडे । स्थायी कमिटी सदस्य किरण गुुरूङ, मन्त्रीहरू रघुवीर महासेठ, पद्मा अर्यालले पनि साथ छाडेपछि पार्टीका उनका आलोचकहरू भन्थे, ‘अब वामदेवजीसँग केशवलाल र हरि पराजुली मात्र बाँकी छन् । उनको गुट सकियो ।’

तर गौतम फेरि शक्तिशाली भएका छन् । ती गएर के भो– फेरि अध्यक्ष प्रचण्ड नै उनको दाहिना भएपछि कसको के लाग्छ । पार्टीका लागि दिलो ज्यानले काम गर्ने उनको स्वभाव नै गौतमलाई नेतृत्वमा टिकाइ राख्ने मुख्य शक्ति हो। 

साउन ७ गते प्रकाशित ‘सकिए भनिएका वामदेव नेकपामा फेरि शक्तिशाली’ सामग्री सान्दर्भिक भएकाले पुनः प्रकाशन गरेका हौं। –सम्पादक
 

 Published Date: Friday, 16th August 15:26:03 PM