शुक्रबार, साउन ३०, २०७७

एसिडपीडित भन्छन् - ‘जिउँदै जलाउनेलाई सजाय कम भएन र ?’

घटना– १

२०७७ साउन ८ मा ओखलढुंगा घर भई हाल कामनपा–१४ बाफल बुढाथोकी कोल्ड स्टोरनजिक डेरा गरी बस्ने २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भयो । उनलाई एसिड प्रहार गर्ने रौतहट लक्ष्मीपुर–४ घर भई हाल डल्लु बस्ने ४७ वर्षीया मोहमद आलम र भारत बिहार घर भएका २३ वर्षीय फैयाज आलमलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ। 

पवित्रा कार्की

घटना– २

२०७६ जेठ १ गते काठमाडौं महानगरपालिका–३० कालोपुलस्थित धोबीखोला कोरिडोरमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । एसिडले जेनीको अनुहार, शरीर तथा हात जलेको छ। उनलाई एसिड प्रहार गर्ने विष्णु भुजेललाई प्रहरीले पक्राउ गरिसकेको छ। तर, हालसम्म सजाय तोकिएको छैन।

‘एक वर्ष पूरा भइसकेको छ,’ पीडित खड्का भन्छिन्, ‘अनुहारमा धेरै एसिड नपरेको भन्दै जिल्ला अदालत काठमाडौंले कारवाही गर्न ढिला गर्‍यो ।’ उनका अनुसार अनुहारमा एसिड छ्याप्ने पीडक र अनुहारबाहेक अन्य भागमा छ्याप्ने पीडकलाई सजाय फरक बनाउनु न्यायोचित होइन।

जेनी खड्का

‘एसिड शरीरमा र अनुहारमा पर्दाको पीडा उस्तै हो । एसिडले पोल्दाको पीडा अन्य व्यक्तिले कहिले अनुभव गर्न सक्दैनन्,’ उनी भन्छिन्, ‘एसिड प्रहार गर्नु नै अपराध हो, हान्नेले त शरीर ताकेर हानेको हुन्छ । जहाँ पनि पर्न सक्छ । यसमा सजाय फरक हुनु मलाई उचित लागेन ।’  पीडकलाई सजाय कम भएकाले नै एसिड प्रहार गर्ने अपराध कम हुन नसकेको उनी बताउँछिन् । 

घटना– ३

२०७१ माघ ८ मा ललितपुर महानगरपालिका–११ बस्ने २२ वर्षीया अञ्जना तण्डुकारलाई ललितपुर टीकाथली–३ बस्ने २४ वर्षीय अनुप रानामगरले एसिड प्रहार गरेका थिए । पीडकलाई ६ महिना कैद र ५० हजार जरिवाना तोकिएको थियो। 

०००
यी एसिड प्रहारका पछिल्ला घटना हुन् । नेपाल प्रहरी केन्द्रीय कार्यालयका अनुसार, नेपालमा २०७० पछि एसिड प्रहारका १६ वटा घटना भएका छन् । तर, मानिसलाई जिउँदै जलाउँदा पनि कानुनी कारवाही बलियो नभएकाले एसिड प्रहार गर्ने अपराध कम नभएको पीडितको गुनासो छ।

२०७५ भदौ १ गते लागू भएको मुलुकी अपराध संहिता दफा १९३ (२) अनुसार, कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुन्छ। 

त्यस्तै, शरीरको अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीनदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। 

‘सजायको समय अवधि कम भयो । पीडित पवित्रा कार्की भन्छिन्, ‘एसिडले पोल्दा अब बाँच्दिनँझैँ हुन्छ । यो त एक प्रकारले हत्याजस्तै हो । सजाय भने यति कम ?’
उनका अनुसार एसिड अनुहारमा पर्नु र शरीरको अन्य भागमा पर्नु पीडा उस्तै हो । त्यसैले सजायलाई विभेद नगरी सजाय अझ बढाउनुपर्छ। 

पवित्राको दायाँतर्फको भाग अनुहार, घाँटी र हात जलेको छ। 

‘बलियो कानुन नभएकाले एसिड प्रहार गर्ने अपराध नरोकिएको हो,’ कार्की भन्छिन्, ‘कम सजायका कारण पीडकको मनमा डर छैन ।’

एसिड प्रहार गर्ने व्यक्तिलाई जन्म कैद सजाय हुनुपर्ने त्यसो भए कानुनको डरले पनि यस्ता अपराध कम हुने उनको धारणा छ।

 २०७६ भदौ २१ को बिहान विद्यालय जाँदै गर्दा वीरगन्ज छपकैया–३ की १४ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भयो । घटनाको झन्डै एक वर्ष पुग्न लाग्दा पनि पीडक सम्साद मिया र मजिद आलमलाई जेल सजाय तोकिएको छैन । मुस्कान खातुनका बुबा रसुल अन्सारी भन्छन्, ‘पीडकलाई सजाय नै छैन । जिन्दगीभर निको नहुने पीडा दिएका अपराधीलाई एक दुई वर्ष कैद गर्नु सामान्य हो । कानुन बलियो र कडा बनाउनुप¥यो । ताकि भविष्यमा कसैका छोरी जिउँदै जलेको देख्न नपरोस् ।’

उनका अनुसार मजिद आलम पाँच महिनाअगाडि नै जिल्ला अदालत वीरगन्जबाट छुटिसकेका छन् । योजनाकार पीडक सम्सादलाई १८ वर्ष उमेर नपुगेको भन्दै बालसुधार गृहमा राखिएको छ। 

‘जीवित प्राणीमा एसिड हान्नु भनेको जिउँदै जलाउनुजस्तै हो,’ रसुल सरकारलाई प्रश्न गर्छन्, ‘जिउँदै जलाउनेलाई न्यूनतम दुई वर्षदेखि पाँच वर्षको सजायले पुग्छ सरकार?’

न्यूनतम दुई वर्ष सजाय तोकिए दिन र रात गरेर एक वर्षमै अपरधाी मुुक्त हुने तर पीडित भने जिन्दगीभर समाजको हेला र दुव्र्यवहारको सिकार हुनुपर्ने उनको भनाइ छ ।
२०७१ फागुनमा काठमाडौं महानगरपालिका–२३ झोछेँस्थितमा रहेको ट्युसन सेन्टरको कक्षा कोठाभित्र पढ्न बसिरहेकी संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार भयो । उनलाई एसिड प्रहार गर्ने रामेछाप फुलासी–८ का २० वर्षीय जीवन विकलाई घटनाको एक वर्ष पुग्न लाग्दा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी १० वर्ष जेल सजाय तोकिएको छ।

एसिडपीडित संगीता मगर, सीमा बस्नेत, सम्झना कुमारी दास, वसन्ती परियार, रिता चौधरी पनि सरकारले एसिड प्रहार गर्नेलाई सजाय बढाउनुपर्ने धारणा व्यक्त गर्छन् । 

६ वर्षयता घटना बढे

प्रहरी प्रवक्ता डिआईजी नीरजबहादुर शाहीका अनुसार, ६ वर्षयता धेरै एसिड प्रहार भएको आर्थिक वर्ष ०७०/७१, ०७४/७५, ०७५/७६ हो । 

‘उक्त आर्थिक वर्षमा चार/चार वटा घटना भएका छन्,’ शाही भन्छन्, ‘पीडितको संख्यामा महिला र पीडकको संख्यामा पुरुष बढी छन् ।’ 

०७१/७२ मा चारवटा घटना भएको थियो । जसमा तीन महिला र एक पुरुष पीडित थिए । पीडकमा चारैजना पुरुष थिए । उनीहरूलाई घटनाको विवरण अनुसार कम समय कैद र थोरै जरिवाना भुक्तानीपछि छाडियो।

२०७२/७३ मा दुई घटना थिए । जसमा पीडित दुई महिला र पीडक तीनजना पुरुष थिए । २०७३/७४ मा एक घटना थियो । जसमा पीडित एक महिला र पीडक एक पुरुष थिए । ०७४/७५ मा चार घटना थियो, जसमा दुई महिला र दुई पुरुष पीडित थिए । उक्त घटनामा ६ जना पीडक पुरुषलाई पक्राउ गरिएको थियो। 

उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिए पनि घटनाको विवरण अनुसार, एक वर्षसम्म कैद र थोरै जरिवाना लिएर छाडिदिने व्यवस्था थियो। 

‘२०७५ मा ऐन बनेपछि एसिड प्रहारको घटनाको प्रकृति हेरेर सजाय दिने व्यवस्था गरिएको हो,’ शाहीले भने।

ऐन बनाएपछि आर्थिक वर्ष ०७५/७६ मा चार घटना भएका छन् । जसमा पाँच महिला पीडित र पाँच पुरुष पीडक छन् । त्यस्तै, ०७६/७७ मा एक महिला पीडित र दुईजना पुरुष पीडक छन्। 

डिआइजीपी शाहीका अनुसार, २०७५ भदौ १ पछि भएका घटनालाई मुलुकी अपराध संहिता दफा १९३ (२) अनुसार कैद तथा जरिवाना हुन्छ। 

२०७१ देखि ७७ हालसम्मको अवधिमा १६ घटना भएका छन् । जसमा १४ महिला र तीन पुरुष पीडित छन् । पीडकमा २१ पुरुष र एक महिला छन् । 

उपत्यकामा सात वर्षमा चार एसिड प्रहार 

महानगरीय प्रहरी कार्यालयका अनुसार, २०७० पछि उपत्यकामा एसिड प्रहारका चार घटना भएका छन् । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलकुमार यादवका अनुसार पीडितमा महिलाको संख्या बढी छ। 

उनका अनुसार तेजाब प्रहार ऐन बन्नुभन्दा पहिला ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई छोटो समय कैद र थोरै जरिवाना लिएर कैद मुक्त गरिन्थ्यो।
 

 Published Date: Wednesday, 29th July 13:43:05 PM