बिहीबार, माघ १६, २०७६

बिहेको कार्डको साटो गमलाका बिरूवा

अधिकांश भारतीय विवाह खर्चिला हुन्छन्। तर पछिल्ला वर्षहरूमा बढी हरित र दीगो स्वरूपमा ढल्किन थालेको छ।

आजभोलिका दम्पति कार्बन उत्सर्जन घटाउन बढी सचेत हुन थालेका छन्। पोहोर साल मुम्बईका एक दम्पतिले विवाह समारोहमा “रिसाइकल्ड” अर्थात पुनर्चक्रण गरिएका सामग्री प्रयोग गरेको समाचारले निकै चर्चा पाएको थियो।

यो वर्ष भोपालका एक परिवारको विवाह चर्चामा छ। उनीहरूले कागजको निम्तोपत्र नभएर गमला पठाएर वातावरणमैत्री विवाह गरेका छन्।

व्यवसायी प्रांशु कंकण र भाइ प्रतिक वातावरणमैत्री विवाहको अवधारणाबारे सोचिरहन्थे। प्रांशुको विवाहमा उनीहरूले त्यसलाई यथार्थमा परिणत गरेका छन्। जीवनको महत्वपूर्ण दिनलाई उनीहरूले “ग्रिन अफेयर” बनाउन कुनै कसर बाँकी राखेनन्।

“खाना खेर नफाल्ने विचार आयो। हामीले कागजको साटो विद्युतीय निम्तो पठायौं। असमर्थताको जानकारी गराउन पनि अनुरोध गर्‍यौं,” प्रतिक भन्छन्।
असमर्थताको अनुरोध पठाउने चलन पुरानै हो। तर भोपालवासीलाई यसको बानी नपरेको प्रतिकको दाबी छ।

“विद्युतीय कार्ड प्रयोग गरेर हामीले कागजको प्रयोग घटायौं। असमर्थताको जानकारी गराउने विकल्पले खाना पनि खेर नजाने भयो,” उनले भने।

छोराहरूको नयाँ सोचलाई बुवा राजकुमार कंकणले समर्थन गरे पनि आमा भने सन्तुष्ट थिइनन्। “कार्ड नपठाए आफन्त र निम्तालुसँग कसरी भेट हुन्छ भनेर आमाले सोध्नुभयो,” प्रतिकले भने।

आमाको चाहना पूरा गर्न दाजुभाइले “हरित निम्तो”को अवधारणा ल्याए। बिहेको निम्तोपत्र वितरण गर्नुको साटो दाजुभाइले बेहुला र बेहुलीको जानकारी गमला छापे। “यो ८ १० महिनाको घरभित्रै राखिएको बिरूवा हो। सजिलै ३ ४ वर्षसम्म बाँच्छ,” उनले भने।

उनीहरूको हरित निम्तोलाई चार सय निम्तालुले मन पराए। “मलाई त्यस्तो प्रतिक्रिया पाइएलाजस्तो लागेको थिएन। मानिसहरू निकै उत्साहित थिए। हामीले ४ ५ प्रकारका बिरूवा प्रयोग गर्‍यौं। तुलसीको बोट पनि थियो। उनीहरूले रूचाएको निम्तो रोज्नसक्थे,”उनले भने।

बिरूवा वितरण गर्नु ठूलै काम थियो। तर यसलाई सस्तो र मानिसहरूलाई सचेत बनाउनु मुख्य चुनौती भएको प्रतिक बताउँछन्। “यो हरित निम्तो कागजको कार्डको विकल्प थियो। त्यसैले कार्डको मुल्यमा निम्तो तयार गर्नु मुख्य चुनौती थियो,” उनले भने।

एउटा हरित निम्तोको लागत करिब ६८ भारू भयो। कागजको एउटा निम्तो पनि उत्तिकै मुल्य पर्ने प्रतिकको दाबी छ। “यो प्रक्रिया सहज र सस्तो पनि छ भनेर हामी मानिसहरूलाई बुझाउन र देखाउन चाहन्थ्यौं। यसले धेरै मानिसहरूलाई हरित प्रक्रियातर्फ प्रोत्साहन गर्नेछ,” प्रतिक भन्छन्।

दाजुभाइले रबिन हुड आर्मी नामक स्वयंसेवक संस्थासँग पनि सहकार्य गरे। संस्थाले विवाह समारोह र रेस्टुरेन्टबाट उब्रिएको खाना संकलन गरेर विपन्नलाई वितरण गर्दछ। यसबाहेक, गमलाको निम्तोमा विवाहमा बुके नल्याउन र खाना खेर नफाल्न पनि अनुरोध गरिएको थियो।

वातावरणमैत्री विवाहको अवधारणा बुझाउन प्रतिकले प्रत्येक निम्तालुसँग १० १५ मिनेट समय गफ पनि गरेको बताउँछन्।
 

 Published Date: Saturday, 7th December 14:03:39 PM