सोमबार, मंसिर २३, २०७६

१३ औं साग : दोस्रो दिन नेपालले जित्यो १५ स्वर्ण पदक

काठमाडौं, मंसिर १६ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन नेपालले १५ स्वर्ण जितेको छ।

 सोमबार १५ स्वर्ण जित्ने क्रममा नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक स्वर्ण जित्यो। यस्तै, नेपालले कराँतेमा २ र तेक्वान्दोमा एक गरी तीन रजत पदक हात पार्दा तेक्वान्दोमा तीन र ट्रायथलनमा एक गरी चार कास्य पदक जितेको छ।

कराँतेमा मण्डेकाजी श्रेष्ठले एकल र टिमबाट गरी दुई स्वर्ण पदक हात पारे। कराँतेमै मण्डेकाजी, प्रविण मानन्धर र महसुस तामाङले टिम कातामा स्वर्ण जिते। 

यस्तै, कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीको टिमले स्वर्ण जित्यो। महिला एकल कातातर्फ भने चञ्चला दनुवारले रजत पदक हात पारिन्।

कुमुतेको पुरुष ५५ केजीमुनि लक्ष्मण तामाङ र ८४ केजीमाथिमा विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जिते।  महिलातर्फ ४५ केजीमुनिमा कुशुम खड्का र ५० केजीमुनिमा अनु अधिकारीले पनि स्वर्ण पदक हात पारे।

८४ केजीमुनि प्रतिस्पर्धा गरेका दिवस श्रेष्ठले रजतमा हात पारे। 

यस्तै, पुम्सेको एकल र टिम गरी आयशा शाक्यले दुई वटा स्वर्ण पदक हात पारिन्। १७ वर्षमाथिको उमेर समूहमा सीना मादेन, २३ वर्षमाथिको उमेर समूहमा पार्वती गुरुङ र पुरुषतर्फ २३ वर्षमाथिको समूहका कमल श्रेष्ठले स्वर्ण पदक जिते। 

यसैगरी,  पुम्सेको कटिमतर्फ १७ वर्षमाथिको उमेर समूहमा नीशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिना तथा २३ वर्षमाथिको उमेर समूहमा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टिमले नेपाललाई स्वर्ण पदक दिलाएका छन्।

यस्तै, सोमबारै पोखरामा भएको ट्रायथलनमा महिलातर्फ नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितिन्। महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी, २० किमी साइकल र पाँच किमी दौड एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्।
 

 Published Date: Monday, 2nd December 20:20:01 PM