सोमबार, मंसिर २३, २०७६

यस्तो रह्यो १३ औं सागको उद्घाटन (फोटो फिचर) 

काठमाडौं, मंसिर १५ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) आइतबारदेखि सुरू भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित भव्य समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उद्घाटन गरेकी हुन्। सागको उद्घाटन समारोहमा  नेपालको झण्डा सन् २००६ मा भएको १० औं सागका स्वर्ण पदक विजेता भारतोलनका कमलबहादुर अधिकारीले बोकेका थिए।

सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्वलन गरेका थिए। उद्घाटन समारोहमा सागमा सहभागी मुलुकका खेलाडीको मार्च पास पनि गरिएको थियो। नेपालसहित सहभागी सबै राष्ट्रले आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुतिसमेत पस्किइएको थियो। 

सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ। सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलंकाका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। साग खेलकूदमा करीब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ।

सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो। १३ औं सागका लागि ३१७ स्वर्ण र रजत पदकका साथै ४८१ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। काठमाडौ, पोखरा र जनकपुरमा आइतबारदेखि सुरु भएको साग मंसिर २४ गतेसम्म चल्नेछ। 


 

 Published Date: Sunday, 1st December 18:18:12 PM