सोमबार, असोज ५, २०७७

काठमाडौंको सुन्दरता सनसिटीमा ठोक्किएर तोडिएको त्यो क्षण..

विगत २२ दिनदेखि यता राजधानी लगायत अधिकांश क्षेत्रमा ‘वर्क फ्रम होम’ चलिरहेको छ। लकडाउन सुरु भएसँगै हरेका मानिसको दैनिकी फेरिएको छ। आजभोलि प्रायः ९ बजे उठ्ने गर्छु। चिया, खाना बनाउने कामबाट सुरु भएको मेरो दिन रातको २ बजे सकिन्छ। मतलब ढिलो सुत्ने र ढिलै उठ्ने बानी परेको छ। खाना खाएर ११ बजेदेखि ६ बजेसम्म काम गर्ने, खाना बनाउने, खाने, फिल्म हेर्ने, पढ्ने र दुई बजे सुत्ने।

दिन यसरी नै वितिरहेका छन्। दिउँसो काम गरिरहँदा झ्यालबाट बाहिर चिहाउँछु। चरा कराइरहन्छन्, नजिकै रहेको बाँसघारीमा बाँस हावाको गतीसँगै झुत्तो खेलिरहन्छ। सदाझैं प्लेन र हेलिकोप्टरको आवाजले कानै बन्द हुन्छ कि भन्ने डर अहिले छैन। ढुंगा विच्छाइएका सडकमा गुड्ने गाडीको चर्को आवाज छैन। स्कुल बिदा भएर फुर्सद पाएका छिमेकका केटाकेटी आफ्नै संसारमा रमाइरहेका छन्, खेलिरहेका छन्। आजभोलि सुनसान छ, काँडाघारी।

लकडाउनको २२ दिनको अवधिमा सोमबार भने ममा अचम्मको हुटहुटी जागेर आयो। सुनसान शहर डुल्न मन लाग्यो, दिनहुँ पैदल हिँड्ने सडक पेटी हेर्न मन लाग्यो। र, त मनमा लागिरहेको थियो– नयाँ वर्षको दिन बाहिर निस्किन पाए पनि हुन्थ्यो नी। नहोस्, पनि कसरी। दैनिक कम्तिमा १२ किलोमिटर पैदल हिँड्ने मेरा खुट्टा आजभोलि बन्द कोठामा खुम्चिएका छन्। लाजिम्पाटमा अफिस टाइम सकेर बेलुका पुतलीसडकमा चिया खान आइपुग्ने म अहिले डेरामा थुनिएको छु। मनमा उकुसमुकस छ, छट्पटी छ।  तर पनि कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको नियम मानेको छु। आफू जोगिएर अरुलाई पनि जोगाउन सकिन्छ भने मेरा हजार इच्छा मनमा दबाएर राख्न तयार छु। किनकि मेरो स्वास्थ्यभन्दा देशको स्वास्थ्य मूल्यवान छ।  

आवश्यक सुरक्षा र सजगता अपनाएर बाहिर निस्कने मन त थियो। तर त्यो मेरो बुताको विषय थिएन। कारण, मसँग साधन छैन। तर, करिब ११ बजे अमन कोइराला दाइले म्यासेन्जरमा फोन गर्नुभयो। उहाँको फोन नयाँ वर्षको शुभकामना दिनका लागि थियो। शुभकामना सकिन नपाउँदै दाइलाई मैले प्रस्ताव गरेँ–दाइ एकछिन अफिस जाऔं,  घुमेर फर्कौं। मेरो प्रस्ताव दाइले अस्वीकार गर्ने कुरै थिएन। किनकि दाइसँग मेरो सम्बन्ध यस्तै छ।

एक वर्ष यता दाइकै स्कुटरको पछि बसेर अफिस आउने जानेक्रम जो चलिरहेको छ। दिउँसो साढे २ बजे हामी हरहर महादेवबाट कोटेश्वरतिर स्कुटरमा हुइँकियौं। जडिबुटी र कोटेश्वरको प्रहरी चेकिङ पार गरेपछि मैले भनेँ– दाइ लकडाउन थपिएला? दाइले भन्नुभयो– पक्कै थपिन्छ। तर, म भनेँ काठमाडौंमा चाहिँ लकडाउन आशिंक खुले हुन्थ्यो भन्नेमा थिएँ। दाइलाई सुनाएँ। उहाँले पनि काठमाडौं जोखिम कम भएकाले आंशिक खुले हुन्थ्यो भन्ने आशय व्यक्त गर्नुभयो।

अनामनगरस्थित माधव धिताल दाइको डेरा हुँदै लाजिम्पाटस्थित काठमाडौंप्रेसको अफिससम्म हाम्रो यात्रा रह्यो। धेरैपछि माधव दाइ र महेशजीसँग भेट हुँदा मन हलुको भएको थियो। किनकि २१ दिनयता एक्लै डेरामा बस्दा मलाई न्यास्रो लागेको थियो। बेलाबेला सोच्थेँ–लकडाउन खुलेपछि पन्छी आकाशमा उडेँ झै स्वतन्त्र भएर हिँड्नेछु। साथीहरुसँग भेट्ने छु र चियाको चुस्कीसँगै गफ गर्नेछु। लकडाउनकै समयमा  शहर घुम्न पाउँदा खुसी नहुने कुरै थिएन।

साँझ ५ बजे लाजिम्पाटबाट पुतलीसडक, माइतीघर हुँदै हामी फेरि डेरा फर्कियौं।  

बानेश्वर पुगेपछि अमन दाइले भन्नभयो– बुझ्यौं आखिर राक्षस त मान्छे नै रहेछ नी?

हत्त न पत्त मैले सोधिहालेँ– किन दाइ?
 
दाइले भन्नुभयो– यो २१ दिन गाडी नगुड्दा, मानिस बाहिर ननस्किँदा काठमाडौंको स्वरुप फेरिएछ। यदि लकडाउन नभएको भए यो सम्भव थिएन नी।

हुन पनि हो। खुला र सफा सडक, आसपासमा वसन्तु ऋतुको सुरुवातसँगै पालुवा फेरेका हरिया बोटविरुवा, ठाउँठाउँमा फुलेका रंगीविरंगी फूल र शून्य प्रदुषण साँच्चै लोभलाग्दो भएछ काठमाडौं। काठमाडौंको रुप सधैँ यस्तै रहे। यस्तै सफा काठमाडौंमा बस्न पाए सबैले भन्ने थिए– आहा काठमाडौं।

दिउँसो शहर घुमेर पुलकित बनेको म साँझ भने बेचैन रहेँ। बाह्रसटरस्थित डेरा आएर जब मैले फेसबुक स्क्रोल गरेँ। तब इकान्तिपुरको समाचार लिंक देखियो। जहाँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ देखिएको समाचार थियो। समाचार पढेलगत्तै मलाई एकाएक झट्का लागे झैं महसुस भयो। दिउँसो आंशिक लकडाउन खुले हुन्थ्यो भन्ने मेरो चाहनामा पूर्ण रुपमा ब्रेक त लाग्यो नै एकाएक मनमा डर पैदा भयो।
 
एकछिन त मैले भयानाक कल्पना गरेँ। सोचेँ–सायद संक्रमित भइयो। डरको पछि कारण थियो– सनसिटी अर्पाटमेन्ट र मेरो बसाइको दूरी। दुरी केबल करिब एक किलोमिटर मात्रै छ। बेलायतबाट फर्किएको एक महिनापछि कोरोना पोजेटिभ देखिँदा भाइरस भित्रभित्रै फैलिइसकेको निष्कर्ष मेरो मनले निकाल्यो। र, त्यसको सम्भावित शिकार भइसकेको आशंका आफ्नै मनले आफैँमाथि गर्‍यो।

डर र त्रासकाबीच मनोवादमा व्यस्त रहेकै बेला नयाँ पत्रिकामा काम गर्ने प्रकाश भाइले म्यासेन्जरको घण्टी बजाउँदै भन्यो– डुबियो त दाइ। प्रकाश पनि निकै डराएको रहेछ। अझ उ त सनसिटी अर्पाटमेन्टको नजिकै बस्छ।

मैले भने– बाचिन्नँ क्यारे यार।

तर, उसले भनिहाल्यो– उपरवाला जाने, अल इज वेल। अब परीक्षण गराउन पर्छ दाइ।

डरकाबीच पनि आशा के कुरामा थियो भने र्‍यापिड डाइग्नोस्टिक टेस्टले पोजेटिभ देखाएको हो। रियल टाइम पोलिमेरेज चेन रिएक्सन’ (पिसिआर)बाट परीक्षण गर्दा नेगेटिभ देखिन सक्छ। आखिर बाग्लुङको एउटा केस यस्तै भएको थियो। मनमनै पुकारेँ– भगवान यो केसपनि नेगेटिभ देखियोस्।

तर, त्यसको ठीक उल्टो भयो। मंगलबार राष्ट्रिय प्रयोगशालाले तीनमध्ये दुई जनामा कोरोना पोजेटिभ रहेको पुष्टि गरेको छ। अब आत्तिनेभन्दा सजगता अपनाउनेमै ध्यान दिनुको विकल्प छैन। मनमा कताकता डर त छ तर आत्तिएको भने छैन।

डर किन पनि छ भने संक्रमित भनिएको व्यक्ति चैत ५ गते लण्डनबाट आएर सनसिटीमा बसेका रहेछन्। सरकारले लकडाउन गरेको भोलिपल्ट आवश्यक सामान किन्न भनेर अर्पाटमेन्टसँगै जोडिएको स्टोरमा पुगेको थिएँ। सँगै त्यही क्षेत्रको एटिएमबाट पैसा समेत निकालेको थिएँ। लण्डनबाट आएर लकडाउन सुरु हुँदासम्म उनीहरु कहाँ–कहाँ गएका थिए, क–कसलाई भेटेका थिए?

पाँच सयभन्दा बढी मानिस बसोबास गर्ने अर्पाटमेन्टमा उनीहरुको को–कोसँग भेटघाट भयो।  लिफ्टकै माध्यमबाट कतिमा संक्रमण सर्‍यो होला? त्यो अर्पाटमेन्टमा बस्ने अरु मानिसहरु कता–कता गए? के–के किने?  एटिएम प्रयोग गरे, गरेनन्? यस्ता दर्जनौं प्रश्न मानसपटलमा घुमिरहेका छन् र यी प्रश्न अनुत्तरित छन्। यद्यपी सरकारले अर्पाटमेन्ट सिल गरेको र परीक्षण गरिरहेको बुझिएको छ।

सनसिटी घटनाले एकातिर मनमा डर र त्रास पैदा गरेको छ। र, अर्कोतर्फ थप सजग हुनुपर्ने अवस्था आएको छ। सँगै कोरोना परीक्षण गराउने इच्छा जागेको छ। तर, सहजै परीक्षण गराउन पाउने अवस्था छ वा छैन? परीक्षण किट पर्याप्त मात्रमा नरहेकाले परीक्षण गराउन सकिएला भन्ने लागेको छैन। तर, संक्रमितसँगै अपार्टमेन्टमा रहेका मानिसहरको कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षण सरकारले गराओस्। सम्भव भए पेप्सीकोला क्षेत्रमा बसोबास गर्ने हरेकको परीक्षण होस्। सम्भव नभए एक घर एक व्यक्तिको परीक्षण होस्। जसले संक्रमण थप फैलन नपाओस्।

यदि परीक्षण नगर्ने हो भने हामी सेल्फ क्वारेन्टाइनमा त बसौंला तर मनमा डर पालेर। भनिन्छ नि–वनको बाघले खाओस् नखओस्, तर मनको बाघले खान्छ। परीक्षण, परीक्षण र परीक्षण नगर्ने हो भने पेप्सीकोला कोरोनाको इपिसेन्टर नबन्ला भन्न सकिन्न। सँगै हामीले तरकारी समेत किनेर खान पाउने अवस्था नरहला। किनकि हामी डेरा गरेर बस्नेहरुसँग फ्रिज छैन, खाने कुराको पर्याप्त स्टक छैन।   

संक्रमितहरु चैत ५ गते नेपाल आएका रहेछन्। १० गतेसम्म सार्वजनिक यातायात सञ्चालन भएका थिए। उनीहरु सार्वजनिक यातायात चढे वा चढेनन्? सनसिटी काँडाघारी एरियाको मुख्य चोक हो। जहाँ एटिएम बुथदेखि किनमेल गर्ने मार्टसम्म छन्। जसका कारण मानिसहरुको भिडभाड हुन्छ, थियो। त्यो भिडमा उनीहरु निस्किए कि निस्किएनन्? यो सबैको खोजी गर्न जुरुरी छ। र, बढीभन्दा बढी परीक्षण गर्न आवश्यक छ।

 Published Date: Wednesday, 15th April 2020 1:47:11 am