मंगलबार, जेठ ७, २०७६

भर्चुअल भीडबीचको एक्लोपन

फेसबुक मेसेन्जेरले जब ‘योर स्टोरी’ शुरु गर्‍यो, तब मलाई मनको बह पोख्ने साथी भेटिए झै भयो ।

मन खुशीले नाच्दा होस् वा भित्रभित्रै कुडिँदा, म मेरो मनको प्रत्येक बह ‘योर स्टोरी’मा पोख्थेँ । कहिले छोटो भिडियो बनाएर त कहिले तस्बिर मात्रै।

हालै मैले एउटा अलि ‘स्याड स्टोरी’ अपलोड गरेँ । एक केटा साथीले रिप्लाई गर्‍यो, ‘आजकाल त स्टोरीका स्टोरी गइरहेको छ नि!’

ऊ कुनै बेला मेरो मिल्ने साथी थियो । तर, अचेल हामीबीच हाई हेल्लो मात्रै छ।

मैले जवाफ फर्काएँ, ‘दुई प्रकारका मानिसहरू फेसबुकमा धेरै सक्रिय हुन्छन्।’

मेरो कुराले उसको उत्सुकता बढाएछ । उसले सोधिहाल्यो – ‘कस्ता कस्ता हँ?’

मैले रिप्लाइ गरेँ, ‘पहिलो, जिन्दगीमा धेरै खुशी पाएका...।’

उसले धैर्य गर्न सकेन । सोधिहाल्यो, ‘र, दोस्रो चाहिँ?’

मेरो जवाफ तयार थियो, ‘ती मानिस जसका साथी त धेरै हुन्छन् तर हितैषी हुँदैनन्, जो धेरै सम्बन्धहरूमा बाँधिएका हुन्छन् तर ती सम्बन्धहरू देखावटी मात्रै हुन्छन्।’

उसले लेख्यो, ‘वाह! वाह!! कहाँ पढेको यस्तो?’

उसले मेरो तारिफ गर्दै थियो कि खिल्ली उडाउँदै थियो ? म कुनै निष्कर्षमा पुगेकै थिइनँ । उसले अर्को प्रश्न गरिहाल्यो, ‘अँ, अनि तिमी चाहिँ पहिलो कि दोस्रो समूहमा पर्‍यौँ त?’
मैले भनेँ, ‘आफै गेस गर न!’

उसको अघिल्लो प्रश्नको उत्तर पनि दिइहालेँ, ‘कतै पढेको होइन, म आफैले लेखेको।’
उसले गेस गर्‍यो, ‘तिमी पहिलो समूहमै पछ्र्यौ क्यार... जिन्दगीमा खुशी नै खुशी पाएकी।’

उसको म्यासेज पढेर भन्न मन लागेको थियो – तिम्रो गेस गलत भयो । तर, केही भनिनँ । चूप बसेँ।

मलाई जिन्दगीमा खुशी नै खुशी पाएकी केटीको रुपमा देख्नुमा उसको दोष पनि त छैन ।

आखिर म पहिले त्यस्तै त थिएँ । जुन बेला हामीसँगै पढ्थ्यौँ, त्यसबेला म सधैं चुल्बुल गरिरहन्थेँ । मनमा पीडा नभएको होइन, तर त्यसलाई आँखामा छचल्किन दिन्न थिएँ।

उसले मलाई देखेकाे, भेटेकाे, चिनेकाे सात वर्षजति अघि हो, जुन बेला हामी दुबै प्लस टुमा पढ्थ्यौँ । माथि नै भनिहालेँ, अहिले हामीबीच हाई हेल्लो मात्रै हो । सायद हाई हेल्लोभन्दा अलि बढी, तर आफ्नो मनको कुरा पोख्न मिल्ने गरी नजिक पनि होइन।

उसले चिनेको वर्षा यस्तो भावुक कुराकानी गर्दैन थियो । म सधैं हास्थेँ । ऊ सधैं हास्थ्यो । मेरो सर्कलका प्रायः सबै साथीहरू हाँसी नै रहन्थे । किनकि म उनीहरु सँग हुँदा सधै केही न केही जोक्स या ठट्टा गरेर उनीहरुलाई हसाँइ रहन्थेँ।

तर, एक दिन एक साथीको हाँसो अचानक बन्द भयो । उसले आफैलाई ‘हयाङ’ गरेछ । आफ्नै कोठामा झुण्डिरहेको अवस्थामा उसको लाश भेटियो।

हामी दुःखी भयौँ । तर, उसको दुःख बुझ्न सकेनौँ । उसले किन हाँस्दा हाँस्दै ओठ बन्द गर्ने निधो गर्‍यो होला ? हामीले कुनै भेउ पाएनौँ।

साथीहरू अड्कल लगाए, सायद प्रेममा धोका पाएर उसले आत्महत्या गरेको हुनुपर्छ । हुनु पनि उसले आत्महत्या गर्नुपर्ने अर्को कुनै कारण नै देखिँदैन थियो । कलेज पढ्ने र घरव्यवहारको झमेलामा नपरेको केटाले अरु के कारणले आत्महत्या गर्ला त?

अहिले सोच्छु, त्यसबेला मैले उनको दुःख बुझ्न सकिनँ। साथीभाइ माझ पनि उसले त्यस्तै एक्लो महशुस गरेको हुनुपर्छ, जुन अहिले मैले गरिरहेको छु।

म त्यस्तै ‘एक्स्ट्रिम एक्सन’ अवस्थाबारे त सोच्न पनि सक्दिनँ तर, मलाई अहिले थाहा भएको छ, आखिर मानिसहरू किन त्यस्तो अन्तिम निर्णय लिँदा रहेछन्!

जब मानिस एक्लो हुन्छ, तब ऊसँग संघर्ष गर्ने शक्ति हुन्न रहेछ । साथीहरू त धेरै हुन्छन्, तर सबैलाई आफ्नो पीडा सेयर गर्दै हिँड्न नसकिने रहेछ।

यसैले, मैले ‘योर स्टोरी’मा आफ्ना स्टोरीहरू राख्न थालेँ । तर, म अचेल ‘योर स्टोरी’ पनि कमै चलाउँछु । किनकि, ‘योर स्टोरी’ एक भर्चुअल संसार मात्रै हो, जहाँ साथीहरू त धेरै हुन्छन् तर हितैषीहरू हुन्नन्।

फेसबुकमा धेरै साथीहरू हुन्छन् । तैपनि, म यो भीडमा एक्लै यात्रा गरिरहेको छु जस्तो लाग्छ।

सायद तपाईंको फेसबुक पनि साथी–चिनारूको फेसैफेसले भरिएको होला, तर ‘फेस टु फेस’ गर्नेहरू चाहिँ कमै होलान्।

त्यसैले फेसबुक, ट्वीटर वा अन्य सामाजिक सञ्जालभन्दा परिवारजन, आफन्तसँग समय बिताउँनुस् । घुमफिर गर्नुस्, राम्रा राम्रा पुस्तक पढ्नुस् । भर्चुअलमा भुल्नुभन्दा बास्तविक जिन्दगीमै रमाउनुस्।

Published Date: Thursday, 21st March 12:55:23 PM