आईतबार, असोज ५, २०७६

शासकबाट पिल्सिएका हामी र मेरो देश 

सत्र वर्ष  लामो अमेरिका बसाइपछि आशाका गुच्छाहरू बोकेर नेपाल फर्केको ममा वितृष्णाले दिन प्रतिदिन धकेल्दै फेरि विदेशिने सोच्न बाध्य नबनाएका होइनन् । मानिसको जीवनमा थुप्रै अवसर र अप्ठेरा आउँछन्  ।

म जुन देशमा बस्छु यहाँ अवसर आफ्नै बलबुताका आधारमा  कमैमात्र आउँछन् । तर, यस्तो लाग्छ  अप्ठेराहरू नचाहँदै नचाहँदै तपाईंलाई खोज्दै तपाईंकै सामु आइपुग्छन् ।  


म यहाँ मैले देखेको र भोगेको समाजको चित्रण गर्न गइरहेको छु । मलाई लाग्छ यो मेरो मात्र नभएर धरै जसो नेपालीको भोगाइ र बुझाइ हो ।

हामीकहाँ पुलिस, न्यायालय, राजनीतिज्ञ, खेलाडी, पत्रकार , सामाजिक कार्यकर्ता, डाक्टर, इन्जिनियर, मित्रता, सम्बन्ध, सबै देखावटी बन्दैगएको छ । एकले अर्कालाई लुट्ने र धोका दिने  धन्दा नै स्थापित भैसकेको छ । कहिलेकाँही लाग्छ कतै यो दुनिया नै एउटा ठूलो धोकाको संजाल त होइन? 

सामाजिक सञ्चालमा गरिने तल्लोस्तरको टीकाटिप्पणी, मायाप्रेम को नाटक गरेर बिग्रिएका परिवारहरुको बढ्दो आँकडा हेर्दा लाग्छ विश्वविद्यालयमा पाइने डिग्रीले यो समाजलाई कता लैजाँदै छ ? अरूको दुखमा हाँस्नेहरुको भीडमा बसेर नियाल्दा लाग्छ बिस्तारै मानवता समाप्त हुँदै गैरहेको छ ।

अदालत न्याय दिनको लागि होइन अपराधीलाई बचाउनको लागि प्रयोग गरिन्छ। पुलिसद्वारा नै अपराधिक क्रियाकलापका प्रमाणहरु नष्ट पार्ने काम गरिन्छ। अनि लाग्छ रक्षकहरु भक्षक बन्दैछन भनेर।

गरिबी हटाउनको लागि भोट दिएर पठाएकाहरुले नै तपाईंलाई अझ धेरै गरीब बनाउँछन्, संसारका सबै मानिस खराब त कसरी होलान् र? सायद बहुमतको यो युगमा असल मान्छेहरू अल्पमतमा परे कि? 

यो समाजलाई नंग्याउने मेरो कुनै इच्छा होइन  तर चुपचाप बस्न पनि त सकिँदैन । किनकि म पनि यही समाजको एउटा हिस्सा हुँ। समाज बर्बादीको बाटोमा जाँदै गर्दा मलाई पनि पोल्छ । 

सामाजिक संजालमा मानिसहरुले सहजै अरुलाई लाञ्छना लगाएको देख्दा समाजमा न्यायाधीशहरु धेरै जन्मिसकेका छन्। मान्छेहरू  आफ्नै एकल इजलासमा सम्पूर्ण कुराहरूको फैसला गरिदिन्छन् आजकल।

यस्तो लाग्छ सामाजिक संजाल भनेको सम्पूर्ण मान्छेहरूको समस्याको समाधान गर्ने इजालस हो । धेरै  मान्छेहरु सामाजिक संजालका राखिएका स्ट्याटसको आधारमा विश्लेषण गरिदिन्छन् को सही अनि गलत भनेर।

राजनीति  राज्यको विकास र समृद्धिको बारेमा सोच्ने नीति  हो। नेपालमा विकासको राजनीति गर्नुपर्छ ।तर यहाँ राजनीति भनेको नेताले  कुर्सी पाउने र जनता  शोषण गर्ने व्यवसायका रूपमा परिणत भइरहेको छ । 

आज नेपालका सबै राजनीतिक पार्टीमा नैतिक मूल्य र मान्यता कमजोर हुँदै गए निष्ठाकोविचलन  भएको छ। राजनीति आज एउटा व्यापार भएको छ । चुनावी प्रचारप्रसारका बेला महत्वाकांक्षी सपना बाँडेर देश लुटिरहेका छन् । 

हाम्रो सरकारलाई भ्रष्ट भनिरहनु पर्दैन  छैन भ्रष्टाचारको लागि सरकार बनेको र चलेको छ । अहिलेको राजनीतिक संस्कारमा जो कोही भए पनि बाँडीचुँडी खाने परम्परा कहिले अन्त्य हुँदैन ।

यस्तो देख्दा लाग्छ,  निष्ठा र आदर्शको राजनीति नेपालीको  भाग्यमा नै छैन । नेपालका सबै  पार्टीमा निष्ठाको विचलन छ, नैतिक मूल्य र मान्यता छैन ।

विद्यार्थीको राजनीति गर्नेले विद्यार्थीको हकहितको काम गर्दैन ,  युवाको लागि भनेर राजनीति गर्नेले देशका युवाहरुका बारेमा गम्भीर भएर  सोच्दैनन् । महिलाको लागि  राजनीति गर्नेले महिलाको हकहितको लागि आवाज उठाउदैनन् । आखिर केका लागि छन् त यी  संगठन ? पार्टी र गुट बलियो बनाउन मात्रै यी संगठनलाई परिचालन गरिन्छ । 

हाम्रो देशमा मान्छे होइन पद बोल्छ । कुनै विषयको बारेमा के भनिएको छ भन्दा पनि कसले भन्यो भन्ने महत्वपूर्ण मानिन्छ । पदमा बसेपछि जे बोले पनि हुन्छ , जसो गरे पनि हुन्छ भन्ने ठानिन्छ । जिम्मेवार पदमा बस्नेहरुले  हामी यस्तो समाजमा बस्छौँ जहाँ राजनीतिज्ञहरू किन बेच गर्नमा नै व्यस्त छन् ।

पैसाले किन्न सकिने सबैभन्दा उत्तम लोकतन्त्र नेपालमा छ भन्दा अत्युक्ति नहोला । हाम्रो देशको लोकतन्त्रले अव बिस्तारै जनताको प्रतिनिधित्व गर्न छोडेको छ । नेपालका राजनीतिज्ञहरूलाई सत्ता र राजनीति सेवा गर्ने माध्यम होइन, केवल धन्दा बनेको छ । 

जनताको चुलोमा ग्यास छैन, धारामा पानी छैन । बिरामीले अस्पतालमा बेड पाउँदैन । स्कुलमा गतिलो पढाइ छैन । जनता सुरक्षित छैनन् । यी सबै भइरहँदा कसैलाई आत्मग्लानि छैन । 

राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्र सम्म आइपुग्दा विगत १० वर्षमा बलात्कार २५६ प्रतिशतले बढेको छ । हरेक दिन ४ वटा बलात्कारका मुद्दा दर्ता हुँदैछन् । दर्ता नभएका घटनाहरु त अनगिन्ती छन् । बलात्कार बाहेकका यौन उत्पीडन र यौन दुव्र्यवहारको त कुनै लेखा जोखा नै छैन ।

यो देशमा सरकार बनिरहेका छन्, मानवअधिकारवादीहरू कुर्लिरहेका छन् , महिला हकहितको लागि जुलुस निस्किइरहेका छन्, पाँचतारे होटेलमा ‘समाधान’ खोजी भइरहेका छन् ।  तै पनि बलात्कार र महिला हिंसा भने घट्न सकेन । समस्या राजनीति र शासनप्रणालीमा छ, किन यी सुध्रिन सकेका छैनन् ? 

देशभक्तिको कुरा गर्नेहरूको भीड ठुलो छ । खोक्रो राष्ट्रवादले गाँजेको छ, अरुलाई घृणा गर्न सिकाएको छ ।   भएका छन् । एउटा नेताले गरिब र दलितको घरमा गएर भात खायो भने त्यो नेताको समाचार बन्छ र त्यो नेताको गुणगान गाइन्छ । खुशी त तब हुनुपथ्र्यो जब गरिब र दलितले नेताले हरेक दिन खान पाए जस्तो खानेकुरा खान पाउँथे । 

मेरो देशमा ‘भविष्य बनाउन’ ३५ दिन कुरेर पहिला पासपोर्ट बनाउनु पर्छ ।  तब मात्र मेरो भविष्यको ढोका देखिन्छ । मेरो देशमा सपना बेच्नेहरुको समृद्धिको बाटो गरिब र कमजोरलाई शोषण गर्नु नै भइरहेको छ ।

भित्तामा पोतिएका उम्मेदवारहरूको नाम, फोटो र उनीहरूले गरेका प्रतिज्ञाहरूले  किनिएका भोटले आजसम्म पनि आम जनतालाई वाचा गरिएका सुविधा भन्दा पनि जिस्काइरहेका जस्तो लाग्छ  ।

शिक्षाको गुणस्तर बढाउने, स्वास्थ्य प्रणालीको विकास गर्ने , आधारभूत आवश्यकता र सेवाहरू जनतालाई दिने, शान्तिसुरक्षा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी घटाउने प्रतिज्ञाहरु कहिल्यै पुरा हुनु पर्दैन । 

यिनै एजेन्डामा फोहरी खेल खेल्दै राजनीति चलिरहन्छ । राजनीति गर्नको लागि झुटो बोल्ने कलाले निरन्तरता पाइरहेको छ । यसमा हामी नेपाली जनताको सहनशिलता झन् बढ्दै गइरहेको देखिन्छ । 

समाजले सही र गलत भन्दा पनि  कमजोर र बलिया मात्र छुट्याउन थालेको देखिन्छ ।  बलियाले जे गरे पनि सहि र कमजोरले गरेको सही पनि गलत प्रमाणित हुने अवस्था आएको छ ।

 अन्न उब्जाउने किसान भोकै भएको हुनसक्छ, घर बनाउने सिकर्मी र डकर्मीको आफू बस्ने घर नहुनसक्छ । कपडा सिलाउनेहरूसँग आङ ढाक्न एकसरो कपडा नहुनसक्छ । तै पनि गाँस, बास, कपास तथा रोजगारीको नारा गुन्जिइनै रहेको धेरै दशक भैसकेको छ  । 

हामीले खाने खाना विषादी युक्त छ । दूध पेस्टराइज्ड, सास फेर्न हावा प्रदूषित छ, पिउने पानी प्रदूषित छ । बाटो हरू  घाम लागे धुलो, पानी परे हिलो छ । जेठो छोरा मुग्लान पसेकै छ । छोराको बिहेमा आँगनमा धूलो उडाउँदै रत्यौली खेलुँला भन्ने आमा छोराको लास हेरेर कुनामा भक्कानो छोडी रोइरहेकी छिन् । 

तै पनि विभिन्न वहानामा ‘जनयुद्ध’का सहिदहरुको सपना पूरा गर्नेछौं भन्नेहरूले जिउन चाहनेहरूका जायज इच्छाहरुलाई  हरेक दिन शहीद बनाइरहेकै छन् । 
झुटो भाषण गरेर कुशासन कायम रहँदा धेरै थोरै काम गरेर आर्जन गरेको पैसाले माम खाने श्रमजीवीको अस्तित्व विस्तारै हराउँदै गएको छ । भएको घडी बेचेर समय  सोध्दै हिंड्नुपर्ने बेला आएको छ । अब हामीसँग दुई विकल्प छन्, कि यी सबै चुपचाप सहेर बस्ने नत्र फेरि एकजुट भएर फेरि एकपटक एउटा नौलो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि जुट्ने । 
 

Published Date: Saturday, 2nd March 15:44:28 PM