बिहीबार, साउन २, २०७६

नेपाली प्याड म्यानहरू !

| तस्वीर:काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, फागुन १८ : गत वर्ष रिलिज भएको बलिउड फिल्म प्याड म्यानले महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्न बाध्य गरीब महिलाको जिन्दगी बदल्ने एक भारतीय सामाजिक उद्यमीको कथा भन्छ । 

यो ब्लग चाहिँ नेपालकै ‘प्याड म्यान’हरूको कथा हो, जो त्यो फिल्मका हिरोले झै आफ्ना दिदी बहिनी र सहपाठी छात्राहरूका लागि स्यानेटरी प्याडको व्यवस्था गर्छन् । 

हुन त यी नेपाली प्याड म्यानहरू अरुनाचलम मुरुगनाथम (जसको जीवन–कथामा प्याड म्यान फिल्म आधारित छ ) झै सफल र चर्चित उद्यमी होइनन् । उनीहरू केबल स्कूले विद्यार्थी हुन् । तर, वयस्क हुनै बाँकी रहेका यी किशोरहरूले अहिले जे गरिरहेका छन्, त्यो पनि ठूलै सामाजिक परिवर्तनको संकेत हो । 

तर, यी स–साना ‘प्याड मेन’हरूको कथा सुनाउनुअघि एउटा पूर्व–कथा सुनाउँदैछु ।

जब पुरुष सहकर्मीहरूले मेरो स्यानेटरी प्याड खान खोजे !

नेपाली समाज अझै पनि महिनावारीबारे खुलस्त कुरा गर्ने भइसकेको छैन । काठमाडौं सहरमै पनि धेरैलाई महिनावारी बारे कुरा गर्न अप्ठेरो महशुस हुन्छ । 

म आफै पनि महिनावारी बारे कुरा गर्न धक मान्थेँ । अरुले, खासगरी पुरुष साथी–सहकर्मीले देख्ने गरी स्यानेटरी प्याड किन्नुपर्दा मलाई निकै असहज महशुस हुन्थ्यो । 

मलाई राम्ररी थाहा थियो –महिनावारी एकदमै प्राकृत्तिक प्रक्रिया हो, नियमित महिनावारी हुने महिलाहरू नै स्वस्थ हुन्छन् र महिनावारी नहुने भएको भए महिलाहरूलाई आमा बन्ने सौभाग्य पनि प्राप्त हुन्थेन ।

तर, महिनावारी बारे राम्रो चेतना हुँदाहुँदै पनि म आफूले प्रयोग गर्ने प्याड सकभर लुकाउँथे । सायद महिनावारीलाई ट्याबूको रुपमा हेर्ने समाजमा हुर्केर हो कि?

डेढ वर्ष अघिको कुरा हो । म एक दिन कार्यालयमै काम गरिरहेको बेला मेरो महिनावारी भयो । म तत्काल प्याड किन्न दोकानतिर दौडिएँ । प्याडलाई पत्रिकामा पोको पारी म कार्यालय फर्किएँ । पुरुष सहकर्मीहरूलाई मैले पत्रिकामा पोको पारी खानेकुरा ल्याएको भन्ने लागेछ । उनीहरू मसँग भन्न थाले – के ल्याएको ? हामी पनि खान्छौँ है ! 

महिनावारी र प्याड जुटाउने विषयमा सल्लाह गर्दै सिन्धुलीको  श्री सरस्वती माध्यमिक विद्यालयका छात्र र छात्राहरू । तस्वीरहरूः शोभा मानन्धर

म अक्मकिएँ । ‘केही होइन’ भन्दै त्यो पोको झोला भित्र लुकाएँ । खै किन हो कुन्नि, मैले चाहेर पनि उनीहरूलाई भन्न सकिनँ – ‘स्यानेटरी प्याड किनेर ल्याको !’

त्यसबेला मैले ऐना त हेरिनँ,  तर मेरो अनुहार पक्कै लाजले रातो भएको हुनुपर्छ । 

सिन्धुलीका साना प्याड म्यानहरू

त्यो घटना भएको केही समयपछि मलाई एउटा भिडियो डकुमेन्ट्री बनाउने सिलसिलामा सिन्धुली, सिरहा र उदयपुर जिल्ला जाने मौका मिल्यो । 

मेरो पहिलो गन्तब्य थियो – सिन्धुलीको डकाहा । त्यहाँको श्री सरस्वती माध्यमिक विद्यालयमा महिनावारी व्यवस्थापन कार्यक्रम सञ्चालन भइरहेको रहेछ, जसअन्तर्गत महिनावारी हुँदा प्याड फेर्न सजिलो होस् भन्ने उद्देश्यले छात्राका लागि छुट्टै शौचालय बनाइएको रहेछ । 

मेरो टिमलाई महिनावारी मैत्री शौचालयबारे जानकारी दिने जिम्मा स्कूलका प्रधानाध्यापकले ९ कक्षामा अध्ययनरत सोम प्रसाद पहाडीलाई दिए । 

 सोम प्रसाद पहाडी

सोम प्रसादलाई भेट्नुअघि मैले सोचेको थिएँ – काठमाडौंमै त युवाहरु महिनावारी बारे कुरा गर्न धक मान्छन्, सिन्धुलीको यो गाउँमा किशोर किशोरीहरुसँग महिनावारी बारे कुरा गर्नु कति गाह्रो होला !

तर उनलाई देख्ने बित्तिकै मेरो धारणा बद्लियो । किनकि, उनलाई मैले गल्स टोइलेट सफा गरिरहेको अवस्थामा भेटेँ । उनका अन्य किशोर साथीहरू पनि किशोरीहरूले प्रयोग गर्ने टोइलेट सफा गरिरहेका थिए ।

तपाईंहरूलाई यसरी महिलाको शौचालय सफा गर्दा अप्ठेरो महशुस हुँदैन? मेरो प्रश्न भुइँमा खस्न नपाउँदै सोम प्रसादले जवाफ फर्काए, ‘अहँ, त्यस्तो केही अप्ठेरो लाग्दैन । हामी त विद्यालयमा सबै काम महिला र पुरुष मिलेरै गर्छौँ ।’

विद्यालयमै रहेका बेला महिनावारी भयो भने छात्राहरूले सोम प्रसादलाई नै सुनाउँदा रहेछन् । विद्यालयमा गठन गरिएको बालक्लबका अध्यक्ष रहेका उनी सहपाठी छात्राहरूलाई स्यानेटरी प्याड उपलब्ध गराउँदा रहेछन् । 

सोम प्रसादकै अगुवाइमा विद्यार्थीहरूले पैसा उठाई प्याड किनेर राख्दा रहेछन् । उनीहरूले सुती कपडा प्रयोग गरी प्याड बनाउने तालिम पनि सञ्चालन गरेका रहेछन् । तालिममा सहभागी कतिपय विद्यार्थीहरूले अचेल घरमै प्याड बनाउँदा रहेछन् । विद्यालयमा महिनावारी हुँदा आराम गर्ने छुट्टै कक्ष पनि बनाइएको रहेछ । यसैले, अहिले विद्यालयमा महिनावारी हुँदा कुनै पनि छात्रा पढाई छोडेर घर फर्किदैनन् । 

सोम प्रसादका सहपाठी हुन्, हरि धामी । उनी पनि प्याडका लागि पैसा उठाउन र सहपाठी छात्राहरूलाई महिनावारी हुँदा सहयोग गर्न सधै तत्पर हुन्छ् । उनी भन्छनर्् परिवर्तनको थालनी हामी बाटै हुनु पर्छ । अनि बल्ल समाजलाई परिवर्तन गर्न सकिन्छ ।’

‘भोलि मेरो पनि श्रीमती हुन्छे । छोरी हुन्छे । आजै मैले महिनावारीबारे थाहा पाए भोलि मेरी श्रीमती र छोरीहरूलाई सजिलो हुन्छ ।’ सोम प्रसाद भन्छन् । 

सिन्धुलीका यी स–साना प्याड मेनहरूको कथा नेपाली समाज महिनावारी प्रति खुलस्त हुँदै गएको संकेत पनि हो । 

Published Date: Thursday, 7th March 22:19:38 PM