बिहीबार, साउन २, २०७६

लण्डनमा ओलीपूजा

लण्डनमा नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली | तस्वीर:विष्णु रिमाल–ट्वीटर

किंग्सटन युनिभर्सिटी लण्डनमा शिक्षण र अनुसन्धान कार्यमा व्यस्त हुने मान्छे मलाई धेरै डायस्पोरिक संघसंस्थाले वास्ता गर्दैनन् र कुनै कार्यक्रममा बोलाइहाले पनि घण्टौंको आशन ग्रहण र शुभकामना मन्तव्यले उराठ, वैराग लाग्छ। 

तर, गत असार २९ गते विहानै लण्डनको नेपाली दूतावासको निम्तो नस्वीकार्ने कुरै थिएन। किनकि, याे यूराेप भ्रमणकाे क्रममा बेलायत आएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा आयोजित हाई टी थियो।

म त्यहाँ उपस्थित हुनुको खास कारण पनि थियो। मेरा घनिष्ठ मित्र धन बहादुर सार्की र म अत्यन्तै पीडा र अन्यायमा परेका एक दलित परिवारको पक्षमा न्याय माग्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्थ्यौँ।

प्रमुख कार्यकारिणीकाे नजर पुगेपछि अन्तरजातीय विहेको मामिलामा सम्भावित प्रहरीको समेत संलग्नतामा हत्या गरेर गाडिएको त्यो पुरानो केस केहि अगाडि बढ्ला भन्ने हाम्रो अपेक्षा थियो। 

सायद वेलायती मौसमसमेत हाम्रा प्रधानमन्त्रीको उपस्थितिमा रमाउँदै थियो। घाम लाग्यो, आकाश उघ्रियो। दूतावास बाहिर प्रांगण भरिदै गयो, कमसेकम ४०० जति उपस्थित भए।

त्यत्तिकैमा एक कर्णेलले रिसाएर मलाई हेर्‍यो र हातले धकेल्दै अलिक पर पुर्‍यायो। सायद यी नेपाली बन्दुकेलाई थाह भएन कि युकेमा कसैलाई हात हाल्नु अपराध हो।

त्यहाँ धेरै जस्तो एनआरएन लगायत प्रमुख संघसंस्थाका पदाधिकारी, ब्रिटिश गोर्खा सेनामा उच्च पद हासिल गरेका महानुभावहरू, एकजना वेलायती मन्त्री, अन्य वेलायती साथीहरू थिए।

एक नेपाली क्याटरिंगले त्यही तत्कालै तयार गरेका सेल रोटी, तरकारी, पुरी लगायत शाकाहारी खाना, जुस, चिया, कफी एकदमै स्वादिष्ट थिए। दूतावासको मेहेनतलाई धन्यवाद दिनै पर्छ यति राम्रो आयोजनाको निम्ति।

म कहिलेकाहीँ अचम्म पर्छु कि प्रायः नेपाली कार्यक्रम र सिनेमा एकै खाले हुन्छन्। सिनेमामा कुनै राम्रो थिममा चर्को बहस वा गतिविधि भैराखेको बेला अकस्मात् अघिसम्म नबोलेका हिरो र हिरोनी तोरीबारीमा गएर अंगालो मार्दै नाच्न थाल्छन्। मूल विषय र नाचको तादात्म्य नहुन पनि सक्छ। दूतावासले पनि बिना प्रसंग दुई नाचहरू पस्कियो, जुन मेरो विचारमा आवश्यक थिएन। 

राजदूत डा. दुर्गा बहादुर सुवेदी परराष्ट्र सेवाबाट खारिएर आएका कुशल कुटनीतिज्ञ मात्र होइनन्, दमदार भाषण गर्न पनि सिपालु छन्। उनको आवाजमा जुन दम छ त्यो धेरै नेताकोमा छैन। त्यसैले, मलाई दुइटा कुराले अचम्म लाग्छ। पहिलो, महामहिम सुवेदीले बहादुर किन लेखे!  यो त उनका जातिले प्रायः राख्दैनन्। दोश्रो, यति कुशल वक्ता नेता नबनेर किन सरकारी सेवामा लागे होलान्! 

बल्ल बल्ल प्रतिक्षाको घडी सकियो। प्रम ओलीको भाषण शुरु भयो। पहिलो पटक अक्सफोर्ड युनियनमा बोलेर इतिहास रचेका शासकको अंग्रेजी भाषण सुन्न म पनि आतूर थिएँ। समग्रमा राम्रै, प्रशंसनीय नै थियो भाषण। कतिले भने – सँगै डा. राजन भट्टराई छन् त यत्तिको लिखित भाषण हुने नै भयो। 

मेरो विचार फरक छ। धेरै औपचारिक शिक्षा नलिएका भनिएका ओलीको स्वअध्ययनबाट म ज्यादै प्रभावित छु। उनका अभिव्यक्तिहरू ज्यादै प्रभावकारी हुने गर्छन् अक्सर । विश्व बुझेका छन् । दर्शन पढेका छन्। वौद्धिकतामा पिएचडी डा बाबुराम भट्टराई र ओली भिडाउने हो भने सायद ओलीले नै पछार्लान्।

सारमा यो एक खाले आलंकारिक भ्रमण हो। यसै पनि वेलायती ब्रेकजिट सम्पन्न गर्न असफल भएर चर्को दबाबपछि मात्रै रुँदै पदत्याग गरिसकेकी प्रधानमन्त्री मेले के नै दूरगामी कदम चाल्थिन् र! फेरि, बाहिर गोर्खा अधिकारबारे जे बोले पनि बेलायती शासकसँग शीर ठाडो पारेर बोल्न हिम्मत र हैसियत कुन नेपाली शासकको छ र! 

नाचगान, ओलीको ठीकैको भाषण सकिएपछि उनी पालबाट निस्कने तरखरमा रहे। मानिसहरू लामवद्ध भए केही बेर। म पनि मेरो साथीसँग उभिएँ, हातमा पत्र बोकेर। 

कसैले ओलीलाई ढाेगे होलान्, कसैले सुम्सुम्याए होलान्, कसैले के गरे होलान, कोही जसरी नि एक हस्ताक्षरका लागि कापी बोकेर दौडिएका थिए। 

सुरक्षाकर्मीहरूको चहलपहल बढ्यो। मैले यो पत्र प्रमलाई दिन पाम भनेर केहिलाई अनुरोध गरेँ। धेरैले हुँदैन भने। त्यत्तिकैमा एक कर्णेलले रिसाएर मलाई हेर्‍यो र हातले धकेल्दै अलिक पर पुर्‍यायो। सायद यी नेपाली बन्दुकेलाई थाह भएन कि युकेमा कसैलाई हात हाल्नु अपराध हो। मैले प्रहरी बोलाउन, हंगामा गर्न सक्थेँ, तर चुपचाप अपमान सहेर उभिरहेँ। मेरो राज्यको चरित्र अझै कस्तो छ भन्ने मनन गरेँ।

जब प्रम टेन्ट बाहिर निस्किए, ठूलो भीड बूढो शरीरमाथि खनियो। ठेलमठेल भयो। सुरक्षाको खतरा बरू त्यहाँ थियो, हाम्रो न्याय माग गरेको पत्र होइन। कर्णेल बरू त्यहाँ चुकेको थियो आफ्नो जिम्मेवारीमा। प्रमलाई छोएर मात्रै भने पनि पुण्य कमाउन भीडमा कोच्चिनेहरू प्रायः केही दौलत आर्जन गरेका, अनआरएनएका पदाधिकारी वा आकांक्षी, व्यापार विस्तार गर्न चाहनेहरू थिए। कोहीले ढोगे होलान्, कसैले सुम्सुम्याए होलान्, कसैले के गरे होलान । कोही जसरी नि एक हस्ताक्षरका लागि कापी बोकेर दौडिएका थिए। 

म अचम्म मान्दै हेरिबसेँ,  मेरा केही वेलायती साथीहरूसँग। यो खाले चरम भक्ति, आराधना स्वयं ओलीको स्वास्थ्यको निम्ति, देश र समाजको लागि स्वस्थकर होइन। 

मसँगै उभिएका पूर्व वेलायती राजदूत र मेरा दूतावासमा सहकर्मीले भने– हेर, कतिपय कुरामा हामी वेलायती पनि परम्परावादी छौं। रानीलाई अझै साक्षात् देवी जस्तो गर्छौं। तर यो खाले भक्ति चाहिँ कहिल्यै हुँदैन। आज प्रम मे यहा आएको भए केही वेलायतीले गोलभेडा र आलुले हान्थे होला ! 

किन वेलायत वेलायत भयो, नेपाल सदैव विश्वमै एक दरिद्र राष्ट्र रह्यो भन्ने कुरा यही सानो घटनाले पनि देखाउँछ। हाम्रो मुलुकमा राजा त गए, राजतन्त्र गएको छैन। 

ती धेरै जसोले ओलीलाई ढोगेका, सुम्सुम्याएका होइनन्, आफ्नो नीहित स्वार्थका निमित्त तेल लगाएका हुन्। त्यो पनि विदेशमा बसेर केही दौलत कमाएकाहरू! 

कठै यसरी जहाँ जाँदा पनि आवश्यकभन्दा बढी चाकडी, जयजयकार गरेपछि शासकले जनको वास्तविक पीडा कसरी थाह पाउँछ? सायद ओली हाम्रो पत्र लिन्थे होला, त्यो कुनै बम त थिएन ( न त थियो कुनै विरोधपत्र) तर उनका झुण्डहरू, आउरेबाउरेहरु, हनुमानहरू, स्वार्थीहरूले कुरा पुग्नै दिएनन्। 

उल्टो ममाथि अभद्र र वेलायती कानूनमा गैरकानूनी हर्कत भयो। प्रमले यो कुरा थाहा पाए भने के सोच्लान्, अनि मैले मेरो प्रधानमन्त्री कसरी ठानूँ? कोहि हरेक विहान ओली वा अन्य शासकको गोडाको पानी खान चाहन्छ भने पनि उसको अधिकार हो। 

तर, ओलीलगायत सबै सत्ताधारीले बुझ्नुपर्छ कि यस्ता स्वार्थी तत्वको जहाँ पुगे पनि अनुष्ठान र प्रशंसा मात्रै सुनेका हुनाले अन्ततः शाह वंशीय राजतन्त्र ढलेको हो। स्वार्थी घेरा तोड्न सक्नुभएन भने अधिकांश गरीव, दुखी, उत्पीडितको आवाज सुन्न सक्नुहुन्न। र तपाईंको अन्त्यको शुरुवात त्यहीबाट हुन्छ।

(डा .परियार किंग्सटन युनिभर्सिटी, लण्डनका रिसर्च फेलो हुन्।)

Published Date: Thursday, 13th June 20:52:25 PM