शुक्रबार, कात्तिक १, २०७६

जसले हरेक महिना नियन्त्रणमा राख्छ

| तस्वीर:एजेन्सी

म महिनाको २८ दिन आफु खुशी हिड्छु, जे मन छ त्यहि खान्छु। जता मन लाग्छ त्यतै जान्छु। नाच्छु, उफ्रिन्छु, रमाउछु।

तर, त्यसपछिका केही दिन मैले उसको नियन्त्रणमा बस्नु पर्छ। मेरो शरीर त मसँगै हुन्छ तर चाहेर पनि मैले आफनो शरीरमा आउने अस्थायी परिवर्तनलाई रोक्न सक्दिनँ। र त्यो चुलबुलेपनलाई त्याग्न विवश हुन्छु।

‘ऊ को हो’ भनेर सोच्दै हुनुहुन्छ होला!

पख्नुस् है। एकैछिनमा म उसको परिचय दिन्छु।

स्कुले गल्र्स ग्रुपमा म नै थिए, उमेरले सबैभन्दा कान्छी। मेरो समूहका साथीले मभन्दा अघि नै उसको नियन्त्रणमा बस्ने बानी बसाइसकेका थिए।

र अघि मैले भने जस्तै २८ दिन नाघेपछि उनीहरू मलाई घरिघरि सुनाउथे।

फेरि आयो! उफ! ओइ जाउन छिटो!

उनीहरूले फेरि आयो भन्दा मलाई अचम्म लाग्थ्यो। र मभित्रको त्यो कौतुहलताले मनको ढोकाबाट निस्केर मुखसम्म पुग्थ्यो। र म सोध्थेँ, ‘आको पनि थाहा हुन्छ हो? कस्तो हुन्छ त्यो आउदा ? कसरी आउछ?’

उनीहरूले मेरो प्रश्नको उतर त दिन्थे तर मभित्रको कौतुहलताको प्यास मेटिदैनथ्यो।

भनिन्छ नी! पढेरभन्दा परेर जानिन्छ। म पनि तिनीहरूले दिएको जवाफ सुन्न त सक्थे तर महसुस गर्न सक्दिन्थेँ। किनभने म त्यो अवस्थाबाट गुज्रेकै थिइनँ।

मलाई ठ्याक्कै याद त छैन। सायद कक्षा ८ या ९ तिर हुँदा होला।

घडीले बिहानको ९ बजेको संकेत दिँदै थियो। हामी (परिवार) एकजना आफन्तको घरमा भोजको लागि जाने तयारी गर्दै थियौं। एक्कासी मेरो शरीरबाट केही बगेको जस्तो महसुस भयो। हतारहतार वासरुम गएर चेक गरेँ । रगत बगेको थियो।

मेरो शरीर नै काँप्न थाल्यो। मनमा चिसो पस्यो। डराए पनि। चोटपटकबिना एक्कासी शरीरबाट रगत बगेको देख्दा डर कसलाई नलाग्ला र!

तर, कताकता यो कुरामा म त्यति अनविज्ञ थिइन की । साथीहरूले भनेजस्तै मेरो शरीरलाई पनि उसले नियन्त्रण गर्‍यो।

तैपनि हतारहतार आमाको कोठामा गएँ। सबै बेलिविस्तार लगाएँ। र आमाले भन्नु भयो, ‘त मिन्स भएछस्।’

महिनाको सात दिन शरीरबाट रगत बग्नु भनेको सहजत हुँदै होइन्। शारीरिक थकान त हुन्छ नै नचाहँदा नचाहँदै पनि मानसिक पीडा पनि दिइरहेको हुन्छ। आरामको आवश्यकता पर्छ।

सुरु–सुरुमा महिनावारी हुँदा आमालाई रुन्दै ‘बेकारमा केटी भएर जन्मे छु’ भन्ने गर्थे। आमाले सम्झाउदै भन्नु हुन्थ्यो, ‘केही समय हो, पछि कमकम हुँदै जान्छ। सबै ठीक हुन्छ।’

साच्चै अहिले बल्ल बुझ्दै छु महिला र महिनावारी त एकअर्काको परिपूरक पो रहेछ।
यो त प्राकृतिक प्रक्रिया हो। जसले संसार अघि बढाउछ।

म त शहरमा हुर्केँ। यस्तो बेला ढुक्कले प्याड प्रयोग गर्न सक्छु। बजारबाट सहजै खरिद गर्न सक्छु। ‘अशुद्ध’ भनेर घरबाट छुट्टै बस्नु पनि पर्दैन। घर परिवारले पनि छुट्टै राखेनन्।

तर, अझै पनि थुप्रै छोरी तथा आमाहरू महिनावारी भएको बेला अछुत हुन्छन्। घरभन्दा पर छाउगोठमा बस्न बाध्य छन्।

पोषिलो खानेकुरा खाएर सरसफाइमा ध्यान दिनु पर्ने समयमा  खानै पाउँदैनन्। चिसो फोहोर गोठमा रात बिताउन विवस छन्।

यो कुप्रथा विरुद्ध सबैले बोल्नु आवश्यक छ। अझ पुरुषको भूमिका महत्वपूर्ण हुन्छ। आफ्ना आमा, दिदीबहिनी, श्रीमतीलाई यो अवस्थामा छाउगोठमा होइन, घरमै आरामसँग बसाल्ने हो। उनीहरूलाई अरु बेलाभन्दा पोशिलो खानेकुरा खान दिने  हो। र घरायसी काममा सघाइ दिनु पर्छ ।

महिनावारी त प्राकृतिक प्रक्रिया हो। यो नभइ त संसार नै चल्दैन। त्यसैले यसमा आमा, दिदीबहिनीलाई हिनताबोध होइन, गर्व गर्ने वातावरण बनाऔं।

Published Date: Wednesday, 29th May 14:22:31 PM