मंगलबार, साउन २७, २०७७

‘अमेरिकामा हामी लडाइँ जित्छौँ, कामना छ नेपालमा कोरोनाले असर नगरोस्’

म विगत १२ वर्षदेखि अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा बस्दै आएको छु। विश्वभर फैलिएको कोरोना भाइरसले अरु देशजस्तै अमेरिका पनि प्रताडित छ। अहिले यहाँको अवस्था लकडाउन छ पनि छैन पनिको अवस्थामा छ। किनकि लकडाउन भनेर पूर्णरुपमा शहर बन्द छैन। तर मानिसहरु घरमै बसिरहेका छन्। 

फार्मेसी, सुपर मार्केट आदि खुलेका छन्। निजी सवारी लिएर बाहिर निस्कन कुनै रोकावट छैन। तर स्कुल, कलेज, पार्क,  बार,  क्लबहरु भने बन्द छन्। सर्वसाधारणलाई बाहिर निस्कन दिइन्छ। तर, सडकमा ३० प्रतिशतभन्दा बढी सवारी घटेका छन्। यद्यपी सबै हिसाबले हेर्दा अवस्था क्रिटिकल नै छ।

अहिले विश्वले नयाँ चुनौतीको सामना गरिरहेको छ। यस्तो चुनौती न यो भन्दा अघि थियो न हामीसँग यस्तो अनुभव नै। मानव सभ्यतामाथि नै कोरोना भाइरसले अहिले आक्रमण गरेको छ। अमेरिका हरेक हिसाबले हाम्रो युगकै सबैभन्दा अग्रपंक्तिमा रहेको देश हो। ठूला वैज्ञानिक, अनुसन्धान केन्द्र, अस्पताल सबै यही देशमा छन्।

तर पनि जुन ढंगले यहाँ रोग नियन्त्रण हुन्छ  वा अमेरिकाले गर्न सक्छ भनेर सोचिएको थियो। त्यो हुन सकेन।  लस एन्जल्समा बाहिर आफ्नो गाडीमा हिँड्न पाइन्छ। मास्क र पन्जा लगाउनु पर्ने अनिवार्य छ। यस्तै स्यानिटाइजरको प्रयोग गर्नुपर्छ। खुलेका मार्केटमा सामान किन्न जाँदा फिजिकल डिस्ट्यान्स मेन्टेन गरी ६ फिट दूरीमा लाइन बस्नुपर्छ। सपिङ सेन्टर र बैंकहरुमा ह्यान्ड स्यानिटाइजर राखिएका छन्। म आजमात्रै काम परेर पोष्ट अफिस गएको थिएँ। त्यहाँ पनि ६ फिट दूरी कायम गरेर लाइन बस्नु परको थियो।

क्यासियर चेम्बरमा एक पटकमा चार जनाभन्दा बढी मानिस छिर्ने अनुमति थिएन। सामाजिक दूरी कडाइका साथ कायम गरिए पनि संक्रमितको संख्या घटेको छैन। यहाँका मानिसहरु अनुशासित र शिक्षित छन्। तर पनि संक्रमणको बेग बढेको छ। यसको कारण मैले बुझ्न सकेको छैन।

अमेरिकाभरि रहेका नेपालीहरुको कुरा गर्दा उनीहरु पनि संक्रमित भएका छन्। मैले अमेरिकाभर बसेका अधिकतम साथीहरुसँग कुरा गर्ने प्रयत्न गरेको छु। सबैभन्दा प्रभावित न्यूयोर्कमा छन्। त्यहाँ नेपाली संक्रमितको संख्या एकीन छैन तर धेरै रहेको बताइएको छ। हामी बसेको शहर व्यापारिक, भुगोल र जनघनत्वको हिसावले अमेरिकाको दोस्रो ठूलो शहर हो। म सामाजिक काममा समेत सक्रिय भएकाले  चासो व्यक्त गर्ने गरेको छु।

तर, अहिलेसम्म कोही नेपालीले संक्रमण भए भन्नुभएको छैन। उहाँहरुले भन्न नचाहनु भएको पनि हुनसक्छ। मानिसहरुले यथार्त लुकाइरहेका छन्। हामीले बुझ्नुपर्ने कुरा के हो भने यो संक्रमण कुनै मानवीय चरित्र र स्वभावका कारण हुने रोग होइन। तर पनि भन्न लाज र डर मानिरहेका छन्। यहाँ केही नेपालीहरुको निधन समेत भयो। देशभन्दा सात समुद्रपारी मृत्युवरण गर्नुपर्दाको पीडा शब्दमा व्यक्त गर्न कठिन छ।

अवस्था क्रिटिकल हुँदाहुँदै पनि सकारात्मक कुरा के हो भने कोही नेपालीलाई अप्ठ्यारो पर्दा दिल फुकाउर सहयोग गरेको देखिन्छ। आजभन्दा पाँच वर्षअघि नेपालमा महाभूकम्प गयो। त्यो बेला देश शोकमा थियो। अहिले पनि देश फरक कारण अप्ठ्यारोमा छ। त्यति बेला संसारभर बसेका नेपाली स्वदेश पुगेका थिए। अहिले पनि विश्वभर रहेका नेपालीहरु रोइकराइ गरिरहेका छन्। तर, देशलाई केही गर्न सकिएको छैन। हामी संक्रमण फैलिरहँदा पनि यो लडाइँ जित्छौं। विश्वले जित्नेछ भन्ने आशामा छौं।

अहिले विदेशमा रहेका सबै नेपालीको एउटै कामना छ- हामी कोरोनाविरुद्ध लड्न तयार छौं। तर, नेपालमा यो भाइरस नजाओस्। र, अर्को सकारात्मक पाटो के हो भने हाम्रो आत्मबल गिरेको छैन। एकापसमा सहयोग आदानप्रदान भइरहेको छ। स्यानिटाइजर, मास्क, औषधि, पन्जाहरु सामाजिकरुपमा कतिपय सामाजिक अभियान्ताहरुले नेपाललाई सहयोग गरेका छन्। ती सामान जम्मा गरेर सामाजिक अभियान्ताहरुले बाँडिरहेका छन्।

न्यूयोर्कमा खाद्य सामग्री नभएका कारणले होस् वा अन्य कारणले कोही नेपाली अप्ठ्यारोमा परेको छ भने उसको ढोकासम्म खाद्यान्न लगायतका आवश्यक सामान पुर्‍याउने गरिएको छ। नेपालीहरु प्रदेशमा छन् तर उनीहरुबीचको भाइचारा अझ प्रगाढ भएको छ। यहाँ कारोना भाइरसका कारण कोही बरोजगार बनेको छ भने उसलाई संघीय र प्रदेश सरकारले भत्ता दिने गरेको छ। केन्द्र सरकारले एडल्टलाई एक पटकमा १२ सय डलर दिन्छ।

यस्तै, श्रीमान-श्रीमती र एउटा बच्चा छ भने २९०० डलर पाएका छन्। । तर, त्यसका लागि कर तिरेको हुनुपर्छ। जागिर थियो र कोरोनाका कारण जागिर गएको हो भन्ने पुष्टि भएमा भत्ता पाइन्छ। काम बन्द भएर बरोजगार भए पनि उनीहरुले काम गरेसरहकै सुविधा राज्यबाट पाइरहेका छन्। तीन–चार महिनालाई खासै गाह्रो छैन। खाली आफ्नो गतिविधि गर्न नपाउने मात्रै हो। त्यति बेलासम्म अवस्था सामान्य होला भन्ने आशा छ। आखिर त्यो बेलासम्म अमेरिका जस्तो राष्ट्रले केही न केही त गर्छ। भ्याक्सिन बनाउँछ भन्नेमा म चाहिँ आशावादी छु।

अहिले त सबैलाई एक किसिमको फुर्सदको अवस्था छ। जसका कारण घरमा बसेर टेलिफोनमार्फत छरिएर रहेका नेपालीहरुको अवस्था बुझ्न पाइएको छ। तर, जो मानिस भर्खर नेपालबाट आएका छन्, जागिर पाएका छैनन्, आपार्टमेन्टमा बस्छन्। पार्ट टाइम काम गर्दै पढ्ने विद्यार्थीसँगै भिजिटरका रुपमा आएका आमा–बुवालाई समस्या भएको छ। समस्याको समाधान पनि केही न केही त भइहाल्छ। उनीहरुलाई सहयोग गरिएको छ। कोही समस्यामा छु भन्छ भने एक नेपालीले अर्को नेपालीलाई सहयोग नगर्ने भन्ने हुँदैन।

आइटी क्षेत्रमा काम गर्नेहरुले घरमै बसेर काम गरेका छन्। नेपाली कम्युनिटीका स्वास्थ्यकर्मीहरुले निरन्तर डटेर फिल्डमा काम गरिरहेका छन्। लस एन्जल्समा भने अधिकांश नेपाली दिदीबहिनीहरुको व्यूटी पार्लर व्यवसाय छ। सँगै आफ्नो व्यवसाय नभएकाहरुले पनि व्यूटी पार्लरमै काम गर्छन्। त्यसैले लकडाउन लम्बिएमा वा शारीरिक दूरी लामो समयसम्म कायम गर्नु परेमा समस्या आउने देखिन्छ। यस्तै, नेपालीहरुले खोलेका रेस्टुरेन्ट, ग्यास स्टेशनको व्यापारमा समेत मन्दी आएको छ। यहाँ नेपालीले गर्ने भनेको यस्तै काम हो। लकडाउन लामो समय रहेमा साना तथा मझौला व्यापारमा असर पर्नेछ।

यहाँ ठाउँ अनुसार फरक–फरक काम गर्ने गरिन्छ। क्यालिफोर्नियामा मात्रै हामी १५ देखि २० हजार नेपाली बस्छौं। अहिले व्यापार, व्यवसाय खस्कियो भनेर आत्तिने अवस्था होइन। मात्रै कोरोनाविरुद्धको लडाइँ उच्च मनोवलका साथ लड्ने हो। अहिलेको हाम्रो प्राथमिकता यसमै छ र हुनुपर्छ। सँगै मातृभूमिमा कोरोनाले असर नगरोस् भन्ने हाम्रो कामना छ।

Published Date: Thursday, 30th April 11:38:41 AM