मंगलबार, जेठ ७, २०७६

गरिबका साथी डोरनाथ

डोरनाथ न्यौपाने।

‘डोरनाथ सर हामी बगालेका लागि त भगवान्जत्तिकै हुनुहुन्थ्यो । ३५ वर्षअघि उहाँले पाइप हालेर ल्याइदिएको धारोको पानी खाँदै छौँ अझै पनि । उहाँले राति–राति आएर चोचे (सुँगुर) को गुहु बढारेको बाटो यही हो । अहिले यसमा गाडी गुड्छ।’

तीन वर्षअघि डोरनाथ न्यौपाने (दाइ)सँग पाल्पाको साबिक झडेवा गाउँ पञ्चायतको बगाले पुग्दा अधबैँसे उमेरका स्थानीय सम्बरबहादुर विश्वकर्मा उहाँलाई देखाएर ठूलो स्वरमा यसो भन्दै थिए । सम्बरबहादुरको वरिपरि युवा दल थियो, जो डोरनाथलाई चिन्दैनथ्यो तर त्यही धारोको पानी खान्थ्यो।

डोरनाथ न्यौपाने बगालेबाट फर्केपछि हुर्केको पुस्तालाई परिचय गराउँदै थिए– सम्बरबहादुर । ‘गेटअप’ र ‘फिटनेस’ मा व्यक्तित्व खोज्ने युवालाई पत्याउनै मुस्किल भएको थियो उहाँको व्यक्तित्व।

सम्बरबहादुर सम्झँदै थिए, ‘डोरनाथ सर बगालेबाट फर्कंदा म त्यस्तै १४–१४ वर्षको हुँदो हँु । मैले भोगेको छु– त्यसअघिको यहाँको पानीको समस्या । मैले आफै देखेको छु– हाम्रो गाउँमा चोचेका लिँड।’

३५ वर्षअघि ग्रामीण विकास र सामाजिक सशक्तीकरणको अभियान चलाउन भक्तपुरको काँठबाट त्यहाँ पुग्नुभएको थियो– डोरनाथ दाइ । सुरुमा ‘आयआर्जन समूह’ बनाउने योजना थियो उहाँसँग । तीन वर्ष त्यहाँको समाजमा भिजेर काम गरेपछि ‘आईडीएस सर’ भनेर चिनिनुहुँदोरहेछ– डोरनाथ दाइ।

बगालेबाट फर्केको ३२ वर्षपछि फेरि जाँदा भने म पनि उहाँसँगै थिएँ । बगालेबारे दाइकै मुखबाट अलि–अलि सुनेको थिएँ । त्यहाँ उहाँले कसरी काम गर्नुभएकोरहेछ भन्नेचाहिँ विश्वकर्माहरूको बाहुल्य रहेको गाउँका स्थानीयले उहाँ त्यहाँ पुग्दा देखाएको सद्भावबाटै झल्किन्थ्यो।

२०४१ साल फागुनको पहिलो साता । भक्तपुरको काँठ क्षेत्र दधिकोटबाट पाल्पाको झडेवा गाउँँ पञ्चायतको बगाले पुग्नुभएको थियो– डोरनाथ न्यौपाने । त्यहाँ उहाँको पहिलो भेट भएथ्यो पाको उमेरका तुलबहादुर विश्वकर्मासँग र आफू आउनुका कारण खुलाउनुभएथ्यो ।
जवाफमा तुलबहादुरले भनेका थिए, ‘तपाईंं नेपाल (काठमाडौंँ) देखि दुःख गरेर त आउनुभो तर के गर्नु । बालुवाको मुठ्ठी पर्दैन, दमाईं–कामीको एकता हुँदैन । यो समिति–समिति बनाउने कुरै नगरौंँ । यहाँ त्यास्तो हुँदैहुँदैन।’

बगालेको दलित समाजबारे तुलबहादुरको यो ‘इम्प्रेसन’ ले उहाँलाई जीवनपर्यन्त चिमोटिरह्यो । यो भनाइले डोरनाथ दाइलाई घोचिरह्यो र अथक प्रयासमा तुलबहादुरको जीवनकालमै उनको भनाइ गलत साबित गरिदिनुभयो।

गरिबका साथी हुनुहुन्थ्यो डोरनाथ दाइ । जीवनपर्यन्त पहाड र तराई÷मधेसका चाउरी परेका अनुहारमा मुस्कान भर्न प्रयत्न गरिरहनुभयो । आफू शारीरिक रूपमा अत्यन्त कमजोर हुँदासमेत ग्रामीण गरिब-दलित बस्ती धाउन छाड्नुभएन । पछिल्लो समय उहाँ गोरखा, धादिङका तामाङ र चेपाङगाउँदेखि सिरहा, सप्तरीका चमार–दुसाध बस्तीतिर धाइरहनुभयो । मुसहर बस्तीका विद्यालय जाने बालबालिकाका लागि निःशुल्क भोजन व्यवस्था गर्ने उहाँको सपना भने जीवनकालमै पूरा हुन सकेन।

तीन वर्षअघि बगाले पुग्दा ६८ वर्षीय अमृतबहादुर विश्वकर्माले तीन दशकदेखिका गाउँका दुःखान्त कथा यसरी सुनाएथे, ‘लोहवीर कामी पनि मरिहाले । गाउँमा उनको भन्नु कोही पनि छैन । छोरा नारन आन्ध्रप्रदेशमा नोकरी गरेर बसेको छ । बा खसेपछि आमालाई पनि उतै लिएर गएको थियो । गाडीमा पछाडि राखेर कुदाएछ । गाडी कहिल्यै नदेखेकी मान्छे । आत्तिएर गाडीमै मरिछन् ।’

लोहवीर नातामा कोही पनि थिएनन्– डोरनाथका । दुःखान्त कथा सुन्दा उहाँको अनुहार निचोरेको निबुवाजस्तै गरी चाउरी परेको देखियो । लोहवीरका पुराना दिन सम्झिए, ‘जीवनभरि कत्ति दुःख गरेथे लोहवीर दाइले । मर्मराको सिरानमा जङ्गलबीचमा एक्लो घर थियो । गाईबस्तु केही थिएनन् । गोरु किन्न नसकेपछि दुई भाइ छोरालाई हलोमा नार्थे र जोत्थे उनी । छोराहरू हलो तान्थे, आफू सियोमा मकै हाल्थे ।’

०७३ सालको वैशाखतिर हुनुपर्छ– उहाँसँगै पाल्पा पुगेको । स्थानीयलाई कुनै सूचनाबिनै बगाले जाने योजना बनाउनुभएको रहेछ । मलाई भन्नुभयो, ‘माधव बाबु जाऊँ, एक फेरो मारेर आऊँ । हामीले गरेको काम कम्तीमा तपाईंंले मात्र हेर्नुभयो भने पनि मलाई सन्तोष मिल्छ ।’ उहाँको भनाइले मन छोयो र जान तयार भएँ ।

३० वर्षपछि जाँदा बगालेका अमृतबहादुर विश्वकर्मा बूढा भइसकेछन् र पनि डोरनाथलाई ठ्याक्कै ठम्याए । लज्जामिश्रित हाँसोसहित अमृतबहादुरले भनेथे, ‘अचेल अलि घट्नुभएछ । तपाईंलाई त जस्तो रूपमा आए पनि चिनिहाल्छौँ नि ।’ उनकी बूढीले कान ठ्याम्मै सुन्न छाडिछन्, हेरेर हाँसिन् मात्र ।

डोरनाथ दाइले यस पङ्क्तिकारलाई भन्नुभएको थियो, ‘त्यसबेला पाल्पा पुग्दाको जोशिलो युवा म पनि पाको पुस्तामा प्रवेश गर्दैछु । सायद अहिलेको म त्यस्तै उमेरको हुँला, जस्तो मैले भेट्दा पाल्पाका तुलबहादुर दाइ हुनुहुन्थ्यो । उहाँका परिपक्व सुझाव मेरा लागि काम गर्ने सूत्र नै बन्यो । यसले मेरो युवा जोशलाई सचेत रहन सिकाएको थियो । म सधैँ समाजलाई जोड्न क्रियाशील भइरहेँ।’

संसारमै धनी र शक्तिवान्का अघिपछि लाग्ने धेरै हुन्छन् । ‘उच्च कुल’ का धनपतिहरूका सेवामा जुट्न तँछाडमछाड गर्ने सेवकको पनि यहाँ कमी छैन । तर, समाजमा पछाडि पारिएका गरिब, दलित, निमुखा र सीमान्तकृतका पीडामा मलमपट्टी गर्ने र मुहारमा मुस्कान भर्ने इमानदार प्रयत्नको यहाँ खडेरी नै छ । डोरनाथ दाइ यही खडेरीबीच रमाउनुभयो । आफ्नो सिङ्गै जोवन यसैमा खर्च गर्नुभयो । उहाँ भन्नुहुन्थ्यो– ‘म गरिबसँगै रमाउँछु । यसैमा मलाई सन्तोष लाग्छ ।’

त्यो बेलाको आयआर्जन

चालीसको दशकमा पाल्पाली करुवाले अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाइसकेको थियो । बगालेका विश्वकर्माले तामाका तार गालेर बनाएका गाग्री, खड्कुँला, फोसी, अम्खोरालगायत बुट्टा कुँदेका भाँडाले पनि ख्याति कमाएका थिए । लाहुरेका घर ‘बगालेका कामीले बनाएका भाँडा’ले सजाउनु प्रतिष्ठाको विषय हुन्थ्यो । तर, माग धान्ने सामथ्र्य त्यहाँका विश्वकर्मासँग थिएन । विश्वकर्माको सीप यति बिकाउ थियो तर छोराछोरी विद्यालय पठाउँदैनथे । चेतनाको अभावमा गाउँघर फोहोर थियो । गरिबीको चपेटामा नराम्ररी पिल्सेको थियो बगालेगाउँ ।

यो बेला दलित समाज पनि छुवाछुत र विभेदले ग्रस्त थियो । जातिभेदको सूत्र नै थियो त्यहाँ, ‘सार्कीभन्दा कामी अछुत, कामीभन्दा पनि दमै अछुत ।’ सबैभन्दा तल पारिएका दमाईंहरूमध्ये पनि मानबहादुर परियारले सिलाएको लुगाचाहिँ नौ गाउँ प्रख्यात थियो । विश्वकर्माचाहिँ सीपका धनी थिए तर पनि आर्थिक रूपमा विपन्न थिए ।

तुलबहादुर विश्वकर्माले आफ्नै आरनमा बसेर भनेका थिए– दलित–दलितबीचको छुवाछुत र बेमेल । डोरनाथले अठोट गर्नुभयो, ‘यहीँबाट थाल्छु मेरो अभियानको पहिलो पाइला ।’
झडेवाको बेँसी सानो रमणीय उपत्यकाजस्तै छ । त्यहाँ हाइस्कुल थियो– किसान माध्यमिक विद्यालय । डोरनाथले त्यहाँका शिक्षकसँग भेटे । पञ्चायतविरोधी राजनीतिमा लागेका शिक्षकबाट जवाफ पाए– पहिला काम हेरौँ, अनि कुरा गरौँला ।

किसान माविबाट पश्चिमतर्फ दुईचार वटा चिया पसल थिए । त्यहाँ गएर आफ्नो ‘मिसन’ सुनाउनुभयो डोरनाथ दाइले । उपस्थित अधबंँैसे पञ्च–भलाद्मीले प्रस्टसँग भने, ‘विकास ल्याएको भए हामीलाई दिनुस्, गरिब खोज्न आउनुभएको हो भने बगाले जानुस् । सबभन्दा फोहोर गाउँ त्यही हो, गरिब पनि त्यहीँ छन् ।’

तत्कालीन प्रधानपञ्च क्याप्टेन चन्द्रबहादुर सारूमगरले त्यसबेला भनेको पनि डोरनाथले जीवनपर्यन्त सम्झिरहनुभयो । भारतीय पल्टनका लाहुरे मानार्थ कप्तान पाएका चन्द्रबहादुरले डोरनाथलाई सोझो भाषामा भनेका थिए– ‘जनताले रुचाए बस, नभए जाऊ । आईडीएसबाट पहिला पनि मान्छे आएका थिए, गाउँलेले रुचाएनन् । राति नै भागेछ ।’

पञ्चभलाद्मीको सुझावअनुसार नै डोरनाथ लाग्नुभएथ्यो बगालेतर्फ । २०४१ फागुन २७ गते । पहिलो ‘आयआर्जन समिति’ गठन भयो बगालेमा । यो नै सामाजिक परिवारको पुर्खा हो । बगालेको परम्परागत सीपलाई प्रवद्र्धन गर्न ‘आयआर्जन समिति’ नै ठीक भन्ने निष्कर्ष निकालिएको थियो । बगालेबाट थालिएको ‘स्वावलम्बन’ अभियान केही महिनापछि नै झडेवाका धेरै गाउँमा फैलियो । एक वर्ष नबित्दै पाल्पाका धेरै गाउँमा विस्तार भयो । अनि डोरनाथको परिचय बदलियो– ‘आईडीएस सर’।

आईडीएसबाट प्राप्त २५ हजार रूपियाँ तामाका भाँडा बनाउने कच्चा पदार्थ किन्न खर्च गरियो । कालिगढहरू रातभरि भाँडा बनाउन थाले । २०४२ मङ्सिर १ गते किसान माध्यमिक विद्यालयको रजत जयन्तीसँग जोडेर महोत्सव आयोजना गरियो । बगालेका भाँडा मात्र होइन, कृषिे उपजको पनि प्रदर्शनी भयो । डोरनाथको नाम मात्र आईडीएस सर भएन, उहाँले वितरण गरेको मुलाको बीउको नाम नै ‘आईडीएस मुला’ भयो । बगालेका विश्वकर्माहरूका हातमा नगद प¥यो । उनीहरूले साहूको ऋण तिरे । बालबच्चालाई नयाँ लुगा किनिदिए । आफूहरूले पनि नयाँ लुगा किनेर लगाउन थाले।

‘आयआर्जन समिति’ राखिएको सामाजिक परिवारका प्रत्येक सदस्यले महिनामा एक पटक जम्मा भएर छलफल सुरु गरे । मासिक रूपमा बचत गरी कोष खडा गरे । मर्दापर्दा, बिरामी, सुत्केरी हुँदाको अड्कोपड्को फुकाउन थाले । घरवरपर भएको थोरै बारीमा तरकारीका उन्नत बीउ रोप्न थाले । फलफूलका बिरुवा लगाए।

डा.देवेन्द्रराज पाण्डेको नेतृत्वमा सञ्चालित ग्रामीण स्वावलम्बन विकास केन्द्रको ‘फिल्ड अफिसर’ भएर पाल्पा पुग्नुभएथ्यो डोरनाथ । उहाँलाई पत्रकार भैरव रिसालले पाण्डेसँग जोडिदिनुभएथ्यो।

तीन वर्ष पाल्पा बसेर काम गर्दा उहाँ गरिब–दलितको ढुकढुकीमा बस्न सफल हुनुभयो । साढे तीन दशक बितिसक्दा अहिले पनि बगालेको दलित बस्तीमा पुग्दा अघिल्लो पुस्ताका जोकोहीले उहाँलाई सम्झन्छन्।

बगालेको सरसफाइको कथा बेग्लै छ । मान्छेको फोहोर त सुँगुरले सफा गथ्र्यो तर सुँगुरको फोहोरले बाटोमा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । उहाँले बाटो सफा गर्ने विचार गर्नुभयो र गृहिणीहरू उठेर पँधेरा जानुअघि नै बाटो बढार्न थाल्नुभयो । तीन दिनसम्म लगातार बढारेपछि सबै छक्क परे र भन्नथाले– बाटो कसरी सफा भयो रु चौथो दिन चियो बसेर स्थानीयले फेला पारे । आईडीएस सरले सडक बढारेको थाहा पाएपछि गाउँले आफैले सडक बढार्न थालेको डोरनाथ दाइले सुनाउनुभएको थियो।

डोरनाथले प्रारम्भिक दिनमा बगालेमा काम थाल्दा ज्यान दाग्नेदेखि स्याबासी दिनेसम्म भए । ‘उच्च’हरूले स्वार्थमा धक्का लाग्दा बन्दुक ताके । निमुखा, गरिब र अवसरविहीनहरूले स्याबासी दिएथे।

तीन वर्षअघि पाल्पाको झडेवा पुग्दा किसान माविको प्राङ्गणमा उभिएर सन्तोषको सास फेर्दै डोरनाथ दाइले भन्नुभएथ्यो, ‘मेरो मेहनत सार्थक भयो । बगालेले गरेर देखाइदियो । पाल्पाकै सबैभन्दा फोहोरी भनेर छिःछिः र दुर्दुर गर्ने दलितगाउँ नमुना गाउँ बन्यो।’

बगालेको सफलतासँगै कार्यक्रम माग गर्नेको ताँती लाग्यो । ‘यो माग गर्ने र दिने होइन, अभियान हो । गर्दै सिक्र्दै जाने काम हो । तपाईंहरू सुरु गर्नुस्, हामीले जानेको तपाईंहरूलाई बताउँला १’, त्यसबेला यस्तो जवाफ दिएको उहाँले स्मरण गर्नुभएको थियो ।

सामाजिक परिवारमा रूपान्तरण

‘आय आर्जन समिति’कै नामबाट धेरै वर्ष काम भइरह्यो । ‘आईडीएस’ हुँदै ०५३ सालमा उहाँ ‘समग्र विकास सेवाकेन्द्र’ नामक संस्था बनाएर काम गर्न थाल्नुभयो । अभियानकै रूपमा धेरै काम भए । यहाँसम्म आइपुग्दा त हरित सडकसमेत गाउँले आफैँले बनाएर देखाइदिए । उत्तरी गोर्खा जोड्ने घोडेटो बाटोसमेत उहाँकै अगुवाइमा जोडिएको थियो । खानेपानी, सिँचाइ, स्थानीय स्तरमा विद्यालय भवन त धेरै ठाँउमा बनेथे ।

२०५३ सालमा पुनः पूर्वी नेपालको सङ्खुवासभा र भोजपुर जिल्लामा काम गर्न थाल्नुभयो । यति ठूलो अभियानलाई ‘आयआर्जन समिति’ भन्ने नामले बोकेर हिँड्न सक्दैन भन्ने मनभरि लागिरहन्थ्यो । १२ वर्षअघि पाल्पाको बगालेका कालिगढका सीप र मेहनत देख्दा समूहको नाम सुझाएको थियो– ‘आय आर्जन समिति’ । ठाउँअनुसार फरक कार्यक्रम थिए । कतै प्रौढ कक्षा, कतै महिला सशक्तीकरण, कतै पोषण, सरसफाइ, करेसाबारी, उन्नत बीउ विजनमा सहयोग । फजुल खर्च, दाइजोविरुद्ध अभियान, कुलत, छुवाछुतविरुद्ध अभियानसँगै सामाजिक चेतना बढाउने काम भयो ।

डोरनाथले नेतृत्व गरेको अभियानको पहिलो सर्त थियो– सङ्गठित हुनु । दोस्रो– सरसफाइ, तेस्रो– बालबालिकालाई अनिवार्य विद्यालय । महिनामा एक दिन अनिवार्य भेटघाट र छलफल गर्नुपथ्र्यो । त्यसबाट कोष सङ्कलन, आउँदो महिना के गर्ने भन्ने काम तय हुन्थ्यो र बितेको महिनामा भएका कामको समीक्षा हुन्थ्यो । हुँदाहुँदा क्षेत्र बढाउँदै खानेपानी, घोडेटो बाटो बनाउने काममा पनि सक्रियता बढ्दै गएको थियो ।

डोरनाथ जबजब गाउँ जानुहुन्थ्यो, मनमा खुल्दुली हुन्थ्यो– हाम्रो कामअनुसार नाम मिलेन । ०५४ साल मङ्सिरमा सङ्खुवासभाको तुम्लिङटार जाँदा बाटोमा फु¥यो– घर–परिवारजस्तै ‘आयआर्जन समिति’ पनि ‘सामाजिक परिवार’ त हो नि १ ३०–३५ घर–परिवार मिलेर बनेको सङ्गठित समूहलाई ‘सामाजिक परिवार’ नाम दिने निष्कर्षमा पुग्नुभयो । यसरी आयआर्जन समिति ‘सामाजिक परिवार’को नाममा परिणत भयो । अहिले डोरनाथ न्यौपानेकै नेतृत्वमा गठन भएका करिब एक हजार एक सय सामाजिक परिवार क्रियाशील छन्, जसले सामूहिक हितमा काम गर्छन् ।

सामाजिक परिवारको नारा छ– २९ दिन घर–परिवारलाई, एक दिन सामाजिक परिवारलाई । प्र्रत्येक दुईदुई वर्षमा प्रजातान्त्रिक विधिबाट पदाधिकारी छनोट हुन्छ । अध्यक्ष, उपध्यक्ष, सचिव, कोषाध्यक्ष गरी चार जना पदाधिकारी हुन्छन् । बाँकी सबै सदस्य हुनेछन् । सामाजिक परिवार सामान्यतः २५ देखि ३० घरसम्मको बनाइन्छ ।

‘सामाजिक परिवार’ का सदस्यमध्ये कसैको मृत्यु भएमा एक किलो चामल, ५० देखि १०० रुपियाँसम्म पैसा, घिउलगायत विचारका रूपमा मृतकको घरमा लैजाने चलन बसेको छ । बिरामी कुर्नुपरे पालैपालो कुरुवा बस्छन् । सुत्केरी भएको परिवारलाई आवश्यक प¥यो भने आफ्नो कोषबाट तीन महिनासम्म निब्र्याजी सापटी दिइन्छ । आवश्यक परे अरू सहयोग लिने परम्पराका रूपमा स्थापित छ । तराई÷मधेसमा बाढी जाँदा पहाडका सामाजिक परिवारले र भूकम्पले पहाडी क्षेत्र ध्वस्त पार्दा तराई-मधेसका सामाजिक परिवारले राहत सामग्री पठाएर सद्भाव आदान–प्रदान गर्ने गरेका छन्।

शिक्षासेवी डोरनाथ

सुरुमा सरकारी अमिनको जागिरमा हुनुहुन्थ्यो डोरनाथ । यस क्रममा उहाँ नेपालको ग्रामीण समाजसँग भिज्न पाउनुभएथ्यो । उहाँ मृत्युपर्यन्त ‘शान्तिका वक्ता’ प्रेम रावतको सहयोगमा चलेको ‘प्रेमसागर फाउन्डेसन’ को नेतृत्वमा रहनुभयो । फाउन्डेसनमार्फत धादिङको थाक्रे गाउँपालिकाको तसर्पुमा दैनिक पाँच सय बालबालिका र उनीहरूका अभिभावकलाई निःशुल्क भोजनको व्यवस्था गरेको छ । थाक्रे र मकवानपुरको टिस्टुङमा करिब दुई हजारका लागि निःशुल्क खाजाको बन्दोबस्तसमेत गरेको छ।

डोरनाथ अमिन छँदै धादिङको थाक्रे क्षेत्रका गाउँगाउँमा नापी गर्न जानुभएथ्यो । चेपाङ, तामाङ र दलितको मात्रै बसोबास छ त्यस क्षेत्रमा । नजिक विद्यालय थिएन । डोरनाथकै पहलमा तसर्पुमा प्रेमसागर फाउन्डेसनले ‘जनभोजन’ प्रारम्भ गर्‍यो र माध्यमिक विद्यालय पनि स्थापना भयो । करिब पाँच सय विद्यार्थी ९ बजे जनभोजनमा पुग्छन् । निःशुल्क राम्रो खाना खान्छन् । अनि सँगैको विद्यालय जान्छन् । १६ किलोमिटर पर टिस्टुङदेखिका विद्यार्थी ‘बाइरोडको बाटो’ को उक्त स्कुल आएर पढ्छन् । त्यस्तै अरू दुई विद्यालयमा पनि त्यहीँबाट ओसारेर खाजाको व्यवस्था गरिएको छ । यसबाट करिब दुई हजार विद्यार्थी प्रत्यक्ष लाभान्वित छन् । शिक्षाको स्तरमा सुधार भएको छ । केही वर्षअघिसम्म एसएलसी पढेका मान्छे नभेटिने त्यस भेगमा अहिले स्थानीय नै शिक्षक भएका छन् ।

‘यो जनभोजन आफ्नै सामथ्र्यमा चल्न सक्ने हो भने यसलाई सिराहा–सप्तरीको चमार–दुसाध बस्तीसम्म विस्तार गर्न सकिन्थ्यो । यति गर्न सके त्यहाँ पनि परिवर्तन हुन्थ्यो’, डोरनाथले तसर्पु पुगेको बेला भन्नुभएथ्यो । तर, दुर्भाग्य १ उहाँको यो सपनाचाहिँ अधुरै रह्यो ।

सधैँ गरिब–दलितका लागि मात्र सोच्ने डोरनाथ न्यौपाने अब हामीबीच रहनुभएन ।
भक्तपुरको काँठ क्षेत्र दधिकोटका डोरनाथ न्यौपानेलाई चारभन्ज्याङको सीमाले कहिल्यै छेकेन । दुई पटकको मुटुको ‘बाइपास सर्जरी’ र एक पटक मुटुकै धमनीको चुहावट टाल्दा शारीरिक रूपमा उहाँ कमजोर हुनुभएको थियो । तौल घटेर ३८ किलोमा झरिसकेको थियो तर इच्छाशक्ति भने कहिल्यै घटेन उहाँको।

जीवनपर्यन्त दलित र गरिबको सेवामै समर्पित भइरहनुभयो । ६१ वर्षको उमेरमा वैशाख ५ गते एकै दिनको सामान्य ज्वरोले उहाँलाई यो धर्तीबाट सदासदाका लागि बिदा गर्‍यो । सच्चा समाजसेवी डोरनाथ दाइलाई गरिब र दलितले कहिल्यै बिर्सने छैनन्।

 

Published Date: Sunday, 28th April 11:28:49 AM