शुक्रबार, असार १९, २०७७

भेदभावको कुलत पहिले आफैँबाट हटाऔँ

भर्खरै रूकुम पश्चिममा जातीय विभेदले जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान लियो।

भेदभावका कारण हाम्रो समाजमा यस्ता घिनलाग्दा घटना घटिरहन्छन्। यसबारेमा चर्चा नगरेर आज म केही आधारभूत सामाजिक चरित्रबारेमा चर्चा गर्नेछु जसले हाम्रो समाजलाई भेदभावको कुलतमा फसाएको छ र यसबाट समाज बाहिर नआएसम्म सामाजिक न्याय र समानतासहितको विकास हाम्रो लागि मृगतृष्णा मात्र हुनेछ। 

सबै मानिस समान छन्, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन लगायतका धेरै वाक्यांश र शब्दावलीलाई साहित्य, भाषण र बहसमा दैनिकजसो पाइरहँदा र कुनै भेदभावका घटना घट्ना साथ आक्रोशसहित  बाहिरिने अभिव्यक्तिहरू पढिरहँदा वा सुनिरहँदा यस्तो लाग्छ, हाम्रो समाजमा भेदभाव गर्ने त के सुन्न सक्ने मान्छे पनि छैनन्।

विभेदविरूद्धका हाम्रा नियम कानूनहरू हेर्दा यस्तो लाग्छ- हाम्रो समाजमा भेदभाव एक पल पनि टिक्न सक्दैन। लामो समयदेखि यो भूमिमा भेदभावविरूद्ध संघर्ष गर्ने क्रान्तिकारीको लर्को हेर्दा यस्तो लाग्छ- यो देशमा भेदभाव उहिल्यै हराइसक्नु पर्ने हो। सरकारी र गैरसरकारी निकायले विभेदविरूद्ध समाजको चेतनामाथि उठाउन गरेका काममा खर्चिएको समय र लगानी हेर्दा यो विषयमा अब सिक्न र जान्न बाँकी केही छैन जस्तो लाग्छ। 

तर, हाम्रो सामाजिक यथार्थता अर्कै छ। जात, धर्म, रंग, लिंग, उमेर, आर्थिक अवस्था, विचार, आस्था, अपाङ्गता, भूगोल, पेशा, पद, शक्ति, काम सबैका आधारमा गरिने विभेद र यसका हजारौं रूपहरू यो समाजका हरेक सम्बन्धका पत्रपत्रमा विद्यमान छन्। हामी यस्ता विभेद अवलोकन, अनुभव र विश्लेषण मात्र गरिरहेका हुन्नौं। त्यसमा सहभागी भई योगदान पनि गरिरहेका हुन्छौं। लामो समयदेखि दिगो निरन्तरता पाएको भेदभावको वृक्ष यति फैलिएको छ कि यसका हाँगाबिंगा थप विशिष्टिकृत हुँदै गएका छन्। हामी हरेक दिन विभेदका तथ्यांकहरूसँग खेलिरहेका हुन्छौँ। 

बलात्कारका कथा, छाउपडीको व्यथा, जात र धर्मको कारणले गरिएको हत्या, ज्यालामा ठगिएका मजदुरको चर्चा, ठगिएको कर्णाली, तराइको गरिबी, पहाडे र मधेसीको विवाद, रीतिरिबाज र सँस्कृतिको नाममा अपराध वा शोषण, अपाङ्गताको आधारमा असमान व्यवहार, पद र शक्तिका लागि वर्ग विभाजन, धनीले गरीबमाथि गर्ने व्यवहार आदि-आदि।

समाजमा कुनै भेदभावका घटना हुनासाथ हामी प्राय के भयो ? कहाँ भयो ? कति भयो ? र कसले गर्यो ? जस्ता समाजमा चाँडै उत्तेजना र आक्रोश फैलाउन मद्दत गर्ने प्रश्नको उत्तर खोज्न हतारिन्छौँ। जातको आधारमा कति जनाको हत्या भयो ? लैंगिक विभेदका कारण कतिले आत्महत्या गरे? बोक्सीको आरोपमा कति मारिए? नेपालको कुन क्षेत्रमा धेरै बलात्कार हुन्छ? बालविवाह कुन ठाउँमा धेरै हुन्छ? लगायतका प्रश्नका उत्तर बोकेर सञ्चारमाध्यम, राज्यका निकाय र गैरसरकारी संस्थाहरू बसिरहेका हुन्छन्। तर समाजमा विभेदको निरन्तरता किन छ?

किन पटक-पटक हामीले नवराज विक र निर्मला पन्तको नियति भोगिराख्नु पर्छ? किन महिलाहरू बोक्सीको आरोपमा बारम्बार मारिनुपर्छ? जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकले किन भेदभाव भोग्नुपर्छ? कुन खास सामाजिक चरित्रले सधैँ हाम्रो समाजलाई २१ औँ शताब्दीमा पनि विभेदको दुष्चक्रमा घुमाइरहन्छ? किन हाम्रा कानून, संरचना र संयन्त्रहरू यो दुष्चक्रसँग लड्न सक्दैनन्? लगायतका प्रश्नहरूको उत्तर पाउन कठिन छ। 

म आज हाम्रो समाजको एउटा मात्र खास चरित्रको कुरा गर्छु जसलाई महसुस गर्न कुनै अध्ययन गर्नु नपर्ला तर समाजिक भेदभाव बढाउनमा यसको निकै ठूलो भूमिका छ। त्यो चरित्र हो "उँचो-निचो" वा "ठूलो-सानो" को भावना। यो साझा चरित्र हाम्रा हरेक सामाजिक सम्बन्धका पत्रपत्रमा  विद्यमान भएको हुनाले झट्ट सुन्दा एकदमै सामान्य लाग्न सक्छ तर यसको सामाजिक तथा सांस्कृति अर्थ र प्रभावको व्यापकतालाई हेर्दा त्यति सामान्य पनि छैन। सामाजिक भेदभावको निरन्तरतामा यसको योगदान ठूलो छ।

इतिहासमा हाम्रो समाजले भोगेका राजा र रैतिको सम्बन्ध सामाजिक दृष्टिकोणबाट हेर्दा ठूलो र सानोको सम्बन्ध हो। किनभने हाम्रो सामाजिक-सांस्कृतिक अर्थमा "ठूलो" भनेको बलियो, शासक, खास गरेर शक्तिशाली भन्ने हो भने "सानो" भनेको कमजोर तर शक्तिहीन भन्ने हो। तर सानो र ठूलोको यो मनोविज्ञान राजा र रैतिमामात्र सीमित नभएर घर, परिवार, नातागोता, जात, रंग, लिंग, धर्म, संस्कार, आर्थिक अवस्था लगायत समाजका हरेक सम्बन्धमा प्रशारित भयो। 

राजालाई कानून नलाग्ने अभ्यासको समानान्तर अभ्यास समाजका अरू ठूला भनिने वर्गहरूमा पनि लागू हुँदै गयो। आज राज्यशक्तिमा रहेका व्यक्तिले सहजै कानून मिच्ने प्रयास गर्नु, जनउत्तरदायी नहुनु वा भ्रष्टाचारमा उद्धत हुनु यसैको निरन्तरता हो। कुनै खास सामाजिक सम्बन्धमा भएको चरम विभेदले कसैलाई सारै दुख्दा इतिहासका विभिन्न कालखण्डमा यसविरूद्धमा आवाज उठेका र बलिदानी भएको भएता पनि समाजका जरा गाडिसकेको ठूलो-सानोको साझा भावनाविरूद्ध आवाज उठेन।

किनभने यो भावना हाम्रो जीवनशैली बनिसकेको थियो। दशैँमा टीका लगाउँदा 'ठूलो मान्छे हुनु र आफूभन्दा ठूलालाई मुख नचलाउनु' भनेर आशिर्वाद थाप्ने हरेकले समाजमा आफू ठूलो हुनुको परिभाषा यिनै कयौँ विभेदका रूपभित्र खोज्थे र जे पाउँथे त्यही अपनाउँथे। परिवर्तन जति नै भएपनि ठूलो र सानोको सांस्कृति र सामाजिक अभ्यासबाट बाहिर निस्कन नसक्दा विभेद हाम्रो जीवनको अभिन्न अंग बन्यो। विभेदको अभ्यासले दाजु-भाइ, दिदी-बहिनी, छोरी-बुहारी, छोरा-छोरी, ज्वाइँ-छोरी, छोरा-बुहारी कुनै सम्बन्धलाई समान हुन दिएन। 

हाम्रो समाजिक जीवन विभेदको कुलतमा फस्दै गएपछि हामी यो विना बाँच्न नसक्ने भयौँ। यो कुलतको विषले भगवानलाई पनि बाँकी राखेन। 'मेरा भगवान सबैभन्दा ठूला' मात्र भनेनौँ भगवानलाई खुसी पार्न प्राणीको बलि दिँदै अपराधको भागिदार पनि बनाउन भ्यायौँ। त्यसैले भेदभावको जडलाई हामीले जातमा र लिंगमा मात्र खोज्ने प्रयास गर्यौँ भने गलत हुनेछ। हरेक जात र लिंग फेरि अर्को विभेदको चपेटामा छ।

हामी प्रत्येकले कुनै बेला विभेद खप्छौँ भने कुनै बेला विभेद गर्छौँ। कतिपय विभेदका रूपमा त हामी सम्मान, गौरव र इज्जत देख्ने गर्छौँ। हाम्रा आवाज, कानून र संयन्त्रले काम गर्न नसक्नुको पछाडिको मुल कारण र हामीले चाहेको विकास र समृद्धिको मुख्य बाधक पनि यही हो। समाजलाई विभेदमुक्त गर्न हामी प्रत्येक व्यक्ति, समूह र संस्था जिम्मेवार हुनुपर्छ। हरेकले आफ्नो मष्तिष्क, शरीर, घर-परिवार र नातागोताबाट सुरू गर्नुपर्छ। हाम्रा सम्बन्धका हरेक पत्रमा रहेका विभेदका रूपसँग लड्नुपर्छ।

विभेदको जरासम्म पुग्न हरेक प्रकृतिका विभेदविरूद्धमा किन? भन्ने प्रश्न गर्दै त्यसको उत्तर खोज्नु पर्छ। विभेदविरूद्ध किन ? भन्ने प्रश्न गर्न र नाइँ भन्ने उत्तर दिन सबैभन्दा पहिले आफैँसँग हिम्मत गर्नुपर्छ अनि मात्र हामी अरूसँग लड्न तयार हुन्छौँ। हामी आफूभित्र रहेको विभेदलाई जहिलेसम्म प्रतिप्रश्न र अस्वीकार गर्न सक्दैनौँ तबसम्म अरूलाई प्रश्न र अस्वीकार गर्ने शक्ति हामीमा हुँदैन। यदि गरिहालियो भने पनि त्यो आडम्बर मात्र हुनेछ। 

(लेखक अपाङ्गता अधिकारकर्मी हुन्।)

Published Date: Friday, 5th June 18:29:12 PM