बुधबार, फागुन ७, २०७६

सरिताका कलाकृतिको विदेश उडान

सरिता डंगोल। | तस्वीर:काठमाडौं प्रेस

काठमाडाैं, असाेज ९ : संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कला प्रदर्शनीका लागि नेपालबाट एउटा चित्र टर्की पुगेको छ। यही असोज ११ (सेप्टेम्बर २८) मा हुने प्रदर्शनीका सरिता डंगोलले कोरेको चित्र केही दिनअघि टर्की पुगेको हो।

जहाँ त्यो चित्रले संसारभरका ४८ देशका चित्रकारले कोरेका कलाकृतिसँग प्रतिस्पर्धा गर्नेछ। प्रतिस्पर्धाका लागि छनोट भएको प्रमाणपत्र पाएको खुशी चित्रकार डंगोल फेसबुकमा पनि शेयर गरेकी छिन्। ‘असाध्यै खुशी छु, त्यत्रो ठूलो प्रदर्शनीमा मेरो चित्र पनि छनोट भएको छ,’ डंगोलले काठमाडाैं प्रेससँग खुशी साटिन्।

अहिले सरिताका चित्रले देशविदेश चहार्दैछन् तर, उनलाई भने यसको सुरुवात गर्दा पाटनबाट काठमाडौं आउन पनि सकस परेको थियो। ‘किन काठमाडौंमा गएर पढ्नुपर्‍यो? पाटन नै पढें भइहाल्यो नि! घरमा भाइबहिनी हेर्नुपर्‍यो,’ परिवारका सदस्यले भनेको सम्झिन्छिन् उनी। तर, आमाले क्याम्पस भर्ना हुन दिएको पैसा बोकेर भोटाहिटी पुगिन्। र ललितकला क्याम्पसमा भर्ना भइन्।

यो साहस उनलाई त्यतिवेलै आएको भने होइन। स्कुलताका विज्ञान विषय पढ्दा भ्यागुताको चित्र एकदम राम्रो बनाउँथिन्। कक्षामा उनका चित्र उत्कृष्ट हुन्थे। उनले कक्षा ९ मा अतिरिक्त गणित रोजिन। तर, कक्षामा शिक्षकले भने एक दिन अनायासै भने, ‘सरिता, पछि गएर चित्रकला नै पढ्नु।’

बस्, उनको दिमागमा सरको त्यो भनाइले क्लिक गर्‍यो। र घरपरिवारको कुरा नसुनेर ललितकला क्याम्पस पुगिन्। सुरुवातमा त गाह्रो भयो, सर-सामान जुटाउन। जब स्वयम्भूस्थित मैत्री शिशु र्बोडिङ स्कुलमा बालबालिकालाई कला पढाउन थालिन् त्यसपछि भने आर्थिक समस्याहरू हराउँदै गए। ‘चित्र बेचेर कमाउन पनि थाले,’ उनी सम्झिँन्छिन्।

त्यही क्रममा एक संस्थाले उनलाई ग्रामीण क्षेत्रका बालबालिकालाई चित्र कोर्न सिकाउने अवसर जुटायो। त्यसले उनलाई झन आत्मबल मिल्यो। ‘चित्र कोर्न पाउँदा बालबालिका खुब रमाउँथे। उनीहरुको मुहारमा खुशी देख्दा मलाई त्यसै आनन्द आउँथ्यो,’ उनले भनिन्।

उनको कलामा निखार आउँदै गयो। त्यही क्रममा जापानको क्युसु संग्यो विश्वविद्यालयको छात्रवृत्ति पाइन्। तीन महिनाको जापान बसाइले उनको कलामा झन निखार ल्यायो। ‘त्यो तीन महिने विशेष कोर्षले जोस् थपिदियो,’ उनी भन्छिन्।

उनलाई लाग्छ, कला मान्छे भाव पोख्ने माध्यम हो। ‘चाहे त्यो कसैलाई मन परोस् या नरोस्,’ सरिता भन्छिन्, ‘कसैले मन पराउनुपर्छ भन्ने पनि छैन। यो त कलाकारको परिचय पो हो।’

चित्र कोरिरहँदा उनलाई सहि अर्थमा आफू बाँचिरहेको महसुस हुन्छ। उनी त्यही प्रयत्नमा छिन्। प्रकृतिको आवाजलाई संगालेर त्यसमा रङ्ग भर्नु र भर्न सिकाउनु नै उनको दैनिकी बनेको छ। उनलाई लाग्छ, जसरी मान्छे जीवनमा खुशी, आँशु, पीडा आउँछन् त्यसरी नै प्रकृतिको जीवनचक्रमा पनि संवेग, आनन्द, सुख, दुःख सबै आइरहन्छन्। ‘फरक यत्ति हो, मान्छे कराएर, चिच्याएर, रोएर, हाँसेर, लजाएर, बोलेर भाव व्यक्त गर्छन् । बोटविरुवा त्यसरी सक्दैनन्। जरा, पात, हाङ्गाबिङ्गा, पात, बोक्राबाट अभिव्यक्त गरिरहेका हुन्छ,’ यति बोल्दा भने उनी गम्भीर भइन्।

यो क्षेत्र अपनाइराख्न भने सहज छैन। कलेज पढ्दा उनीसँगै कक्षामा ९६ विद्यार्थी थिए। उनले आफूबाहेक अरुलाई यही क्षेत्रमा देखेकी छैनन्। ‘कलाका लागि समर्पण चाहिन्छ,’ सरिता भन्छिन्। त्यसका लागि सानैदेखि कलाप्रति आकर्षित गर्नुपर्ने उनको भनाइ छ।

यसका लागि उनले प्रयास गरेकी थिइन्। स्कुलदेखि नै बालबालिकालाई कलाप्रति आकर्षित गर्न पाठ्यक्रममा यो विषय समावेश गराउन प्रयत्न गरेकी थिइन्। सरोकारवाला सबैसँग यस विषयमा छलफल गरिन् र यसको महत्वका विषयमा उनले बताइन्। तर, उनको दौडधुपले पुगेन। अनि उनी आफै बालबालिकासँग जोडिन खोजिन, आर्ट स्कुल खोलेर।

अहिले उनले चित्रकलासम्बन्धी पढाउने कम्युनिटी चिल्ड्रेन आर्ट स्कुल खोलेकी छन्। यो स्कुलले सबैलाई चित्रकला सिकाउँछ। उनले विभिन्न तहका विद्यार्थीलाई पढाउने गरेकी छन्। ‘चार वर्षका नानीदेखि फेशन, इन्टेरियर डिजाइन, आर्किटेक्चरहरु पनि पढिरहेका छन्,’ उनी भन्छिन्।

अहिले बिहान हिमालयन कलेज अफ इन्जिनियरिङका विद्यार्थीलाई पढाउँछिन्, दिउँसो कम्युनिटी चिल्ड्रेन आर्ट स्कुल छँदैछ। क्लासिक ग्यालरीको संस्थापक सरिता कुराटर इन नेवा चेन ग्यालरीमा पनि संलग्न छिन्।