सोमबार, भदौ ३०, २०७६

पलेँटीमा गुञ्जिए लेकालीका गीत

पलेँटीमा प्रस्तुति राख्दै लेकाली समूहका गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ। | तस्वीर:पलेँटी

काठमाडौं, भदौ १५ : यस पटकको पलेँटी श्रृंखलामा लेकालीका गीत गुञ्जिएका छन्। शुक्रबारदेखि सुरू भएको यो श्रृंखलामा आज लेकाली समूहको अन्तिम प्रस्तुति रहनेछ।

कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा संचालन भइरहेको पलेँटी श्रृंखलामा लेकाली समूहले विगत सम्झिँदै पुराना गीत प्रस्तुत गरेको छ। २०२४ मा स्थापना भएको लेकालीले समूहको नाममा एकल कन्सर्ट नगरेको लामो समय बितिसकेको थियो। लेकालीले यसअघि २०२८ मा आफ्नो पछिल्लो सांगीतिक कार्यक्रम गरेको संझना गर्‍यो।

लेकालीले संगीतकार, गीतकार तथा गायकद्वय गणेश रसिक र हिरण्य भोजपुरेले भरेका धुनहरूलाई गाउने गरेको छ। उनीहरूका धुनहरू तत्कालिन समसामयिक प्रचलन र लोक धुनमा आधारित हुने गर्छन्। लेकालीले शुक्रबार र शनिबार साँझ पनि तिनै पुराना र चर्चित गीतहरू गाएर नेपालयको ‘आर’शालामा उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको छ।

कार्यक्रममा लेकालीका प्रारम्भिक चरणका तीन सदस्य गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको सहभागिता रहेको थियो। विगतमा धेरै सदस्यका साथ प्रस्तुत भएको लेकालीले आफ्ना धेरैजसो सहयात्रीमध्ये कोही देश बाहिर रहेको र कतिपयको अवसान भएको जानकारी गराएको थियो।

लेकालीमा निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीनकिशोर राई, नीरा श्रेष्ठ, न्हुच्छे बहादुरलगायतको संलग्नता रहेको थियो। यी मध्ये ‘आर’शालामा उपस्थित नीरा श्रेष्ठ भने स्वस्थ्यका कारण मञ्चमा उपस्थित भइनन्। शशी भण्डारी र कमला श्रेष्ठ दिवंगत भइसकेका छन्।

कार्यक्रमको सुरुआत एकताका रेडियो नेपालबाट घन्किएर लोकप्रिय बनेको गीत ‘लहरा पहरा छहराको देश’बाट भएको थियो। लेकालीले २०२५ मा गरेको आफ्नो पहिलो कार्यक्रमलाई यही गीतको बोलबाट नामाकरण गरेको जानकारी गराएको थियो। आफ्ना संस्मरणसहित गीत प्रस्तुत गरिरहेका लेकाली सदस्यका रोचक प्रसंगहरूले कार्यक्रममा थप रौनक थपेको थियो।

तेस्रो गीत शुरु गर्ने क्रममा गायक रसिकले भोजपुरबाट काठमाण्डौ आउँदाको आफ्नो विगत सम्झँदै आफ्नो सांगीतिक शुरुवात ‘राल्फा’बाट भएको स्मरण गरेका थिए। ‘राल्फा’बाट पृथक् भएपछि हिरण्य भोजपुरेसँगको भेट र लेकालीको आरम्भ भएको प्रसंग जोड्दै उनले ‘हुस्सुले छोपेको शहर’ सुनाएका थिए।

चौथो गीत लेकालीको पलेँटीमा अतिथि गायिकाको रुपमा संलग्न भएकी गायिका मीना निरौलाले सुनाएकी थिइन्। हिरण्य भोजपुरेले सृजना गरेको गीत ‘म सानो मेरो मन सानो’ मीनाको स्वरमा घन्किएको थियो।

त्यसपछि गणेश रसिकले सृजना गरेका दुईवटा युगल गीतमा पनि रसिकलाई मीनाले साथ दिएकी थिइन्। रसिकले पछिल्लो चरणमा सृजना गरेका यी दुई गीतमा उनले काव्यिक प्रयोग गरेको छनक पाइन्थ्यो । स्लो नम्बरका यी गीत ‘ओ शून्यता’ र ‘तिम्रो सुन्दर रुपमा बस्छु म’ मार्फत् रसिकले मानवीय संवेदनालाई पृथक बिम्बकासाथ अभिव्यक्त गरेका छन्।

कार्यक्रमको अर्को चरणमा महिला र पुरुष युगल गीत प्रस्तुत भएका थिए। महिलायुगल गाउनु पहिले उर्मिला श्रेष्ठले आफ्नो पारिवारिक पृष्ठभूमिलाई सम्झँदै त्यतिबेला महिलाले गीत गाउनुलाई काठमाण्डौको रैथाने नेवार परिवारले सहजतापूर्वक नलिएको सन्दर्भ सम्झिइन्। उर्मिला र मीनाको स्वरबाट ‘खोलाको तिरमा’ र ‘काफल पाक्यो’ गुञ्जनसँगै कार्यक्रमले लोकशैलीका गीतमा प्रवेश गरेको थियो।

‘नेपाली गीतहरू विशेषगरि तीन तरिकाले बन्ने गरेका छन्,  शास्त्रिय, अन्तर्राष्ट्रिय र लोक शैलीमा। शास्त्रिय र अन्तर्राष्ट्रिय शैलीमा बनेका गीतलाई आधुनिक भनियो तर हामीले चाहिँ लोक गीत जस्तै गीत आफूले सृजना गर्दा पनि तिनलाई आधुनिक भनिएन तर भनिनु पर्छ भन्ने हाम्रो मान्यता थियो,‘ हिरण्य भोजपुरेले लेकालीका रचनाका बारेमा आफ्नो धारणा राखे।

रसिकले पनि भोजपुरेसँग लोली मिलाउँदै थपे,  ‘हामीले आफू जन्मे हुर्केको परिवेशबाट सरल शब्दहरू लियौं र तिनलाई नै धुन भर्यौं। हामीले लोक पाराकै शैली अपनाएकोले सायद ती लोकगीत जस्तै भए। हामीलाई यिनै गीतले फरक पहिचान पनि दिए।‘

 

 Published Date: Sunday, 1st September 11:18:21 AM