सोमबार, मंसिर २३, २०७६

किम्फ मंसिर अन्तिम साता, २९ देशका ६६ फिल्म प्रदर्शन हुने

काठमाडौं, मंसिर १३ : पर्वतीय विषयवस्तुमा आधारित फिल्महरूको १७औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मंसिर २५ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ।

यस पटकको किम्फमा नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्म प्रदर्शन हुने भएका छन्। त्यस्तै, महोत्सवमा २९ देशका ६६ फिल्म प्रदर्शन हुने भएका छन्। आयोजकका अनुसार, महोत्सवका लागि ६९ देशका चार सय २७ वटा फिल्म प्राप्त भएका थिए।

नेपाली पानारोमाअन्तर्गत सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्’, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ लगायत फिल्म प्रदर्शन हुनेछन्।

प्रदर्शन गरिने फिल्ममा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएको जनाएको छ। महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

त्यस्तै ‘नेपाल पानोरामा’अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानकविधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन गरिनेछन्। त्यसबाहेक महोत्सवमा तीन वटा स्वीस फिल्महरूको विशेष प्रदर्शनी गरिने भएको छ।

स्वीस कथानक फिल्म ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ। माफिल कोट्स (बेलायत), जे. क्यु ली (कोरिया) र  ग्याब्रियला कुह्न (पोल्याण्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरु छनोट गर्नेछन्।

‘पछाडि पारिएकाहरुको आवाज’ नारासहित आयोजना हुन लागेको महोत्सवको उद्घाटनमा ‘द एसेन्ट अफ एभरेष्ट’ फिल्म प्रदर्शनी गरिनेछ। महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रर्दशन गरिनेछ।

यसपटक महोत्सवमा फिल्म प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना हुनेछ। जसमा घनश्याम गुरुङ, समुन्द्र सुब्बा र सेरेन श्रेष्ठ वक्ताका रुपमा रहनेछन्।

त्यस्तै, महोत्सवमा प्लान इन्टरनेसनलको महिला सशक्तिकरणसम्बन्धी कार्यक्रम पनि आयोजना हुनेछ। यसपटक ब्रिटिस काउन्सिलको तर्फबाट छलफल र फिल्म प्रदर्शनी गरिनेछ।

एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास सञ्चालन गर्नेछन्।

हिमाल एसोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको किम्फ सन् २०००–२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए। सन् २००७ यता महोत्सव प्रत्येक वर्ष आयोजना गरिदैं आएको छ।

‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन पाँचदिने महोत्सव लागि परेको छ। फिल्म बनाउन आर्थिक रुपमा सक्षम हुनपर्ने हुँदा हामीले पनि काम गर्न सकिरहेका छैनौं। पछिल्लो समय नेपाली फिल्मलाई अन्तराष्ट्र्रिय बजारमा पु¥याउन गृहकार्य गरिरहेका छौं,’ महोत्सवको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले भने।

महोत्सवको सहआयोजक काठमाण्डौ महानगरपालिका रहेको छ भने नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्नेछ। चलचित्र विकास बोर्ड, नेपाल पर्वतारोहण संघ लगायतका संघसंस्थाहरुको सहयोग रहनेछ।

 Published Date: Friday, 29th November 12:42:52 PM