बुधबार, फागुन ७, २०७६

भाइटीकाको लागि ढाका टोपी

| तस्वीर:रिवाज राई

काठमाडौं, कात्तिक १२ : ललितपुरको पाटनका नरेश श्रेष्ठ मध्याह्नमा धुपको मुट्ठा बालेर पसललाई वास्नादार बनाउँदै छन् । थरीथरी रङ्ग र बुट्टा भएका ढाका टोपीे पसलभरी सजाएका उनी तिनैलाई मिलाउँदै छन्।

त्यहीवेला पसलमा पुगेकी नानुमाया थापाले ढाका टोपीको हेर्न थालिन्। केहीवेर हेरेपछि बोलिन, ‘यत्ति चार वटा लैजान्छु, साइज मिलेन भने साट्न ल्याउँछु।’

नरेशकी पत्नी गीता श्रेष्ठले सहमतिको टाउको हल्लाइन। उनले थपिन, ‘हुन्छ, नमिलेपछि लिएर आउनु न।’

अहिले नरेश र गीताको दैनिकी यस्तैमा वितिरहेको छ। बिहानैदेखि अबेर रातिसम्म ढाका टोपी खरिद गर्ने ग्राहक आइरहन्छ। ‘तिहारको वेला भएकाले भीडभाड छ,’ नरेश भन्छन, ‘कारोबार हुने पनि अहिल्यै हो।’

उनले भनेजस्तै यो ढाका टोपीको ब्यापार हुने समय हो। त्यहि वेला कुलेश्वरकी भवानी थपलिया दाइले लगाएको पुरानो टोपी लिएर पुगिन्। उनी भाइटीकाको लागि नयाँ टोपी खरिद गर्न नापोका लागि पुरानो टोपी ल्याएर आएकी थिइन्।

‘दाजुभाइलाई के खाँचो छ भन्यो भने केहि पनि भन्दैनन्। कर लगाएर सोध्यो भने बल्ल बताउँछन्,’ उनी भन्दै थिइन्, ‘अब पहिले जस्तो टोपी नै लैजानु पर्छ भन्ने छैन। मन परेको जुनसुकै सामान लगे भयो।’

भाइटीकाको दिन दाजुभाइलाई मालासँगै टोपी लगाउने चलन छ। जसले गर्दा तिहारको समयमा टोपीको बिक्री अत्यधिक हुन्छ।

दुई दशकदेखि ढाका टोपीको ब्यापार गर्दै आएका नरेशको अनुभवमा २०५८ यता ढाका टोपीको ब्यापार बढ्न थालेको हो । अझ भाइटीकाको एक साता अगाडिदेखि त टोपी किन्नको घुइचो नै लाग्छ।

पहिले उनी फुटपातमा ढाका टोपी बेच्थे। दुई वर्ष भयो, सटरमा बसिरहेका छन्। सुरुआतमा इलाम र झापाबाट आउने ढाका टोपीको ब्यापार गर्दै आएका उनी अहिले भक्तपुर र काठमाडौंमा बनेका टोपी बेचिरहेका छन्। ‘पहिले त ढाका टोपी भन्ने बित्तिकै पाल्पाली र पूर्वेली टोपी नै हुन्थ्यो। अहिले त्यो भेटाउनै मुस्किल छ,’ उनी भन्छन्।

एउटा त अन्यत्र पनि ढाका टोपी बन्न थाले, अर्को पहिले जस्तो राम्रो र टिकाउ रहेन्। उनलाई तेह्रथुममा बनेको टोपी सबैभन्दा गुणस्तर लाग्छ। त्यस्तैले कहिले काँही तेह्रथुमबाटै मगाउँछन्।

अहिले टोपी पनि फरकफरक मूल्यका छन्। पहिले त्यस्तो हुँदैन्थ्यो। अहिले ४० देखि ६ हजार रुपैयाँसम्म पर्ने टोपी उनको पसलमा छन्। प्रायः तीन सय रुपैयाँका टोपी ग्राहकको रोजाइमा पर्ने गरेको उनी बताउँछन्। अहिले दैनिक २० हजारसम्मको कारोबार हुन्छ।

तिहारसँग त ढाका टोपीको साइनो जोडिएको छ। संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ पूर्णताको प्रतिकका रुपमा टोपी लिइने बताउँछन्। ‘मन्दिरमा जसरी गजुँरको महत्व हुन्छ, त्यस्तै भाइटीकामा शिरमा ढाका टोपी लगाउने गरिन्छ,’ श्रेष्ठ भन्छन्, ‘तिहारमा ढाका टोपी लगाउँदा दाजुभाइको मान–प्रतिष्ठा बढ्छ भन्ने विश्वास छ।’

 Published Date: Sunday, 27th October 17:53:50 PM