सोमबार, भदौ ३०, २०७६

शास्त्रीय संगीतसाधक तेजवतीको ‘चुम्बक’ सार्वजनिक

काठमाडौं, भदाै २५ :  शास्त्रीय संगीतसाधक तेजवती जोशीको नयाँ गीत सार्वजनिक भएको छ।

‘चुम्बक’ बोलको गीत डान्सिङ सङ भएको गायिका जोशीले बताइन्। टेकेन्द्र नेपालीको शब्द, संगीतमा तयार पारिएको गीत अकस्टिक स्टुडियोमा भएको हो। गीतको म्युजिक भिडियो पनि युट्युबमार्फत सार्वजनिक भएको छ।

भिडियोमा सुनील क्षेत्री र अनिसा शर्माले अभिनय गरेका छन्। योगेन्द्रराज कर्निकारको प्रस्तुति रहेको गीत नयाँ पुस्तमाझ लोकप्रिय हुने विश्वास गायिका तेजवतीको छ।  गायिका जोशीको चुम्बक छैटौं सांगीतिक कोशेली हो। यसअघि उनले नेपाली र नेवारीमा गरि पाँचवटा गीतमा स्वर दिइसकेकी छिन्।

त्रिभुवन विश्वविद्यालयबाट म्युजिक विषय लिएर फाइन आर्टमा स्नातकोत्तर गरेकी जोशी बालकालैदेखि संगीतमा अभिरुची राख्थिन्।  ‘लैबरी सिङ्गिङस्टार’को जज समेत रहेकी जोशीको सांगीतिक रुची भने निकै पुरानो हो।  

‘नेवारी समुदायमा भजनकृतन भइरहन्थ्यो’, उनले भनिन्, ‘बचपनदेखि नै मलाई त्यो माहोलले संगीतसाधनमा प्रेरित गर्‍यो।’ गाउँका सभा, डबलीमा हुने कार्यक्रममा बुवा इन्द्रबहादुर जोशी र आमा वशुमाया जोशीसँग उनले सहभागिता मात्र जनाइनन्, स्कुल पढ्दा विभिन्न कार्यक्रममा पनि भाग लिइन्। 

सानैदेखिको अभिरुचीलाई निखार्न उनले रेडियो नेपालमा स्वर परीक्षा दिइन्। सन १९९९ मा उनले रेडियो नेपालमा स्वर परीक्षा पास गरेदेखि उनी संगीतसाधनामै होमिइन्। कहिल्यै प्रचार नचाहने जोशी यही क्षेत्रमा निपुण हुन आफूलाई निखार्दै गइन्।

उनले सन १९९७ मा एसएलसी पास गरेदेखि फाइन आर्टमा म्युजिक विषय लिएर अध्ययन गरिन्। शास्त्रीय संगीतमा भारतको अलाहाबादमा रहेको प्रज्ञा संगीत समितिबाट शास्त्रीय संगीत (भोकल)मा स्नातक गरेपछि उनले त्रिभुव युनिभर्सिटीबाट फाइन आर्टमै स्नातक र स्नातकोत्तर गरेको बताइन्। 

संगीत साधनासँगै संगीत अध्यापनमा सक्रिय भए पनि उनले खुलेर संगीत व्यवसाय भने गरिनन्। सन २००३ देखि ललित कला क्याम्पसमा ललित साँस्कृतिक कला समूहले गरेको प्रशिक्षण कार्यक्रममा एक महिना प्रशिक्षक भइन्। सन २००६ देखि २००८ सम्म तेजवतीले वेन्डी हाउस स्कुल बालुवाटारमा संगीत शिक्षकको रुपमा पढाइन्।

हाल म्यारी पोपिन्स स्कुलमा संगीत शिक्षकका रुपमा कार्यरत उनी यसअघि धेरै ठाउँमा शिक्षक र प्रशिक्षकको भूमिकामा रहेको बताउँछिन्। शास्त्रीय संगीतको जगेर्ना र विकासका लागि उनको अध्यक्षतामा शंखरापुरा जयनमाला भजन कला समूह सक्रिय रहेको छ। 

‘पछिल्लो समय सांगीतक लयलाई न्याय गर्दै चुम्बक सार्वजनिक गरेकी हुँ’, उनले भनिन्, ‘शास्त्रीय संगीतका लागि धेरै तयारी गरेकी छु, विस्तारै सार्वजनिक गर्छु।’

 Published Date: Wednesday, 11th September 18:25:53 PM