शुक्रबार, असोज ९, २०७७

बिष्णुप्रसाद पाण्डेयको ‘मूलुकी अपराध संहिता: एक टिप्पणी’ पुस्तक विमोचन

काठमाडौं, साउन २६ :  मुलुकी फौजदारी संहितालाई सरलिकृत गर्दै यसको अभ्यासको विश्लेषणसहितको ‘मूलुकी अपराध संहिता: एक टिप्पणी’ पुस्तक विमोचन भएको छ। बिष्णुप्रसाद पाण्डेयद्वारा लिखित उक्त पुस्तक सोमबार सर्वोच्च अदालतमा एक कार्यक्रमबीच विमोचन गरिएको हो।

कार्यक्रममा मुख्यरजिष्ट्रार नृपध्वज निरौलाले विश्वव्यापीकरणको कारणले एक राष्ट्रको गतिविधि तथा क्रियाकलापले अर्को राष्ट्रलाई असर पार्ने भएकाले राष्ट्रको कानुनमा समायानुकूल परिवर्तनको अपरिहार्यता रहेको बताए। पुस्तकले भर्खरै लागु भएको मुलुकी फौजदारी संहिताबारे थप बुझ्न उपयोगी रहेको छ।

विमोचित पुस्तकमाथि टिप्पणी गर्दै नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय फौजादारी संहिताको सैद्धान्तिक विषय, संहिताको व्यवस्था, संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतले गरेको व्याख्यासम्म उल्लेख भएकाले कानुन बुझ्न चाहानेका लगि उपयोगी हुने बताए। उनले पुस्तकले कानूनी भाषालाई सरलिकृत गरेकाले सर्वसाधारणलाई समेत कानुन बुझ्न सहज हुने बताए।

त्यस्तै अधिवक्ता डा. दीनमणि पोखरेलले मूलुकी फौजदारी संहिताको अवधारणा, व्यवस्था र व्याख्यासहितको यस पुस्तक कानुन व्यवसायीका लागि अत्यन्तै उपयोगी रहेको बताए। उनले फौजदारी कानुनमा अन्तर्राष्ट्रिय अभ्याससमेत समेटेकाले पुस्तकले फौजदारी कानुनको समग्र पक्षलाई बुझाउन सक्ने बताए।

सर्वोच्चका उपरजिष्ट्रारसमेत रहेका लेखक पाण्डेयले आफ्नो पुस्तकमा अन्तर्राष्ट्रियस्तरमा नेपाल पक्ष भएका विभिन्न महा/सन्धिहरुको कार्यान्वयनको दायित्व, अदालतबाट मुद्दाका आधारमा दिएको भविष्यपरक दृष्टिकोण, समाजको विकाससँगै देखा परेका नयाँ घटनालगायत माथि टिप्पणी गरेका छन्।

 Published Date: Monday, 10th August 2020 12:22:15 pm