मंगलबार, चैत्र १८, २०७६

काठमाडाैं, माघ १८ :  हार्मोनियमको धुनसँगै सुरु हुन्छ, ८४ वर्षीय जगतमर्दन थापाको दैनिकी । उनी हरेक बिहान आलाप (सा रे ग म प ध...) मा अभ्यस्त हुन्छन् ।

गायन र लेखनमा उनको खास रुचि छ । तर, जीवनका ३१ वर्ष उनले सरकारी सेवामा बिताए । २०२० सालदेखि उनले सञ्चय कोषमा जागिरसुरु गरेका हुन् । त्यसअघि नै २०१८ सालमा उनी भारतको कलकत्ता पुगेर केही गीत रेकर्ड गरेका थिए। 

जागिर खाइसकेपछि उनलाई फेरि गीत रेकर्ड गर्न मन भयो । जागिर भर्खर खाएका थिए, उनले हाकिमसँग बिदा मागे– गीत रेकर्ड गर्न कलकत्ता जान्छु, १० दिन बिदा चाहियो । त्यतिबेला हाकिमले दिएको जवाफ उनले अझैसम्म बिर्सन सकेका छैनन् । हाकिमले भने, ‘तपाईंले विवाह गर्न लागेको भए पाँच दिन बिदा दिन्छु, गीत रेकर्ड गर्न दश दिन बिदा?’ 

फेरि पनि उनी गीत रेकर्ड गर्न गएरै छाडे । त्यतिबेला उनले दुई गीत रेकर्ड गरे– ‘माया लुकाई लुक्दैन’ र ‘कोइलीले सम्झायो, बितेको त्यो दिन’ बोलका । ‘माया लुकाइ लुक्दैन’मा प्रेमदास प्रकाशको संगीत छ भने शब्द र स्वर जगतमर्दनकै । त्यस्तै, ‘कोइलीले सम्झायो’मा पनि शब्द र स्वर उनकै हो।

त्यतिबेला गीत रेकर्ड गर्न कलकत्ता जानका लागि उनले बुवाका साथीहरूबाट ४५ रुपैयाँ हौसलास्वरूप पाएका थिए । ठीक अघिल्लो दिन उनी बुवाको साथीसँग कुनै भोजमा गएका थिए । त्यहाँ उनले भोलि गीत रेकर्ड गर्न जान लागेको सुनाए । सबैले ५–१० रुपैयाँ उठाएर ४५ रुपैयाँ दिए । त्यो सिमरासम्म जाने प्लेन टिकटकै खर्च थियो । 

जगतमर्दन भन्छन्, ‘त्यतिबेला सिमरासम्म हवाई टिकटको ५० रुपैयाँ लाग्थ्यो।’

गएको बिहीबार बिहान ११ बजेतिर जगतमर्दन घरमै थिए । काठमाडौं प्रेसलाई आफ्नो जमानाको कथा सुनाउनका लागि हामीले उनीसँग समय लिएका थियौँ । वसन्तपञ्चमी परेकाले उनले भर्खरै सरस्वतीको पूजा सकेका रहेछन् । गितार, वीणा, हार्मोनियम र सरस्वतीको मूर्ति अबिरले रंगिएका थिए। 

हाम्रो क्यामेरा देखेपछि उनले ठट्यौली पारामा भने, ‘म कस्तो देखिएको छु ? मेरो कपाल, स्वेटर मिलेकै छ नि ! दीलिप कुमार (बलिउड कलाकार) जस्तो देखिएको छ नि!’ 

डोकोमा चढेर काठमाडौं

उनको जन्म सप्तरीको बरमझियामा भएको हो । उनका चारवटी आमा थिए । उनी भने साइँली भोजकुमारी थापाबाट जन्मिएका जेठो सन्तान हुन् । उनकी आमातर्फ दुई भाइ र दुई दिदी छन् ।

उनका पिता नरमर्दन थापा नेपाली सेनामा थिए । उनको चिनजान जुद्धशमशेर राणादेखि प्रजातन्त्रका विभिन्न नेताहरूसँग थियो । बुवा काठमाडौंमा कार्यरत रहँदा जगतमर्दन पढ्नका लागि काठमाडौं आएका हुन्, २००८ सालमा, जतिबेला उनी १६ वर्षका थिए। 

त्यतिबेला राजविराजबाट लहरी (ट्रक)मा भीमफेदीसम्म आउन सकिन्थ्यो । भीमफेदीबाट भने हिँड्नुपथ्र्यो । जगतमर्दन भन्छन्, ‘२००८ सालको वैशाखमाम भीमफेदीबाट डोकोमा चढेर काठमाडौं आएको हुँ । त्यतिबेला ठमेल र असनमा अलिअलि घरदेखिन्थे।’ 

काठमाडौं आएर उनी पद्मोदय–जुद्घोदय स्कुलमा ७ कक्षामा भर्ना भए । १४ वर्षको उमेरसम्म राजविराजमा स्कुल पढ्दा उनले चप्पल लगाउन सिकेका थिएनन् । काठमाडौं आएपछि मात्रै जुत्ता लगाउन सिके । उनी स्कुल जीवन सम्झन्छन्, ‘जुत्ता लगाउन नजानेर कतिपटक खुट्टामा घाउ भएको थियो।’

त्यतिबेला लाजिम्पाट र चक्रपथ पूरै खेतैखेतले भरिएको थियो । अहिले सांग्रिला होटल भएको ठाउँमा भैंसी पौडी खेल्ने गर्थे। उनी भन्छन्, ‘वर्षाका बेला सबैतिर रोपाइँ चल्थ्यो।’ 

उनले २०११ सालमा म्याट्रिक पास गरे । त्यतिबेलै त्रिभुवन राजपथ बन्न सुरु भयो ।  म्याट्रिक्सपछि उनी त्रि–चन्द्र कलेजमा विज्ञान विषयमा भर्ना हुन गए । तर, सीमित सिटका कारण भर्ना हुन पाएनन् । सीमित सिटकै कारण मानविकीमा भर्ना हुन पनि गाह्रो थियो । त्यतिबेलाका कलेज प्रमुख आशुतोष सेनलाई उनका बुवाले भनिदिएपछि उनी भर्ना हुन पाए।

डेकोटामा उड्दा

२००८ सालतिर राहदानीबिना महिलाहरूलाई भीमफेदीबाट उता जान दिइँदैनथ्यो । विशेषगरी वीरगञ्ज जाने बेला रोकिन्थ्यो । काठमाडौं बाहिरबाट पशुपति दर्शन गर्न आउने महिला–पुरुषले भीमफेदीमा राहादानी देखाएर मात्र काठमाडौं प्रवेश गर्न पाउँथे।

त्यो समय यातायातको सुविधा नभएकाले मानिसहरू एक ठाउँबाट अर्को ठाउँ जान निकै कठिन थियो । रौतहटस्थित आफ्नी दिदीको घरमा जान उनी २०११ सालमा पहिलोपटक डेकोटा (प्लेनको नाम) चढेका हुन् । त्यसरी जहाजमा उड्न पाउँदा उनलाई निकै रमाइलो लागेको थियो ।

उनी हाँस्दै भन्छन्, ‘मलाई त अहिले त्यो डेकोटा पानी बोक्ने ट्यांकर जस्तै लाग्छ, दुवैतिर लहरबद्ध भई बस्दा २०–२५ जना अटिन्थ्यो । बीचमा ड्रम, झोलाहरू राखिएको हुन्थ्यो । आमने–सामने बस्ने मानिसको अनुहार मात्र देखिन्थ्यो।’

डेकोटा चढेर दिल्ली पुगेका त्रिभुवन फर्केर आएपछि २००७ को प्रजातन्त्र घोषणा गरेको उनलाई राम्रोसँग सम्झना छ । त्यतिबेला काठमाडौंमा प्रजातन्त्रका लागि लडेका नेताको खुब चर्चा हुन्थ्यो । तर, नेतालाई देख्न पाइँदैनथ्यो । त्यसैले उनलाई नेता कस्ता होलान् भन्ने खुल्दुली थियो। 

        उहिलेको काठमाडौं १: ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

        उहिलेको काठमाडौं २: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

प्रजातन्त्र आइसकेपछि उनले नेताहरूलाई देख्न पाए । उनी भन्छन्, ‘एकपटक बुवाले नेताहरूसँग भेटघाट गर्नुभएको थियो । त्यतिबेला म पनि गएको थिएँ । त्यहाँ गजेन्द्रनारायण सिंह पनिआउनु भएको थियो । नेताहरू हामीजस्तै भएको देखेर मलाई आश्चर्य लागेको थियो । मैले नेताहरू अर्कै हुन्छन् होला भन्ने ठानेको थिएँ।’

‘नारायणगोपालले मेरो संगीतमा गाए’

२०१९ सालमा राष्ट्रिय सभागृहमा गीति नाटक ‘अस्तित्वको चेतना’ मञ्चन गरिएको थियो । जसका निर्देशक भैरवबहादुर थापा थिए । त्यसमा जगतमर्दनको संगीत रहेका चार गीत परेका थिए । 

भैरवबहादुरले दिएका चार गीतलाई उनले संगीत भरेका थिए । ती गीत नारायणगोपालको स्वरमा प्रस्तुत गरिएको थियो । जगतमर्दन भन्छन्, ‘ती चार गीत नारायणगोपालले गाएको त रेकर्डमा छैन, तर भैरवबहादुर थापाले आफ्नो जीवनीमा उल्लेख गरेका छन्।’

त्यतिबेला उनलाई आफ्नो संगीतको गीत कसले गाउँछ भन्ने थाहा थिएन । यसमा उनलाई खुल्दुली थियो । रिहर्सल गर्दा नारायणगोपालले गाएका थिए, तर उनैले गाउने यकिन थिएन । पछि नारायणगोपालले नै गाए । उनी भन्छन्, ‘मेरो गीत नारायण गोपालले गाएको देखेपछि मलाई निकै ठूलो सरप्राइज भयो । धेरै खुसी लागेको थियो।’ 

मदनकृष्णको हाकिम हुँदा

कर्मचारी सञ्चय कोषमा जगतमर्दन हाकिम हुँदा अहिलेका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ एकाउन्ट सहायक पदमा कार्यरत थिए ।

मदनकृष्णले त्यहाँ ०२३ देखि ०२६ सम्म जागिर गरे । त्यतिबेला उनको यशोदासँग प्रेम र प्रेम विवाह भएको थियो । मदनकृष्णले कतै भनेका छन्, ‘सञ्चय कोषमा यशोदा र मैले काम गर्ने कक्ष एउटै थियो । चिया–खाजा सँगै खान्थ्यौ“ । मैले खुब हँसिमजाक गर्थें।’ 

त्यतिबेला मदनकृष्ण कलाकार भइसकेका थिएनन्। उनीमा ठट्टा गर्ने स्वभाव रहेको जगतमर्दन सम्झन्छन् । उनी भन्छन्, ‘टिफिन टाइममा क्यान्टिनमा गयो कि मदनकृष्णको जोक्स र क्यारिकेचर सुरु हुन्थ्यो । अहिले कहिलेकाहीँ हामी भेटहुँदा त्यही सञ्चय कोषको जागिरे किस्सा सम्झेर हाँस्छौँ।’

भिडियो रिपोर्ट

सञ्चय कोषको जागिर पनि त्यतिबेला गज्जबको रहेछ, वर्षमा दुई दिन मात्रै बिदा हुने । जगतमर्दन भन्छन्, ‘हामी सञ्चय कोषमा वर्षमा तीन सय ६३ दिन काम गथ्र्यौं । अरु सरकारी कर्मचारी बिदामा घर बस्थे, हामी भने लुरुलुरु अफिस जानुपथ्र्यो ।’

त्यो बेला सबै हिसाब–किताब नेपाली कागजमा लेखेर राख्नुपथ्र्यो । त्यतिबेला जगतमर्दनको तलब थियो– मासिक १ सय २० रुपैयाँ।

संगीत र साहित्य यात्रा 

सरकारी जागिरे भएर अवकाश प्राप्त गरेका जगतमर्दन संगीत र साहित्यबाट टाढा हुन सकेनन् । उनको पतझर र पलाँसको फूल– ०२१ (कथा संग्रह) दिलको आवाज–०२१ (गीतिसंग्रह) प्रकाशित छन्। 

पछि ६४ वर्षकोे उमेरमा आएर उनले प्रभुराज ढकालसँग संगीत सिके । झन्डै नाै वर्ष संगीत सिकेपछि उनलाई ८२ वर्षको उमेरमा गीत गाउने रहर भयो । पहिले बम्बईमा गीत रेकर्ड गराउन जाँदा उनले उषा मंगेशकरले गाएको प्रत्यक्ष देखेका थिए । उनलाई उषासँग गाउन मन थियो । ०७४ मा आएर उनले उषासँग गाए– म पतझर तिमी मधुमास बोलको गीत । जसमा सहदेव ढुंगानाको शब्द, शिखर सन्तोषको संगीत रहेको छ। 

जगतमर्दनको विवाह शान्ति थापासँग भएको थियो । उनका तीन छोरी र एकछोरा छन् । पत्नीको निधनपछि जगतमर्दन संगीतमै रमाइरहेका छन् । उनी भन्छन्, ‘मलाई यसमा छोरीहरू र छोराबुहारीको प्रेरणा र सहयोग छ।’

(‘उहिलेको नेपाल’ स्तम्भ मार्फत हामीले ८० बर्ष उमेरको हाराहारी पुगेका हजुरबा र हजुरआमाबाट नेपाली समाजको कथाहरु खोतल्ने प्रयाश गरेका छौ । तपाईहरुसँग पनि आफ्नो जीवनका कथाहरु भन्न सक्ने  हजुरबा अथवा हजुरआमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामीले प्रत्येक हप्ता ‘उहिलेको नेपाल’ स्तम्भ प्रकाशित गर्नेछौ।  आज उहिलेकाे  काठमाडौं –सम्पादक)

Published Date: Wednesday, 5th February 19:09:00 PM