सोमबार, चैत्र २४, २०७६

काठमाडाैं, फागुन १० : गत आइतबार बिहान काठमाडौं महाराजगन्जस्थित घरमा तीर्थलाल श्रेष्ठ विभिन्न कागजात मिलाउँदै थिए। ती कति कागजातमा उनका पुराना सम्झना पनि छन्। 

‘उहिलेको नेपाल सम्झनुपर्छ, तपाईंले भोगेको समय हामीलाई पनि थाहा हुनुपर्छ,’ हाम्रो कुराकानीको विषय पहिले नै तय गरिएको थियो।  कुराकानी अगाडि बढ्दै थियो, ८२ वटा हिउँद पार गर्दाका विभिन्न गल्छी–गोरेटाहरू सम्झँदै थिए उनी। उनी भन्दै थिए, ‘म त्रिपुरेश्वरको जेलमा हुँदा बीपी (कोइराला)ले मलाई सुन्दरीजलबाट चिठी पठाउनुभएको थियो।’

बीपीले आफूलाई चिठी लेखेको प्रसंग आएपछि उनी जुरुक्क उठेर भित्र कतै गए। केहीबेरमा उनी बडो जतनले राखिएको एउटा पुरानो कागजको टुक्रोलाई लिएर आए। त्यसलाई प्रेमपूर्वक देखाउँदै उनले भने, ‘यो बीपी (कोइराला)ले मलाई लेखेको चिठी हो।’ 

०००

२०१७ पुस १ गते बीपी कोइरालाले थापाथलीस्थित तरुण दलको अधिवेशनमा सम्बोधन गर्दै थिए, उनी पक्राउ परे। त्यसपछि दलहरूमाथि प्रतिबन्ध लगाइयो, नेपाली राजनीतिले अर्कै मोड लिँदै गयो। यही सेरोफेरोमा तीर्थलाल पनि राजनीतिमा आए। उनी विशेषतः गणेमान सिंहको भाषणबाट प्रभावित थिए। ‘खासमा मलाई राजनीतिमा ल्याउने गणेशमानजीनै हुनुहुन्थ्यो’ उनी विगत सम्झदै भन्छन्। 

२०१८ सालमा न्युरोडको डाँफे रेस्टुरेन्टमा बसेर टंकलाल श्रेष्ठ र पीएल सिहसँग गोप्य छलफल गरिरहेका बेला तीर्थलाल पनि समातिए। त्यतिबेला उनलाई हनुमानढोकास्थित सानो छानो भएको घरमा राखिएको थियो। उतिवेला हिरासतमा कडा सजाय भोग्नुपथ्र्यो। उनलाकाे हातसम्म सिक्रीले बाँधिएको थियो। उनी त्यो समय सम्झन्छन्, ‘कहिलेकाहीँ मेरा साथी कपिल चित्रकार, टंकलाल र मलाई यसरी पिटिन्थ्यो कि हामी रातभर निदाउन सक्दैनथ्यौँ।’ 

महिना दिन त्यहाँ राखेर उनलाई त्रिपुरेश्वरस्थित सेन्ट्रल जेलमा लगियो। त्यहाँ भने उनीमाथि कुनै कुटपिट भएन। त्यतिबेला बीपी कोइराला सुन्दरीजलको जेलमा थिए। त्यहाँबाट बीपीले उनलाई चिठी लेखेर पठाउँथे। तीर्थलाल ती दिन सम्झन्छन्, ‘२०१८ देखि बीपीले मलाई चिठी लेख्न थाल्नुभयो, चिठीमा उहाँले शासकहरूबाट जोगिनू, सचेत हुनु भन्नुहुन्थ्यो। उहाँले पठाएका चिठी रोशा कोइरालाले मेरो हातमा दिनुहुन्थ्यो।’ 

कतिपय पुराना कागजात तीर्थलालले सुरक्षित राखेका थिए। तर, आगलागीले धेरैजसो कागतपत्र जले। उक्त आगलागीबाट बचेको बीपीको चिठीलाई भने उनले जतन गरी राखेका रहेछन्। 

बीपीले २०१९ कात्तिक २९ गते लेखेको उक्त चिठी देखाउँदै उनी भन्छन्, ‘योचाहिँ कसरी छलिएर बचेको रहेको छ, थाहा भएन। उतिबेला पक्राउ परिने डरले पनि चिठीहरू पढ्नेबित्तिकै च्यातेर फालिन्थ्यो।’  तत्कालीन शासकहरूसँग बचेर बस्नु भन्ने नै बीपीको सुझाव थियो। बीपी र साथी वैकुण्ठमान श्रेष्ठको सुझावमा तीर्थलाल भारतमा फिल्म पढ्न गएका थिए। 

काठमाडौंदेखि चैनपुरसम्म

१९९४ सालमा जन्मिएका तीर्थलाल बाल्यकालमा डन्डीबियो खेलेर हिँड्थे। उतिबेला काठमाडौंमा घरहरू निकै पातला थिए। न्युरोड, असन जताततै खुला ठाउँ भएकाले खेल्ने ठाउँको कमी थिएन। 

उनका बुवा (गोविन्दलाल श्रेष्ठ) टोपी व्यापारी थिए। गोविन्दलाललाई केटाकेटीसँग खेलेर छोरो कि बरालिन्छ भन्ने डर भयो। उनले छोरालाई चैनपुर (संखुवासभा)  पठाउने सोचे। जहाँ उनका व्यापारी साथी कृष्णमान श्रेष्ठ थिए, जो भारतको खनिज कम्पनीसँग ठेक्काको काम गर्थे।

गोविन्दलालले २००३ सालमा छोरालाई चैनपुरका लागि पठाए, जतिबेला तीर्थलाल १० वर्षका थिए। त्यतिबेला मानिसले बोकेर ल्याएका गाडी काठमाडौं उपत्यका वरपरमा मात्रै चल्थ्यो। हुलाकको चिठी बोक्ने डाँक गाडी चढेर उनी थानकोट पुगे। त्योभन्दा पर बाटो बनेको थिएन। त्यसपछि उनी चन्द्रागिरि हुँदै सकेजति हिँडे, नसकेपछि डोको चढेर कुलेखानी पुगेर बास बसे।

उतिबेला मान्छेलाई डोकोमा बोक्ने भरिया पाइन्थ्यो। कुलेखानीमा झम्कलाल श्रेष्ठको रेस्टुरेन्ट थियो। त्यहाँ ठूलो कोठाका भुइँ पानीले पखालेर राखिएको हुन्थ्यो। तीर्थलाल त्यो रेस्टुरेन्टमा खाना खाएको साँझ सम्झन्छन्, ‘त्यहाँ छुट्टाछुट्टै एक–अर्कालाई नछुनेगरी पिर्का बिछ्याइएको थियो। अनि सेतो धोती र जनै लगाएका बाहुनले मलाई भात पस्केर दिए। चट्ट पारी पकाइएको तरकारी एक छेउमा,अर्को छेउमै घिउर दहीदिएका थिए।’ 

भोलिपल्ट बिहान ४ बजे भरियाले उनलाई बोलाउन आए। त्यसपछि उनलाई बोकेर भरियाभीमफेदीको उकालो लागे। उतिबेला मान्छे, सामान लगायत बोक्न थुप्रै भरियाहरू हुन्थे। भीमफेदी पुगेर भनेउनी लहरी (ट्रक) चढेर अम्लेखगन्जसम्म पुगे। त्यहाँबाट रेल चढेर रक्सोल पुगे।‘त्यो रेल निकै ढिलो थियो,’ तीर्थलाल भन्छन्,‘रेल गुडिरहेकै बेला यात्रु ओर्लेर भुइँमा भएको केही सामान टिपेर चढे पनि भ्याइन्थ्यो।’ 

यसरी उनी जोगबनी, विराटनगर, धरान हुँदै धनकुटा पुगे। धनकुटा पुगेर उनले आफ्नो बुवाका साथीहरू (भीमबहादुर श्रेष्ठ र गजेन्द्र श्रेष्ठ) लाई भेटे, जहाँ उनीहरू ठूलो किराना पसल चलाएर बसेका थिए। बुवाका साथीहरूलाई तीर्थलाललाई त्यहीँ बस्न भने। बुवाका साथीले उनलाई स्थानीय विद्यालयमा भर्ना गरिदिएका थिए। त्यही बसेर बढ्दा पनि हुन्थ्यो।

तर, उनलाई त्यहाँ बस्न रमाइलो लागेन। त्यहाँ बस्न मन नलाग्नुको कारण पनि रोचक रहेछ। त्यहाँ खुला ठाउँमा दिसाब गर्ने चलन थियो। दिशा–पिसाब गर्दा उनलाई सुँगुरहरूले घेर्थे। त्यसैले उनलाई त्यहाँ बस्न मन लागेन र डेढ महिना नहुँदै उनी चैनपुरतिर लागे। धनकुटादेखि कहिले घोडा, कहिले पैदल गरी उनी दुई दिनमा संखुवासभाको चैनपुर पुगे।

चैनपुर भने उनलाई निकै मन पर्‍यो, विशेषतः त्यहाँको हावापानीले उनलाई लोभ्याएको थियो। उनी भन्छन्, ‘त्यहाँ पुग्दा मलाई अर्कै रमाइलो ठाउँमा पुगेजस्तो भएको थियो।’ त्यहाँ उनी सरस्वती माध्यमिक विद्यालयमा भर्ना भए। स्कुलबाट उनी शैक्षिक भ्रमण पनि गएका थिए। उनी भन्छन्, ‘मलाई अझै सम्झना छ, त्यतिबेला हामीले बोकेको भ्रमणको ब्यानरमा वि.सं.२००४ लेखिएको थियो।’

चैनपुरको पुरानो नाम ‘चन्द्रपुर’ हो। यो धार्मिक, ऐतिहासिक नाम अपभ्रंश हुँदै पछि चैनपुर बन्यो। तीर्थलाललाई चैनपुर औधि मन परेको थियो। त्यतिबेला त्यहाँ बनेका लामा घर, वरपरका पहाड उनको स्मृतिमा अझै पनि ताजै छन्। चैनपुरमा पनि उनी धेरै बसेनन्।डेढ वर्षमै काठमाडौं आए। उनका बुवाको सोच थियो, छोराछोरीलाई अंग्रेजी शिक्षा पढाउनुहुँदैन।

त्यसैले उनी फेरि भारतको पश्चिम बंगालमा संस्कृत पढ्न गए। उनका ६ दाजुभाइमध्ये उनी गुरुकुल महाविद्यालय वैद्यनाथधाममा भर्ना भए। त्यहाँ उनले दुई वर्ष ब्रह्मचारी पालन गरेर पढेका थिए। उनी भन्छन्, ‘बिहान ४ बजे उठेर नुहाउनुपर्थ्यो, त्यसपछि जनै लगाएर वेद पाठ गर्नुपर्थ्यो। दिनमा चार पटक वेद पाठ गर्नुपर्थ्यो।’

यहाँ नियममा बसेर संस्कृत पढ्न उनलाई मन लागेन। त्यसपछि उनी काठमाडौं आए। काठमाडौं आएर उनी जुद्धोदय मावि (जेपी स्कुल) मा कक्षा ५ मा भर्ना भए। ठमेलमा रहेको यस स्कुलपछाडि झाडी थियो। स्कुलबाट घर फर्कंदा बेलुका भएपछि ठमेल र क्षेत्रपाटीतिर स्याल कराउने गथ्र्यो। उनलाई कहिले असनतिर पुगिएला भन्ने लाग्थ्यो।

उनको विद्यार्थी जीवनमा काठमाडौंमा ३० पैसामा पेट भरिने गरी खाजा पाइन्थ्यो। उनले स्कुल नजिकैको पसलबाट जुलेबी,हलुवा, सेलरोटी, ग्वालमरी आदि किनेर खान्थे। 
उनको कक्षामा ४० जना विद्यार्थी थिए। उनको कक्षामा छात्रा एकजना पनि थिएनन्। 

जेपी स्कुलबाट उनले २०१४ मा एसएलसी पास गरे। सोही वर्ष त्रि–चन्द्र कलेजमा आइएससी पढ्न जाँदा भने उनले फाट्टफुट्ट केटीहरू पढ्न आएका देखेका थिए।

फिल्म सम्पादकको जागिर

आइएस्सी पढ्दापढ्दै छाडेर उनले त्रिचन्द्र क्यापसबाट बीए पास गरे। त्यसपछि उनी भारतको पुनामा फिल्म पढ्न गए। फिल्म इन्सिच्युट अफ इन्डियामा २ वर्ष पढेर उनी २०२६ सालमा काठमाडौं फर्के। 

त्यति वेला फिल्मी क्षेत्रमा काम गर्ने मानिस निकै कम थिए। उनले २०२६ सालमा सूचना विभागमा नेपालको पहिलो फिल्म सम्पादकको जागिर पाए। सेक्सन अफिसर दर्जाका उनको तलब त्यतिबेला ४७५ रुपैयाँ थियो। 

दीपेन्द्रको अन्नप्राशनमा भिडियो खिच्दा

राजदरबारभित्र दीपेन्द्र शाहको अन्नप्राशन थियो, ०२८ सालमा। त्यहाँ तीर्थलाल रेकर्डिस्ट भएर गएका थिए। त्यतिबेला क्यामेर खिच्ने र रेकर्ड गर्ने छुट्टाछुट्टै हुन्थे।

क्यामेराम्यान थिए, बैकुण्ठमान मास्के। उनीहरू पुग्दा चाँदीको भाँडामा राखिएको खीर लतपतिएको थियो। अर्थात् दीपेन्द्रको अन्नप्राशन भइसकेको थियो। 
अब उनलाई आपत पर्‍यो, भिडियो कसरी बनाउने ? आँट गरेर उनी युवराज वीरेन्द्र शाह (राजा भइसकेका थिएनन्) को नजिक गएर भने,‘सरकार ! हजुरले अघि नै खुवाइबक्सेछ। अब के गर्ने?’

उनले यति भन्दानभन्दै उनलाई एडीसीहरू (राजकुमारका अंगरक्षक)ले तानेर पछिल्तितिर लगे। यद्यपि वीरेन्द्रले उनलाई बोलाएर भने, ‘अब मैले के गर्नुपर्‍यो ?’ 
उनले भने, ‘हजुरले फेरि भात खुवाए जस्तो गर्नुपर्‍यो।’ 

उतिबेला साधारण मानिसहरू राजा, युवराज, राजकुमारको नजिक पर्न पनि डराउँथे, तर तीर्थलालले बोल्ने हिम्मत गरेका थिए। वीरेन्द्रको मिलनसार स्वभावबाट हौसिएका उनले फेरि गोलो आकारको भाँडामा राखिएको खीरलाई जस्ताको तस्तै गरी मिलाएर राखे। उनी भन्छन्, ‘तत्कालीन युवराज वीरेन्द्र,उनकी पत्नी ऐश्वर्या,भाइ ज्ञानेन्द्र शाहलाई लहरै उभिन भनेँ, यसरी दीपेन्द्र शाहको भात खुवाइको अडियो र भिडियो रेकर्ड गर्‍यौँ।’

त्यही वर्ष उनी राजकीय भ्रमणको भिडियो र दीपेन्द्रको अन्नप्राशनको भिडियो सम्पादन गर्न बम्बई गए। बम्बईको चर्चगेट नजिकैको होटलमा डेढ महिना बसेर उनले समाचारमूलक डकुमेन्ट्री र अन्नप्राशनको भिडियो सम्पादन गरेर ल्याए। 

मनको बाँध र कुमारी फिल्म 

शाही नेपाल चलचित्र संस्थान– २०२९ स्थापनापछि संस्थानको लगानी र प्रकाश थापाको निर्देशनमा नेपाली चलचित्र बन्यो– ‘मनको बाँध’।

२०३० सालमा बनेको यस फिल्ममा पनि क्यामेरा म्यान थिए, वैकुण्ठमान मास्के। उक्त फिल्म सम्पादन गर्न पनि तीर्थलाल बम्बई पुगेका थिए।२०३३ सालमा प्रदर्शन भएको ‘कुमारी’ फिल्म पनि उनले बम्बई लगेर सम्पादन गरेका थिए। 

उनी भन्छन्, ‘त्योबेला नेपालमा टेक्निकल, ल्याब थिएन। फिल्मको धेरै काम सम्पन्न गर्न बम्बई पुग्नुपर्थ्यो। पछि कुमारी फिल्म सम्पादन भएर नेपालमा देखाउन पाउँदा निकै गौरव महसुस हुन्थ्यो।’

नेपाल टेलिभिजनका दिनहरू

तीन–चारजना मिलेर २०४१ सालमा नेपाल टेलिभिजन स्थापना गरेका थिए। सुकुलमा बसेर कलाकार नीर शाहको नेतृत्वमा नेपाल टेलिभिजन सुरु भएको थियो।

काम केही अप्ठेरो परेको छ कि भनी राजा वीरेन्द्र आफैं प्राविधिक कक्ष निरीक्षण गर्न पुग्थे। तीर्थलाल भन्छन्, ‘काममा केही समस्या छ भनी वीरेन्द्रले सोध्थे। कहिलेकाहीँ धीरेन्द्र पनि काममा केही अप्ठेरो परेको छ कि भनी सोध्न आउँथे।’

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेको काठमाडौं १: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

उहिलेको काठमाडौं २: ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

उहिलेकाे नेपाल - ३ : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

उहिलेकाे नेपाल - ४ :‘एसएलसी दिन १३ दिन हिँडेर काठमाडौं आएँ’

Published Date: Sunday, 23rd February 14:12:53 PM