बिहीबार, असोज ३०, २०७६

अव्यवस्थित सहरीकरणका कारण काठमाडौंका कतिपय प्राचीन बस्तीकाे नाम जुराउने संरचनाहरू लोप भइसकेका छन्, वा हुने क्रममा छन्।

काठमाडौं – काठमाडौंको नाम काठमाडौं कसरी भयो? तपाईंलाई थाहै होला – एउटै रुखको काठबाट बनेको भनिने काष्ठमण्डपबाट यो सहरको नाम काठमाडौं रहन गएको हो।

जसरी एउटा पुरातात्विक संरचनाको नामबाट काठमाडौं सहरको नामाकरण भयो, त्यसरी नै यो सहरका विभिन्न बस्तीहरूको नामपछाडि पनि कुनै न कुनै ऐतिहासिक संरचना वा कारण जोडिएको छ। तर, २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सुरू गर्न नै तीन वर्ष लगाउने हामीले अरु कुन प्राचीन बस्तीको नाउँ कसरी रह्यो भन्नेतर्फ  ध्यान दिएकै छैनौँ।

काठमाडौंमा यस्तो अव्यवस्थित सहरीकरण भएको छ कि कतिपय प्राचीन बस्तीकाे नाम जुराउने संरचनाहरू लोप भइसकेका छन्, वा हुने क्रममा छन्।

भोत अर्थात् बनेपाका व्यापारीले हिती अर्थात् धारा बनाएकोले यो ठाउँको नाम भोताहिती रहन गयो। भोताहिती अपभ्रंश हुँदै भोटाहिटी बन्यो। तस्वीरः शोभा मानन्धर

भोटाहिटी अर्थात् बनेपाली व्यापारीको धारा

भोटाहिटी त पुग्नुभएकै होला। नपुगे पनि यसको नाम त सुन्नुभएकै होला। 

भोटाहिटीको खास नाम भोताहिती हो। असनबाट रत्नपार्क जाने बाटोमा पर्ने यो पुरानो नेवारी बस्तीको नामपछाडि एउटा रोचक कथा छ। 

नेवारी भाषामा भोतको अर्थ हुन्छ–बनेपा। हिती भनेको धारा हो।

सहरी विकास योजनाकार पी एस जोशीका अनुसार, बर्षौंपहिले बनेपा निवासी एक व्यापारीकी छोरी बिहे गरी काठमाडौंको असन क्षेत्र पुगिन्। त्यसबेला त्यहाँ खानेपानीको हाहाकार थियो। छोरीलाई पानीको दुःख नहोस् भनी ती व्यापारीले एउटा ढुङ्गेधारा बनाए।

भोत अर्थात् बनेपाका व्यापारीले हिती अर्थात् धारा बनाएकोले यो ठाउँको नाम भोताहिती रहन गयो। भोताहिती अपभ्रंश हुँदै भोटाहिटी बन्यो।

स्थानीय बूढापाकाका अनुसार, अहिले साझा भवन रहेको स्थानमा त्याे ढुङ्गेधारा थियो। अहिले त्यो ढुङ्गेधाराको कुनै अवेशष बाँकी छैन। ढुङ्गेधारा नरहे पनि यो ठाउँको नाउँ भने अहिले पनि भोटाहिटी नै छ। 

जसरी भोटाहिटी नाम जुराउने धारा अहिल देख्न पाइँदैन, थहिटीमा पनि धाराको कुनै अवशेष छैन। तस्वीरः शोभा मानन्धर

थहिटी अर्थात् उपल्लो काठमाडौंको ढुङ्गेधारा

भोटाहिटीको कथा पढेर अनुमान लगाइसक्नु भयो होला – थहिटीको नाम पनि ढुङ्गेधाराबाटै आएको हो। थको अर्थ माथिल्लो र हितीको अर्थ धारा हुन्छ। अर्थात्, थ हिती वा थहिटीको अर्थ माथिल्लो टोलको धारा भन्ने हुन्छ। 

जसरी भोटाहिटी नाम जुराउने धारा अहिल देख्न पाइँदैन, थहिटीमा पनि धाराको कुनै अवशेष छैन। यहाँको हिती जमिनमुनि पुरिएको बर्षौं भयो।

त्यो हिती रहेको ठाउँमा अहिले एउटा चैत्य छ। प्राध्यापक काशीनाथ तमोटका अनुसार, त्यतिबेला काठमाडौंलाई तीन भागमा वर्गीकरण गरिएको थियो। माथिल्लो क्षेत्रलाई थहिती, बीचको क्षेत्रलाई मरु हिती (हनुमानढोका) र तल्लो क्षेत्रलाई कोहिती (जैसीदेवल) भनिथ्यो।

मरुहिती र कोहितीका धुङ्गे धाराबाट अझै पानी आउँछ। थहितीको अस्तित्व भने  मेटिइसकेको छ। 

झण्डै सय वर्ष अघिसम्म थहिटीको ढुङ्गेधारा ठमेल, ज्याथा, त्यौड र क्षेत्रपाटीका बासिन्दाको खानेपानीको स्रोत थियो। बिस्तारै धाराबाट पानी आउन छोड्यो। त्यसपछि धारा भएको ठाउँमा चैत्य बनाइएको त्यहाँ राखिएको अभिलेखमा उल्लेख छ। 

स्थानीयबासीले मुख धुन बनाएको पोखरी खेचा पुखुबाट खिचापोखरी नाम रहन गएको हो। तस्वीरः रिवाज राई

खिचापोखरी अर्थात् हातमुख धुने पोखरी

पाको नजिकैको खिचापोखरीको नाम पनि पोखरीबाटै आएको हो। खिचापोखरी पहिले खेचा पुखुको नामले चिनिन्थ्यो। नेवारी भाषामा मुख धुनुलाई खेचा यायेगु भनिन्छ। र, पुखु भनेको पोखरी भइहाल्यो।

स्थानीयबासीले मुख धुन बनाएको पोखरी खेचा पुखुबाट खिचापोखरी नाम रहन गएको हो। पहिले पोखरी रहेको ठाउँमा अहिले डण्डीको बारले घेरेर बगैंचा बनाइएको छ। खिचा पोखरी कहिले बन्यो र कहिलेसम्म अस्तित्वमा रह्यो भन्ने नयाँ पुस्तालाई थाहै छैन।

पाको अर्थात् पोखरीको डिल

काठमाडौंको नयाँसडकसँगै जोडिएको पाको टोल अहिले एउटा व्यस्त बजार क्षेत्र बनेको छ। पाकोको खास नाम पुखुद्यां हो। पुखुद्यां अपभ्रंश भई पाको बनेको विश्वास गरिन्छ।

स्थानीय बूढापाकाका अनुसार, यहाँ एउटा ठूलो पोखरी थियो, जसको वरिपरि माटोको अग्लो डिल थियो। पोखरीको डिललाई नेवारी भाषामा पुखुद्यां भनिन्छ। पाकोको पोखरी रणमुक्तेश्वरदेखि हाल नेपाल बैंक लिमिटेड रहेको ठाउँसम्म फैलिएको थियो। पछि पोखरी मासेर राणाहरूले घोडाको तबेला बनाए। वि. सं. १९९४ सालमा तबेला पनि भत्काइयो र त्यहाँ नेपाल बैकको भवन बनाइएको जानकारहरू बताउँछन्। 

अहिले बसपार्क रहेको व्यस्त बजार क्षेत्र गोंगबु कुनै बेला धान रोप्ने फराकिलो फाँट थियो। तस्वीरः रिवाज राई

गोंगबु अर्थात् भाले कराउने खेत

अहिले बसपार्क रहेको व्यस्त बजार क्षेत्र गोंगबु कुनै बेला धान रोप्ने फराकिलो फाँट थियो। त्यहाँको मलिलो माटो इँटा बनाउन पनि प्रयोग हुन्थ्यो।

गाेंगबुमा जन्मेहुर्केका ६५ वर्षीय बुद्धराम महर्जनका अनुसार, चन्द्र समशेरले गोंगबुमा इँटाभट्टा चलाएका थिए। त्यो भट्टाबाट उत्पादित इँट्टालाई काठमाडौंका विभिन्न ठाउँमा ढुवानी गर्न एउटा सानो रेल पनि बनाइएको थियो।

महर्जनका अनुसार, उनका बुवा–काकाहरू खेतबाट कालो माटो (झिक्न) निकाली इँटा भट्टालाई बेच्न विहान सबेरै त्यहाँ पुग्थे।

त्यतिबेला कालोमाटो खेतमा मलको रुपमा प्रयोग हुन्थ्यो । त्यस बेला छेउछाउका घरमा भाले कराएको सुनिन्थ्यो। यसैले, उनीहरूले यो ठाउँको नाम गोंगबु राखे। नेवारी भाषामा गाेंंगको अर्थ भाले र बुँको अर्थ खेत हो।

तीनधारा अर्थात् तीन वटा धारा

काठमाडौंको त्रिचन्द्र कलेजअगाडिको क्षेत्र हो, तीनधारा। नामैले अनुमान गर्न सकिन्छ – यहाँ कुनै बेला तीन वटा धारा थिए।

विक्रम सम्वत् १८१२ जेठ महिनामा तीन वटा ढुङ्गेधारा बनाइएको त्यहाँ राखिएको शिलालेखमा उल्लेख छ। अहिले पनि तीनधारा संस्कृति पाठशालाभित्र पुगियो भने तीनधारा देख्न सकिन्छ, तर त्यहाँ पानी आउँदैन। 

नेवारी भाषामा खुसी भनेको खोला र बुँको अर्थ खेत हो। तस्वीरः शोभा मानन्धर

खुशीबुँ अर्थात् खोलासँगैको जग्गा

काठमाडौंको बालाजुदेखि शोभा भगवतीसम्मको लाइनलाई खुशीबुँ भनिन्छ। नेवारी भाषामा खुसी भनेको खोला र बुँको अर्थ खेत हो।

कुनै बेला यहाँ प्रशस्त धान फल्थ्यो। त्यहाँ रहेको खुसी अर्थात विष्णुमती नदीमा बर्खाको समयमा बाढी आउँदा पूरै खेत नै डुबाउँथ्यो। किनकि, त्यतिबेला खेतभन्दा खोलाको उचाई अग्लो थियो। बेलाबेला बर्खे भेलले निकै दुःख दिन्थ्यो। यति हुँदाहुँदै पनि त्यहाँ किसानले खेतीगर्न छाडेनन्। किनकि, त्यहाँको जमिन उर्वर थियो।

समयसँगै खुशीबुँमा बाटो बन्यो। घरायसी आवश्यकता पूरा गर्न स्थानियबासीले बाटो नजिकैको उर्वर जमिन धमाधम बेच्न थाले। पछि भित्री जग्गाहरू मात्र बाँकी रह्यो। त्यो भित्री जग्गा पनि पनि नगर विकास र डल्लु आवासले कित्ता काटेर बेच्न थाले। सहरी विकासको नाउँमा यसरी खुशीबुँको उर्वर जग्गामा सिमेन्ट र बालुवाका घर ठडिन थाले।

अहिले खुसीबुँमा खुसी अर्थात नदी त छ, तर निकै सानो आकारमा। यो खुम्चिएको खोलासँग अहिले खेत डुबाउने ल्याकत छैन। र, खेतमा पनि धानका सट्टा घरैघर उम्रिसकेका छन्। 

पानीपोखरीको नाम त्यसै पानीपोखरी रहेको होइन। को पोखरी नै यहाँ कुनै बेला पानीथियो। तस्वीरः रिवाज राई

पानी पोखरी रहेको पानी पोखरी

काठमाडौं महानगर पालिका वडा नं. ३ स्थित पानीपोखरीको नाम त्यसै पानीपोखरी रहेको होइन। यहाँ कुनै बेला पानीपोखरी नै थियो। सहरी विकास योजनाकार पीएस जोशीका अनुसार, हाल खानेपानी विभाग रहेको ठाउँबाट बाटोसमेत छुने गरी पोखरी थियो।

राणा कालमा हालको निर्वाचन आयोगअगाडिको फोहोरा दरबार बनाउँदा पानीपोखरीकै पानी पाइपबाट लगिएको थियो। किनकि, फाउन्टेनको लागि प्रेसरसहितको पानी चाहिन्थ्यो र अलि अग्लो स्थानमा भएको पानी पोखरीको पानी तीव्र गतिले फोहोरा दरबार आइपुग्थ्यो।

यसरी पोखरीको पानी फोहोरा दरबार लगेपछि भित्री सहरमा पानी आउन बन्द भयो। त्यसपछिस्थानीयले विरोध गरे। विरोधपछि स्थानीयबासीका लागि भनेर कमलाक्षीमा एउटा धारा बनाइएको बूढापाकाहरू बताउँछन्। 

ताहचल अर्थात् सर्प भेटिने ठाउँ

धेरै वर्षअघि ताहचल ओसिलो सिमसार भएको संस्कृतिविद् सुवर्ण शाक्य बताउँछन्। उनका अनुसार, धेरै वर्षपहिले सोल्टी होटलपछाडिको भागदेखि हालको महेन्द्ररत्न क्याम्पससम्म ओसिलो धाप अर्थात सिमसार थियो।

ओसिलो धाप रहेकोले ताहाचल क्षेत्रमा धेरै सर्पहरु आउँथे। नेवारी भाषामा ताहाचललाई ताहा च भनिन्छ। पछि यो शब्द अपभ्रंश भएर ताहाचल हुन गएको हो। ताहाको अर्थ सर्प र चको अर्थ खाली जग्गा हो। यसरी सर्पहरू धेरै आउने ठाउँ भएकोले याे ठाउँको नाम नै ताहाचल रहन गएको हो। 

शिल्पीहरूको बसोबास रहेको बस्ती भएकोले याे ठाउँ कःमिलाक्षी भनेर चिनिन्थ्यो।  तस्वीरः शोभा मानन्धर

कमलाक्षी अर्थात् शिल्पी बस्ती

असनबाट अगाडि दाँया लागियो भने भोटाहिटी पुगिन्छ। बाँया लागियो भने चाहिँ कमलाक्षी।

करिव ७० बर्ष पहिलेसम्म कमलाक्षीमा थुप्रै शिल्पीहरुको बसोवास रहेको संँस्कृतिका अध्येता एकाराम सिंले बताए। काठको काम गर्ने सिकर्मी, ढुङ्गामाटोको काम गर्ने डकर्मी र फलामको काम गर्ने नकर्मीहरूको यहाँ बाक्लो बसोबास थियो।

विभिन्न सीप जानेका शिल्पीहरूलाई नेवारी भाषामा कःमि भनिन्छ। १५ देखि २० घरको बसोवास रहेको सानो क्षेत्रलाई लाक्षी भनिन्छ। यसरी शिल्पीहरूको बसोबास रहेको बस्ती भएकोले याे ठाउँ कःमिलाक्षी भनेर चिनिन्थ्यो। पछि अपभ्रंश भएर कमलाक्षी रहन गएको सिं बताउँछन्।  

Published Date: Monday, 3rd June 13:27:29 PM