शनिबार, साउन ४, २०७६

काठमाडौं – सत्यमोहन जोशीलाई नचिन्ने को होला र ? तीन पटकसम्म मदन पुरस्कार जितेका यी शताब्दी पुरुष यस्त अग्ला धरोहर हुन्, जसलाई जतिसुकै दिग्गज स्रष्टा, साधक र अध्ययेताहरूको भीडमा पनि टाढैबाट प्रष्ट चिनिन्छ। 

उनी यस्ता रुख हुन्, जसका सामुन्ने प्रायः सबै बुट्यान झै देखिन्छन्। 

तर, सत्यमोहन जोशी कसरी सत्यमोहन जोशी भए? पाटन सहरमा जन्मे–हुर्केका एक नेवार ठिटोमा कसरी नेपाली पाखा–पखेरामा घन्किने झ्याउरे भाका, लोकलय र संस्कृतिप्रति दिलचस्पी बढ्यो? 

धेरैलाई थाहा नहुँदो हो – सत्यमोहन जोशीलाई सुरुमा कला, संस्कृति र साहित्यप्रति खासै रुचि थिएन । उनी त झ्याउरे सुन्दा पनि झर्को मान्थे।

तर, एक दिन एउटी जुरेली चरीले सत्यमोहन जोशीको जिन्दगी नै बद्लिदिइदिन् । झ्याउरे गीत र भाकाको खोजीमा कुना–कन्दरासम्म पुग्ने हुटहुटी दिइन्। 

तस्वीर : प्रवेश थपलिया

विक्रम सम्वत् २००१ सालतिरको कुरा हो । त्यसबेला उनी लक्का जवान थिए । उनी कामकाे सिलसिलामा काठमाडौं उपत्यकाबाहिर पुगेका थिए । तनहुँ, स्याङ्जा र जुम्लासम्म पैदल यात्रा गरेका थिए।

त्यस बेला दोस्रो विश्व युद्ध भइरहेको थियो । नेपाली युवाहरू युद्ध लड्न बर्मा (म्यानमार) र मलाया (मलेसिया)देखि दक्षिण पूर्वी एसियाभरि छरिएका थिए । त्यो विश्वयुद्ध नेपालका लागि थिएन, तर त्यो रक्तपातमा २० हजारभन्दा बढी गोर्खालीहरू मारिए । कोही उतै हराए । फर्केर आएनन्।

दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने नेपाली युवाका आमा र आफन्तजनहरूको आँशु झ्यारे भाका भई नेपाली माटोमा झर्थ्यो। पहाड–पर्वतमा विरहकै धून गुञ्जिन्थ्यो।

एक दिन उनी पहाडमा कतै हिँड्दै थिए । घाम चर्को थियो । बाटो उकालो । थकान र गर्मीबाट बच्न उनी एउटा चौतारीमा बसे । त्यहाँ केही गाउँलेहरू झयाउरे गाउँदै थिए – 

गाई पाल्यो रेलिमाई, बनको बाघलाई 
छोरो पाल्यो रेलिमाई, जर्मनको दावालाई 

यो गीतले उनको मनभित्र कतै चसक्क घोच्यो । सायद उनको मुटुभित्र कुनै कवि लुकेर बसेको थियो, जो विरहको गीत सुनेर राेयाे ।

यो लोक गीतले ती नेपालीको मर्म र बिवशता बोलेको थियो, जसले पालेका गाईबस्तुहरू बाघ–चितुवाको मुखमा पर्थे, जसले हुर्काएका छोराहरू पराई देशका लागि लड्दालड्दै मर्थे। त्यही रुखको छहारीमा उनले अर्को गीत पनि सुने–

के खायो के लायो होला बनैको जुरेली चरीले... 

जुरेली चरीको गीत सुन्दा त सत्यमोहन जोशी झन् भावुक भए । यो गीत ती आमाहरूको थियो, जसका छोराहरू मुग्लान पसेका थिए, रणभूमिमा लड्दै थिए, मर्दै थिए। 

त्यो गीत सुन्दासुन्दै उनको मन भुर्र उडेर पाटन पुग्यो, जहाँ उनकै घर–आँगनमा सधैं एउटी जुरेली चरी आउँथिन् । एउटा डालीबाट भुर्र अर्को डाली पुग्थिन् । के गर्दैछिन् ती जुरेली चरी ? खाइन् कि भोकै छिन्?

उनले झोलाबाट झट्ट नेपाली कागज निकालेर बाँसको कलमले मसी चोब्दै ती गीतहरू टिप्न थाले । उनलाई लाग्यो – यी मर्मभेदी गीतहरू आज छन्, भोलि नहुन सक्छन् । आजै यिनलाई टिपेर जतनले नराखे भोलि हाम्रो आँशु झर्दा कुन गीत गाउने? 

चैत ११ गते काठमाडौंको धुम्बाराहीस्थित नेशनल कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै सत्यमोहन जोशीले त्यो दिन सम्झिए, ‘एउटी जुरेली चरीले साँच्चै मेरो बाटो र जिन्दगी बद्लिदियो । त्यही जुरेली चरीको गीतले मलाई साहित्यतिर डोर्‍यायो।’

उनले थपे, ‘त्यसपछि नै हो, मैले नेपाली गाउँहरू डुल्दै लोकगीतहरू संकलन गर्न थालेको।’

लोकधून संकलन गर्न सत्यमोहन जोशी विभिन्न गाउँ पुगे ।  राेंधीघरहरूभित्र पसे । पछि पाटन फर्केर उनले ‘हाम्रो लोक संस्कृति’ नामक किताब प्रकाशन गरे, जसले उनलाई विक्रम सम्वत २०१३ सालमा पहिलो मदन पुरस्कार दिलायो। 

जुनबेला सत्यमोहन जोशीले पहिलो मदन पुरस्कार पाए, त्यो लेखनाथ पौडेलजस्ता कवि शिरोमणिहरूको दबदबा रहेको युग थियो ।

उनी भन्छन्, ‘आफ्नै मन–मुटुबाट शक्तिशाली कविता कोर्ने लेखनाथ पौडेलजस्ता धुरन्धर कविहरू हुँदाहुँदै गाउँघर डुलेर अरुका रचना–भावहरू बटुल्ने मजस्तो संकलकले मदन पुरस्कार पाउँला भनेर त मैले सोचेको पनि थिइनँ ।’ 

‘हाम्रो लोक संस्कृति’ले सत्यमोहन जोशीलाई पहिलो मदन पुरस्कार मात्रै दिलाएन, पुरात्तत्व विभागका प्रमुखजस्तो महत्वपूर्ण पदमा समेत पुर्‍यायो । उनी सम्झिन्छन्, ‘मलाई पुरात्तत्व विभाग प्रमुख बनाइएको खबर सुन्दा सुरुमा त पत्याउँनै सकिनँ । अरू कुनै सत्यमोहन होला भन्ने लाग्यो, तर अरु कसैले दाबी नगरेपछि मै हुँ भन्ने विश्वास भयो ।’

‘हाम्रो लोक संस्कृति’ पछि सत्यमोहन जोशी रोकिएनन् । उनी साहित्य, संस्कृति र इतिहासको अध्ययनमा झन् बढी सक्रिय भए । विक्रम सम्वत् २०१७ सालमा ‘नेपाली राष्ट्रिय मुद्रा’ले दोस्रोपल्ट र विक्रम सम्वत् २०२८ सालमा ‘कर्णाली लोकसंस्कृति’ले तेस्रोपल्ट उनलाई मदन पुरस्कार दिलायो।

उनी भन्छन्, ‘त्यसबेला नेपालमा पढ्ने मान्छेहरू धेरै थिएनन् । आईएबीए गर्नेहरू बिरलै भेटिन्थे । तर, त्यसबेला पनि मानिसहरू मनमा गुम्सिएका पीडा र भावलाई सहजै गीत र साहित्य मार्फत व्यक्त गर्थे।’ 

सत्यमोहन जोशी आउँदो वैशाख महिना १०० वर्ष पुग्दैछन् । तर, अझै पनि उनी ठमठमी हिँड्छन् । उनको यात्रा रोकिएको छैन।  
 
 

Published Date: Tuesday, 26th March 14:07:06 PM