शुक्रबार, असार १९, २०७७

रुकुम : एउटा उदास घर । संसारकै न्यायप्रेमीहरूले एउटा सदस्य गुमाएको जस्तै उदास घर । जसले थुप्रेको सान्त्वना र ढाडस बटुलिरहेछ।

त्यो घर जाजरकोट सदरमुकाम खलंगा बजारको सिरान अर्थात् डाँडामाथि टक्रक्क बसेको छ । बायाँपट्टि बरान्डा, दायाँपट्टि मटान । घर वरिपरिको गाह्रो र पिँढी मात्रै होइन, छानो पनि ढुंगाकै । बाहिरबाट हेर्दा घर सुन्दर देखिन्छ, मानौँ कुनै मेहनती चराले बनाएको गुँडजस्तो, तर भर्खरै यसले एउटा बचेरो गुमाएको छ।

घरभित्र होँचो ढोकासहितको एउटा साँघुरो कोठा, जसको एकापट्टि र्‍याक छ । र्‍याकमा कपडा पनि छन्, तर कपडा लगाउने मान्छे छैन । मेडल र कापी–किताब छन्, तर त्यसको हकदार यस धर्तीमा छैन।

यो उदास घरलाई सान्त्वना दिन देशभरबाट मान्छे आउँछन् । सोध्छन्, ‘नवराज सुत्ने कोठा यही हो ?’ 

हो, नवराज विक यही कोठामा सुत्थे । जसको हत्याले आज देशका दलितहरू मात्रै होइन, समग्र न्यायप्रेमी आन्दोलित बनेका छन् । कसैले उसलाई खलनायकको रुपमा पनि चित्रित गरेका छन् कि उसले लकडाउन तोडेर गुन्डागर्दी शैलीमा प्रेमिकालाई लिन गयो र मृत्युको मुखमा पुग्यो । कोही नायक बनाउँछन्– एकपटक कुटाइ खाँदा पनि साहसका साथ आफ्नी प्रेमिकालाई भेट्न जाने नवराज कथित सानो जातका कारण कुटिए र मारिए।

दुई सातादेखि नवराज सुत्ने कोठा मात्रै होइन, पूरै घर र गाउँमा सन्नाटा छाएको छ।

‘नवराज यहीँ सुत्थ्यो । उसका साथीभाइ आउँदा, प्रेमिका आउँदा यही कोठामा बस्थे,’ नवराजकी आमा उर्मिलाले यति भनेपछि यो संवाददातासँग आँसु झारिन् । 
पहिले बाबु भन्दै पसिरहने यो कोठा अहिले उर्मिलालाई ओडारजस्तै लागेको छ । उनलाई त्यहाँ छिर्न पनि मन लाग्दैन।

उनले आँखाभरि आँसु पार्दै, मेडलहरूलाई छुँदै भनिन्, ‘यी सबै नवराजले खेलकुदमा जितेको हो ।’ उनले एनसीसी क्याडेटमा स्वयम्सेवक तालिम लिँदा पाएका कपडा र किताब पनि छुन्छिन्।

मुनलालका अनुसार खलंगा बस्ने केटीका ठूलाबुवाले होँच्याएर भनेका थिए, ‘तैँले मल्लको सम्धि हुने रहर गरिस् कि क्या हो ?’

भेरी नगरपालिका–४, खलंगा बजारको रानागाउँका नवराज गत १० जेठमा भेरीपारि सोतीगाउँमा रहेकी मल्ल थरकी आफ्नी प्रेमिकालाई भगाउने उद्देश्यले गएका थिए । उनले जाने वेला घरमा पारि जान्छु समेत भनेका थिएनन् । १८ जना साथी लिएर सोती पुग्दा उनले प्रेमिकालाई भगाउन होइन, देख्न समेत पाएनन् । घरमा नपुग्दै प्रेमिकाकी आमा प्रकाशीले जातीयविभेद जनाउने गाली गरेर लखेटिन्।

उनीहरूमाथि गाउँलेले सांघातिक आक्रमण गरे । प्रहरीको लिखित परीक्षा पास गरिसकेका उनी बिहे गरेर लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने योजनामा थिए । तर, त्यो सपना अपुरै रह्यो, उनी ठूली भेरीमा विलीन भए । त्यही राति उनको शव भेरी किनारमा भेटियो । उनीसँगै गएका उनका अरु पाँचजना साथीहरूले पनि नवराजको प्रेम प्राप्तिकै लागि रगत बगाए । भेरी नगरपालिका–४ का सञ्जु विक (२२), गणेश बुढामगर (१९), भेरी नगरपालिका– ११ मटेलाका लोकेन्द्र सुनार (१८), गोविन्द शाही (१७) तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार (२०) को शव पनि भेरीमा भेटियो।

घटनामा भाग्दाभाग्दै भेरी तरेर बाँचेका १२ जना नवराजका साथी अहिले पनि छटपटाइरहेका छन् । घटनाका प्रत्यक्षदर्शी उनीहरूले राम्रो उपचार त परको कुरा, मानसिक र पारिवारिक तनाव झेलिरहेका छन् । शरीरमा हँसिया र ढुंगा मुढाले लागेको चोट अझै निको भएको छैन । रातमा सुत्न सक्दैनन्, बर्बराउँछन् । परिवारको गाली, छिमेकी र घटनाबारे बुझ्न आउने–जाने मानिसको जिज्ञासाले पनि उनीहरू थप तनावमा छन्। 

कसरी भयो आक्रमण ? 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ को मध्यतिर पर्छ, सोतीगाउँ । गाउँको पुछारबाट पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । रुकुमको दुर्गम गाउँमध्येको यो गाउँमा यही लोकमार्ग विकासको डोरो बनेको छ । लोकमार्गले छोएको चौरजहारी सरकारले बनाउँदै गरेको दश नमुना सहरमध्येको एक हो । तर, सोतीगाउँमा अहिलेसम्म एउटा मावि स्कुल छैन।

सोतीगाउँको बीचमा राम्रा ढुंगा पाइने ढुंगाखानी छ । खानीकै मास्तिरको झुरुप्पको बस्ती हो, सोतीगाउँ । त्यही ढुंगाखानीका मालिक हुन्, यहाँका मल्ल परिवार । यसमाथि गुरताल गाउँ छ । वरपर गोहिरी र गेष्मा गाउँ । मल्लगाउँबाट गोहिरी जाने सडकको छेउमै रहेको घरचाँहि नवराजकी प्रेमिकाको हो।

 

अघिल्लो दिन प्रेमिकाले ‘मेरो अर्कैसँग बिहे गरिदिने रे, मलाई लिन आऊ’ भनेर सन्देश पठाएपछि नवराजले साथीहरूलाई लिएर सोती जाने योजना बनाएका थिए । केटी भगाउन जाँदा दुई–चारजना साथी लैजाने चलन यहाँ पुरानो हो । दुई दिनअघि पनि नवराजहरूले उनका साथीकी प्रेमिकालाई कुदुबाट भगाएर बिहे गराएका थिए । तर, त्यो दिन भने टोली ठूलै बनेको थियो । नवराजले ८–१० जना जाने सोचेका थिए । उनका साथीहरूलाई त्यो कुरा थाहा थियो पनि । तर, साथीका साथीहरू पनि जाने र काफल खाएर घुमफिर समेत गरेर आउने भनेर जाँदै गर्दा टोली ठूलोे बन्यो । यसरी गएकामध्ये कतिपयले नवराजलाई पहिलोपटक भेटेका थिए।

 १० जेठको मध्याह्न सदरमुकाम खलंगाबाट ११ बजे भेरी झरेका नवराजको १० जनाको टोली १२ बजे धल्ला पुलमा पुग्यो । त्यहाँ मटेलाबाट आएको साथीहरूको नौ जनाको टोली थपियो । तर, एक जना भने भेरीबाट उकालो गएनन् । खलंगा र मटेलाको दूरी १० किमि छ । भेरीको धल्ला पुलमा जम्मा भएका उनीहरूमध्ये केहीलाई बाहेक नवराजकी प्रेमिका भगाउन गएको भन्ने विषय समेत थाहा थिएन । त्यहाँबाट करिब डेढ घन्टाको उकालो हिँडेर उनीहरू मल्लगाउँ पुगे।

१८ जनाको टोली सोतीकी सुष्माको घरमुनि डाँडामा पुग्दा नवराजकी प्रेमिकाकी आमाले गाली गर्न लागिन् । घाइते सुदीप भन्छन्, ‘घडी हेरेनौँ, त्यस्तै पौने पाँच भएको थियो होला । पुग्नेबित्तिकै केटीकी आमाले गाली गर्न थाल्नुभयो, ‘तँ डुम फेरि आइस्, पहिले कुटेकाले पुगेन, अब त मरेर जान्छस् भनेपछि नवराजले नै साथीहरूलाई फर्काए।’

 

त्यहाँबाट फर्किंदा उनीहरू गएको बाटो छाडेर अर्को बाटोबाट ओरालो झरे । त्यहाँबाट करिब एक किमिमा रहेको कुवामा पानी खाए । अलि तल विनोद मल्लको घरमा पुगेर उनको बारेमा सोधीखोजी गरे । त्यहाँ उनीहरूले विनोदको मोबाइल नम्बर मागेको स्थानीयको दाबी छ । त्यहाँबाट हिँडेका उनीहरूलाई वडाध्यक्ष डम्बरबहादुर मल्लले पानी खाएर जान भन्दै बाटोमा रोक्ने कोसिस गरेको घाइते सुदीप बताउँछन् । प्रहरीको अनुसन्धानले भने पुष्टि गरेको छैन।

घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनीहरूलाई युवतीको घरबाट त्यहाँसम्म आउन करिब ४५ मिनेट लागेको छ । त्यहीँबाट उनीहरूलाई गाउँलेले लखेट्न सुरु गरेका छन् । युवतीको घरबाट करिब तीन किमि तलबाट निर्माणाधीन मध्यपहाडी लोकमार्ग सोती पुछारको गैरीज्युँला गाउँ हुँदै गएको छ । गाउँबाट करिब पाँच सय मिटर पर जाजरकोटकै कालेगाउँ जाने झोलुंगे पुल छ।

माथिबाटै दौडिएका उनीहरू गैरीज्युँलाको सिरान सडकमा निस्किएपछि थप भागाभाग मच्चियो । सडकमा निस्किएर उनीहरू कालेगाउँ जाने पुलतर्फ भाग्न थाले । पुलतर्पmबाट पनि गाउँले नै आएपछि उनीहरू गाउँलेको घेराबन्दीमा परे । पछि–पछि गाउँले थिए, अघि अघि उनीहरू । कति बेला कसले कसलाई समाते, कसलाई चोट लाग्यो, कसलाई लागेन– भागदौडमा उनीहरू कसैलाई थाहा भएन।

घटनामा घाइते भएका गोविन्द सुनारले काठमाडौं प्रेससँग भने, ‘वरिपरिबाट ढुंगा प्रहार हुन थाल्यो, अरु कसलाई के भयो भन्दा पनि आफ्नो ज्यान जोगाउन भागाभाग भयो, को कता गयो ? कसले कति कुटे ? केही थाहै भएन ।’ वरिपरिबाट घरेलु हातहतियार, लाठी, हँसिया, बञ्चरो र ढुंगाले आक्रमण हुन थालेपछि सडकमुनिको मकैबारीतिर भागेको गोविन्द बताउँछन्। 

 

केही स्थानीयका अनुसार नवराज र उसका केही साथी भने त्यहीँ समातिएका थिए । मकैबारीसँगै केही घरहरू पनि छन् । घरबाट ५० मिटरमुनि भेरी नदी फाँटिलो भएर बगेको छ । किनारमा गहिरो पानीको भँगालो छ । बीचमा खाली बगर र त्यसपछि मुख्य नदी छ । गाउँलेको कुटाइबाट उम्किएर भागेकाहरू नदीमा पसे । तर, पानी रहेको भँगालो कटेर बीचमा बगरमा पुगेका र नदी तरेर पारि पुगेकाहरूमाथि पनि गाउँलेले कुटपिट गर्न भने छाडेनन्। 

इलाका प्रहरी कार्यालय चौरजहारीका अनुसार भागदौडमा पौडी खेल्न नजान्ने महेश कार्की र डिल्ली विक नदीको वारिपट्टि नै बसे । त्यसबेला नवराजसहित मृत्यु भएका ६ जनाको अवस्था कस्तो थियो भन्ने घाइतेलाई थाहा छैन । बाँकी १० जना खोलामा पसे । उनीहरूमध्ये मदन शाही, भोला बिसी, लालबहादुर खड्का, सरोज भडेल र विभाष पुनले पौडिएर भेरी नदीपारि पुगे । आशिष विक, सुनिल सुनार, इन्द्रजंग सुनार, गोविन्द सुनार र सुदीप खड्काले पनि पहिलो भंगालो पार गरे । तर, त्यसपछि पारि जाने आँट गरेनन्।

गाउँलेले त्यहाँसम्म पुगेर पनि उनीहरूमाथि कुटपिट गरेका छन् । ‘म पनि भेरी तर्न जाँदै थिएँ, तानेर ल्याएर मलाई हँसिया उल्टो बनाएर हानेँ,’ गोविन्द भन्छन् । केही स्थानीयले कुटपिटपछि भाग्दै गरेका दुई जनालाई वारिबाट पुनः ढुंगा प्रहार भएपछि नदीले बगाएको दाबी गरेका छन्।

भेरीपारि चौरमा फुटबल खेल्नेहरू थिए । पारि पुगेका पाँच जनालाई फुटबल खेलिरहेकाहरूले फेरि कुटपिट गरेका थिए । त्यहाँ फुटबल खेल्नेहरू जाजरकोटको कालेगाउँ र रुकुमको सोतीगाउँ दुवैतर्फका थिए । ‘घटना साढे ५ बजेबाटै सुरु भएको छ, तर प्रहरीलाई ६ः१५ बजे लकडाउन उल्लंघन गरेर आएका मान्छेलाई नियन्त्रणमा लिएका छौँ भनेर फोन आयो । साढे ६ बजे दुईवटा बाइकमा चारजना प्रहरी पुग्दा पनि कुटपिट भइरहेको थियो,’ रुकुम प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले भने।

 

प्रहरीले भेरी वारिपट्टि वडाध्यक्ष मल्लसहित करिब ६० जनाले कुटपिट गरिरहेको देखेपछि सिठी फुकेको थियो । प्रहरी पुगेपछि वारिपट्टि कुटपिट रोकिए पनि पारिपट्टि भने रोकिएको थिएन । प्रहरीले आफ्नै आँखाले निर्ममतापूर्वक कुटपिट भइरहेको देखेपछि वडाध्यक्षको प्रभावमा घटनास्थलबाट कुटपिट गर्नेलाई पक्राउ गरेन । कुटाइ खाइरहेका १२ युवालाई भने पक्राउ गरेर लग्यो । डिएसपी केसीले भने प्रहरीले उनीहरूको उद्धार गरेको दाबी गर्छन्।

घटनास्थल पुगेको प्रहरीलाई वडाध्यक्षले पनि घटनाबारे केही बताएनन् । कुटपिटमा परेका १२ मध्ये सुदीप खड्कालाई चोट लागेर रगत बगिरहेको थियो । बाँकीलाई भने ठूलो चोट थिएन । तर उनीहरू काँप्दै गरेको अवस्थामा पक्राउ परेका र उनीहरुले पनि घटनाको यथार्थ तत्कालै बताउन नसकेका डिएसपी केसीले बताए।

प्रहरीले घटनामा कुटपिट गर्नेलाई पक्राउ नगरी कुटाइ खाएकालाई मात्रै पक्राउ गरी लगेको छ । राति ९ बजे प्रहरी कार्यालयमा पुर्‍याएपछि प्रहरीले सोधपुछ गर्दा केटाहरूले १८ जना गएको र साथीहरूको बारेमा थाहा नभएको बताएपछि घटनाबारे रहस्य खुलेको प्रहरी बताउँछ। 

कसरी चलेको थियो प्रेम सम्बन्ध ? 

खलंगाकै त्रिभुवन माविमा कक्षा– १२ सम्म पढेका नवराज भलिबल, फुटबल मात्रै होइन, दौड, ठेलो र एथ्लेटिक्सका अरु इभेन्टमा पनि अब्बल थिए । बुवा मुनलाल र आमाको संघर्षले एसएलसीसम्म पढेका उनले कक्षा–११ र १२ मा भने छात्रवृत्ति पाएर पढेका थिए । मुनलाल भन्छन्, ‘पढाइ त राम्रै थियो, तर, त्यसभन्दामाथि पढाउन सकिनँ ।’ स्कुलमै हुँदा नवराज ०७५ को राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन खलंगा नजिकैको कुदु गएका थिए।

त्यहाँ चौरजहारीबाट मल्ल थरकी केटी पनि आएकी थिइन् । त्यसपछि उनीहरू सामाजिक सञ्जाल र फोनमा निरन्तर सम्पर्कमा रहे । नजिकिए । केटी पनि गाउँमा मावि स्कुल नभएकाले चौरजहारी बजारमै डेरामा बसेर पढ्थिन् । उनीहरूको भेटघाट बाक्लियो । गएको मंसिरमा सुष्मा जाजरकोटमा लाग्ने मेला भर्न आउँदा नवराजकै घरमा बसिन् । पुसको दोस्रो साता नवराजका सानीआमाका छोराको बर्थ डे हुँदा पनि सुष्मा आइन् । पहिलोपटक चार दिन र दोस्रोपटक तीन दिन बसेकी नवराजकी आमा उर्मिला बताउँछिन् । यसबीचमा नवराज पनि पटकपटक सोती पुग्थे । प्रहरीका अनुसार उनी जेठ १० गते चौथोपटक सोती पुगेका थिए।

 

‘यहाँ आउँदा हामीलाई सुरुमा त छोराकी साथी होली भन्ने लागेको थियो, तर नवराजसँगै देखेपछि तिमी को हौ भनेर मैले सोधे पनि,’ नवराजकी आमा उर्मिला भन्छिन्, ‘उसले नवराजकै साथी भएको र आठ वर्षपछि हाम्रो बिहे हुन्छ भनेकी थिई, मैले तिमी मल्लकी छोरी, नवराजसँग तिम्रो बिहे हुँदैन भन्दा हामी माओवादी हौं, त्यस्तो समस्या हुँदैन भनेकी थिई ।’ तैपनि उर्मिला र मुनलाललाई चित्त बुझेन।

उनीहरूले केटीका बारेमा थाहा पाएपछि तुरुन्तै उनलाई चौरजहारी पुर्‍याउन नवराजलाई भने । मुनलालले केटीको घरमा खबर पनि पठाए । तर, उल्टै उनलाई धम्की आएको थियो । मुनलालका अनुसार खलंगा बस्ने केटीका ठूलाबुवाले होँच्याएर भनेका थिए, ‘तैँले मल्लको सम्धि हुने रहर गरिस् कि क्या हो?’

वैशाखको दोस्रो साता केटीका भाइ खलंगा आए । नवराजलाई भिनाजु भन्थे, उनी पनि नवराजसँगै बसे । उर्मिला भन्छिन्, ‘एक हप्ता बसेपछि १७ गते पुर्‍याउन सोती गएको थियो, त्यतिवेला उनीहरूले कुटपिट गरेर पुलिसलाई बुझाएछन् ।’ भोलिपल्ट चौरजहारी प्रहरी कहाँ गएर उर्मिलाले छुटाएर ल्याइन् । त्यसबेलै प्रहरीका असईले वडाध्यक्षको इसारामा एकपल्टलाई बाँचिस्, अब सुध्री भनेर धम्क्याएका थिए।

घरबाहिर बस्ने भएकाले सुरुमा आफ्नी छोरी र नवराजको सम्बन्धबारे मल्ल परिवारलाई पत्तो थिएन । पछि थाहा पाएपछि युवतीलाई परिवारले नवराजलाई छाड्न दबाब दिएका थिए । केटीले पटकपटक गरी तीनवटा सिम कार्ड फेरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई पछिल्लोपटक नवराजलाई कुटपिट गरेपछि भाइको फोन चलाउन दिइएको थियो।

अनुसन्धानमा लागेको रुकुम प्रहरीले केटाहरू घरमा आएपछि युवतीकी आमाले आफ्ना श्रीमान्लाई र श्रीमान्ले वडाध्यक्ष मल्लसहित गाउँलेलाई खबर गरेपछि वडाध्यक्षकै नेतृत्वमा सिंगै गाउँ केटाहरूलाई खेदाउन ओरालो झरेको जनाएको छ । सोतीमा करिब २० घर मल्ल र हमालहरू छन् । तर, कुटपिटमा नजिकका गेष्मा, गोहिरी र गुरताल गाउँका बासिन्दाको समेत सहभागिता छ । सबै गाउँमा गरी करिब ६० घर बसोबास गर्छन्।

‘पहिले माथिबाट तर्साएका छन्, तर सडकमा उत्रिएपछि आक्रमण भएको छ, त्यसपछि के भयो ? भनेर घाइतेहरू नै बताउन सक्दैनन्,’ डिएसपी केसीले भने । उनका अनुसार चौरजहारी क्षेत्र अपराधमा जिल्लाकै रेडजोनमा पर्छ । मल्ल ठकुरीहरूको बाहुल्य भएका कारण उनीहरूको बलियो एकता र राज चलेको छ त्यो गाउँमा । मल्लका विरुद्ध कसैले बोल्दैनन् । यो घटनामा पनि पूरै गाउँ एकीकृत छ।

 

घटनाको अनुसन्धानका लागि खटिएका एसएसपी पोषराज पोखरेल भन्छन्, ‘घटनाबारे प्रस्ट कसैले भन्दैन, न त घाइतेले भनेका छन्, न त हिरासतमा लिइएकाहरूले नै, स्थानीयले पनि प्रस्ट बताएनन् ।’ आसपासका सबै गाउँका युवा समेटिएकाले प्रत्यक्षदर्शीले समेत घटनाको विवरण भन्न आनाकानी गरेको उनले बताए । स्थानीयवासीले घटना हुँदा डाँडाकाँडाबाट हेरेका छन् । तर, त्यसबारे अहिलेसम्म कोही पनि बोल्दैनन् । बोले पनि ‘लकडाउन उल्लंघन गरेर आएका युवाहरूलाई खेद्दा खोलामा डुबेर मरेको’ भन्ने सबैले एकै कुरा बताउँछन्।

आसपासको गाउँका बासिन्दाका अनुसार गाउँको पुछारबाट आवत्जावत् गर्नेहरू डराएर हिँड्ने गर्छन् । बाटो हिँड्नेलाई लुटपाट गर्ने, कुट्ने, भेरीमा खसालेर मार्ने जस्ता आपराधिक गतिविधि विगतमा समेत हुने छिमेकी गाउँका स्थानीयको भनाइ छ।

गाउँको बीचमा भएको ढुंगाखानीका कारण गाउँको आर्थिक जनजीवन साधारण छ । तर, सदरमुकामबाट टाढा भएकाले गाउँ विकसित छैन । गाउँका मानिसहरू पढ्नका लागि चौरजहारीबजार, खलंगादेखि काठमाडौंसम्म पुग्छन् । यस वर्ष एसईई परीक्षा दिने ती युवती कक्षा– ९ देखि नै चौरजहारी बसेर पढ्थिन्। 

स्थानीय भन्छन्, ‘प्रहरीले लास खोज्न समेत सघाएन’

घटनामा परी मृत्यु भएका सबैको लास प्रहरीले भेटाएको होइन । स्थानीय युवाले नै शव फेला पारेको खबर गरेपछि मात्रै प्रहरी शव भेटिएको स्थानमा पुगेर मुचुल्का उठाएको थियो । घटना रुकुममा भए पनि सबै लास जाजरकोटमा भेटिएका थिए।

जाजरकोट प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सबै शव स्थानीय युवाले नै खोजी गरी प्रहरीलाई खबर गरेको पुष्टि गरे । ‘प्रहरी खटिएको थियो, तर सक्षम जनशक्ति नहुँदा पौडी खेलिरहने स्थानीय युवाले नै सबै लास भेटेका हुन्,’ उनले भने । सशस्त्र प्रहरीको गोताखोर टोली आए पनि टोलीले लास भेटाउन सकेन।

प्रहरीले लास खोज्न कम चासो दिएको पीडितको गुनासो छ । गोताखोर टोलीले पौडिएर पानीमा जान नसकेको र उनीहरूको बोट समेत पल्टिएकाले शव फेला नपार्दै टोली फर्किएको स्थानीयको भनाइ छ । शव खोजीमा भेरी नगरपालिका–११, मटेलाका जनक केसी, सन्देश शाही, सुवर्ण रोकाया, हरि कार्की, ज्ञानु शर्मा लगायतको टोली खटिएको थियो । प्रहरीले भने दक्ष र पर्याप्त जनशक्ति नहुँदा शव खोज्नमा कमजोरी भएको स्वीकार गरेको छ।

 

१० जेठको साँझ घटना भएपछि करिब एक किलोमिटर तल नवराजको शव राति ११ः४५ बजे भेरी नदीको धल्ला पुलनजिकै भेटिएको थियो।

यस्तै, टिकाराम सुनारको शव ११ जेठको साँझ ५ः३० बजे खोदाखोलामा, गणेश बुढामगरको शव १२ जेठको बेलुका ४ बजे फेरामा, लोकेन्द्र सुनारको शव १४ जेठको दिउँसो १ः३० बजे राक्सेमा, सन्दीप भनिने सन्जु विकको शव १५ जेठको दिउँसो ३ बजे कालाभीरमा र गोविन्द शाहीको शव २० जेठको दिउँसो ३ः३० बजे खोदाखोलामा भेटिएको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

सबैको अनुहार र टाउकोमा धेरै चोट

मृतकका आफन्त र प्रत्यक्षदर्शीले भने सबैलाई मारेर मात्रै खोलामा फालिएको दाबी गरेका छन् । प्रहरीका अनुसार भेटिएका सबै लासमा चोट देखिएका छन् । सबै लास भेरीमा बग्दै गर्दा पानीको चाप कम भएका ठाउँ, ढुंगा र चेपमा भेटिएका थिए । सबैले लगाएका जुत्ता लासमा छैनन्, खाली खुट्टा भेटिएका छन् । सबैको लासमा घाँटी भन्दामाथि चोट लागेको देखिएको छ । टाउको र जिउमा पनि चोट छ । तर, सबैको टाउको बढी चोट छ । टाउकोमा पनि अनुहारमा धेरैको चोट छ।

‘माथिबाट खेदाउँदा भागेको भन्छन्, हाम्रो नानी भेलमा पनि वारिपारि गथ्र्यो,’ मृतक लोकेन्द्रकी आमा लक्ष्मी सुनार भन्छिन्, ‘खेदाउँदा पछाडि चोट लाग्नुपर्ने, अनुहारमा कसरी चोट आयो ? फेरि चार दिनपछि लास भेटिएको छ, चार दिनसम्म भेरीले बगाएको लास कसरी यहाँ नजिकै भेटियो ?’ लक्ष्मीलाई शंका छ, कतै उनीहरूले पटकपटक मारेर फालेका त हैनन् ? स्थानीयका अनुसार लोकेन्द्रको लास भेटिँदा दुई हात पछाडि बाँधिएको थियो । तर, पानीबाट शव झिक्दा त्यो डोरी खुस्किएको उनलाई पानीबाट निकालेका स्थानीय सन्देश शाही बताउँछन्।

प्रहरीका अनुसार नवराज र सञ्जुको शरीरको पछाडिको भागमा बढी चोट छ । स्थानीय मुक्ति पौडेल भन्छन्, ‘मैले सबै शव देखेँ, सबैको घाँटीभन्दा माथि चोट छ, धेरैको अनुहारमा नाक, मुख, आँखा कुच्याइएको छ, निधार र टाउकोमा गहिरो चोट लागेको छ, लोकेन्द्र र गणेशको अण्डकोष सुन्निएको छ ।’ उनले सबैलाई धारिलो हतियार प्रयोग हुन सक्ने अनुमान लगाए। 

प्रेम सम्बन्धकै कारण हातपात गरेको स्वीकार

१० जेठको घटना र धमाधम शव भेटिन थालेपछि प्रहरीले शंका लागेका युवतीसहित बुवाआमा, दाजु, वडाध्यक्ष डम्बरबहादुर मल्लसहित अहिलेसम्म २८ जनालाई हिरासतमा लिएको छ । परिवारले २७ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । बयानका क्रममा थप एक संलग्न भएको खुलेपछि उनलाई समेत पक्राउ गरिएको डिएसपी केसीले बताए।

 सामान्यतः फौजदारी अपराधमा प्रहरीले २१ दिनमा मुद्दा अदालतमा बुझाउँछ । सुरुमा पक्राउ परेकालाई अनुसन्धान गर्न अदालतले २२ जेठमा १० दिनको म्याद दिएको थियो । ३१ जेठमा त्यो म्याद सकिन्छ । प्रहरी स्रोतका अनुसार त्यतिन्जेलसम्म मुद्दा अदालतमा पेस गर्ने तयारी छ । बयानका क्रममा अभियुक्तले नवराज र केटीको प्रेम सम्बन्धकै कारण हातपात गरेको बयान दिएका छन्।

‘सुष्मालाई लिन आएको कुरा परिवारले पहिल्यै थाहा पाएको छ, त्यहीअनुसार आमा प्रकाशीले केटाहरू देख्नासाथ श्रीमान्लाई खबर गरेकी थिइन् । श्रीमान्ले वडाध्यक्षलाई खबर गरेपछि गाउँले भेला भएको हुन सक्ने देखिन्छ,’ एसएसपी पोखरेलले भने।

उनीहरूको प्रेमसम्बन्धकै कारण घटना भएको स्पष्ट भएपछि अब प्रहरीले केटालाई लिन केटीले बोलाएको वा नबोलाएको ? आक्रमण नियोजित भए, नभएको ? मृतकहरूलाई कुट्दै–कुट्दै खोलामा पु¥याएको वा मारेर फालेको भन्नेबारे अनुसन्धान केन्द्रित गरेको छ । घटनामा प्रहरीले उल्लेख्य प्रमाण संकलन गर्न सकेको छैन । 
१० जेठको साँझ घटनास्थलमा राम्रो मुचुल्का समेत नगरेको प्रहरीले भोलिपल्ट खोला किनारमा दुईवटा लाठी मात्रै भेटायो । डिएसपी केसी भन्छन्, ‘त्यत्रो चोट लागेको छ, घटनास्थलमा रगत लागेका ढुंगा भेटिनुपर्ने हो, अरु हातहतियार भेटिनुपर्ने हो, तर बेलुका ठूलो हुरीबताससहित पानी परेकाले त्यस्तो केही भेटिएन ।’ परिवारले नवराजसँगको प्रेम सम्बन्ध थाहा नपाएको, थाहा पाएपछि मोबाइल बोक्न नदिएको, सम्पर्क गर्न नदिएको खुलेको प्रहरीले जनाएको छ । ‘उनीहरूको प्रेम सम्बन्धकै कारण युवतीलाई दबाब दिइएको छ, सम्बन्धकै कारण बुवाले उनको मोबाइल नम्बर बदलिदिएका छन्, एकपटक भाइको नम्बर पनि बोक्न दिइएको छ,’ एसएसपी पोखरेलले भने, ‘थप परीक्षण र अनुसन्धान भइरहेको छ।’

 बुवाले मोबाइल लिनुअगावै केटीले दुईवटा सिम कार्ड फेरेकी छिन्, त्यसबारे बुवाआमालाई थाहा छैन । ‘मृत्यु भएका ६ जनाको कसरी मृत्यु भयो ? वा कसरी नदीमा पसे ? शवमा कति चोट थियो ? कसरी चोट लाग्यो ? पानी खाए कि खाएनन् ? लगायत शवको प्रकृतिको बारेको रिपोर्ट विज्ञले दिने हो । पोस्टमार्टम रिपोर्टबाट मात्रै यो कुरा खुल्छ,’ उनले भने। 

घटनाको टाइमलाइन

१० जेठ : साथीहरूसहित नवराज लिन गए    
४ : ४५ बजे : प्रेमिकाको घरमुनि डाँडामा पुगे आगाली गरेपछि फर्किए
५ : ३० : गाउँलेले लखेट्न सुरु गरे । 
६ : १५ : वडाध्यक्षले प्रहरीलाई फोन गरे
६ : ३० : प्रहरी घटनास्थल पुगेर घाइते १२ को उद्धार
९ : ००  घाइतेहरूलाई सोधपुछ
११ : ४५ : धल्ला पुलमुनि शव फेला
    
११ गते आइतबार

विहान राति १ः०० : शव नवराजकै भएको सनाखत
८ : ०० : खलंगाबाट प्रहरी अधिकृतसहित १० प्रहरी परिचालन
११ : ०० : शवको मुचुल्का
१ : ०० : जाजरकोट अस्पताल पुर्‍याइएको ।
५ : ३० बजे : टिकाराम नेपालीको शव फेला
७ : ०० : वडाध्यक्ष, युवती र आमाबुवासँग सोधपुछपछि छुटे

१२ गते : गणेश बुढामगरको शव फेला, वडाध्यक्ष, परिवारसहित १२ जना पक्राउ, शव खोज्नकालागि गोताखोरलाई पत्राचार

१३ गते : वडाध्यक्षसहित २० जनाको नाममा जातियताका आधारमा गरिएको कर्तव्य ज्यानसम्बन्धी मुद्धामा किटानी जाहेरी र म्याद थप

१४ गते : लोकेन्द्र सुनारको शव फेला, गोताखोर र एसएसपी पोषराज पोखरेलसहितको प्रहरी टोली आयो, कालेगाउँ र धल्ला नाका सीमा सिल

१५ गते : सन्जु विकको शव फेला, किटानी परेकामध्ये ६ पक्राउ, २ फरार

२० गते : गोविन्द शाहीको शव फेला, थप ७ जना पक्राउ, गोताखोर फिर्ता

२२ गते : पक्राउ परेका २५ जना विरुद्ध अदालतबाट १० दिन म्याद थप
२३ गते : थप पीडितबाट उजुरी संकलन
२८ गते : फरार दुई र अन्य एक गरी तीन जना पक्राउ

Published Date: Thursday, 18th June 10:19:48 AM