बुधबार, फागुन ७, २०७६

काठमाडौं : ‘राजा (उतिबेला ठूलो पदका राणाहरूलाई राजा भनिन्थ्यो) को मुख हेरेको दिन राम्रो हुन्छ भन्थे । राजाहरू घोडामा हिँड्थे । उनीहरू आएको थाहा पाएपछि मानिसहरू रक्सी पार्दापार्दै, पानी भर्दाभर्दै, पसलको काम छाडेर पनि बाहिर निस्कन्थे र निहुरेर दुई हात जोडेर ‘महाराज’ भनी ढोग गर्थे।’ 

काठमाडौं असनका ८८ वर्षीय रामभक्त श्रेष्ठले पुराना दिन सम्झिए । अचेल उनी  इन्द्रचोकस्थित आकाश भैरव भजन खलः मा उभिइरहेका भेटिन्छन् । जहाँ उनका कान्छा छोरा मिठ्ठी श्रेष्ठको कपडा पसल छ, जसको छेवैमा छ उनको घर । उनी सानो छँदा यहाँ फाट्टफुट्ट मात्र घरहरु थिए, साँझ भएपछि क्षेत्रपाटीको खुला ठाउँसम्म जान पनि उनी डराउँथे।

अहिले उनी प्रायः जसो छोराको कपडा पसलमै दिन बिताउँछन् । ग्राहकलाई देखाएका कपडा मिलाउँछन् । गत साता पनि उनी छोराको पसल छेउछाउमै उभिएका थिए।

उनीसँग पुराना सम्झना थुप्रै छन्, तर उनी मिति सम्झँदैनन् । पाँच वर्षको उमेरमै सहिद शुक्रराज शास्त्रीसँग अक्षर सिक्न पाएकामा उनी गर्व गर्छन् । उनी भन्छन्, ‘सहिद शुक्रराज शास्त्रीको बुवा माधवराज जोशी र मेरो बुवाबीच प्रगाढ मित्रता थियो । एक दिन माधवराज जोशीले मेरो बुवालाई भन्नुभयो– बच्चालाई किन घरमा यत्तिकै राखेको, हाम्रो घरमा पढ्न पठाइदेऊ।’ 

यसरी उनी शुक्रराज शास्त्रीका विद्यार्थी भए । त्यतिबेला शास्त्रीको घरमा १५–१६ जना केटाहरू (छोरीहरूले होइन)ले पढ्थे, सुकुलमा बसेर।

खैर, उनले शुक्रराजलाई धेरै दिन गुरु बनाउन पाएनन् । उनी पढ्न गएको दुई वर्षमै शुक्रराजलाई शासकहरूले घरमै आई समातेर लगे । त्यसपछि रामभक्तको पढाइमा पूर्णविराम लाग्यो। 

गाडी बोक्नेहरूले परालको जुत्ता लगाएका हुन्थे । ती गाडी असनमा आउँदा हामी केटाकेटीहरू गाडीको पछिपछि कुद्थ्यौँ।

पछि सरकारी अड्डामा काम गर्ने भेनाजुहरूबाट लेखपढ गर्न सिके । त्यतिबेला बाँसको कप्टेरोलाई कालो मसीमा चोपेर नेपाली कागजमा लेखिन्थ्यो । त्यसरी अक्षर चिनेका उनले अहिले पत्रपत्रिका पढ्न र लेखिएको भजन गाउन सक्छन्।

राणा प्रधानमन्त्रीको राम्रो काम

१९९० सालको भूकम्पमा निकै दिनसम्म काठमाडौंका अधिकांश सर्वसाधारणको बास टुँडिखेलको चौरमा भएको थियो, जतिबेला रामभक्त दुई वर्षका थिए । उनलाई पनि आमाले त्यहाँ लगेकी थिइन् रे । यसबारे उनलाई केही सम्झना भएन । उनलाई आमाले भनेको भने सम्झना छ, ‘त्यतिबेला जुद्धशमशेर बिहान–बेलुकी बाल्टिनमा दूध लिएर टुँडिखेलमा पुग्थे, त्यहाँ बसेका बच्चाहरू भोकाउँछन् भनेर।’ 

असनकाे आफ्नाे निवासमा रामभक्त्त श्रेष्ठ

रामभक्तले जाने–बुझे–सुने अनुसार २००१ सालतिर प्रधानमन्त्री मोहनशमशेर राणाले दिनको एकचोटि घोडाबाट टुँडिखेललाई तीन फन्को लगाउँथे । उनले जनताको पीरमर्का के छ भनी अड्डाका लेखनदासलाई  टिपोट गर्न लगाउँथे । उतिबेला सैनिक भवननजिकै रहेको एउटा रूखको फेदमा बसेर न्याय-निसाफ हुन्थ्यो । त्यस बखत टुँडिखेलवरिपरि बाक्लै रूख थिए।

‘राजा’लाई थर्काउने त्यो कुकुर

जुद्ध शमशेरका भाइछोराहरू सेतो घोडामा असन घुम्न आउँथे । त्यो बेला असनमा एउटा मात्र खैरो कुकुर थियो । कुकुरले त्यहाँ वरपर आउने घोडालाई पछ्याएर बेसरी भुक्थ्यो, घोडाहरू तर्सेर कुद्थे, उफ्रन्थे । आफैँलाई खसाल्ने जसरी घोडा उफ्रेपछि घोडसवारहरू रिसाउँथे । एकपटक त त्यस कुकुर मार्न भनी बन्दुक बोकेर घोडामा आएका थिए । रामभक्त भन्छन्, ‘हामीहरूले हतारहतार कुुकुरलाई लुकायौँ।’ 

‘डाक्टर’ आमा

रामभक्तकी आमालाई तमाखुको लत लागेको थियो । उनलाई एकछिनमा हुक्का–चिलिम चाहिन्थ्यो । उनको तमाखु र आगो सकियो भने रामभक्तले गाली खानुपथ्र्यो । रामभक्त भन्छन्, ‘राति भए पनि आमालाई तमाखु किन्न म साइँली भाउजुको झ्याल ढकढकाउन पुग्थेँ।’ 

शुक्रराज शास्त्रीको घरमा १५–१६ जना केटाहरूले पढ्थे, सुकुलमा बसेर । रामभक्तले पढ्न थालेको दुई वर्ष नहुँदै शुक्रराजलाई शासकहरूले घरमै आई समातेर लगे । त्यसपछि रामभक्तको पढाइमा पूर्णविराम लाग्यो।

त्यसरी तमाखु खाने उनकी आमा भने समाजमा ‘डाक्टर’जस्तै थिइन् । कसैको शरीरमा घाउखटिरा आयो भने उपचार गर्न उनकै आमाकहाँ आउँथे । आमाको काम देखेर छक्क परेका उनी भन्छन्, ‘मेरी आमासँग कैँची पनि थियो, कसैको खटिरा काट्नुपर्‍यो भने तिमी उता हेर, यता हेर्‍यो भने डर लाग्छ भन्नुहुन्थ्यो र खटिरा काटी छालाको जुत्ता घोटेर लाइदिनुहुन्थ्यो, त्यतिमै निको हुन्थ्यो।’

कसैलाई ज्वरो आयो, पेट दुख्यो भने उनकी आमाले त्यही अनुसारको औषधि दिन्थिन्, उनकी आमालाई समाजमा सबैले मन पराउँथे। 

मान्छेले बोकेर ल्याएको त्याे गाडी हेर्न जाँदा

त्रिभुवन राजपथ बन्नु (वि.सं. २०१३) अघिसम्म काठमाडौंमा गाडीहरु बोकेर ल्याइन्थ्यो । केटाकेटीमा उनी गाडी बोकेको हेर्न थानकोटसम्म पुग्थे । चारवटै चक्का निकालेर बाँसमा बोकेको गाडी देख्दा उनलाई रमाइलो लाग्थ्यो । गाडी र गाडी बोक्ने मानिसलाई उनले खुब नियालेर हेर्थे । ‘गाडी बोक्नेहरूले परालको जुत्ता लगाएका हुन्थे,’ उनी सम्झन्छन्, ‘ती गाडी असनमा आउँदा हामी केटाकेटीहरू गाडीको पछिपछि दौडन्थ्यौँ।’ 

ड्राइभर लाइसेन्सकाे कथा

सानैदेखि गाडीलाई हेरेर होला, अन्ततः उनीमा ड्राइभर हुने रहर जाग्यो । उनले ३५ वर्षको उमेरमा ड्राइभरको लाइसेन्स निकाले । तर उनकी आमाले ज्यानमारा काम गर्नुपर्दैन भनेर गाडी चलाउन दिइनन् । उनले लिएको ६०७२ नम्बरको लाइसेन्स यत्तिकै खेर गयो । उनले लाइसेन्स लिनेताका थानकोट, हाँडीगाउँ, पाटनसम्म सार्वजनिक गाडी चल्थ्यो । तर सडक राम्रा थिएनन् । त्यसमाथि थोत्रो र काम नलाग्ने गाडी चलाउनुपथ्र्यो, त्यो पनि ब्रेक नभएको । त्यसैले उनकी आमा डराएकी थिइन् । उनका दाइ नारायणभक्त श्रेष्ठले भने गाडी चलाउने पेसा गरे।

उनकी आमा आधुनिक प्रविधिसँग अलि बढी नै डराउँथिन् । उनी केटाकेटी हुँदा उनको घरमा बिजुली बत्ती त थियो, तर एउटा मात्रै बल्ब बालिन्थ्यो । रामभक्त भन्छन्, ‘करेन्ट लाग्छ भनेर आमाले घरको सबैतिर बत्ती राख्न मान्नुभएन । पछि मैले आमालाई केही हुँदैन भनी बुझाएर घरको सबैतिर बत्ती जडान गरेको हुँ ।’

मनपरेकीसँग विवाह

रामभक्तका तीन दिदीबहिनी र दुई दाजुभाइको विवाह बाजा बजाएरै भयो । त्यसपछि आमाले रामभक्तलाई भनिन्– भन् तँलाई कोही केटी मनपरेको छ कि तेरो पनि बाजा बजाएरै बिहे गर्नुपर्छ।’

उनले कसैलाई मनपराउँथे, आमाले त्यसो भनेपछि बाटो खुल्यो । पाटनमा उनका साथी थिए, गोविन्द श्रेष्ठ । गोविन्दको घर गएका बेला देखभेट हुँदा उनले रत्नदेवी श्रेष्ठलाई मनपराएका थिए । उनले आमालाई यो कुरा बताए । आमाले मागिदिएर २० वर्षको उमेरमा उनको बिहे भयो, उनै १८ वर्षकी रत्नदेवीसँग। 

एक बट्टा चुरोटको एक पैसा 

उनी केटाकेटी हुँदा उनको परिवारले तीन मोहोरमा एक भारी दाउरा किन्थ्यो । दाउराको पनि दुई भाउ थियो । तराईबाट आउने दाउरालाई अलि महँगो पथ्र्यो । उपत्यका वरिपरिबाट दाउरा बेच्न आउनेहरूलाई उनले पहाडको मानिस भनेर चिन्दथे। 

घण्टाघर पछाडि, लीला शमशेरको घरमा जहाँ एक मुसलमानले ४५ जना कर्मचारी राखेर ‘तारा चुरोटको कारखाना’ चलाएका थिए । रामभक्तले त्यहाँ चुरोटको खिली काट्ने काम गरे । उतिबेला एक बट्टा चुरोट १ पैसामा बिक्री हुन्थ्यो । महिनामा २० रुपैयाँ दिन्थे, तर पसलमा दिएको चुरोटको पैसा उठाउन नसकेर कारखाना बन्द भयो । त्यहाँ एक वर्ष काम गरेका उनले पूरा तलब पनि पाएनन्। 

त्याबेलाकाे जीविका

उनीहरूको भादगाउँ र धर्मस्थलीमा जग्गा थियो । त्यहाँ अरुलाई खेती गर्न दिन्थे र आधा अन्न लिन्थे । यसरी एकपटकमा उनको घरमा १८–२० मुरी धान भित्रिन्थ्यो।

उनको परिवार भने विशेषतः व्यापारमै केन्द्रित थियो । पछि उनका बुवा रत्नमान श्रेष्ठले दोस्रो विवाह गरी छुट्टै बस्न थाले । १८ वर्षको उमेरदेखि रामभक्तले पनि असन इन्द्रचोकमा मसला पसल खोले । उतिबेला त्यहाँ अहिलेजस्तो व्यापार फस्टाएको थिएन । चोकभरि राखिएको पसलमा मानिसहरू देख्नै गाह्रो पथ्र्यो । त्यतिबेला एक धार्नी मसला चार रुपैयाँ वा नौ मोहोर जतिमा बिक्री हुन्थ्यो। 

त्यो बेला अहिलेजस्तो एउटै पसलमा सबै सामान पाइँदैनथ्यो । रामभक्त सुनाउँछन्, ‘मेरो मसला पसलमा आएर ग्राहकले सक्खर सोध्यो भने अर्कै साथीको पसलबाट ल्याएर अलिकति नाफा खाएर बेच्थेँ । त्यो बेला सबै व्यापारीले त्यसै गर्थे।’ 

उनी १८–२० को हुँदा पेट्रोम्याक्स (मइन्टोल बत्ती) को खुब प्रचलन थियो । रातमा जन्ती जाँदा एक–एक मिटरका दूरीमा मइन्टोल बालिन्थ्यो । त्यसैले उनले मइन्टोलको व्यापार गरे । छाता बनाउने काम पनि गरे । पछि मइन्टोलको चलन हरायो । तर, त्यही कमाइले इन्द्रचोकमा पुरानो घर भत्काएर नयाँ घर बनाएको उनी सुनाउँछन् । 
जागिर र व्यापारको अनुभव बटुलेका उनलाई समयमै कार्यालय पुग्नु र अर्काको दबाबमा बसेर काम गर्नुभन्दा आनन्दले गरिने, व्यापार–व्यवसाय वा आफ्नो काम नै ठीक लाग्छ । त्यसैले उनी अहिले पनि छोराको पसलमा कपडा मिलाइरहेका भेटिन्छन्। 

(‘उहिलेको नेपाल’ स्तम्भ मार्फत हामीले ८० बर्ष उमेरको हाराहारी पुगेका हजुरबा र हजुरआमाबाट नेपाली समाजको कथाहरु खोतल्ने प्रयाश गरेका छौ । तपाईहरुसँग पनि आफ्नो जीवनका कथाहरु भन्न सक्ने  हजुरबा अथवा हजुरआमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामीले प्रत्येक हप्ता ‘उहिलेको नेपाल’ स्तम्भ प्रकाशित गर्नेछौ।  आज उहिलेकाे  काठमाडौं –सम्पादक)

Published Date: Sunday, 26th January 15:13:25 PM