बिहीबार, असोज ३०, २०७६

पाटन – यो प्राचीन सहरको एउटा गल्लीमा बस्ने दुई दाजुभाइको दिनचर्या यो साता अलि फेरियो। 

प्रायः घर वा कार्यालयमै हुने ५६ वर्षीय अमिर निकु र ५३ वर्षीय गम्भिर निकु गत शनिवार (वैशाख कृष्ट अष्टमी)देखि बुधबार (द्वादसी)सम्म पाटनको मच्छिन्द्रनाथ मन्दिरमै व्यस्त भए। 

यी दुई निकु दाजुभाइले विगत पाँच वर्षदेखि वर्षाको देउता रातो मच्छिन्द्रनाथको मूर्ति सिगार्दै आएका छन्। त्यसअघि उनीहरूका बुवाको काँधमा यो जिम्मेदारी थियो। बुवाअघि हजुरबुवाको काँधमा।  

अमिर निकु भन्छन्, ‘हाम्रै परिवारले शताब्दियौंदेखि मच्छिन्द्रनाथको मूर्ति सिँगार्दै आएको छ। पुर्खाले गरेको काम गर्न पाउँदा धेरै खुशी र गौरव महशुस हुन्छ।’

दाइ अमिर निकु (बायाँ) र भाइ गम्भिर निकु भर्खरै रङ्ग्याइसकिएको मच्छिन्द्रनाथको मूर्तिसँग । तस्वीरः वर्षा महर्जन

निकु दाजुभाइका पुर्खालाई रातो मच्छिन्द्रनाथको मूर्ति सिगार्ने कामकै लागि झण्डै १४ सय वर्षअघि राजा नरेन्द्र देवले भक्तपुरबाट पाटन झिकाएका थिए। त्यसबेलादेखि उनीहरू पाटनकै रैथाने भए।

रातो मच्छिन्द्रनाथको अनुहारमा रातो रङ पोत्ने र अन्य श्रृंगार गर्ने काम निकु परिवारबाहिरका मानिसले गर्न पाउँदैनन्। निकु दाजुभाइले सिँगारेको रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा हालेर एक महिनासम्म ललितपुरका विभिन्न भागमा पुर्‍याइन्छ र जात्रा सकिएपछि नक्खु खोला तरेर ललितपुरकै बुङ्मतीमा लगेर राखिन्छ।

पाटनको मच्छिन्द्रबहालमा रहेको मच्छिन्द्रनाथको मन्दिर

बुङ्मतीमा ६ महिना बस्ने रातो मच्छिन्द्रनाथलाई योमरी पूर्णेअघि पाटनको मच्छिन्द्र बहालमा ल्याइन्छ। र, यही मन्दिरमा निकु दाजुभाइले वैशाख कृष्ण अष्टमीदेखि रातो मच्छिन्द्रनाथको मूर्ति सिँगार्ने चलन छ। 

तर, रातो मच्छिन्द्रनाथको श्रृंगार गर्ने निश्चित तिथि र विधिहरू छन्। तिथिअघि वा पछि यो काम गर्न पाइँदैन। विधिहरूको पनि पूर्ण पालना गर्नैपर्छ। देउताको संसर्गमा रहने अवधिभरि एक छाक मात्रै खानु पर्छ। अरुलाई छुनु र अरुद्वारा छुइनु हुँदैन।

निकु दाजुभाइलाई सुरुमा यी विधिहरू पालना गर्न झञ्झटिलो लाग्थ्यो रे। तर, अहिले उनीहरूलाई बानी परिसकेको छ। 

चाँदीले बनेको रातो मच्छिन्द्रनाथको मूर्तिको शिरमा भने माटो लिपिएको हुन्छ। किनकि, चाँदीमा रङ गड्दैन। माटोमा भने मज्जाले भित्रैसम्म रङ गड्छ। 

वैशाख कृष्ण अष्टमीको दिनदेखि मच्छिन्द्रनाथको मुहारमा रङ पोत्ने काम सुरु हुन्छ। र, यो काम द्वादशीकै दिन सक्नुपर्ने हुन्छ। न अघि, न पछि। रीत नै यस्तो। 

गम्भिर निकु भन्छन्, ‘छिटोछिटो हात चलाएर द्वादशीअघि काम सक्न मिल्दैन।’

तर, मच्छिन्द्रनाथको मुहारमा रङ पोत्ने काम अष्टमीमा मात्रै सुरु भए पनि मूर्तिको श्रृंगार भने नेवारी तिथि पारुदेखि नै सुरु हुन्छ। पारुको दिन मूर्तिलाई नुहाइधुवाइ गरिन्छ। एक सातापछि मूर्तिलाई मन्दिरबाहिर निकाली बाहिर दलानमा राखेर रङ पोत्न थालिन्छ। 

मच्छिन्द्रनाथको मूर्ति रङ्ग्याउन मुख्यगरी तीन रङ प्रयोग गरिन्छ – सिम्रिक, कालो र सेतो। मूर्ति रङ्ग्याउन जथाभावी रङ प्रयोग गर्न पाइँदैन। यसका लागि विशेष ढुङ्गा प्रयोग गर्नुपर्ने हुन्छ, जुन पाटनको मंगलबजारमा रहेको एउटा पुरानो नेवारी आयुर्वेदिक पसलमा मात्रै माइन्छ। पूजा सामग्रीहरू पनि किन्न पाइने यो पसललाई स्थानीय नेवारहरु ज्याख पसः भन्छन्।

यही पसलबाट पाइने ढुङ्गा घोटेर धूलो बनाइन्छ। र, धूलोलाई गम र तातो पानीमा घोलेर लेदो बनाइन्छ। अनि तयार हुन्छ – रातो मच्छिन्द्रनाथको मूर्ति रङ्ग्याउने रङ।

ढुङ्गा घोटेर बनाइएको धूलो घोल्न प्रयोग गरिएको तातो पानी र गम

आँखा, नाक, ओठ र चिउँडोको आकार निकालेपछि अन्तिममा रातो चिप्लो रङले फेरि अनुहारको बाँकी भाग रङ्ग्याइन्छ, जसकारण रङ चाँडै उड्दैन। 

नेपाल बैंकबाट अवकाश लिएपछि पाटनकै एक सहकारीमा काम गर्ने अमिर निकुलाई पहिले यो काम गर्न दिक्क लाग्थ्यो। तर, बुवाको स्वास्थ्य बिग्रिदै गयो। र, यो काम उनी र उनका भाइ गम्भिर निकुको काँधमा आयो। 

पाँच वर्षअघि मन लागी–नलागी सुरु गरेको यो कामले अहिले आफूहरूलाई नयाँ पहिचान दिएको र आफू त्यसप्रति गौरवान्वित रहेको उनी बताउँछन्। उनीहरूको बुवाको तीन महिनाअघि मात्रै ९० वर्षको उमेरमा निधन भएको थियो। 
 

Published Date: Wednesday, 1st May 17:17:56 PM