सोमबार, चैत्र २४, २०७६

एक दिन प्रयागराज सिंह साथीसँग काठमाडौं, क्षेत्रपाटीस्थित नरदेवी मन्दिरमा प्रसाद खाँदै थिए। 

एउटी महिला आएर नमस्कार गर्दै भनिन्, ‘मन्त्रीज्यू, हजुरले बचाएको बच्चा यही हो।’ ती महिलाका छोरा १५ वर्षका भइसकेका थिए। प्रयागराजले ती बालकलाई कसरी बचाए त?

०२९ वैशाख ४ गते गठन भएको मन्त्रिमण्डलमा उनी राजा वीरेन्द्रबाट निर्माण तथा यातायात मन्त्रीमा नियुक्त भएका थिए। ०३२ मंसिर १५ सम्म उनी यही पदमा रहिरहे। यो बीचमा काठमाडौंमा रिङरोड बनाउन जग्गा मुआब्जाको कुरा चर्किरहेको थियो। २७ किलोमिटर सडकका लागि जग्गा चाहिन्थ्यो। 

रिङरोड विस्तारको काम भइरहेका बेला उनी साइकल कुदाउँदै कहाँ कसरी काम भइरहेको भनी अनुगमन गर्दै हिँड्थे। यसै क्रममा सोह्रखुट्टेछेउ पुग्दा अचानक एउटी महिला आएर रुँदै बिन्तीभाउ गरिन्, ‘लौन हजुर, मेरो नाबालक छोरो छ, लोग्ने पनि भर्खरै बित्नुभयो, मेरो सबै खेत बाटोमा पर्‍यो, म बर्बाद भएँ।’ 

प्रयागराजले भने, ‘बहिनी सकेको हेरौँला।’ 

पछि सडक विभागको इन्जिनियरलाई बोलाएर उनले ती महिलाका विषयमा कुरा गरे। पछि उनी मन्त्री पदमा रहेनन् तर बाटो बनेर आउँदा इन्जिनियरले ती महिलाको जग्गा भने बचाइदिएका रहेछन्। 

त्यसको केही वर्षपछि मन्दिरमा आएर ‘तपाईंले बचाइदिएको छोरो यही हो’ भन्ने महिला उनै थिइन्। 

एकपटक दशैंको टीकाको दिन वीरेन्द्रले सोधे, ‘प्रयागराज, तिमी ठिक छौ ? रिङरोडको मुआब्जा दियौं?’

उनले भने, ‘छैन सरकार।’ 

वीरेन्द्रले दरबारका सचिव नन्दलाल बोलाएर भने, ‘ल तुरुन्तै जनतालाई मुआब्जा देऊ।’ 

वीरेन्द्रले यति कुरा बोलिदिँदा आफूले बोकेको ठूलो भारी बिसाएको अनुभव गरेको  प्रयागराज बताउँछन्।

प्रयागराज अहिले ९१औँ वसन्तमा हिँड्दै छन्। उनले आफ्नो जीवनकालमा राणाशासन, प्रजातन्त्र, पञ्चायत, बहुदल, गणतन्त्रलाई भोगेका छन्। वडाध्यक्ष, मेयर हुँदै मन्त्री बनेका प्रयागराजसँग थुप्रै सम्झना छन्।   

टेकुमा झुन्ड्याइएका शुक्रराजलाई देखेपछि

१९९७ माघ ६ गते देशको इतिहासमा ठूलो घटना घट्यो। जतिबेला ११ वर्षीय प्रयागराज टेकुनजिकै इनाखास्थित मामाघरमा साथीहरु खेलिरहेका थिए। एउटा साथी आएर भने, ‘ए, त्यहाँ बाहिर एउटा मान्छे झुन्ड्याएको छ नि!’

साथीहरुसहित उनी मान्छे झुन्ड्याइएको ठाउँ टेकुमा पुगे। झुन्डिएको लास नजिकै एक वृद्ध टोलाइरहेका थिए। 

‘म झुन्डिएको मान्छेलाई हेर्दै थिएँ,’ उनी त्यो दिन सम्झन्छन्, ‘एकजना वृद्ध शवलाई एकोहोरो हेरिरहेका थिए, एकछिनपछि उनले भने– क्या बात हे बेटा, बेटा हो तो तुम जैसा हो। त्यसपछि उनी राम–राम–राम भन्दै लास झुन्डिएको रुख घुमेर फर्के।’ 

प्रयागराजले पछि थाहा पाए, झुन्ड्याइएका व्यक्ति सहिद शुक्रराज शास्त्री रहेछन्, ती वृद्ध शुक्रराजका पिता माधवराज रहेछन्।

यसपछि उनको बालमस्तिष्कमा राणाशासक खराब हुन् भने छाप पर्‍यो। 

‘नमुना शौचालय भत्काइयो’

यता उनका बाबु कृष्णराजसिंह सुवाल भने बबरमहलस्थित राणाको दरबारमा अफिसर थिए।

आमा मिश्रीनानी फुर्सदमा रामायण पढिरहेकी हुन्थिन्। उनलाई घरमै बुवा र आमाले कखरा र बाह्रखरी सिकाएका कारण उनी दरबार हाइस्कुलमा एकैचोटि कक्षा ३ मा भर्ना भएका थिए। 

२०१० सालमा देशैभरि चुनावको माहोल बन्यो, उनी वडा नम्बर ३ बाट उठेका थिए। यस समयमा काठमाडौंभरि १८ वटा वडा मात्रै थियो। भर्खरै बनेको नगरपालिका नाम उनले कहिल्यै सुनेका थिएनन, तर उनी वडा अध्यक्षमा निर्वाचित भए। 

त्रिचन्द्र क्यापसबाट आएससी गरेका उनी २०१४ सालमा नगरपालिकाको मेयरमा निर्वाचित भए।

यसरी उनी शासन–प्रशासन र राजनीतिसँग जोडिँदै गर्दा देश राजनीतिक अस्थिरताको सम्मुखमा थियो। २०१७ सालमा राजा महेन्द्रले सत्ता हत्याएर एकतन्त्रीय शासन चलाए।  

यस्तो राजनीतिक अवस्थाका बीचमा पनि प्रयागराज विकास–निर्माणका काममा लागे। साथीहरूले चुनावमा लागेर देशको सेवा गर्नुपर्छ भनेकाले उनी चुनावमा उठेका थिए।

उनले एक वर्षको कार्यकालमा वसन्तपुरको गद्दी बैठक पश्चिमपट्टि, वसन्तपुरको नौतले दरबारनेर, भूगोलपार्क, वीर अस्पतालछेउ र रानीपोखरीमा पाँचवटा नमुना शौचालय बनाएका थिए। तर, २०१७ सालको पञ्चायत काण्डमा उनले बनाएका शौचालय भत्काइए। 

‘जेलमा छँदा मासु खान छाडेँ’ 

२०१७ सालमा प्रचण्डनरसिंह राणा (पिएन), जनकमान सिहंको साथमा उनी पनि त्रिपुरेश्वरको भद्रगोल जेल परेका थिए।

जेलमा उनीसँग भएका सबै साथीलाई मासु खानुपथ्र्यो। सरकारले दिने डेढ माना चामल र एक रुपैयाँले उनीहरूलाई मासु खान पुग्दैनथ्यो। त्यसैले जेलमा मासु खान जनही मासिक १४ रुपैयाँ उठाउन थालियो। तर, प्रयागराजले घरबाट पैसा ल्याउन सकेनन्। 

त्यसपछि उनले साथीहरुलाई भने, ‘मलाई ब्लड प्रेसर छ। मासु खानु हुँदैन, खान्नँ।’ यसरी सात वर्ष जेलमा बसुन्जेल उनले मासु खाएनन्। 

जेलबाट निस्केपछि उनी स्नातक चुनाव क्षेत्रबाट चुनाव लडेर जिते। त्यतिबेला उनलाई राजा वीरेन्द्रले बोलाएर सोधे, ‘तिमीले मलाई साथ दिन्छौ?’
उनले साथ दिने बताएपछि उनलाई वीरेन्द्रले यातायात मन्त्री बनाएका थिए। 

हंसले ठाउँ छाडेको रात

सधैंझैँ उनी त्यस रात १ बजेसम्म पढेर जेलभित्र सुतेका मात्र के थिए, कसैले ढोका ढकढकायो। उनले जेलको नायिकेको आवाज सुने र ढोका खोले। 
नाइकले सानो स्वरमा भने, ‘लैजाँदै छ।’ 

‘कहाँ?’ 

जवाफ आयो, ‘झुन्ड्याउन। बत्ती नबाल है।’ 

यति भनेर नाइके बाहिरिए। 

यति सुनेपछि उनको मनमा डरको सीमा भएन। आधा रातमा आफूलाई मार्न लैजाँदै छ भन्ने कुराले उनको हंसले ठाउँ छोडिसकेको थियो। 

उनी भन्छन्, ‘कसरी बाँच्ने भागौँ भनेर सोचेँ। बाहिर आर्मी ‘खबरदार खबरदार’ भनी कराइरहेका थिए। जेलबाहिर १५–२० फिट अग्लो पर्खाल त्यसमाथि नांगो तारमा करेन्ट छाडेको थियो।’

उनी सोच्दै थिए, एकैछिनमा फेरि कसैले ढोका हान्यो। पछि थाहा भयो– उनलाई जेलबाट छाड्न लागिएको रहेछ।’ 

टोलमा झाडाबान्ता फैलँदा

१५ वर्षको उमेरमा उनी ‘नेपाल परोपकारी संस्था’मा संलग्न भएका थिए, जसअन्तर्गत टोल–टोलमा केही अप्ठेरो पर्दा सहयोग गर्ने समूह बनेको थियो। यसै क्रममा झोछें वरपर झाडाबान्ता फैलियो, मानिसहरु सिकिस्तै बिरामी पर्न थालेका थिए। 

प्रयागराजको समूहले ती बिरामीलाई स्ट्रेचरमा राखेर टेकु अस्पताल पुर्‍याउने गर्थं। त्यो बेला अधिकांश घरका भर्‍याङ एकपटकमा एकजना मात्रै हिँड्न मिल्ने खालका हुन्थे। झाडाबान्ताले सिकिस्त एउटी महिला चोटामा थिइन्, तल ओलर्न सकिरहेकी थिइनन्। प्रयागराज भन्छन्, ‘म चोटामा गएँ र उनलाई बोकेर तल ल्याएँ। तर उनले मेरो पिठ्युँभरि बान्ता र दिसा गरिदिइन्।’ 

यसरी काम गर्दा प्रयागराजलाई आत्मसन्तुष्टि मिल्थ्यो। उनी भन्छन्, ‘राणाशासनप्रतिको रिस केही शान्त भएझैँ हुन्थ्यो।’ 

बालपन र विवाह

वसन्तपुरको झोछेंमा जन्मिएका उनी सानोमा फुटबल खेल्थे। पहिलो विश्वयुद्धपछि देश–देशबीच सुरु हुन थालेको फुटबलको हावा नेपालसम्म पनि आइसकेको थियो।

प्रयागराज केटाकेटी छँदा फुटबललाई ८–१० रुपैयाँ पथ्र्यो। तर, फुटबल किन्ने पैसा नभएकाले उनीहरु भोगटेलाई फुटबल बनाएर खेल्थे।

कहिलेकाहीँ आफ्नो बारीको भोगटे सकिँदा उनी साथीहरू जम्मा पारी असनमा भोगटे चोर्न पुग्थे, त्यो पनि मोहीको आँखा छलेर। त्यति बेला असन, झोछें, वसन्तपुर वरिपरि भोगटे, सुन्तला र नासपतीका फलेका हुन्थे। 

२१ वर्षको उमेरमा उनको विवाह भयो। उनको घरदेखि केहीपर उनको विवाहको कुरा चलेको थियो। उनको विवाह अलि भिन्न ढंगले भयो। २००७ फागुन ७ गते उनी बेहुला भएर घरमा बसे। परिवारका सदस्य र आफन्तहरु गएर बेलुकी दुलही लिएर आए।

घरमा बेहुलीलाई काठको सानो डोलीमा राखी ल्याइएको थियो। दुलही घरमा ल्याएपछि बेलुकी आफन्तलाई सुपारी दिई, भोज खुवापछि उनको र गंगादेवी सुवालको विवाह पूर्ण भएको थियो। 

हेर्नुस् भिडियो :

(‘उहिलेको नेपाल’ स्तम्भ मार्फत हामीले ८० बर्ष उमेरको हाराहारी पुगेका हजुरबा र हजुरआमाबाट नेपाली समाजको कथाहरु खोतल्ने प्रयाश गरेका छौ । तपाईहरुसँग पनि आफ्नो जीवनका कथाहरु भन्न सक्ने  हजुरबा अथवा हजुरआमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामीले प्रत्येक हप्ता ‘उहिलेको नेपाल’ स्तम्भ प्रकाशित गर्नेछौ।  आज उहिलेकाे  काठमाडौं –सम्पादक)

 

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेको काठमाडौं १: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

उहिलेको काठमाडौं २: ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

उहिलेकाे नेपाल - ३ : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

उहिलेकाे नेपाल - ४ :‘एसएलसी दिन १३ दिन हिँडेर काठमाडौं आएँ’

उहिलेकाे नेपाल - ५ : युवराज वीरेन्द्रलाई भनेँ, ‘हजुरले फेरि भात खुवाएजस्तो गर्नुपर्‍यो’

 

उहिलेकाे नेपाल  ६ : राजकुमारी श्रुति फूल किन्न आइन् र भनिन्- ‘सरकार होइन, छोरी भन्नुस्, आमा’

Published Date: Sunday, 8th March 17:37:35 PM