मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं – गत जेठ १ गते ठमेलको एउटा तीन तले घरको कौसीमा विहानैदेखि मानिसहरूको कल्याङमल्याङ थियो। 

कसैको हातमा कापीकलम थियो। कोही रातो झण्डा फर्फराउँदै थिए। 

कौसीको एउटा कुनामा फराकिलो खोर थियो। त्यसभित्र सेतो, कालो र छिर्केमिर्के बुट्टा भएका परेवाहरू थिए। ती परेवालाई खोरबाहिर ल्याइयो र एक–एक गर्दै सबैको पखेटामा छाप हानियो। 

घडीको सूईले विहानको ६ बजे देखाएपछि सबै परेवाहरूलाई एकैसाथ भुर्र उडाइयो। प्रायः खोरभित्रै थुनिने बानी परेका परेवाहरू अकस्मात खुला आकाशमा स्वच्छन्द उड्न तयार भएनन्। तर, तिनलाई पनि रातो झण्डा फर्फराउँदै आकाशतिर धपाइयो। 

त्यही विहान खुशिबुँ, ज्याठा, जैसीदेवल, गणबहाल, बाङ्गेमुढा र यट्खामा रहेका ६ वटा घरका छतबाट पनि त्यसैगरी परेवाहरू उडाइएको थियो। 

राष्ट्रिय परेवा उडान प्रतियोगिताको १९ औं संस्करण अहिले काठमाडौंमा चलिरहेको छ। गत वैशाख १८ गते सुरु भएको यो प्रतियोगितामा यसपालि ४३ परेवा पालकहरू भिड्दैछन्। 

यही प्रतियोगिताको क्वालिफाइङ राउण्ड जेठ १ गते भएको हो। यो चरणमा सबैभन्दा लामो समय परेवा उडाएर सर्वाधिक अङ्क ल्याउन सफल ६ प्रतियोगीहरू सुपर सिक्सका लागि छानिएका छन्। सुपर सिक्समा प्रवेश गर्नेहरूको फाइनल खेल यही जेठ महिनाको पहिलो वा दोस्रो साता हुँदैछ। मिति तय भइसकेको छैन।

सुपर सिक्समा पर्न सफल प्रकाश महर्जनका परेवाहरू सबैभन्दा बढी अर्थात् जम्मा २६ घण्टा २४ मिनेट आकाशमा उडेका थिए।  गोरख सम्शेर राणाका परेवाहरू जम्मा २५घण्टा ३१ मिनेट आकाशाम उडे। राजकुमार वासु श्रेष्ठ तेस्रो भए। उनका परेवाहरू २५घण्टा २९ मनेट आकाशमा उडे। सचिन बज्राचार्यका परेवाहरू २५ घण्टा २१ मिनेट आकाशमा उड्दै चौथो भए। उज्ज्वल रिमालका परेवाहरू २४ घण्टा ४ मिनेट उड्दै पाँचौ र दिनेश श्रेष्ठका परेवाहरू २३ घण्टा ३० मिनेट उड्दै छैटौं भए। 

भिडियाे

काठमाडौं उपत्यकाका परेवा पालकहरू २०५६ सालदेखि यसरी नै परेवा पाल्ने र उडाउने प्रतिष्पर्धा गर्दै आएका छन्। 

उनीहरूका लागि यो खेल र मनोरञ्जन मात्रै होइन, जीवनलाई अनुशासित बनाउने विधि पनि हो। कुलतबाट टाढा रहने र आफ्नो लक्ष्य प्राप्तिको दिशामा केन्द्रित रहने साधना पनि हो। 

किनकि, परेवा पालकहरू दिनभरि सहरको भीडभाडमा जति नै व्यस्त भए पनि साँझ परेपछि परेवालाई चारो खुवाउन घर फर्किनै पर्छ। विहान अबेरसम्म सुत्न पाइँदैन, सबेरै उठेर परेवालाई चारो खुवाउनै पर्छ। तब पो परेवाहरू आकाशमा माथि र लामो समयसम्म उड्न सक्छन्।

नेपाल परेवा उडान खेल संघका महासचिव दिपंकर प्रधान भन्छन्, ‘परेवा पाल्दा अनुशासित भइने रहेछ। किनकि, परेवाको नियमित स्याहारसुसार गर्नुपर्ने हुन्छ। बेलुका दाना खुवाउनु पर्‍यो। विहान परेवालाई उड्ने तालिमका लागि आकाशमा छोड्नुपर्ने हुन्छ।’

लोकप्रियता बढ्दै 

परेवा पाल्ने र प्रतिष्पर्धात्मक रुपमा उडाउने चलन नयाँ होइन। नेपालमा राणाहरू मनोरञ्जनका लागि परेवा पाल्थे। राणा प्रधानमन्त्री चन्द्र समशेरले भारत गई अंग्रेजहरूबाट विदेशी नश्लका परेवाहरू ल्याएका थिए। त्यसपछि परेवा पाल्ने र उडाउने शोख राणाहरूमा झन् हुर्कियो। काठमाडौं उपत्यकाका नेवारहरूले पनि परेवा पाल्ने र उडाउने गर्न थाले। 

कहिलेकाहीँ राणाहरूबीच कसको परेवा कति माथि उड्छ र कति समय आकाशमा कावा खाइरहन सक्छ भन्ने प्रतिष्पर्धा पनि हुन्थ्यो।  
 
केही परेवा पालकहरू मिलेर २०५६ सालमा भने राष्ट्रिय परेवा उडान प्रतियोगिता नै सुरु गरे। २०५७ सालमा नेपाल परेवा पालक संघ दर्ता भयो। त्यसपछि संघले व्यवस्थित र नियमित रुपमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ। २०७२ सालमा भूकम्प आउँदा मात्रै यो प्रतियोगिता हुन सकेन।

तस्वीरः रिवाज राई

२०६९ सालमा परेवा पालक संघलाई नेपाल परेवा उडान खेल संघको रुपमा नामाकरण गरियो। यसलाई राष्ट्रिय खेलकुद परिषदमा आवद्धसमेत गराइयो। त्यसपछि यो प्रतियोगिता झन् व्यवस्थित भयो। 

संघका अध्यक्ष नारायण बहादुर श्रेष्ठ भन्छन्, ‘पहिले मानिसहरू शौख पूरा गर्न परेवा पाल्थे, अहिले प्रतियोगितामा भाग लिने उद्देश्यले उन्नत नश्लका परेवाहरू पाल्छन्।’

परेवा उडाउने खेलको विकासका लागि विभिन्न क्लबहरू पनि गठन भएका छन्। तीमध्ये काठमाडौंको हिमालयन पिजन क्लब, बनेपाको भूमि कलब, ललितपुरको परेवा उडान क्लब र भक्तपुरको ख्वप परेवा र मध्यपुर परेवा उडान क्लब ठिमी बढी सक्रिय छन्। यी विभिन्न क्लबहरूमा करिब दुई सय परेवा पालकहरू आवद्ध छन्। 

परेवालाई शान्तिको प्रतीक मानिन्छ। परेवा पाल्दा एक प्रकारको शान्तिको अनुभूति हुने परेवा पालकहरू बताउँछन्। 

महङ्गो शौख

परेवा उडान प्रतियोगितामा उच्च नश्लका परेवाहरू मात्र उडाइन्छन्। यी परेवाहरू भारत, पाकिस्तान, बहराइन र दुबई लगायतका देशहरूबाट ल्याइन्छन्। यी एक जोडी परेवाको दश हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्छ।

गत वर्ष राष्ट्रिय परेवा उडान प्रतियोगिता जितेका भक्तपुर, लोकन्थलीका सुवास पौडेलले प्रति जोडी ७० हजार रुपैयाँ पर्ने परेवाहरू विदेशबाट ल्याएका थिए। परेवाको दाना पनि महङ्गो पर्छ। ५० वटा परेवा पाल्न दानामा मात्र एक महिनामा कम्तीमा पनि ५ हजार रुपैयाँ खर्च हुने परेवा पालकहरु बताउँछन्। केहीले झन् महङ्गो मूल्यमा विदेशबाट उच्च कोटिका दाना मगाउने गरेका छन्। परेवालाई स्वस्थ रुपमा हुर्काउन सुविधायुतm खोर बनाउनु पर्ने हुन्छ। यस्ता खोरहरुको मूल्य पनि लाखौं पर्ने हुन्छ। 

जितेन्द्र बज्राचार्य

महङ्गो दाममा किनिएका र महङ्गै दाना खुवाएर पालिएका परेवाहरूलाई बाजले खाइदिने चिन्ता पनि सधैं रहने पौडेल बताउँछन्। उपत्यकामा बढ्दो प्रदूषण, सहरीकरण, फोहोर र खाद्यान्नमा बिषादिको मिसावटले परेवालाई अनेक रोग लाग्ने समस्या पनि छ।

काठमाडौंमा प्रायः लो फ्लायर परेवाहरू छन्। यिनीहरू तल तल उड्छन्। खासै माथि जाँदैनन्। परेवा उडान प्रतियोगितामा भने माथि उड्ने हाई फ्लायर परेवाहरू चाहिने नेपाल परेवा उडान खेल संघका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताए।

नियम

वैशाख १८ गतेदेखि सुरु भएको यस वर्षको प्रतियोगितामा ४३ प्रतियोगीले आफ्नो नाम दर्ता गराएका छन्। प्रतियोगिता एकै ठाउँमा हुँदैन। हरेक प्रतियोगीले आफ्नै घरबाट परेवाहरू उडाउँछन्। 

प्रतियोगिता विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चल्छ। हरेक प्रतियोगीले ७ वटासम्म परेवा उडाउन सक्छन्। तर, गणना भने ५ वटाको मात्र गरिन्छ। मौसमको खराबी वा परेवालाई बाजजस्ता ठूला चराले आक्रमण गरी घाइते बनाएमा प्रतियोगीलाई फेरि परेवा उडाउने मौका दिइन्छ। 

जितेन्द्र बज्राचार्य

पाँचवटा परेवाको उडान अवधिलाई गणना गरी कुल समय निकालिन्छ। सबैभन्दा बढी समय उड्ने परेवा निर्णायक चरणमा जान योग्य हुन्छ। यसमध्ये पनि उत्कृष्ट छ वटा परेवाबीच निर्णायक प्रतिस्पर्धा गराइनेछ। त्यसमध्ये जसको परेवा सबैभन्दा लामो समय उड्छ, सोही परेवा पालक विजयी हुन्छ। एक घण्टा भन्दा कम उड्ने परेवालाई अयोग्य घोषित गरिन्छ। 

प्रतियोगिताका लागि करिब ५ लाख रुपैयाँ खर्च लाग्छ। त्यसमध्ये गत वर्ष राष्ट्रिय खेलकुद परिषदले १ लाख रुपैयाँ सहयोग स्वरुप दिएको आयोजकले जनाएको छ। 

विजयी प्रतियोगीलाई केयुर शमशेर जंगबहादुर राणाको स्मृतिमा स्थापना गरिएको केयुर रनिङ शिल्डसहित २५ हजार नगद र प्रमाणपत्र प्रदान गरिन्छ। त्यस्तै दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रोलाई १० हजार दिइन्छ। चौथो, पाँचौं र छैठौंले क्रमश ५, ४ र ३ हजार नगद सहित प्रमाणपत्र र शिल्ड प्राप्त गर्छन्। 

उत्कृष्ट परेवालगायत अन्य शीर्षकमा पनि पुरस्कार प्रदान गरिन्छ। यस वर्ष प्रतियोगिताका लागि भनेर लन्डन पिजन फाउन्डेसनले ६ हजार ८ सय ६ रुपैयाँ सहयोग पठाएको आयोजकले जनाएको छ। 

 

Published Date: Thursday, 16th May 13:45:03 PM