सोमबार, मंसिर २३, २०७६

काठमाडौं : मकैको च्याँख्ला, ढिँडो र रोटी त खानु भएको होला! अहिले भने गाउँतिर पाक्न छाडेको छ। गाडीमा गाउँ पसेको चामलले च्याँख्ला, ढिँढो र रोटीलाई विस्थापित गरेपछि मकै पनि शहर छिरेको हो। पोलेको, भुटेको रुपमा शहर पसेको मकै अब भने नयाँ स्वरुप लिएर आएको छ, चटपटे, मःम, रोस्ट। 

मकैका यी नयाँ परिकार खानु भएको छ? छैन भने आउनुहोस्, तपाईंलाई ‘मकै घर’ पुर्‍याउँदै छौँ, जहाँ मकैकै खोस्टाले बुनेका चटकीमा बसेर साँधेको, भुटेको, पोलेको, उसिनेको मकै मात्रै होइन, चटपटे, मःम, रोस्टको पनि स्वाद लिनसक्नु हुनेछ। अझ चिज र महसँगको रोस्टको स्वादको त कुरै बेग्लै।

मकै घर छिर्नुअघिको एउटा रोचक प्रसङ्ग। पुल्चोक इञ्जिनियरिङ कलेजबाट एमई गरेका पाल्पाको रामपुर नगरपालिका–७ का २७ वर्षीय विपिन कँडेल एक दिन बानेश्वर चोकमा चिया पिउँदै थिए। झमझम पानी परिरहेको थियो। त्यहीँ एकजना दिदी मकै पोलिरहेकी थिइन्। 

आफैंले खोलेको मकै घरमा इञ्जिनियर विपिन कँडेल । तस्वीरः रिवाज राई

पानीका बाछिटा आगोमै पर्दै थिए। ति दिदी छाता ओडेर आगो फुक्दै थिइन्। पानी र हावाले आगो निभाउँदै थियो। उनी फेरि आगो फुक्थिन्। बल गरेर आगो फुक्दा उनको घाँटी फुल्थ्यो। 

त्यो सकस देखिरहेका इन्जिनियर विपिनकाे दिमागमा फ्याट्ट एउटा प्रश्न उब्जियो, ‘मकै पोल्ने अटोमेटिक मेसिन भए कति सजिलो हुन्थ्यो?’

प्रश्न वानेश्वर चोकमै सकिएन। उनलाई त्यही प्रश्नले उपथलपुथल बनायो। उनी कोठामा पुगेपछि सर्च गर्न थाले। कतै मकै पोल्ने मेसिन भेटिन्छ कि? ‘गुगल, यूट्युबमा सर्च गरेँ। मकै पोल्ने मेसिन कतै भेटिएनँ,’ विपिनले सुनाए। 

भिडियाे

त्यसपछि इन्जिनियर विपिनको मनमा अर्को कुरा खेल्न थाल्यो। मकै पोल्ने मेसिन कसरी बनाउने? त्यही विषयमा इन्जिनियर साथीहरूसँग सरसल्लाह गरे।

ठ्याक्कै तीन महिनापछि साथीहरूको सहयोगमा उनले मेसिन बनाए। ‘सोचेजस्तै भयो, मकै पोल्ने मेसिन बन्यो,’ विपिन भन्छन, ‘मेसिनमा पाँच मिनेटमा १० भन्दा बढी मकै पोल्न सकिन्छ।’

त्यही मकै पोल्ने मेसिनले हो, इन्जिनियर विपिनलाई ‘मकै घर’ तयार पार्न लगाएको। नयाँ वानेश्वर र पुरानो वानेश्वरबीचको संगम चोकमा विपिनको ‘मकै घर’ छ। यही मकै घरमा विपिन उही मेसिनमा मकै पोलिरहेका भेटिन्छन्।

चिटिक्क परेका कोठा छन्। टेबुल सजाएर राखिएका छन्। टेबुलकै वरिपरि मकैका खोस्टाले बुनेका चकटी छन्। तिनै चकटीमा बसेर मकैका नयाँनयाँ परिकार खान सकिन्छ। 

साँधेको मकै । तस्वीरः रिवाज राई

‘साँधेको, पोलेको, उसिनेको मकै त हुन्छ नै। हामीले नयाँ परिकार पनि बनाउने गरेका छौं, चटपटे, मःम, रोस्ट,’ मेनु देखाउँदै मकै व्यवसायी विपिन भन्छन्। 

मकै घरमा ग्राहकको घुइँचो लाग्छ। उनका ग्राहकले अन्यत्र भन्दा मीठो भएको पनि सुनाउँछन्। कतिपयले धन्यवाद पनि दिने गरेका छन्। ‘धेरैले मन पराइदिएका छन्, हौसला बढेको छ,’ विपिन भन्छन्। 

उनले मकै घर सञ्‍चालन गरेको धेरै भएको छैन, महिना दिनमात्रै हो। यति छोटो समयमै उनको व्यवसाय सोचेभन्दा राम्रो भएको छ। यसमा तीन जनालाई रोजगारी समेत दिएका छन्। 

अहिले मकैको सिजन पनि छ, त्यसैले मकै ल्याउन त्यति गाह्रो पनि छैन। काभ्रेको पाँचखालबाट आउने मकै कोटेश्वरबाट खरिद गरेर ल्याउँछन्। यति नै भन्ने छैन, कुनै दिन धेरै हुन्छ, कुनै दिन अलि कम। ‘व्यवसाय सुरू गरेको महिना दिनमात्रै भयो, तैपनि राम्रो कारोबार भइरहेको छ। एकदम खुशी छु,’ उनी भन्छन्।

मकैको मोमो । तस्वीरः रिवाज राई

उनले पनि सुरुआतमा त मकै पोल्ने, उसिन्ने र साँध्ने नै गर्न खोजेका थिए। त्यो गर्न अघि उनले एक पटक मकैका बारेमा अध्ययन गरे। उनले संसारमा सबैभन्दा धेरै क्षेत्रमा लगाइने र सबैभन्दा बढी खपत हुने बालीमा मकै भएको थाहा पाए। मकैमा प्रशस्त पोषण तत्व पाइने त भयो नै यसले मुटु, रक्तनली र क्यान्सरको रोग निवारणमा पनि सहयोग गर्ने थाहा पाए।

त्यस्तै, मकैमा पाइने भिटामिन बी, पोटासियम, फस्फोरस र फलामले स्वस्थ्य रहन सहयोग त गर्ने नै भयाे। जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने क्षमता पनि उनले मकैमा भेटे। जुन  ताजा कलिला मकैमा अझ बढी हुन्छ।

यति फाइदैफाइदा भएको मकैका किन नयाँ परिकार नबनाउने? उनी भन्छन, ‘मकै पोलेर मात्र खाँदा त यति मिठो हुन्छ भने यसको परिकार बनाउँदा त झनै मिठो होला भन्ने लाग्यो। मीठो पनि हुँदोरहेछ।’ 

मकै घर सुरुआत गर्न अघि उनी थोरै अलमलमा परेका थिए। उनको मनमा थियो, इन्जिनियरिङ पढेको छोरा मकै पोल्न लाग्यो भन्ने सुनेपछि आमाले के पो सोच्नु हुन्छ! 

हुन पनि उनकी आमा हरिमाया शर्मा पाल्पामै शिक्षिका छन्। उनका बुवाको सानैमा मृत्यु भयो। उनलाई आमाले नै हुर्काइन्। शिक्षिका हरिमायालाई छोराले राम्रोसँग पढोस भन्ने थियो। उनले पढे पनि। 

रामपुरमै विज्ञान विषय लिएर कक्षा १२ उत्तीर्ण गरे। त्यसपछि इन्जिनियर बन्ने सपना बोकेर २०६७ मा काठमाडौं छिरे। पढाइमा अब्बल थिए, पुल्चोक इन्जिनियरिङ कलेजबाट स्नातक गरे। लगत्तै स्नातकोत्तर पनि गरे। 

यसको सुरुआत गर्न अघि उनले आमालाई सुनाए। आमाका लागि सन्तानको खुशी भन्दा ठूलो के हुन्छ र! हरिमायाले सहजै सहमति जनाइन्। त्यसपछि के थियो, संगमचोकमा विपिनको ‘मकै घर’को बोर्ड लागिहाल्यो।

उनले आफ्नो पढाइअनुसारको काम पनि छोडेका छैनन्। साथीभाइसँगै मिलेर इन्जिनियरिङको काम पनि गर्छन्। ‘पेशा एकातिर छ, त्यो काम पनि गरिरहेको छु। मलाई मकैको व्यवसाय गर्ने निकै इच्छा थियो, त्यसैले यो व्यवसाय सुरू गरेको हुँ,’ विपिन भन्छन्। 

उनका केही साथीभाइ विदेश पनि गएका छन्। उनलाई पनि विदेश जान सल्लाह दिएका थिए। तर, उनले यतै अर्को व्यवसाय गर्ने सुरु कसे। मकै घरले उनलाई नयाँनयाँ ‘आइडिया’ पनि दिएको छ। उनी भन्छन्, ‘बिदेशी खाना र परिकाले बजार लिरहेका बेला हाम्रै बारीमा फल्ने अन्नपातबाट नयाँ परिकार बनाउन सकिदो रहेछ।’

अहिले त मकैको सिनज भयो। उनको योजना छ, किसानलाई बेमौसमी मकै फलाउन उत्साहित गर्ने। त्यसका लागि उनी आफ्नै मकै फर्म बनाउने सोचाइमा पनि छन्। 

अर्को उनलाई लागेको छ, अन्य अन्नबाट पनि नयाँ परिकार बनाउन सकिन्छ।

‘मकैको मात्रै होइन, कोदो, फापरलगायत अन्नपातबाट पनि नयाँ परिकार बनाउन सकिन्छ,’ विपिन भन्छन, ‘नयाँ परिकार बनाइ बेच्न सक्यो भने स्वास्थ्यका लागि पनि फाइदा हुने, व्यवसाय पनि चल्ने। त्यत्तिकै पकाए त चामल पनि कहाँ मिठो हुन्छ र! चामलकै कति परिकार बनाउँछौँ र पो मिठो हुन्छ।’ 

उनी मकैका पनि नयाँ परिकार पस्कने योजनामा छन्। अहिले साँधेको, पोलेको र उसिनको मकैका पाँच–पाँचभन्दा बढी परिकार तयार छन्। मह, चिजको स्वादमा पनि मकैका परिकार तयार छन्।

‘अझै नयाँ परिकार थप्छौं,’ विपिन आग्रह गर्छन्, ‘हाम्रै गाउँघरको मकैका नयाँ परिकार चाख्न मन छ भने मकै घरमा आउनु होला!’
 

Published Date: Tuesday, 9th July 15:50:17 PM