सोमबार, चैत्र २४, २०७६

‘बारमा तेस्रोपटक भेट भएपछि उसले मलाई आफ्नो घर विशालनगरमा निम्त्यायो । उसको घर शिरीषका रुखहरुले घेरेको क्याम्पभित्र रहेछ। हामी त्यहाँ पुग्दा मध्याह्न भएको थियो र ठीक त्यही याम जहिले यी रुखहरूले आफूलाई नीलै बनाएर फलाउँदछन् । घरको दायाँपट्टि ग्यारेज जस्तोमा एउटा पुरानो मोडेलको निजी मोटर राखिएको थियो । अलिकपर धेरै पञ्चरंगी फूलहरु बगल लगाएर फुलाइएका, बीचमा एक चोक्टा हरियो चौर नीला शिरीषका फूलहरुले झन्डै छोपिएको...।’

पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’का सुरुका पंक्ति हुन् यी, जसले हामीलाई त्यस्तो कल्पनाको घरमा पुर्‍याउँछ, जुन घर फूलैफूलले घेरिएको होस् । हो, यस्तै आभास दिन्छ– लक्ष्मी कपालीको घरले।

काठमाडौंको मैतिदेवी मन्दिरदेखि पश्चिमतिर १० मिटर जति अघि बढेपछि एउटा गुलाबी रंगको सटर छ, त्यसको माथिपट्टि लेखिएको छ– कपाली नर्सरी । ८७ वर्षीया लक्ष्मीले आजभन्दा ५२ वर्षअघि आफ्नो यस घरमा नर्सरी राखेकी थिइन्, जुन अहिलेसम्म चलिरहेको छ।

तीनवटा घरको आँगनदेखि बरन्डाभरि गमलामा फूलैफूल छन् । पर्खालमा पनि माटो राखेर फूलका बिरुवा रोपिएका छन् । पहिले उनले यहाँबाट थुप्रै फूलका बिरुवा बेच्थिन् । अहिले पनि बेच्छिन्, तर पहिलेजस्तो छैन । किनभने पहिले नर्सरी भएको ठाउँमा अहिले घर बनेका छन् । पहिले यहाँ एउटा मात्र घर थियो पछि दुईवटा घर थपिए।

यो नर्सरीसँग जोडिएका थुप्रै सम्झना छन्, लक्ष्मीसँग।

‘फूल खोज्दै आइन् राजकुमारी’

सधैँझैँ त्यो दिन पनि लक्ष्मी आफ्नो नर्सरीको गोडमेलमा व्यस्त थिइन् । उनको पसल अगाडि एउटा गाडी रोकियो । सुरुमा उनले खासै वास्ता गरिनन् । गाडीबाट टिसर्ट र पाइन्ट लगाएकी एक युवती सरासर लक्ष्मीको घरको बरन्डामा गइन् र घरमा भएको कुकुरलाई सुमसुम्याउन थालिन् ।लक्ष्मीले सोचिन्, कोही फूलको ग्राहक होलिन् । उनले सोचेकै थिइनन् कि ती फूल ग्राहक तत्कालीन राजकुमारी श्रुति राज्यलक्ष्मी शाह थिइन्।

श्रुतिका सवारी चालकले त्यहाँ नर्सरी रहेको थाहा पाएका रहेछन् । फूल खोज्ने क्रममा श्रुतिलाई सवारी चालकले त्यहाँ पुर्‍याएका थिए।

वरपरबाट देख्नेहरुले खासखुस गर्दै मधुरो स्वरमा ‘श्रुति सरकार’ भनेको सुनेपछि उनी आत्तिइन्, आफ्नो घरभित्र राजकुमारी ? उनले हत्तपत्त ‘सरकार’ भन्दै ढोग टक्र्याइन् । श्रुतिले भनिन्, ‘छोरी भन्नुस् न आमा ।’ राजकुमारीले छोरी भन्नुस् भनेपछि लक्ष्मीको आँखा रसाए छन् । अझै पनि त्यो पल बिर्सन नसकेकी उनी आँखाभरि आँसु पार्दै भन्छिन्, ‘मैले सरकार भनेर ढोग टक्र्याउँदा श्रुति सरकारले छोरी भन्नुस् न आमा भन्नुभएको थियो, त्यो मलाई हिजोजस्तै लाग्छ।’ त्यतिबेला श्रुतिले फूल लिएर गएको उनी बताउँछिन्।

लक्ष्मी इन्द्रजात्राको दिन इन्द्रचोकमा जन्मिएकी हुन् । इन्द्रचोकमा पहिलेदेखि नै धेरै घरहरु भएको उनी बताउँछिन् । तर, भीड भने हुँदैनथ्यो । बाटोमा हिँड्दा एक मान्छेले अर्को मान्छेलाई छुँदैनथ्यो । धेरै आनन्द थियो । बाल्यकालमा तरकारीहरू लिन घरनजिकै पसलहरूमा उनी जान्थिन् । मच्छिन्द्रबहालतिर पनि अहिलेजस्तो मान्छेको भीड नभएको उनी बताउँछिन्।

उनको १६ वर्षको उमेरमा जुजुराम कपालीसँग विवाह भयो । उनले विवाहअघि जुजुरामलाई एकचोटि पनि देखेकी थिइनन् । किनभने त्यो बेला विवाहअघि दुलाहादुलहीलाई भेटाउने चलन थिएन । उनको घर–परिवारले नै कुरा गरेका थिए । विवाहपछि उनी पशुपति परिसरमा रहेकोश्रीमान्को घरमा बस्न थालिन् । पशुपति परिसरलाई तत्कालीन समय देउपाटन भन्ने गरेको लक्ष्मी बताउँछिन्।

सुरुमा इन्द्रचोकबाट देउपाटनजाँदा उनलाई नरमाइलो लागेको थियो । उतिबेला देउपाटनमा पहिले घरहरू धेरै थिएनन् ।उनी भन्छिन्, ‘देउपाटनबाट आर्यघाटसम्म पानी लिन जान्थेँ । गल्लीहरू मात्र थिए, घरहरू पुराना र सानो थिए । धेरैजसो आँखीझ्याल भएको घर हुन्थ्यो । जताततै बाँदरहरु आउँथे।’

उनलाई आफ्नो जन्मघर छाडेर जानुको पीडा त छँदै थियो, त्यो भन्दा बढी उनलाई पढ्न नपाएको कुराले पिरोलेको थियो । विवाह हुँदा उनी मात्र ३ कक्षामा पढ्दै थिइन् । उनलाई पढ्ने मन हुँदाहुँदै विवाह पछिको व्यावहारिकताले पढ्न दिएन । उतिबेला छोरीले पढ्नुलाई त्यति महत्त्व दिइँदैनथ्यो । लक्ष्मीको घर–परिवारलाई भने छोरीकोपढाइप्रति कुनै आपत्ति थिएन । सायद एकलौटी छोरी भएर पनि होला, उनलाई बाबुआमाले सुखसयलमै हुर्काएका थिए । त्यतिबेल छोरीहरूलाई ६ बजेपछि घरबाहिर जान भने अनुमति थिएन । त्यसमाथि उनका बुबा राष्ट्रिय पञ्चायतको सदस्य पनि थिए, बुवा स्वभावमा अलि कडा भएको कपाली बताउँछिन्।

१२ वर्षको उमेरमा मखन टोलमा रहेको एकतले स्कुलमा पढ्न गएको उनी सम्झिन्छिन्, तर स्कुलको नाम भने उनले सम्झन सकिनन् । बाल्यकालकी आफ्नी सबैभन्दा मिल्ने साथी गणेशकुमारी श्रेष्ठसँगै स्कुल पढ्न गएकी थिइन् ।आफूहरु स्कुल जाँदा केटाहरुले ‘घरधन्दा गर्ने केटीहरु पनि स्कुल पढ्न आएका छन्’ भनी जिस्क्याएको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘स्कुल जाँदा सधैँकेटाहरूले भन्थे– श्रीमान्लाई भात पका है भनेर स्कुल जाने केटीहरू आए।’

कक्षा २ सम्म मखनकै स्कुलमा पढेकी उनी कक्षा ३ मा पुगेपछि भने काठमाडौँको दरबार हाइस्कुलमा पढ्न थालिन् ।आठ महिना दरबार हाइस्कुलमा पढेकी उनी त्यहाँ थुप्रै कोठा र त्यो कोठाहरूमा भरिभराउ रहेका छात्र र छात्राहरू सम्झिन्छिन्। तर कक्षा ३ को पढाइ सकिँदानसकिँदैउनकोविवाह भयो र पढाइ रोकियो। उनी घरकै कामले व्यस्त हुन थालिन्।

‘ससुरालाई नढोग्दा दिनभरि भोकै परेँ’

उनको विवाह भएको समयतिर परिवारमा आफूभन्दा ठूलोलाई नढोगी खाना खान हुँदैन भन्ने मान्यता थियो । एक दिन लक्ष्मीका ससुरा कामको सिलसिलामा बिहानै बाहिर निस्किए ।

बिहान निस्कने बेला कारणवश उनले ससुरालाई ढोग्न पाइनन् । त्यो दिन दिनभरि केही नखाई बस्नुपरेको उनी सुनाउँछिन् । भन्छिन्, ‘बिहान ढोग्न पाइएन, ५ बजेसम्म भोकै बस्नुप¥यो । आमाजुले पनि खाउ भन्नुभएन।’

त्यो चिहानसँगैको घर

विवाहपछि देउपाटनमा बस्दै आएकी उनी २०१६ सालतिर मैतिदेवीमा घर बनाएर बस्न थालिन् । बुबाले दिएको जग्गा हेर्न आउँदा मन नपरेको उनी बताउँछिन्। पहिलेदेखिनै बस्ती भएको ठाउँमा बस्दै आएकी उनलाई मैतीदेवी सुनसान लाग्यो।

सुरुमा उनले मैतीदेवीमा घर बनाउन मानेकी थिइनन्, तर बुवाको करलाई टार्न सकिनन् । जताततै खुला चौर र खेतहरू भएकाले उनलाई त्यहाँ घर बनाउन मन भएन। तर, मैतीदेवी मन्दिरमा देखिने मानिसको आवतजावतले उनले आफूलाई सम्हालिन् । उनी भन्छिन्, ‘पहिला यता बस्नै मन लाग्दैनथ्यो, एक्लै बस्न डर लाग्थ्यो, अहिले यता घनाबस्ती भइसक्यो छोडेर जान मन लाग्दैन।’

जग्गा हेर्न आएका बेलायहाँदेखि पारिपट्टिको चिहानमा लासपोलिरहेको देख्दा उनी डराएकी थिइन् । उनी भन्छिन्, ‘यहाँ बस्न थालेपछि पनि निकै समय रमाइलो लागेन, मान्छे पोलेका बेला निकै गन्ध आउँथ्यो । त्यो दिनमा खाना नै खान्नथेँ।’

‘फूल भयो भने रमाइलो लाग्छ, भोक पनि लाग्दैन’

त्यही चिहानछेउको घरलाईलक्ष्मीका दम्पतीले फूलैफूलले सजाउँदै गए । यसो हुनुको कथा लामो छ । बिहे हुँदा लक्ष्मीका श्रीमान् जुजुराम १८ वर्ष (२००५ सालमा) का थिए ।जतिबेला उनी काठमाडौंको दरबार हाइस्कुलमा शिक्षक थिए । उनले जियोग्राफी विषय बढाउनुका साथै घरमा अमेरिका लगायतका देशबाट आउने विदेशीलाई नेपाली भाषाको पनि शिक्षा दिन्थे।

स्कुलमा जुजुरामको मासिक तलब ४० रुपैयाँ थियो । पछिबढेर ८०रुपैयाँ पुग्यो । जुजुरामको सोख भने अचम्मको, फूलप्रेमी उनलेआधा तलब फूलमै खर्च गर्थे ।सुरुमा श्रीमानलाई फूलमा पैसा खर्च नगर भनेर लक्ष्मी हैरान भइन् । दुई जनाको परिवार चार भइसक्दा पनि जुजुरामले फूल ल्याउन छाडेनन् । तर पछि लक्ष्मी नै फूलको लतमा परिन्।

जुजुरामले संग्रह गरेका फूलहरूले घरमा बस्न तथा नेपाली भाषा सिक्न आउने विदेशीलाई निकै मोहित बनाउँथ्यो । ती विदेशीले जुजुरामलाई जहिले पनि नर्सरी सञ्चालन गर्न सुझाव दिन्थे । लक्ष्मीलाई भने नर्सरी भयो भने घर टुँडिखेल जस्तै हुन्छ भन्ने लाग्थ्यो। तर, उनीमा पनि बिस्तारै फूलप्रति रुचि बढ्दै गयो, अन्ततः उनीहरुले नर्सरी खोले, ०२४ सालमा।

सुरुमा श्रीमान्ले संग्रह गरेका फूलहरू मात्र नभएर अमेरिकाबाट उपहार स्वरूप आएका गुणकेशरी, असर्फी, प्यान्जी लगायत फूलका बिरुवालाई उनले रोप्न थालिन् । फूलका बिरुवा बिक्न थालेपछि भने लक्ष्मीलाई सन्तुष्टि मिल्दै गयो । उनी भन्छिन्, ‘पहिलोपटक सर्वप्रथम सयपत्री फूलको एक थुंगो बेच्दा एक रुपैयाँ आएको थियो, त्यो निकै ठूलो लागेको थियो । पछिपछि यसैलाई पेसा बनाएँ।’

४२ वर्षको उमेरमा लक्ष्मीका पति जुजुराम निधन भयो, त्यसपछि उनले त्यही सानो नर्सरीलाई आफ्नो जिउने आधार बनाइन् । उनी भन्छिन्, ‘एक छोरी र तीन छोरालाई यही फूल बेचेरै हुर्काएँ, पढाएँ।’

अविस्मणीय सम्मान पत्र

सम्भवतः मैतीदेवीकै पहिलो नर्सरीको रूपमा स्थापित कपाली नर्सरीका कारण लक्ष्मीले हालसम्म थुप्रै सम्मान एवं कदरपत्र पाइसकेकी छिन् । तर, तत्कालीन रानी ऐश्वर्या राज्यलक्ष्मी शाहले दिएको सम्मानपत्र भने उनको अविष्मरणीय सम्मानपत्र मध्ये एक हो।

अहिलेसम्म पनि उनी महारानीबाट सम्मान पत्र ग्रहण गरेको कुरामा गर्व गर्छिन् । तत्कालीन समयमा पनि महारानीबाट सम्मान पत्र ग्रहण गर्दा टोलैभरि उनको निकै चर्चा भएको उनी सुनाउँछिन्। भन्छिन्, ‘म बाहिर हिँड्दा पनि सबैले हेर्न आउँथ्यो भन्थे महारानीबाट सम्मानपत्र पाएको मान्छे आयो।’

‘पहिलो महिनावारीको सुरुवाल आमाले राख्दा’

पहिलोपटक महिनावारी हुँदा उनी घर (माइती)मा खेलिरहेको थिइन् । उनलाई केही अप्ठेरो महसुस भयो, तरमहिनावारीबारे उनलाई जानकारी थिएन।

उनले लगाएको सुरुवालभरि रगत नै रगत परिसकेको थियो । खुब आत्तिँदैे उनले आमालाई सुनाइन्।आमाले ‘यस्तो सबै केटीहरूलाई हुन्छ’ भनेपछि ढुक्क भइन्।

त्यो समयमा महिनावारी बार्ने विधि अहिलेको भन्दा भिन्न थियो । नेवार परिवारमा हुर्केकी उनी भन्छिन्, ‘महिनावारी भएको समयमा केटाहरूलाई छुन पनि हुँदैनथ्यो।’

तत्कालको समाजमा पहिलो महिनावारी भएको समयमा लगाएको कपडामा रगत परेको निकै शुद्ध मानिने रहेछ । त्यसैकारण उनको सुरुवाललाई पनि आमाले संगालेर राखेको उनी बताउँछिन् । तर, पछि उनले बिर्सिइन्, अहिले त्यो सुरुवाल कहाँ छ भन्ने उनलाई थाह छैन।

५० रुपैयाँ तोला सुन

महिवारी हुनुअघि नै ११ वर्षको उमेरमा नेवारी संस्कृति अनुसार उनलाई ‘गुफा’ राखियो । गुफा बसेको १२ औँ दिनमा पूजा गरी बेहुली जस्तै बनाएर उनलाई त्यो कोठाबाट बाहिर निकालियो । निकाल्नेबेला उनको मुख छोपिएको थियो । मुख खोल्दा उनलाईबाटामा पानी हालेर सूर्यको प्रतिविम्ब देखाइएको थियो, विधिपूर्वक पूजा गरेर।

गुफाबाट निकाल्ने बेला आफूलाई बेहुलीजस्तै बनाएर ‘दोपट्टाको साडी’का साथै यार्लिङ, ढुंग्री, टप, औँठी, कण्ठी लगायत गहना लगाइदिएको उनी बताउँछिन् । त्यो बेला सुनैसुनले सजिएकी उनी भन्छिन्, ‘त्यतिबेला १ तोला सुनको ५० रुपैयाँमात्र पर्दथ्यो।’

गुफा बस्दा भने रमाइलो भएको उनी बताउँछिन् । उनीसँग उनका केटी साथीहरू आएर कोठामा खेलेका थिए । त्यो बेला ‘एकंधाली म्हित्यौ’ (पाँचवटा गट्टाहरूलाई पालैसँग उठाउने), आँखा छोपी खेलेको, नाचेको, गीत गाएर रमाइलो गरेको कुराहरू सम्झेर अझै पनि मुस्कुराउँछिन्।

 

(‘उहिलेको नेपाल’ स्तम्भ मार्फत हामीले ८० बर्ष उमेरको हाराहारी पुगेका हजुरबा र हजुरआमाबाट नेपाली समाजको कथाहरु खोतल्ने प्रयाश गरेका छौ । तपाईहरुसँग पनि आफ्नो जीवनका कथाहरु भन्न सक्ने  हजुरबा अथवा हजुरआमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामीले प्रत्येक हप्ता ‘उहिलेको नेपाल’ स्तम्भ प्रकाशित गर्नेछौ।  आज उहिलेकाे  काठमाडौं –सम्पादक)

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेको काठमाडौं १: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

उहिलेको काठमाडौं २: ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

उहिलेकाे नेपाल - ३ : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

उहिलेकाे नेपाल - ४ :‘एसएलसी दिन १३ दिन हिँडेर काठमाडौं आएँ’

उहिलेकाे नेपाल - ५ : युवराज वीरेन्द्रलाई भनेँ, ‘हजुरले फेरि भात खुवाएजस्तो गर्नुपर्‍यो’

Published Date: Sunday, 1st March 15:26:41 PM