मंगलबार, साउन २७, २०७७

‘ब्रिटिस आर्मीमा झन्डै ३० वर्ष बिताएँ । केही वर्ष राजनीति र समाजसेवा गरेँ । जमानामा ५ फिट ११ इन्च अग्लो थिएँ, अहिले कुप्रिएर ५ फिट नौ इन्च भएको छु।’ 

८३ वर्षीय मेजर दीपकबहादुर गुरुङका यी शब्दमा विश्वविख्यात कवि डब्लु बी एट्सको कविता ‘द लेमेन्टेसन अफ दी ओल्ड पेन्सनर’को भाव आएको भान हुन्छ।

डब्लु बी एट्सले कवितामा अवकाशप्राप्त वृद्धको पीडा विम्बात्मक शैलीमा व्यक्त गरेका छन् । तर, मेजर गुरुङसँग पीडाभन्दा बढी संघर्षका कथा छन्, उनी त्यसमा गर्व गर्छन्, ती पलहरु सुनाउन चाहन्छन् । 

गत बिहीबार मेजर गुरुङ काठमाडौं पुतलीसडकस्थित आफ्नै घरमा आराम गर्दै थिए । गत वर्षदेखि उनी मिर्गौला रोगबाट पीडित छन्, नियमित डायलासिस गर्नुपर्छ । आफ्ना पुराना दिन सम्झन, त्यसबारे बोल्न भने उनले आफू बिरामी भएको पनि बिर्सन्छन् । मेजर गुरुङले अवकाशपछि नेपाली कांग्रेसबाट राजनीति गरे, राष्ट्रिय सभा सदस्य समेत बने । यहाँ उनले आफ्नो बाल्यकाल, जवानीको संघर्ष, लाहुरे जीवन र तत्कालीन समय सम्झने प्रयास गरेका छन्। 

लाहुरे बाबुका छोरा 

दीपक कास्कीको ताङतिङस्थित कोदोबारीमा जन्मिएका हुन् । उनकी आमा माइती गुरुङले असारको झरीमा कोदो रोप्दै थिइन्, त्यहीँ उनलाई व्यथा लाग्यो र उनले दीपकलाई जन्म दिइन् । आफू जन्मेको कथा उनले बाल्यकालमै आमाको मुखबाट सुनेका थिए, उनलाई अनौठो लागेको थियो ।

उनका दुइटी आमा थिए । उनी कान्छीपट्टिका एक्ला छोरा हुन् । जेठी आमातर्फका एक दाइ र एक दिदी छन्।

दीपकको जीवनमा जति परिवर्तन भयो, त्यसमा ‘लाहुरे संस्कृति’को प्रभाव र कथा छ । उनका बाबु काशीराम गुरुङ दोस्रो विश्वयुद्ध चल्नु ठीकअघि बेलायती सेनामा भर्ती भएका थिए । काशीराम दोस्रो विश्वयुद्ध पनि लडे । युद्धपछि काशीरामको सरुवा देहरादुनमा भयो । त्यसपछि उनले आफ्ना दुई छोरा टेकशाही गुरुङ र दीपकलाई पढ्नका लागि देहरादुन लगे।
 

मेजर दीपकबहादुर गुरुङ

दीपक आठ वर्षको उमेरमा देहरादुन पुगे । त्यतिबेला उनले भोटो र कछाड लगाएर देहरादुनको यात्रा गरेका थिए । उनको भोटोको तुनामा नेपाली कागजमा कखरा र बाह्रखरी झुन्ड्याइएको थियो। देहरादुन पुग्न घरी रेल, घरी पैदल गर्नुपरेको दीपकलाई कताकति सम्झना छ । उनी भन्छन्, ‘घरी बुवाको काँधमा चढ्दै, घरी पैदल हिँड्दै देहरादुन पुग्दासम्म मैले कखरा कण्ठ पारेको थिएँ।’

देहरादुनमा उनी ‘गोर्खा चिल्डे«न स्कुल’मा ५ कक्षासम्म पढे । त्यहाँ उनका साथी थिए, हर्क गुरुङ, जोपछि भूगर्भविद्का रुपमा देशमै नामी बने । हर्क पनि लाहुरे परिवारका हुन् । दीपक भन्छन्, ‘त्यो हर्केले स्कुल पढ्दा पनि भूगर्भकै कुरा गथ्र्यो ।’ पढाइको स्तर कम भएकाले दीपकका बुवाले कमिसन (तलब बढुवा) पाएनन् । त्यसपछि उनी विरक्तिएर पल्टनमा नाम काटेर नेपाल फर्किए । यसरी दीपकको देहरादुन अध्ययन ५ कक्षाभन्दा माथि पुगेन । त्यसपछि उनी गाउँ फर्के।

गोठालो जीवन

उनी कास्की, ताङतिङको वनमा गाई चराउँदै थिए । उनको घरमा गाई–गोरु, बाच्छाबाच्छी गरेर ५५ वटा थिए । त्यसताका उनको गाउँतिर गाई धेरै हुनेकै इज्जत पनि धेरै हुन्थ्यो । यहीबीच गाउँमा हल्ला आयो– पोखराको भद्रकाली मिडिल स्कुलमा भर्ना खुलेको छ । गाई चराउँदै गरेका दीपकमा रहर जाग्यो– पढ्नैपर्छ, नपढी हुँदैन। 

देहरादुनमा ५ कक्षासम्म पढेका उनलाई संसार अलि फराकिलो छ भन्ने बोध भइसकेको थियो । नजिकै पोखरामा स्कुल खुलेको छ भन्ने खबरले उनी उत्साहित भए । यो २००९ सालको कुरा हो, प्रजातन्त्रपछि देशमा भर्खरभर्खर स्कुल खुल्न थालेका थिए।

त्यतिबेला उनको गाउँमा चलन थियो, कतै जानुअघि घरमा नुनको व्यवस्था गर्नुपर्ने । उनी पाँच पाथी चामल बोकेर नुन साट्न हिँडे । उतिबेला ताङतिङतिरका मानिसहरु मनाङ भोट (तिब्बतको सीमा) सम्म हिँडेर नुन साट्थे । त्यहाँ पुग्न आठ–दश दिन लाग्थ्यो । नुन साटेर आएपछि कुराउनी, चामल, भटमास बोकेर उनी पोखरा हिँडे । उनीसँग साथी पनि थिए, उद्वीर गुरुङ। 

पोखरा आएर उनी भद्रकाली मिडिल स्कुलमा कक्षा ६ मा भर्ना भए । तर, स्कुल भर्ना भएको केही महिनामै उक्त स्कुल बन्द भयो । दीपक भन्छन्, ‘शिक्षकहरुलाई पैसा दिन नसकेपछि स्कुलै बन्द भयो । त्यसपछि नदीपुरको नेसनल हाइस्कुलमा एकैपटक कक्षा ७ मा भर्ना भएँ ।’
त्यो बेला नेपालमा न्यून संख्यामा स्कुल थिए, त्यो पनि सुगम ठाउँहरुमा । दीपकका अनुसार, त्यतिबेला अधिकांश शिक्षकहरु भारतको देहरादुन, बम्बई र दार्जिलिङबाट झिकाइन्थ्यो। 

देशमै शिक्षाको ज्योति मधुरो भए पनि दीपकले शिक्षामा अवसर पाइरहे, यसको कथा लामो छ, जसमा उनको इख र इच्छाको पनि भूमिका देखिन्छ । हाइस्कुलका लागि विद्यार्थी अभाव भएपछि उनलाई ७ कक्षाबाट एकैपटक १० कक्षामा भर्ना लिइयो । त्यसो त उनी पढाइमा तेज थिए  ।

१३ दिन हिँडेर काठमाडौं

एसएलसीको परीक्षा केन्द्र काठमाडौंको दरबार हाइस्कुलमा पर्‍यो । २०११ सालमा एसएलसीको परीक्षा दिन उनी काठमाडौं हिँडे । उकाली–आरोली, गाउँघर हुँदै उनी १३ दिनको दिन बालाजु आइपुगे र नेपाल खाल्डोलाई नियाले । ‘काठमाडौं त बडेमानको फाँट जस्तो देखिन्थ्यो,’ उनी त्यो दिन सम्झन्छन्, ‘अलिअलि असनतिर घर थिए, सबैतिर खेतैखेत देखिन्थ्यो, घरहरु निकै पातला थिए।’

त्यो वर्ष कास्कीबाट पाँच जनाले एसएलसी दिएका थिए । दीपक दोस्रो भए । उनको जीवनका यादगार सुखका दिनमध्ये एउटा यही हो, जुन दिन उनले एसएलसी पास भएको खबर सुनेका थिए । एसएलसी उत्तीर्ण भएपछि उनको नाम रेडियो नेपालले फुकेको थियो । त्यसपछि त उनी गाउँठाउँमा मात्रै होइन, झन्डैझन्डै कास्की जिल्लामै चिनिन थाले– पोखराबाट एसएलसी पास हुने दीपकबहादुर गुरुङ भनेर । पोखरामा त उनलाई माला लगाएर सम्मान गरिएको थियो । उनी त्यो दिन सम्झन्छन्, ‘त्यहाँ मलाई धेरैले नमस्कार गरेका थिए । म नमस्कार फर्काउँदैमा हैरान भएको थिएँ।’
 

मेजर दीपकबहादुर गुरुङ

एसएलसीपछि उनी पोखराको भद्रकाली मिडिल स्कुलमा शिक्षक बने, पहिले बन्द भएको यो स्कुल पछि सञ्चालनमा आएको थियो । यता आफ्ना साथी हर्क गुरुङ आईएको परीक्षा दिने तयारी जुटेको थाहा पाए, उनलाई इष्र्या लाग्यो । त्यसपछि उनी हवाईजहाजमा सिमरासम्म पुगे, त्यहाँबाट रेल चढेर बनारस पुगेर डिएभी कलेजमा आईएको फर्म भरे । नेपालको आफ्नै विश्वविद्यालय नखुल्दा (२०१६ साल) सम्म काठमाडौंको त्रि–चन्द्र क्याम्पसको सम्बन्धन भारतको पटना विश्वविद्यालयसँग थियो । त्यसैले नेपाली विद्यार्थी भारत गएर भर्ना हुन्थे । यसरी दीपकले २०१३ सालमा आईए पास गरे। 

बनारस जाँदा साथमा भएको पैसा सकियो । काठमाडौं, ठमेलको होस्टेलमा बसेका उनीसँग पैसा भएन र त्यस वर्षको दशैंका बेला उनी भोकै पर्ने स्थिति आयो । उनी भन्छन्, ‘भोक सहन नसकी आफूसँग भएका सबै किताब पोको पारेर भोटाहिटी पुस्कालयमा बेच्न हिँडे । अहो, आफूले पढेका पुस्तक कसरी बेचौँ ! मनै मानेन, नबेची फर्कें।’ 

उनीसँग ६ रुपैयाँ बचेको थियो । त्यो बेला ठमेलको एउटा भोजनालयमा एक मोहोर (५० पैसा) तिरेर एक कप चिया र तीनवटा सुक्खा रोटी आउँथ्यो । दिनको दुईपटक त्यहीँ खाएर उनले ६ दिन जति गुजारे । योबीचमा उनलाई साथी सूर्यरत्न शाक्यले भने, ‘फिल्म हेर्न जाऊँ ।’ त्यसताका विशाल बजारमा जनसेवा सिनेमा हल थियो । दिलीप कुमारको ‘ए जिन्दगी के मेले’ सिनेमा चलेको थियो । साथीले कर गरेपछि उनी फिल्म हेर्न पुगे । भोको पेटले के फिल्म हेर्नू ! दीपक त्यो दिन समझन्छन्, ‘मेरो पेटमा मुसा दौडिएको थियो, फिल्म हेरेको ध्यानै पुगेन । हलको बाल्कोनीको दायाँ–बायाँ राणाका सुन्दर छोरीहरु बसेका थिए, त्यही मात्रै सम्झना छ।’

भिडियो

सिनेमा सकेर बाहिर निस्कँदा उनले पोखराबाट काठमाडौं जहाज आएको थाहा पाए । जसबाट उनलाई खर्चपानी आउँथ्यो । मित्रलाल सापकोटाले उनको हातमा केही भारतीय रुपैयाँ थमाइदिए । उनी एकै सासमा न्युरोड पुगेर पैसा साटे । अनि, होटलमा गएर पेटभरि खाना खाए । उनले पेटभरि नखाएको थुप्रै दिन भएको थियो। 

भोको पेटमा फिल्म हेरेर उनलाई पुगेको थिएन, त्यसैले उनी खाना खानेबित्तिकै पुनः सोही फिल्म हेर्न हलमा पुगे।  

‘एक टिन घिउ घुस दिएर लाहुरे भएँ’

२०१७ सालमा उनी बेलायती सेनामा भर्ती भए।

त्यतिबेला गाउँ–ठाउँका युवालाई बेलायती सेनामा भर्ती गर्न ठाउँ–ठाउँमा गल्ला (बेलायती सेनामा रहेका मानिस, जसले गाउँठाउँबाट भर्तीका लागि युवाहरु छान्थे) हरु आउँथे । गल्लाले केही नियममा रहेर छानेपछि युवाहरु बेलायती सेनामा भर्ती हुन्थे । विशेषतः नेपाल–अंग्रेज युद्ध (सन् १८१४–१८१६) पछि बेलायतले नेपाली युवालाई भर्ती गराउन थालेको थियो । युद्धमा ज्यानको मायामा मारेर लड्ने नेपाली युवा विशेषतः मगर, गुरुङ, राई लिम्बु आदिलाई भर्ती गर्न साम्राज्यवादी बेलायत सरकार लालायित थियो । परिणामतः उतिबेला गल्लाहरु ठाउँठाउँमा आउँथे। 
 

यसै क्रममा गल्ला पोखरामा आए । दीपक पनि गल्लासँग देखिन पुगे । त्यतिबेला २९ जना मात्रै छनोट गर्ने कुरा रहेछ ।दीपक छनोटमा परेनन्।

एकजना चिनजानका दाइ (उत्तर सिंह)ले दीपकलाई सोधे, ‘के गर्न आएको भाइ ?’ उनले भर्ती हुन आएको तर छनोटमा नपरेको बताए । ती दाइले उनलाई भरोसा दिँदै भने, ‘मैले दुई टिन घिउ ल्याएको छु । एक टिन घुस दिएपछि कुरा मिल्छ । मेरो माइलो छोरालाई एक टिन भयो, तँलाई एक टिन।’

 त्यसपछि २४ वर्षका दीपकले उमेर ढाँटेर १८ वर्ष भने । भर्ती हुन सामान्यतः शरीर ठीकठाक र स्वस्थ हुनुपथ्र्यो । गाउँमा घाँस काट्दा काटिएर दीपकको एक हातको कान्छी औँला अलि बांगिएको थियो । उनी त्यो औँला लुकाएर लाइनमा बसे । सायद एक टिन घिउले काम ग¥यो, उनी अन्ततः ब्रिटिस आर्मीमा भर्ती हुन सफल भए। 

बेलायती महारानीको सुरक्षामा खटिँदा

भर्ती भएपछि उनी पोखराबाट तौलिहवा पुगे । त्यसपछि कलकत्ता, सिंगापुर, मलेसियाका केन्द्रमा पुगेर तालिम लिए । नौ महिना सैन्य तालिम लिएपछि उनले टाइपिङ पनि सिके । मलायाको कुनाउबाट उनको जागिर सुरु भयो।

 उनले सेनाको जागिर सुरु गरेकै वर्ष डिसेम्बर १९६२ मा ब्रुनाई विद्रोह भयो । त्यतिबेला दीपक युद्ध भूमिमा खटिनु त प¥यो, तर हतियार चलाउनुपरेन । उनको काम थियो– लडाकु सिपाहीलाई बन्दोबस्तीका सामान गोलीगठ्ठा, बन्दुक, रासनपानी व्यवस्था गर्ने । त्यसपछि उनले अर्को काम पाए– ब्रिटिस सेनाका अफिसरलाई नेपाली भाषा सिकाउने। 

गोर्खा अफिसरको सबैभन्दा ठूलो तक्मा भिसी (भिक्टोरिया क्रस) पाउने दुई गार्खाली महारानी एलिजाबेथको सुरक्षामा खटिन पाउँथे, कतिबेला त उनीहरु महारानीको दायाँ–बायाँ बस्नुपथ्र्यो । ब्रिटिस अफिसरहरुलाई नेपाली भाषा सिकाएका उनी पढाइलेखाइमा दख्खल भएकै कारण महारानीको सान भएर बस्ने मौका पाए।

महारानीले उनलाई एकपटक भनेकी थिइन्, ‘गोर्खा अफिसर इज द भेरी ब्रेभ ।’ यो वाक्य दीपकको कानमा अझैसम्म ताजै गुञ्जन्छ । उनी उही लवजमा भन्छन्, ‘गोर्खा अफिसर इज द भेरी ब्रेभ।’

 क्याप्टेन रामबहादुर भिसीलाई अंग्रेजी राम्ररी नआउने भएपछि उनको सहयोगी भई दीपकले लन्डनको बकिङघम दरबारमा डेढ वर्ष काम गरे ।  यो अवधिमा उनले ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचर लगायत धेरै उच्चपदस्थ मन्त्री तथा सांसदहरुसित परिचित हुने मौका पाए।  

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेको काठमाडौं १: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

उहिलेको काठमाडौं २: ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

उहिलेकाे नेपाल - ३ : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

Published Date: Sunday, 9th February 16:52:44 PM