सोमबार, असार २२, २०७७

धनकुमारीको बिहे–कथा स्वस्थानीको जस्तै लाग्छ, तर अलिकति फरक छ । स्वस्थानीमा सात वर्षीया गोमा ब्राह्मणीको ७० वर्षीय शिव ब्राह्मणसँग विवाह भएको कथा पाइन्छ । धनकुमारीको भने आठ वर्षको उमेरमा १२ वर्षीय शिवराम थापासँग बिहे भएको थियो।

 ‘मेरो बिहेको कुरा ?’ बिहेको कुरा सोधेपछि ७४ वर्षीया धनकुमारी थापा थोरै लजाइन् । लजाउँदा यस्तो लाग्थ्यो, उनी उही आठ वर्षीया धनकुमारी हुन्, जसलाई त्यो समाजले विवाह, यौन र माया–प्रेमको कुरामा लजाउन सिकाएको थियो।

कति अनौठो हो, उनको बिहेको प्रसंग।

 उनी आठ वर्षकी थिइन्, वल्लो घर पल्लोघर गरेर खेल्थिन् । जीवनमा कुनै खास ठूला सपना थिएनन्, सपना देखाउने समाज पनि थिएन।

एकपटक उनको घरमा चारजना मानिस आए । नयाँ मान्छे देखेपछि धनकुमारी अलि नजिक गइन् । ती मानिसहरूले धनकुमारीका बुवालाई भने, ‘गाईको बाच्छी पाइन्छ कि भनेर आएको !’ 

धनकुमारी आफू निर्दोष हुँदोको त्यो पल सम्झन्छिन्, ‘गाईको बाच्छी भन्ने सुन्नेबित्तिकै म रोएँ । मलाई लाग्यो– उनीहरूले मेरो घरको गाई लैजाने भए।’

उनी गोठको बाच्छीलाई लैजाने भए भनेर रोएकी थिइन् । उनलाई थाहा थिएन, बाच्छीलाई जस्तै गरी उनैलाई लिन उनीहरू आएका थिए । अर्थात् उनको बिहे हुँदै थियो । 
उनकी आमाले भनिन्, ‘बाच्छीलाई होइन छोरी, उहाँहरू तिमीलाई लिन आएका हुन्।’

उनी गोठको बाच्छीलाई लैजाने भए भनेर रोएकी थिइन् । उनलाई थाहा थिएन, बाच्छीलाई जस्तै गरी उनैलाई लिन उनीहरू आएका थिए । अर्थात् उनको बिहे हुँदै थियो । गाईको मायामा रोएकी धनकुमारी वास्तविकता थाहा पाएपछि आफ्नै मायामा रुन थालिन् । आफ्नो मायामा रुनुजस्तो पीडा अरु के हुन्छ र?

 अब भने धनकुमारी छाँगाबाट खसेजस्तै भइन्, उनले सोचेकै थिइनन्, तयो कलिलो उमेरमै पराई घर जानुपर्छ, बिहे गर्छु भनेर।

 धनकुमारी भन्छिन्, ‘सुरुमा मैले उनीहरूको कुरै बुझिनँ, पछि थाहा भयो, ऊ बेला बिहेका लागि कन्या छन् कि छैनन् भनेर बुझ्न ‘गाईको बाच्छी पाइन्छ कि भनेर आएको’ भन्दा रहेछन् । गाईको बाच्छी भनेको त कन्या रहेछ।’

धनकुमारी र उनका श्रीमान शिवराम थापा

हुन पनि, हिन्दू समाजमा गाईलाई पूजा गरिन्छ, अझ कोरली गाईलाई निकै पवित्र मानिन्छ, दानको रूपमा दिनका लागि पनि । यसमा विभिन्न बहस होलान्, पहिले (कृषि युगमा) गाई नै हिन्दू समाजको ठूलो सम्पत्ति थियो, जसले दूध दिनुका साथै खेतबारी जोत्ने गोरुहरू जन्माउथ्यो । त्यसैले गाईलाई हिन्दू समाजमा पुजिएको हुन सक्छ । 
खैर, गाईको मायामा रोएकी धनकुमारी वास्तविकता थाहा पाएपछि आफ्नै मायामा रुन थालिन् । आफ्नो मायामा रुनुजस्तो पीडा अरु के हुन्छ र?

धनकुमारी अलिकति पीडा मिसिएको मुद्रामा भन्छिन्, ‘मैले बिहे गर्दिनँ भनेँ, तर मेरो कुरा कसैले सुनेनन् । त्यो जमाना नै त्यस्तै थियो, सानै उमेरमा मेरो बिहे भएरै छाड्यो । त्योबेला त मलाई लागेको थियो– घरका सबै परिवार मरे पनि हुन्थ्यो । के गर्नु ! छोरीको जात, एक न एक दिन पराईघर (श्रीमानको घर, अहिलेको चेतनामा पराईघर भनिँदैन) जानैपर्ने रहेछ।’

 ०००

भक्तपुरको सूर्यविनायक गणेश मन्दिरदेखि करिब २ किलोमिटर पर पर्छ, घिमिरेगाउँ । यस गाउँको एउटा जस्तापाताले छाएको माटोको घरमा गत बुधबार बिहान धनकुमारी भान्छामा कान्छी बुहारीसँग खाना खाँदै थिइन् । हामीले भन्यौँ, ‘तपाईंलाई भेट्न आएको आमा, पुराना कुरा गर्न।’

उनले हाँस्दै भनिन्, ‘आऊ बा आऊ।’ 

पाका मानिसले ‘बा’ भनेको हामी नयाँ पुस्तालाई अनौठो र प्रिय लाग्छ । उनले आफ्नो कथा पनि प्रिय वातावरणमा सुनाइन्।

 माघको महिना, भक्तपुरमा जाडोले बिस्तारै छाड्दै छ । तर उनलाई जाडो लागिरहेकै छ, उमेरले पनि होला । कान ढाक्ने गरी कालो टोपी, सिफनको सारीमाथि चोलो लगाएकी उनी स्वस्थ र मायालु देखिन्थिन्। 

उनको माइतीघर भक्तपुरको बगाले थापागाउँमा पर्छ । त्यहाँ उनको परिवारको जीविका खेती–किसानीबाटै हुन्थ्यो । तर, उनी सानै भएकाले घरमा त्यति काम गरेकी थिइनन् । जब उनी विवाह गरेर गइन्, तब उनलाई घर धन्दाको काम भ्याइनभ्याई हुन थाल्यो । उनी भन्छिन्, ‘खेल्दै डुल्ने उमेरमा बिहे भएको थियो, तर बिहे भएपछि घरधन्दामा लागेँ । खेल्न कहाँ पाउनू ? पुराना साथीहरूलाई छाडेर आएकी थिएँ, यता नयाँ साथी बनेकै थिएनन्।’

‘तपाईंका जीवनसाथी पनि १२ वर्षकै हुनुुहुन्थ्यो, उहाँँसँग खेल्नुभएन ?’

उनी अलि रमाइलो भावमा भन्छिन्, ‘सुरुमा यता आउँदा अलि दिन निकै नमजा लाग्यो । श्रीमान्सँग पनि झगडा परिरहन्थ्यो।’

 श्रीमान्सँग झगडा पर्नुको कारण रोचक रहेछ । धनकुमारी कपाल कोर्न नजान्ने, उनका श्रीमान् त्यही विषयमा रिसाउने । आखिर केटाकेटी बुद्धि न हो।

भिडियाे

पहिलो महिनावारी भक्कानिएर रोए

१२ वर्षको उमेरमा धनकुमारीको पहिलो महिनावारी भयो । उनलाई त्यो पल नमीठो लाग्छ । उनी भन्छिन्, ‘पहिलोपटक महिनावारी हुँदा मलाई रुन मन लागेको थियो । भिन्दै बस्नुपर्ने, पाँच दिनसम्म कसैलाई छुन नहुने, भाँडा माझेर घोप्टाउनुपर्ने, भाङ्ग्रो ओछ्याएर बस्नुपर्ने हुन्थ्यो, अहिले त खाटमा जान्छन्, सुत्छन् । ऊ बेला हामीले निकै दुःख खेपेका रहेछौँ ।’

पहिलो महिनावारी उनका लागि केही पीडादायी भयो । उनी वनमा घाँस काट्न गएकी थिइन् । अलिअलि तल्लो पेट दुख्यो, केहीबेरमा रगत बग्न थाल्यो । उनलाई थाहा थियो– यो महिनावारी नै भएको हो । तर अनुभव थिएन । रगत बगेपछि उनलाई डर लाग्यो सायद । के पो भएको हो कुन्नि ! यस्तै सोचेर उनी डराइन् । उनको मनमा अनेक कुरा खेल्न थाले । वनमा उनी एक्लै भक्कानिएर रोइन्।

 त्यसपछि उनी आत्तिएर घर पुगिन् र आफ्नो अवस्था जेठानीदिदीलाई बताइन् । जेठानीले महिनावारीबारे बताएपछि उनी ढुक्क भइन् । उनी भन्छिन्, ‘महिनावारी हुँदा नरमाइलो लाग्यो । घरका मानिसले छोइछिटो गरे– यता नछोऊ, छुट्टै पकाऊ र खाऊ भने । छुट्टै बस्नुपर्दा ठूलै गल्ती गरेजस्तो लागेको थियो।’

‘दाउरा बेच्न भक्तपुरदेखि हिँडेर काठमाडौँ जान्थेँ’

धनकुमारीको उर्वर जीवन कृषि पेसामै बित्यो । उनका श्रीमान् पनि पशुपालन र खेती किसानीमै रमाउँथे । केही पैसा वा सामान किन्नका लागि धनकुमारी काठमाडौंमा दाउरा बेच्न आउँथिन् । उति बेला अहिलेजस्तो बस चल्दैनथ्यो । उनी दाउराको भारी बोकेर काठमाडौं आउँथिन्, दाउरा बेचेर भान्छालाई आवश्यक सामान किन्थिन् । दाउरा काट्न नजिकैको वनमा जानुपथ्र्यो । उतिबेला काठमाडौं आउँदा ठाउँ–ठाउँमा पानीका धारा थिए, उनी ती धारामा पानी पिउँथिन् । पाटीहरूमा दाउराको भारी बिसाएर थकाइ मार्थिन् । उनी भन्छिन्, ‘पहिले त बाटो–बाटोमा पँधेरोहरू थिए । ढुंगेधाराबाट पानी आउँथ्यो । थकाई लाग्दा बस्न पाटीहरू थिए । अहो, अहिले त जताततै घरैघर छन् । अहिले काठमाडौंमा एक्लै गएँ भने हराउँछु होला।’

आफ्नो बारीमा फलेको खानेकुरा खाएर उनी दाउराको भारी बोक्थिन् । त्यतिबेला उनलाई आफ्नो शरीरमा बल भएजस्तो लाग्थ्यो । उनी भन्छिन्, ‘अहिले त बैंश गयो, बल घट्यो।’

 ‘५० वर्षको उमेरमा बस चढेँ’ 

उनी सानै छँदा, गाउँभरिमा जम्मा पाँचजना केटाहरू जगातीको स्कुलमा पढ्न जान्थे । उनलाई पनि पढ्ने रहर लागेको थियो, तर पाइनन् । उनका श्रीमान्ले भने ८ कक्षासम्म पढेका छन् । उनको पढ्ने रहर किन पूरा भएन त?

उनी भन्छिन्, ‘त्यो बेला छोरीले पढेर काम छैन भन्थे । घरको कामले गर्दा पढ्न कहाँ पाइन्थ्यो र ? बिहान उज्यालो हुन पाएको छैन, उठ्यो, दैलो पोत्यो, गाईवस्तुका लागि घाँस काट्न गयो । कामै काम हुन्थ्यो नि !’

उनले गाडी चढ्न पनि २०५२ सालमा आएर पाएकी हुन् । पहिलोपटक बस चढेर काठमाडौं जाँदा उनलाई निकै रमाइलो लागेको थियो । उनी भन्छिन्, ‘पहिले आफू दाउरा बोकेर पुग्ने ठाउँमा बस चढेर पुग्दा त अर्कै लाग्दो रहेछ ।’ उनको गाउँघरतिर गाडी पुगेको पनि धेरै भएको छैन। 

 

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेको काठमाडौं १: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

उहिलेको काठमाडौं २: ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

उहिलेकाे नेपाल - ३ : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

उहिलेकाे नेपाल - ४ :‘एसएलसी दिन १३ दिन हिँडेर काठमाडौं आएँ’

Published Date: Sunday, 16th February 11:20:25 AM