सोमबार, चैत्र २४, २०७६

                                                                         #उहिलेको नेपाल

९० सालको भुइँचालोमा दीपबहादुर बस्न्यात ६ वर्षका थिए । भनिन्छ, मानिसले खास किसिमका घटना कहिल्यै बिर्संदैन । उमेर सानो भए पनि घटना ठूलो भएकाले दीपको स्मृतिमा त्यो भुइँचालो उसरी नै रेकर्ड भएको छ, जसरी आज क्यामेरामा भिडियो रेकर्ड हुन्छ। 

१९९० माघ २ गते । दिनको १२ बजेतिर भुइँचालो गयो । दीप दोलखाको मकैबारीस्थित घरमा थिए । त्यो घर धेरै ठूलो थियो– २५ हात चौडाइ, ५५ हात लम्बाइ र ३ फिट गारो भएको। 

त्यस घरको दुई तलामाथिको बार्दलीमा माइला दाइ यज्ञबहादुर, साहिँली फुपुको नाति फडेन्द्रबहादुर केसी र माइला बुबाको नाति गङ्गाबहादुर बसेका थिए । दीप आफ्ना भेनाजु अमृतबहादुर खड्का, बलध्वज बस्न्यात, दाइ वीरबहादुरसँगै कोठामा बसेका थिए । घर एक्कासि भुइँचालोले हल्लायो। 

दाइ वीरबहादुरले भने, ‘ए केटा हो, तिमीहरू किन घर हल्लाउँछौँ ?’ 

त्यसको केही बेरपछि तलबाट दीपकी आमा आएर भनिन्, ‘ए बाबु हो, भुइँचालो आयो । तल आओ आओ ।’ सबै जना त्यहाँबाट दौडिएर तल ओर्ले । दीप सम्झन्छन्, ‘म भर्‍याङको मुखमा पुगेँ । तर, त्यहाँबाट जान नसकी रोएछु । म रोएको सुनी भेनाजु अमृतबहादुर खड्का फर्किएर आउनुभयो र मलाई लिएर जानुभयो।’

त्यो घरको भुइँ तलाको झ्यालमा ठूलो कुकुरलाई साङ्लाले बाँधेर राखिएको थियो । त्यो कुकुर पनि भुइँचालो आउँदा डराएर उफ्री–उफ्री कराउन थाल्यो । दीप भन्छन्, ‘भुइँचालो आउँदा कुकुरलाई पनि त्यस्तो डर हुँदो रहेछ।’

त्यो भुइँचालोमा परी त्यो ठाउँका कसैको घर भत्किएन । तर, गाउँलेहरु डराए निकै दिन घरबाहिर बसे । दीपको परिवार पनि निकै दिन घरबाहिर बारीमा गोठ बनाएर बस्यो। 

पाँच दिन हिँडेर काठमाडौं 

दीप १९९२ सालमा काठमाडौं आए, जति बेला उनी आठ वर्षका थिए । त्यो बेला यातायात नभएकाले हिँड्नुपथ्र्यो । मकैबारीबाट काठमाडौं आउन उनलाई पाँच दिन लागेको थियो। 

काठमाडौं आएपछि उनी ज्ञानेश्वरमा बसे । कमलपोखरी, अहिले रसियन कल्चर सेन्टर रहेको ठाउँमा उनीहरूको पुख्र्यौली घर थियो। त्यसैले उनलाई काठमाडौंमा बस्न खान कुनै समस्या थिएन । उनका बुवा नरबहादुर बस्न्यात १५ वर्षमै सेनाको सुबेदार पदमा भर्ती भएका थिए, २५ वर्षको उमेरमा त कर्णेल नै भए । त्यसैले दीपको बाल्यकाल दुःखदायक भएन । उनी केही वर्ष घरमै पढेपछि १९९३ मा दरबार हाइस्कुल भर्ना भए । ‘एउटै कक्षाका तीन सेक्सन हुन्थे । एउटा सेक्सनमा ५० जना,’ दीप आफ्नो जमानाको विद्यालय सम्झन्छन्, ‘त्यो बेला हामी केटैकेटा हुन्थ्यौँ । चार कक्षासम्म पढेपछि स्कुल छाडेँ।’ 

उनका अनुसार, त्यतिबेला महिलाले पढ्न पाउँदैनथे । पद्मशमशेरले २००३ सालमा डिल्लीबजारमा पद्मकन्या स्कुल खोलेपछि मात्रै महिलाले पढ्न पाए । त्यसको केही वर्षपछि सोही विद्यालय पद्मोदय हाईस्कुल बन्यो । ‘पद्मशमशेरले पद्मकन्या स्कुल सुरु गरेपछि त्यो विद्यालय हाइस्कुल बन्यो । त्यसको पाँच–सात वर्षपछि पद्मकन्या क्याम्पस बन्यो,’ उनी भन्छन्, ‘त्यही बेलादेखि त हो, छोरी मान्छेले पढ्न पाएका।’ 

उनी केटाकेटी हुँदा काठमाडौंको अवस्था कस्तो थियो त ? उनी ठट्ट्यौली पारामा भन्छन्, ‘काठमाडौं धेरै मजाको थियो (हाँसो) । केही थिएन । खालीखाली थियो ।’ 

१९९९ सालतिरको काठमाडौंमा जग्गाको भाउ निकै सस्तो भएको सम्झन्छन् । हुन त त्यो बेला पैसा महँगो थियो । उनका एक आफन्तले त्यो बेला मित्रपार्कभित्र गौरीघाटमा केशरशमशेरको आठखोरिया किनेछन् । सात रोपनी जग्गाको मूल्य थियो, ३५ रुपैयाँ। 

त्यतिखेर काठमाडौंमा मोही बनेर बसेका धेरै थिए । एक रोपनी जग्गा कमाउँदा मकैबालीको १० पाथी मोही तिर्नुपथ्र्यो । धान भए सातदेखि ३५ पाथीसम्म तिर्नुपर्थ्याे ।

पशुपतिशमशेर राणा जन्मिएपछि खुसी भएका विजयशमशेरले दीपलाई कुमारीगालमा १५ रोपनी जग्गा दिएका थिए । यसको कथा लामो छ। 

‘मोहनशमशेरले नाति बनाए’

१९९३ सालतिर, दीपलाई ठुल्बुवाले मोहनशमशेरको महाराजगन्जस्थित दरबारमा लिएर गएका थिए । चन्द्रशमशेरको परिवारसँग बस्न्यात परिवारको राम्रो सम्बन्ध थियो । त्यसैले दीप मोहनशमशेरकहाँ पुगेका थिए। 

मोहनशमशेरले भेट दिएका बेला ठुल्बुवाले दीपलाई भने, ‘लाट्साप (तत्कालीन शक्तिशाली राणालाई गरिने सम्बोधन) बुवाको सवारी भयो, ढोग दे।’ 

दीपबहादुर बस्न्यात उनकी श्रीमतीका साथ

नौ वर्षका अबोध दीपले जवाफ फर्काइहाले, ‘लाट्साप बुवालाई हामीले ढोग्ने होइन, सलाम गर्ने हो । दीपको जवाफले मोहनशमशेर प्रभावित बने र भने, ‘यो केटो निकै बाठो रहेछ । बिदाको दिन मकहाँ पठाइदिनू ।’ दीप त्यही वर्ष दरबार हाइस्कुलमा भर्ना भएका थिए। 

हुकमपछि उनलाई शनिबारको दिन मोहनशमशेरको घरमा पठाउन थालियो । उनलाई मोहनशमशेरले किन बोलाए त ? त्यसको कथा थप रोचक छ । मोहनशमशेरका जेठा छोरा विजयशमशेरको विवाह भएको १५ वर्ष बितिसकेको थियो, तर छोराछोरी भएका रहेनछन् । विजयशमशेर र उनकी श्रीमती वर्षैपिच्छे दिल्ली गएर बच्चा हुन्छन् कि हुँदैनन् भनेर चेकजाँच गर्थे । चिकित्सकले उनीहरूको बच्चा नहुने बताएका थिए । त्यसपछि १९९५ सालमा उनीहरू बेलायत पुगेर चेकजाँच गरे । तर, रिपोर्ट उस्तै आए छ। 

दरबारबाट केटीहरु निस्केर भान्छाघरतिर जान झन्डै आधा घन्टा लाग्यो । यो देखेका दीपले त्रिभुवनलाई भने, ‘सरकार, यहाँ केटीहरू धेरै रहेछन् ।’ त्रिभुवनले भने, ‘यही फटाहा राणाहरूले राखिदिएका हुन् ।’

त्यतिन्जेल विजयशमशेर दम्पतीले सन्तानको आशा मारिसकेका थिए । त्यसैले १९९६ सालमा बस्न्त्यातलाई विजयशमशेरको छोरा घोषणा गरियो । उनलाई विजयशमशेरको घोषणा गरेको एक वर्ष पनि बित्न पाएको थिएन, राणा परिवारमा चमत्कार भयो । त्यो चमत्कार हो, पशुपतिशमशेरको जन्म । पटकौँ विदेशका अस्पतालमा परीक्षण गर्दा समेत सन्तान नहुने रिपोर्ट आएको विजयशमशेर दम्पतीले १९९७ सालमा सन्तानको सुख पायो, पशुपति शमशेरको रूपमा। 

पशुपति शमशेर जन्मिएपछि राणा खान्दानमा खुसीको बहार छायो । तर, त्यसको जस बस्न्यातलाई दिइयो । कारण थियो, उनलाई छोरो घोषणा गरेको एक वर्षमै पशुपतिको जन्म । अर्थात्, दीपले राणा खान्दानमा भाग्य भिœयाएको मानियो । घरमा नाति (पशुपतिशमशेर) जन्मेपछि औधि खुसी भएका मोहनशमशेरले निर्देशन दिए, ‘नाति (दीप)लाई पूरै बन्दोबस्तका साथ राख्नू।’

यसरी पशुपतिशमशेर र दीप दाजुभाइ हुन् । पशुपतिलाई विजयशमशेर दम्पतीले जन्माए, तर दीपलाई छोरा माने । अहिले पशुपतिशमशेरसँग उनको सामान्य कुराकानी मात्रै हुन्छ । ‘उहाँ (पशुपति)सँग सामान्य सम्बन्ध छ,’ उनी भन्छन्, ‘कहिलेकाहीँ राजनीतिक विषयमा कुरा हुन्छ।’ 

‘जुद्धशमशेरले जुवा खेल्न छुट दिए’

जुद्धशमशेर घुम्नका लागि कहिले इन्द्रचोक, जुद्धसडक, असन हुँदै, कहिले बागबजारबाट पुतलीसडक हुँदै, कहिले बिजुली अड्डा भद्रकाली हुँदै सिंहदरबार जान्थे ।

जुद्धशमशेरको पालामा विकासका कुनै काम भएनन्, तर काठमाडौंंमा बिजुली बत्ती भने बल्यो । ‘उनको धेरैजसो समय मोजमस्तीमै बित्यो । उनको पालामा जुवा खेलाउने काम मात्र बढेको थियो,’ दीप भन्छन्, ‘पहिले तिहारमा मात्र जुवा खेल्ने चलन थियो । उनले बडादशैंमा ३६ घन्टा र चैते दशैंमा २४ घन्टा जुवा खेलाउने चलन चलाइदिए । चैते दशैंको जुवा जुद्धसडकदेखि, अशोक विनायकसम्म र बडादशैंको जुवा तीन दिन तीन रात काठमाडौंं उपत्यकाभित्र फुकाउने चलन गरे।’

शिवपुरी बाबासँग मोहनशमशेरकोे विशेष सम्बन्ध थियो । शिवपुरी बाबा भारतको केरलाका थिए । उनी भारतीय कांग्रेस छोडेर स्वामी भई शिवपुरीमा आएर बसेका थिए । पछि उनको मोहनशमशेरसँग सम्बन्ध कायम भएको थियो। 

जुद्धशमशेरले मोहनशमशेरलाई आफ्नो भाग्य र आयु हेर्न शिवपुरी बाबालाई लिएर आउन अह्राए । ‘शिवपुरी बाबाले मोहनशमशेरको सल्लाहअनुसार जुद्धशमशेरलाई भने, ‘तँ अबको चार वर्षमा मर्नेछस्, राजर्षि भएर राज्य छोडी कुनै धार्मिक स्थलमा गई बसेमा धेरै राम्रो हुनेछ, चाँडो गरेर गइहाल।’ 

दीप भन्छन्, ‘जुद्धशमशेरलाई धपाई सकेपछि शिवपुरीबाबाले मोहनशमशेरलाई लौ मलाई पनि खुसी बनाऊ भनेका थिए । मोहनशमशेरले तपाईलाई के चहिन्छ भनेर सोधे । बाबाले एक लाख रुपैयाँँ, दुईवटा दुहुना गाई र मृगस्थलीमा कुटी बनाउन माग गरे।’ 

मोहनशमशेरले बाबाको माग अनुसार एक लाख दिएर मृगस्थलीको जंगलभित्र चार–पाँच रोपनी जग्गामा तारबार लगाई कुटी बनाउन लगाएका थिए।

चन्द्रशमशेरका तीन श्रीमती थिए । जेठीपट्टिबाट पाँच छोरा (मोहनशमशेर, बबरशमशेर, केशरशमशेर, सिंहशमशेर र कृष्णशमशेर) र माइलीबाट तीन छोरा (विष्णुशमशेर, शङ्करशमशेर र मदनशमशेर) भए । त्यस्तै, भित्रिनीपट्टिबाट बद्रीशमशेर भए । दीप भन्छन्, ‘नौ भाइलार्ई त्यो बेला नगद मात्र नौ/नौ करोड अंश बाँडेका थिए । प्रत्येक भाइलाई तराईको जग्गा दुई हजार बिघा बाँडिएको थियो।’ 

‘त्रिभुवनका लागि दुई सय जति केटी’ 

राणाको पालामा ठूलाबडाले धेरै श्रीमती विवाह गर्नुका साथै घरमा केटीहरू राख्ने गर्दथे । उनीहरूले तत्कालीन राजालाई पनि धेरै केटीहरू राखिदिएका थिए । ‘राजाहरू पनि केटीमा भुलेर राज्यको मोह गर्दैनन् भन्ने विचार राणाहरूले राख्थे,’ दीप भन्छन्, ‘त्रिभुवनका लागि राणाहरूले करिब दुई सय जति केटीहरू राखिदिएका थिए।’ 

२००८ सालमा दीपलाई राजदरबारमा बोलाइएको थियो । उनी नारायणहिटी गएर बसिरहेका थिए । त्यत्तिकैमा स्कुलको जस्तै घन्टी बज्यो । उनले दरबारको पछाडिपट्टि देखे, भान्छाघर । दरबारबाट भान्छा घरको पछाडि ३० फिट जति छानो नभएको खुला पुल रहेछ । घण्टी बजेपछि त्यही पुल भएर एउटा हातमा गिलास अर्को हातमा थाल लिएर करिब आधा घण्टा लगाएर केटीहरू दरबारबाट भान्छा घरमा पसे । दीप हेरेको हेर्‍यै भए । त्यसको आधा घण्टापछि त्रिभुवनले उनलाई भित्र बोलाए । उनले त्रिभुवनलाई भने, ‘सरकार, यहाँ केटीहरू धेरै रहेछन् ।’ त्रिभुवनले भने, ‘यही फटाहा राणाहरूले राखिदिएका हुन्।’ 

तत्कालि राजा ज्ञानेन्द्र

लगत्तै दीपले भनिहाले, ‘सरकार, अब त राणाहरूले केही गर्न सक्दैनन्, ती केटीहरू कैदखाना जस्तो ठाउँबाट उम्किन पाए तिनीहरूको जीवन सुखमय हुने थियो, धेरै ठूलो निगाह हुने थियो।’ 

त्यसपछि नै ती केटीहरूलाई त्रिभुवनले सोधेर इच्छा भएकाहरूलाई अलिअलि पैसा दिएर छाडिदिएको दीप बताउँछन्। 

‘मोहनशमशेरले बिपीलाई भारु ६ लाख दिए’

कांग्रेसलाई मनाएर दुई–चार वर्ष राज्यशासन गर्र्ने मनसाय मोहनशमशेरको थियो । त्यसैले उनले २००६ सालमा बिपी कोइरालालाई लिन भनेर दीपलाई भारत पठाए । यसरी पठाउँदा मोहनशमशेरले दीपलाई एक छापे र भारू पाँच हजार दिएका थिए । दीप भन्छन्, ‘एकछापे भनेको पत्र हो, जसमा लेखिएको थियो– गढी–गौंडा वा जसलाई यसको आवश्यक छ, सो मानिसले बाँची–पढी यो पत्रवाहकले जेजस्तो सामान वा कुनै मानिस लिई आएमा बिना रोकतोक छाडिदिनू।’ 

त्यही लिएर उनी चिसापानी गढीबाट रक्सोलमा रहेको कांग्रेसको पार्टी कार्यालय पुगे । बिपी कलकत्तामा भएको कुरा थाहा भयो । त्यसपछि उनी कलकत्ता लागे ।

उनी भन्छन्, ‘रक्सोलबाट रेल चढेर कलकत्ता पुगेँ । बिपी सुवर्णशमशेरकहाँ बस्नुहुन्थ्यो, त्यसैले त्यतै गएँ।’

त्यतिबेलो बिपी बनारसतिर जाने तयारीमा रहेछन् । बिपीले सोधे, ‘काजी किन आउनुभयो?’ 

दीपले ढाँटे, ‘पार्टी प्रवेश गर्नुपर्‍यो भनेर तपाईंलाई भेट्न आएको।’

तर, राणाहरूसँगै हुर्किएको भनेर बिपीले दीपका कुरा पत्याएनन्। 

त्यो क्षण बिपीले दिएको प्रतिक्रिया दीप सम्झन्छन्, ‘तपाईं दुई–तीन महिना अघिसम्म विजयशमशेर राणासँग आएको मानिस, अहिले पार्टी प्रवेश गर्न आएको भन्नुहुन्छ, कसरी पत्याउनु ? बनारसबाट आएपछि कुरा गरौँला।’ 

बिपी तीन दिनपछि बनारसबाट फर्किए । त्यसपछि दीप र बिपीबीच फेरि कुरा भयो। 

दीप भन्छन्, ‘मैले त्यो एकछापे देखाएँ । त्यो पढेर उहाँले भन्नुभयो– मलाई लिन आउनुभएको रहेछ । ठीक छ, दुई–चार दिन विचार गरौँ।’

त्यतिबेला राणाहरूले आफूलाई मार्छन् कि भन्ने चिन्ता बिपीमा थियो । दीपले बिपीलाई भने, ‘राणाले तपाईंलाई गोली हानी मार्ने भए भने म तपाईंको अगाडि छाती थापिदिउँला । काट्छन् भने म तपाईंमाथि गर्दन तेस्र्याउँला, झुन्ड्याई मार्छन् भने पहिला मलाई झुन्ड्याऊ भनौंला भनेँ।’

त्यसपछि बिपीले सोधे, ‘मोहनशमशेरले किन मलाई लिन पठाउनुभयो ?’ 

दीपले मोहनशमशेरको आसय बताएपछि बिपी दीपसँग काठमाडौं आउन राजी भए। 

दीपबहादुर बस्न्यात

त्यसपछि दीप र बिपीहरु कोलकाताबाट रक्सोल, भीमफेदी हुँदै काठमाडौं फर्किए । बिपीलाई डिल्लीबजार मैयाँ बज्यैको घरमा राखेर दीप मोहनशमशेर कहाँ गए । मोहनशमशेरले दीपलाई भने, ‘बिपीलाई राम्रोसँग राख्नू।’

केही दिनपछि विजयशमशेरसहित मोहनशमशेर र बिपीबीच आघा घन्टा जति भेटघाट भयो । मोहनशमशेरले भने, ‘मलाई दुई–चार वर्ष राज्य चलाउन दिनुहुन्छ कि भनी तपाईंलाई दुःख दिएको हुँ । तपाईं दुःख नमान्नुहोला।’ 

दीप भन्छन्, ‘बिपीले मलाई नै कुरा मिलाउन भन्नुभयो । भोलिपल्ट मोहनशमशेरलाई भेटेर बिपीले कुरा मानेको बताएँ । पार्टी चलाउने केही खर्च दिनुपर्ने कुरा पनि गरेँ ।’ 

राणाहरूसँग मिलेको भान नहोस् भनेर अनसन बस्न लगाइयो र केही दिनपछि बिपी भारत जानुभयो । दीप भन्छन्, ‘सहमति बमोजिम मोहनशमशेरले बिपीलाई भारतीय रुपैयाँ ६ लाख दिनुभएको थियो । फेरि पछि पनि सहयोग गर्ने कुरा भयो।’ 

त्यसपछि पनि पटक–पटक बिपीसँग दीपको भेट  भइरह्यो । २०१३ सालको चुनावका विषयमा दीप र बिपीसँग कुरा भएको थियो । दीप भन्छन्, ‘हामी चुनावको बारेमा कुरा गरिरहेका थियौँ । मैले चुनाव गरेर के हुन्छ भनेर बिपीलाई सोधेँ । उहाँले भन्नुभयो– चुनाव महत्वपूर्ण कुरा हो, जनताले रोजेका राम्रा मानिस आउँछन्, उनीहरूले देशलाई माथि लैजानेछन् ।’ 

काठमाडौंमा असोजमै हुस्सु

त्यतिखेर काठमाडौं उपत्यकाभित्र असोज महिनादेखि हुस्सु लाग्न सुरु हुन्थ्यो । त्यो हुस्सु बढ्दै बिहान ८–९ बजे हुँदै पुसमा पुग्दा दिउँसो १२–१ बजेसम्म पनि लाग्थ्यो । २००६ सालतिर हुस्सु लाग्ने गरेका कारण प्रधानमन्त्री मोहनशमशेरले २–३ दिनसम्म पनि कवाज खेल्नका लागि बिदा दिने गर्दथे । त्यो हुस्सु लाग्दा टुँडिखेल, छाउनीको टुँडिखेल, पशुपति गौचरन समेत राति ११–१२ बजेतिर मानिस हिँड्दा हुस्सुमा हराउँथ्यो । त्यो रातभरि पनि मानिस त्यसैमा रुमलिइरहन्थ्यो । त्यसलाई मानिसले झुमे लागेको भन्थे । 

पहिलो पिच सडक 

‘राजदरबारको पश्चिमढोकादेखि सिंहदरबारको ढोकासम्मको सडक नेपालकै पहिलो पक्की सडक हो । टाढा–टाढाबाट साइकल चढ्ने मानिसहरू यहाँ आउँथे । हामी पनि कुदाउँथ्यौं,’ उनले भने, ‘खाल्डाखुल्डीहरू नहुने हुनाले यहाँ साइकल कुदाउँदा आनन्द आउँथ्यो । कामै नभए पनि पाटन, ठिमीलगायत भक्तपुरका मानिस समेत त्यो ठाउँमा तीन–चारपटकसम्म साइकलमा ओहोर–दोहोर गरी फर्कन्थे।’ 

त्यतिखेर मोटर सवारी बाहेक अन्य कसैलाई भद्रकालीबाट सिंहदरबारतिर जान दिइँदैनथ्यो । पहिले पुतलीसडकमा चारफुटे गल्ली मात्र थियो । मोटरबाटो डिल्लीबजारबाट कालिकास्थान हुँदै सिंहदरबार जान्थ्यो । सिंहदरबार अगाडिबाट थापाथली जानलाई अलकत्रा लगाएको बाटोभन्दा मुनिबाट अर्को बाटो बनाइएको थियो । त्यो बाटो लहरी, साइकल, मोटर साइकल र पैदल हिँड्नेका लागि थियो । माथिको बाटोबाट राणाको र श्री ५ को मोटर मात्र जान पाउँथ्यो । पुतलीसडकको ठूलो बाटो २००५ सालमा खोलिएको हो । बाटो खोलेपछि माझमा तीन फिटजति अग्लो बनाई फूल लगाइएको थियो र दाहिने बायाँबाट एकतर्फी मात्र मोटर हिँड्ने बनाइएको थियो।

त्यतिखेर खिचापोखरी पनि प्रसिद्ध रहेको उनले बताए । त्यहाँ सानो पोखरी थियो, त्यहाँ मरेका कुकुर फालिन्थ्यो । नेवारी भाषामा कुकरलाई खिचा भनिने भएकाले त्यो ठाउँलाई खिचापोखरी भनिएको हो। 

नयाँ सडकको ढोकाबाट पस्नासाथ दायाँपट्टि ३–४ घरअगाडि गएपछि मास्टरचाको होटल थियो । त्यो बेला आलुको झोल हालेको तरकारी, गहुँको पुरी र चिया खान पाइन्थ्यो । त्यसबेला क्षत्री–बाहुनले आफूभन्दा तल्लो जातले पकाएको झोल हालेको तरकारी खाँदैनथे । त्यसैले कोहीकोही त्यो ठाउँमा राति लुकी–लुकी गएर खाने गर्थे।

(‘उहिलेको नेपाल’ स्तम्भ मार्फत हामीले ८० बर्ष उमेरको हाराहारी पुगेका हजुरबा र हजुरआमाबाट नेपाली समाजको कथाहरु खोतल्ने प्रयाश गरेका छौ । तपाईहरुसँग पनि आफ्नो जीवनका कथाहरु भन्न सक्ने  हजुरबा अथवा हजुरआमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामीले प्रत्येक हप्ता ‘उहिलेको नेपाल’ स्तम्भ प्रकाशित गर्नेछौ। –प्रधानसम्पादक)

 

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेको काठमाडौं १: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

उहिलेको काठमाडौं २ : ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

उहिलेकाे नेपाल - ३ : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

उहिलेकाे नेपाल - ४ :‘एसएलसी दिन १३ दिन हिँडेर काठमाडौं आएँ’

उहिलेकाे नेपाल - ५ : युवराज वीरेन्द्रलाई भनेँ, ‘हजुरले फेरि भात खुवाएजस्तो गर्नुपर्‍यो’

उहिलेकाे नेपाल  ६ : राजकुमारी श्रुति फूल किन्न आइन् र भनिन्- ‘सरकार होइन, छोरी भन्नुस्, आमा’

उहिलेकाे नेपाल ७ : आँखा अगाडि झुन्डिएको शुक्रराज शास्त्रीको शव...

उहिलेकाे नेपाल ८ :‘दर्शनशास्त्रमा विद्यावारिधि गरेर राजा महेन्द्रसँग जागिर मागेँ’

Published Date: Sunday, 22nd March 16:00:38 PM