सोमबार, मंसिर २३, २०७६

ललितपुर : पाटन दरबार क्षेत्रबाट पाटन ढोका जाने गल्लीको दायाँपट्टि टाउको निहुराएर मात्रै छिर्न मिल्ने एउटा होचो ढोका छ । 

यो काठको ढोकाभित्र छिरेपछि ललितपुर जिल्लाकै सबैभन्दा वैभवशाली विहार पुगिन्छ, जसको नाम हो – हिरण्यवर्ण महाविहार । यो विहारभित्रै रहेको गोल्डेन टेम्पलमा स–साना बालकहरू मात्रै पूजारी हुन पाउँछन् । 

ढुङ्गा ताछेर बिच्छ्याएको यो गल्ली हुँदै दैनिक हजारौं मानिस पाटन दरबार क्षेत्र पुग्छन् । सायद तपाईंले पनि धेरैचोटि यो गल्लीमा ओहोर–दोहोर गर्नुभएको होला । तर, तपाईंलाई पनि यो गल्लीको आडैमा रहेको गोल्डेन टेम्पलका बाल पूजारीहरूबारे थाहा नहुन सक्छ ।

आखिर किन बालकहरू मात्रै गोल्डेन टेम्पलको पूजारी हुन पाउँछन् ? यी बाल पूजारीहरू कसरी छानिन्छन् ? बाल पूजारीहरूले गर्नुपर्ने काम चाहिँ के के हुन् ? र, झण्डै एक हजार वर्षदेखि चल्दै आएको बाल पूजारी प्रथाको सुरुवात चाहिँ कसरी भयो ? 

तपाईंको मनमा पनि यी प्रश्नहरू उब्जिएका छन् भने यो तपाईंकै लागि लेखिएको कथा हो।

सहायक पूजारीसँग मुख्य बाफाचा अर्थात् मुख्य पूजारी बालक । तस्वीरः राजेन्द्र शाक्य

यो कथाको सुरुवात एउटा इतिहासबाट गरौँ। नेपाल सम्वत् ५०० अर्थात् आजभन्दा ९७२ वर्षअघिको कुरा हो, जयस्थिति मल्ल पाटनका राजा बने। त्यस बेला उपत्यकाका बौद्ध विहारहरुमा चीवर धारण गरेका शाक्य भिक्षुहरूले मात्रै नित्य पूजाआजा गर्न पाउँथे। 

चीवर भनेको शुद्ध एवं पवित्र मानिने एक प्रकारको विशेष वस्त्र हो, जसलाई लगाउने भिक्षुहरू आजीवन ब्रम्हचारी रहन्थे । जयस्थिति मल्ललाई त्यो परम्परा जचेन । उनले चीवरधारी भिक्षुहरूलाई पनि गृहस्थ सुरु गर्न दबाब दिए।

धेरै भिक्षुहरूले चीवर त्यागेर गृहस्थ सुरु गरे । त्यसको असर हिरण्यवर्ण महाविहारस्थिति गोल्डेन टेम्पलमा पनि पर्‍यो । चीवरधारी वयस्क भिक्षुहरू गृहस्थमा अल्झिन थालेपछि यो स्वर्ण मन्दिरको पूजापाठ अवरुद्ध हुने अवस्था आयो । 

त्यो समस्या सम्बोधन गर्न पाटनका भद्रभलाद्मीहरू भेला भए । उनीहरू एउटा निष्कर्षमा पुगे – चीवरधारी वयस्क भिक्षुहरू पाइँदैनन् भने बालभिक्षुलाई चीवर धारण गर्न लगाई पूजारी बनाउने ।

त्यसपछि हो, गोल्डेन टेम्पलमा बाल पूजारी प्रथा सुरु भएको । यो ऐतिहासिक कथा पढ्न पाइन्छ, बौद्ध धर्मका अन्वेषक एवं रञ्जना लिपिका प्रशिक्षक लोकरत्न शाक्यद्वारा लिखित पुस्तक हिरण्यवर्ण महाविहारः एक परिचय । नेवारी भाषामा प्रकाशित यो पुस्तक अङ्ग्रेजी भाषामा पनि उपलब्ध छ । 

पाटनको गोल्डेन टेम्पलमा जानी–नजानी बाल पूजारी प्रथा सुरु गर्ने राजा जयस्थिति मल्ल बितेर गए । मल्लकाल सकियो । शाहवंशको पनि पतन भयो । तर, मल्लकालमै प्रारम्भ भएको बाल पूजारी प्रथा अद्यापि कायमै छ । 

हिरण्यवर्ण महाविहारका आजु (ज्येष्ठ सदस्य) ८० वर्षीय तारणबहादुर शाक्य भन्छन्, ‘काठमाडौं उपत्यका भौतिक सम्पदाले मात्र होइन, अदृश्य सम्पदाहरू (इन्ट्यान्जिबल हेरिटिज) ले पनि वैभवशाली छ । हाम्रो गोल्डेन टेम्पलको बाल पूजारी प्रथा पनि हजारौं वर्ष पुरानो बहुमूल्य इन्ट्यान्जिबल हेरिटिज हो ।’

तपाईंको मनमा प्रश्न उठ्न सक्छ – बालकलाई पूजारी बनाउनु त बालअधिकारको हनन भएन र ? यो त व्याख्यामा भर पर्ने कुरा हो । कतिलाई कुमारी प्रथा बालअधिकारको हनन हुन सक्ला, तर कतिका लागि यो एक अमूल्य साँस्कृतिक सम्पदा हो । 

मन्दिरमा पूजा गर्दै विराज शाक्य । तस्वीरः शोभा मानन्धर

तर, कुमारी प्रथामा जस्तो गोल्डेन टेम्पलका बाल पूजारीहरू बर्षौंसम्म घर, परिवार, समाज र प्राकृतिक बालापनबाट अलग हुँदैनन् । उनीहरू एक महिनाका लागि मात्रै बाल पूजारी हुन्छन् । हरेक महिना छुट्टै बाल पूजारी नियुक्त गर्ने चलन छ । 

यो महिना गोल्डेन टेम्पलका बाल पूजारी हुन्, ९ वर्षीय विराज शाक्य । पाटनकै डन बस्कोमा कक्षा ३ मा पढ्ने विराज गत असार १८ गते पूजारी नियुक्त भएका हुन् ।

पूजारी नियुक्त भएको दुई सातापछि काठमाडौं प्रेससँग कुरा गर्दै विराजले भने, ‘विहानै उठ्छु, घण्टी बजाउँछु र पूजा गर्छु । मलाई त एकदमै रमाइलाे लागिरहेको छ ।’

जुन बालक पूजारी हुन्छन्, उसको परिवार पनि एक महिनाका लागि विहारमै बस्ने चलन छ । विराजका बाबा रवीन्द्र शाक्य र रत्न तारा शाक्य पनि अहिले विहारमै बस्छन् ।

गोल्डेन टेम्पलमा पूजा गर्दै आस्थावानहरू ।  तस्वीरः शोभा मानन्धर

पूजारी भए पनि विराज चञ्चले छन् । भन्छन्, ‘पूजारी हुँदा कुकुर छुन पाइँदैन, बिरालो छुन पाइँदैन...अनि कछुवा...।’

विहारभित्र विचरण गरिरहेकाे कछुवा देखाउँदै विराज आमासँग सोध्छन्, ‘आमा, त्यो कछुवा चाहिँ छुन पाइन्छ कि पाइँदैन ?’

आमा भन्छिन्, ‘पाइन्छ ।’

विराज सुनाउँछन्, ‘कछुवा छुन चाहिँ पाइन्छ ।’

गोल्डेन टेम्पलमा एक वस्यक पूजारी पनि छन् । उनको नाम हो, रीचार्सन शाक्य । तर, उनी सहायक पूजारी मात्रै हुन् । मुख्य पुजारी विराज नै हुन् । जब बाल पूजारी फेरिन्छ, तब सहायक पूजारी पनि फेरिन्छ। 

बाल पूजारीलाई नेवारी भाषामा बाफाचा भनिन्छ । बाफाचा खासमा बाःपाचा हो । बाको अर्थ बहाल र पाचाको अर्थ पाले अर्थात् रेखदेख गर्ने व्यक्ति हुन्छ । बाःपाचा अपभ्रंशित भई बाफाचा भएको हो । 

अहिलेका बाफाचा अर्थात् विराजको दिनचर्या सामान्य बालबालिकाको भन्दा फरक छ ।  बाफाचा भइसकेपछि मन्दिरमा पूजाआजा गर्नु  र शाक्यमुनि बुद्धको मूर्तिको रेखदेख गर्नु विराजको दैनिकी भएको छ । 

विराज विहान ४ः३० बजे उठ्छन्, शाक्यमुनि बुद्धको मूल ढोका बढार्छन्, चोखो पानी चढाउँछन्, देउतालाई अक्षता, फलफुल चढाउँछन् । विहानको सबैभन्दा पहिलो कर्म भगवानको मन्त्र अर्थात् नाम संगीति पढ्नु हुन्छ।  

नाम संगीति पढिसकेपछि बाफाचाले मन्दिर अगाडीको मण्डप लिप्ने, भगवानलाई स्नान गराउने र बुद्धको मूर्तिलाई परम्परागत शैलीमा बनाइएको ऐना देखाउने काम गर्नुपर्ने हुन्छ । 

बाफाचाले अरु पनि धेरै काम काम गर्नुपर्ने हुन्छ । अनुशासन पालना गर्नुपर्ने हुन्छ । मुख्य पुजारी बनेको एक महिनामा बालक पूजारीले बुद्धधर्मको बारेमा ज्ञान लिनुका साथै अनुशासन पनि सिक्छन् । 

विहारमा एक महिनाको अवधिमा धेरै बालकहरुको आचरणमा महत्वपूर्ण सुधार आएको हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वाले बताए ।

हिरण्यवर्ण महाविहारमा चुडाकर्म गरेका बालकमात्र बाफाचा बन्न योग्य हुन्छन् । पाटनका १८ वटा बौद्ध विहारहरूमध्ये चूडाकर्म गरिसकेका सदस्य धेरै भएको संघ हिरण्यवर्ण महाविहार हो । जहाँ चूडाकर्म गर्ने बालकको संख्या पाँच हजार नाघिसकेको छ। 

बाफाचा छान्न संघले नियमहरु बनाएको छ । एक वर्षको अवधिमा हरेक महिना बाफाचा बनेर मन्दिरमा पूजाआजाको जिम्मेवारी वहन गर्ने सदस्यको नामावली संघले पहिले नै तोक्ने गर्छ । यसका लागी कार्तिक महिना अर्थात् नेपाल सम्वतको सुरुमा उमेरको आधारमा बर्षभरि कुन महिना कसले पालो लिने भन्ने नामावली फोटोसहित मन्दिर परिसरमा टाँस्ने गरिन्छ।

सोही आधारमा बाफाचा अर्थात पूजारी नियुक्त हुन्छ । एक महिनासम्म पूजारी बालक विद्यालय जान पाउँदैनन् । विहान सबेरै उठे देखि नसुतेसम्म उनले विहारको देवताको सेवामा लिन हुनुपर्छ।  बाफाचाले पूजारी बनेको अवधिभर कपाल काट्ने र आफूले लगाएको लुगा फेर्न वा धुन पाउँदैन । उनले सुरुमा प्रवेश गर्दा लगाएको सेतो वस्त्र जति नै मैलो भए पनि एक महिनासम्म लगाउनुपर्छ । बाफाचाले दिनको दुईपटक मात्र खाना खान सक्छन् ।

विहान सानो केराउको दाल र अचारसँग सादा भात खाइसकेपछि बिचको समयमा केही पनि खान हुन्न । खानामा अन्य कुनै मरमसला र नुन समेत प्रयोग गर्न हुँदैन । तर विरेनुन भने खान मिल्छ। अनि एकैपटक दिउसो चार बजेतिर दूध, दही, मिठाई र फलफुल मात्र खान हुन्छ। 

Published Date: Sunday, 21st July 13:50:06 PM