बुधबार, कात्तिक २७, २०७६

म जन्मिनुभन्दा ६ महिनाअघि नै मेरो बुवाले यो संसार छाडेका थिए।

घरमा आमा, पाँच सानिमा (छेमा), तीन दिदी र दुई फुपू थिए। कोही वयस्क पुरुष थिएनन्। 

यसैले, म वयस्क पुरुषसँग आँखा जुधाउन सक्दिन थिएँ। साथीका बुवा अलि ठूलो स्वरले कराउँदा पनि थरर काँप्थेँ।

सधैं डराइरहेको हुन्थेँ। मेरो बोलीमा पनि समस्या थियो। भकभके त होइन, तर धेरै शब्दहरू प्रष्टसँग उच्चारण गर्न सक्दिनँ थिएँ।

हिन्दीमा भन्ने हो भने म ‘तोत्ला’ थिएँ। थ्री इडियट्समा भाइरस जसरी बोल्छन्, म सानोमा त्यसरी नै बोल्थेँ।

अहिले म कुनै मञ्चमा भाइरस झैं बोल्दा दर्शकहरू ताली बजाउँछन्। तर, सानोमा सबै मेरो गिल्ला गर्थे।

सकेसम्म मुख खोल्दिन थिएँ। जब मुख खोल्थेँ, सबै गलल हाँस्थे।  

सोच्थेँ – म अरुभन्दा भिन्न छु। सबै साथीका बुवा–आमा दुबै छन्। मेरी आमामात्रै छिन्। अरु बोल्दा कोही हाँस्दैनन्, म बोल्दा सबै हाँस्छन्। 

मनमा डर र बोलीमा समस्या त थियो नै, ममा डिस्लेक्सिया पनि थियो। अक्षर चिन्न–बुझ्न गाह्रो थियो।

त्यसबेला आमिर खानले तारे जमिन पर बनाएकै थिएनन्। आम मानिसलाई डिस्लेक्सियाबारे जानकारी थिएन। डिस्लेक्सिया भएका बच्चालाई सहयोग गर्नुको सट्टा गिल्ला गर्ने प्रवृत्ति थियो। 

सबै मलाई ‘डफर’ भन्थे। ‘बोमन डफर’ भनी टोलभरि चिनिन्थेँ।

जब म साढे तीन वर्षको भएँ, आमाले मलाई सेन्ट मेरिज स्कुलमा पुर्‍याइन्।

प्रिन्सिपललाई थाहा थियो – बोमनलाई अक्षर चिन्न समस्या छ। 

उनले आमासँग भने, ‘चिन्ता नलिनुस्, म तपाईंको बच्चालाई दुईवटा जनावरको चित्र देखाउँछु। उसले सजिलै ती जनावरको नाम भन्नेछन् र स्कुल भर्ना हुन पाउनेछन्।’

आमा खुशी भइन्। 

तर, प्रिन्सिपललाई थाहा थिएन – बोमन ‘डफर’ मात्रै होइनन्, ‘तोत्ला’ पनि छन्।

उनले मलाई हर्सको चित्र देखाएँ। मलाई ‘ह’ उच्चारण गर्न गाह्रो हुन्थ्यो। एलिगेटर, पेन्गुइन, इमु वा डोडोकै चित्र देखाएको भए पनि म त्यसको नाम भन्दिन्थेँ।

तर, ‘ह’ बाट सुरू हुने नाम कसरी उच्चारण गर्नु? मैले मनमनै आफैंसँग भने – बोमन, हर्स उच्चारण गरिस् भने तँ ‘तोत्ला’ रहेको प्रिन्सिपलले थाहा पाउँछन् र स्कुलमा लिँदैनन्, यसैले चूप बस्। 

म चूप बसेँ। प्रिन्सिपलले सोधे – यो जनावरको नाम आउँदैन?

मैले मुन्टो हल्लाएर आउँदैनको सङ्केत गरे। प्रिन्सिपलले अर्को जनावरको चित्र देखाए। हरे! त्यसको नाम पनि ‘ह’बाटै आउँथ्यो – हिप्पोपोटामस। 

म फेरि चूप बसेँ। हर्सहिप्पोपोटामस पनि नचिन्ने बच्चालाई सेन्ट मेरिजले भर्ना लिने कुरै भएन। प्रिन्सिपलले आमालाई भने – माफ गर्नुहोला, हामी तपाईंको बच्चा लिन सक्दैनौँ।

आमा त्यहीँ रुन थाल्नुभयो। पछि खै के भयो कुन्नि, म त्यहीँ स्कुलमा भर्ना भएँ।

‘तोत्ला’ भएकाले सात कक्षा पुग्दासम्म मैले स्कुलमा एक शब्द पनि बोलिनँ। कक्षामा शिक्षकलाई कहिल्यै प्रश्न सोधिनँ। 

डिस्लेक्सिक पनि भएकोले पढाएको पनि बुझ्दिनँ थिएँ। परीक्षामा कहिल्यै राम्रो अङ्क ल्याइनँ। 

शिक्षकहरू साथीका बा–आमालाई पत्र पठाउँथे – तपाईंका छोरा नटी वा मिस्चिभिएस् (चञ्चल–उपद्रे) छन्। मेरी आमालाई पठाउने पत्रमा लेख्थे – तपाईंका छोरा रेटिसिन्ट छन्। 

मलाई रेटिसिन्टको अर्थ थाहा थिएनँ। शब्दकोष पल्टाएर हेरेँ – रेटिसिन्टको अर्थ अल्पभाषी रहेछ।

मलाई लाग्यो – रेटिसिन्ट एकदमै नराम्रो विशेषण हो। रेटिसिन्ट भन्दा त नटी नै भएको भएँ राम्रो हुन्थ्यो। 

आफ्नो ‘तोत्ला’ बोली सुधार्न धेरै अभ्यास गरेँ। कक्षा १० पुग्दासम्म म सामान्य मानिसले झैं बोल्ने भइसकेको थिएँ।

तर, मेरो पढाई भने स्कुल तह सकिँदासम्म सुध्रिएन। मैले एकदमै कम अङ्क ल्याएर स्कुल तह छिचोलेँ।

त्यस बेला धेरै अवसरहरू थिएनन् – कि डाक्टर बन्नुपर्‍यो कि इञ्जिनियर, नभए प्रशासक। म के बन्छु भन्ने थाहा थिएन। तर, के बन्दिनँ भन्ने थाहा थियो। 

म डाक्टर, इञ्जिनियर बन्न सक्दिनँ थिएँ। प्रशासक बन्न चाहन्न थिएँ। प्राज्ञिक क्षेत्रमा जान पर्याप्त अङ्क थिएनँ।

मैले निर्णय गरेँ – म जे सक्छु, त्यही गर्छु। बम्बे गएर ६ महिना वेटर तालिम लिएँ। र, जागिर खोज्दै ताज होटल पुगेँ।

तर, मैलै एकैचोटि वेटर बन्न पाइनँ। रुम सर्भिसबाट काम सुरु गरेँ। ६ महिनापछि मात्रै वेटर बन्न पाएँ।

मेरो हजुरआमाले भनेकी थिइन् – चाहे तिमी सडकमा जुत्ता सिलाउने मोची बन, तर आफ्नो काममा एकदमै निपुण होऊ। मैले त्यो कुरा सधैं मनमा राखेँ। र, म एकदमै राम्रो वेटर बनेँ। हरेक दिन टन्न टिप्स पाउँथेँ।

तर, मैले महशुस गरेँ – मभित्र कुनै सिर्जनात्मक व्यक्ति छन्, जसलाई मैले बाहिर ल्याउनैपर्छ। 

त्यही भएर मैले फोटोग्राफी सुरू गर्ने निधो गरेँ। हरेक दिन खुत्रुक्कैमा टिप्स हाल्थेँ। एक दिन खुत्रुक्के फुटाएर क्यामेरा किनेँ र म स्पोर्ट्स फोटोग्राफर बनेँ। 

तर, ठूला प्रतियोगिताको फोटो खिच्न पाउँदिन थिएँ। स्कुलस्तरीय फुटबल–क्रिकेट प्रतियोगिताको फोटो खिच्थेँ। स्कुले बच्चाको फोटो खिच्दा बेच्न पनि सजिलो थियो। आफ्नो छोराले फुटबल वा क्रिकेट खेलेको फोटो किन्न जुनै आमा पनि तयार हुन्थे। एउटा फोटो बेचेर २० देखि ३० रुपैयाँसम्म कमाउँथेँ।

यही मेरो रोजगारी थियो। यही बेला मैले बिहे गरेँ। बच्चा भयो।

बिहे गरेको सात वर्षपछि फोटो बेचेर केही पैसा भेला गरेँ र आफ्नो परिवारलाई घुमाउन ऊटी लगेँ। त्यो बेला इन्टरनेट थिएन। कुन ठाउँमा कुन होटल छ भन्ने थाहा पाउन पत्रिकामा छापिने वर्गीकृत विज्ञापन हेर्नुपर्थ्याे।

मैले पत्रिका पल्टाएर ऊटीको होटल खोज्न थालेँ। त्यहाँ आफ्नो बजेटअनुसारको एउटा होटल भेटेँ। होटलको नाममा प्यालेस शब्द थियो।

प्यालेस शब्द देख्नेबित्तिकै होटल गज्जब होला भन्ठानेर फोन गरी बुक गरेँ। र, सपरिवार रेल चढेर दरबारजस्तो होटलमा सात दिन बस्ने सपना देख्दै बम्बेबाट ऊटी गयौँ। 

होटल त भूत बाङ्लाजस्तो रहेछ। कोठा पनि अँध्यारो। बिजुलीको एउटा बल्ब पनि नभएको। 

बल्ल–तल्ल पैसा जम्मा गरेर परिवारलाई घुमाउन लगेको, तर श्रीमती र बच्चालाई त्यस्तो गन्हाउने होटलमा राख्न पुगेँ। म रुन थालेँ।

त्यो दिन मैले निर्णय गरेँ – म अब लुजर हुन्न। श्रीमतीका लागि असफल पति र छोराछोरीका लागि असफल पिता हुन्न। अब म काम पर्खेर बस्दिनँ, आफैं काम सिर्जना गर्छु।

त्यही वर्ष बम्बेमा विश्व बक्सिङ च्याम्पियनशीप हुन लागेको थियो। अचेल भारतमा सधैंजसो कुनै न कुनै विश्वस्तरीय प्रतियोगिता भइरहेकै हुन्छ। तर, त्यो बेला बम्बेमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु भनेको एक युगमा एक पटक हुने कुरा थियो।

त्यो बेला इण्डियन बक्सिङ फेडरेशनका अध्यक्ष थिए – अस्पी अद्जानिया। म उनलाई भेट्न गएँ।

मैले भनेँ, ‘मिस्टर अद्जानिया, मेरो नाम बोमन इरानी हो। म खेलकुद फोटोग्राफर हुँ। म विश्व बक्सिङ च्याम्पियनशीपको आधिकारिक फोटोग्राफर हुन चाहन्छु।’ 

उनले भने, ‘हुँदैन, हुँदैन। हामीलाई कुनै फोटोग्राफर चाहिएकै छैन। जुन पत्रकारले फोटो खिच्छ, हामीलाई सित्तै दिइहाल्छन्। किन पैसा तिरेर फोटोग्राफर राख्ने?’

मैले उनलाई भने, ‘मलाई पैसा दिनुपर्दैन। म तपाईंको अफिसमा सित्तै काम गर्छु। चिया पकाउँछु। भूइँ पुच्छुँ। मलाईं केबल बक्सिङ च्याम्पियनशीपको फोटो खिच्ने अवसर दिनुहोस्।’

त्यो बेला म ३३ वर्षको थिएँ। परिवार धान्ने जिम्मेदारी थियो। सम्पत्तिको नाउँमा एउटा थोत्रो स्कुटर थियो। तर, म अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको फोटो खिच्न महिनौंसम्म सित्तैमा चिया पकाउन, भूइँ पुछ्न तयार थिएँ।

अद्जानिया अझै तयार भएनन्। म निराश भएर बाहिर निस्किएँ। तर, उनले मलाई फेरि भित्र बोलाएर सोधे, ‘बक्सिङ प्रतियोगिताको फोटो खिचेको छौँ त?’

मैले भने, ‘छैन, फुटबल र क्रिकेटको मात्रै खिचेको छु।’

उनले फेरि सोधे, ‘बक्सिङको फोटो खिच्दै नखिचेको मान्छेलाई म किन लिऊँ?’

मैले भनेँ, ‘विश्व बक्सिङ च्याम्पियनशीप हुन अझै ६ महिना बाँकी छ। तर, अर्को महिना बम्बेमा वेस्टर्न इन्डिया बक्सिङ प्रतियोगिता हुँदैछ। म त्यहाँ जान्छु, र बक्सिङको फोटो खिच्ने अभ्यास गर्छु।’ 

उनले भने, ‘हुन्छ, वेस्टर्न इन्डिया बक्सिङको फोटो राम्रो खिच्यौँ भने म तिम्रोबारे सोचौँला।’

मैले खिचेको फोटोहरू अद्जानियालाई मन पर्‍यो। उनले मलाई विश्व बक्सिङ च्याम्पियनशीपको फोटो खिच्ने अवसर दिए। 

म प्रतियोगिता स्थलमा थिएँ। एक नर्वेली बक्सरले मसामु आएर भने, ‘मलाई तीन वटा फोटो चाहिएको छ। पहिलो – मैले प्रतिस्पर्धी बक्सरको मुखमा मुक्का बजारेको बेला। दोस्रो–ऊ लडेर ममात्रै रिङमा उभिएको बेला। र, तेस्रो–मैले नर्वेली झण्डा बोकेको बेला। के तिमी यी फोटो खिच्न सक्छौँ?’

मैले भनेँ, ‘सक्छु, किन नसक्ने?’

उनले सोधे, ‘कति पैसा लिन्छौँ?’

मलाई के भनुँ भनुँ भयो। तर, एक छिनपछि दिमागमा बत्ती चम्किए झैं भयो। मेरो मुखबाट फ्याट्ट निस्कियो – ‘अन्तर्राष्ट्रिय रेटमा दिनुहोस् न।’

मलाई अन्तर्राष्ट्रिय रेट भनेको कति हो थाहा थिएन। अन्तर्राष्ट्रिय पत्रिकामा फोटो पठाउने एक फोटो पत्रकारलाई सोधेँ। उसले भन्यो – ६० देखि १०० डलरसम्म।

अहो ! एउटा फोटोको १०० डलर पाएँ त एकै दिनमा ३०० हडरल कमाउँछु। ६० डलरमात्रै पाएँ पनि १८० डलर त आउँछ। एउटा फोटो खिचेर २०–३० रुपैयाँ मात्रै कमाइरहेको बेला १८० हलर पनि ठूलो रकम थियो। 

तर, मेरो फोटो किन्छु भन्ने नर्वेली बक्सरले रिङमा छिर्नेबित्तिकै धूलाई खान थाले। उनको अनुहारमा एकपछि अर्को मुक्का बर्सिन थाल्यो। मैले मनमनै सोचेँ – लौ, हातैमा आइसकेको मेरो ३०० डलर गयो!

तर, अचानक नर्वेली खेलाडीको शरीरमा कुनै अदृश्य शक्ति पसेको जस्तो भयो। उनी फरक्कै फर्केर म क्यामेरा लिएर उभिएको ठाउँअघि आए।

विपक्षी बक्सर उनलाई आक्रमण गर्न त्यहीँ पुगे। तर, उनले विपक्षीको प्रहार छल्दै मुखमा मुक्का बजारे।

मैले पहिलो शट पाएँ। विपक्षी ढल्यो, ऊमात्रै बुरुक् बुरुक् उफ्रिरहेको थियो। मैले दोस्रो शट पनि पाएँ। जीतपछि उसले नर्वेको झण्डा उचाल्यो। त्यो दृश्य कैद गर्न त झन् सजिलो थियो।

मैले ती फोटो नर्वेको पत्रिकामा पठाउनु पर्ने थियाे। त्यो बेला ल्यापटप, इन्टरनेट केही थिएन। फोटो धुलाएँ र रेडियो–फोटो गर्न भिएसएलएलतिर  दौडिएँ। फोटो पठाउन लाग्ने शुल्क तिरेँ र राति घर फर्केँ।

घर पुग्दा टेलिफोनको लामो घण्टी लगातार बजिरहेको थियो – टिरिङरिङरिङ......। त्यो जमानामा लामो घण्टी बज्नुको अर्थ हुन्थ्यो – अन्तर्राष्ट्रिय कल। 

हतारिँदै टेलिफोन उठाएँ। नर्वेबाट फोन आएको रहेछ। फोन गर्नेले भन्यो – ‘मिस्टर इरानी, फोटो त आएन त।’

म खिस्रिक्क परेँ। बुझौंला भन्दै फोन राखेँ। भीएसएनएललाई फोन गरेँ। उताबाट उत्तर आयो – फोटो पठाउन सकिएन, किनकि फोटो पठाउने मेसिन छैन।

मैले भनेँ, ‘अघि त थियो त ?’

उसले भन्यो, ‘अघि थियो, अहिले छैन। मुख्यमन्त्रीलाई चाहिएछ, पठाइयो।’

म रीसले आगो भए। रकेट जस्तै स्कुटर  कुदाएर त्यहाँ पुगेँ। र, भीएसएनएल–वालाको कठालो समात्दै भनेँ – ‘तिमी यस्तो निच काम कसरी गर्न सक्छौँ? मसँग पैसा लिने, अनि काम चाहिँ नगर्ने?’

उसले भन्यो, ‘मुख्यमन्त्रीलाई मेशिन चाहिएपछि के गर्ने त?’

म थचक्कै परेँ। त्यसपछि अलि भावुक भएजस्तो गरी नौटङ्की देखाएँ – ‘तिमीलाई थाहा छ, त्यो फोटो विदेशी पत्रिकामा छापिँदा विदेशमा भारतको कत्रो नाम हुन्थ्यो? अन्तर्राष्ट्रिय जगतमा देशको इज्जत बढाउने मौका तिम्रो मूर्खताले गुम्यो।’

त्योजस्तो अभिनय त मैले जिन्दगीमा कहिल्यै गरेकै छैन।

मेरो अभिनयले ऊ पनि भावुक भएछ। भन्यो – मेशिन पठाइसकिएको छैन, प्याक मात्रै गरिएको छ।

मेरो शरीरमा फेरि प्राण आयो। उसलाई तत्काल मेरैअगाडि फोटो पठाउन लाएँ।

घर जाँदा रात परिसकेको थियो। नर्वेबाट फेरि फोन आयो। अघिकै मान्छे रहेछ। उसले भन्यो, ‘तिम्रो फोटो एकदमै राम्रो लाग्यो, कति पैसा लिन्छौँ?’

मैले पुरानै कुरा दोहोर्‍याएँ, ‘अन्तर्राष्ट्रिय रेटअनुसार दिनुहोस् न।’

उसले एकछिन मलाई होल्डमा राख्यो। आफ्नो हाकिमसँग कुरा गर्‍यो। र, भन्यो – ‘ठीक छ, म ३०० डलर दिन्छु’

एउटाको ६० डलरको दरले तीन वटा फोटोको १८० डलर मात्रै देला कि भन्ने चिन्ता थियो। उसले ३०० डलर भनेपछि म खुशी भएँ। एउटाको १०० डलर नै दिने भएछ भनेर म फोनमा कुरा गर्दागर्दै नाच्न थालेँ।

मैले हुन्छ भनेपछि उसले बम्बेमा रहेको एउटा व्यक्तिको सम्पर्क नम्बर दिँदै भन्यो, ‘लौ, भोलि उसलाई भेट र आफ्नो ९०० डलर लेऊ।’

९०० डलर?

अर्थात्, एउटै फोटोको ३०० डलर?

म खुशीले बुरुक्कै उफ्रिएँ। मेरो कुरा सुनेर श्रीमती पनि खुशीले नाच्न थालिन्।

त्यो फोटोबाट मैले आशा गरेभन्दा तीन गुणा बढी पैसा मात्रै पाइनँ, नाम पनि कमाएँ। त्यही फोटोका कारण मैले एमआरएफ टायरको पेपर–एडका लागि फोटो खिच्ने काम पाएँ। म चेन्नईमा फोटो शुट गर्दै थिएँ। 

बम्बेबाट श्रीमतीको फोन आयो। उनले सुनाइन्, ‘९०० डलरको चेक भएको चिट्ठी आएको छ, बक्सिङ फोटोको होला।’

मैले भनेँ, ‘त्यो फोटोको पैसा त पाएर पनि खर्च गरिसकेको छुँ। यो चेक फर्काउनुपर्छ।’

बम्बे गएर चिट्ठी खोल्दा थाहा पाएँ – मेरा ३ वटै बक्सिङ फोटा त्यही पत्रिकामा फेरि छापिएछन् र त्यसबापत थप ९०० डलर पठाइएको रहेछ। त्यो जमानामा प्रतिलिपि अधिकारको त्यत्रो मूल्य र महत्व थियो। म दङ्ग परेँ। एक महिनापछि अर्को ९०० डलरको चेक आयो। फेरि अर्को चेक आयो। 

म अचानक धनी भएँ। त्यही पैसाले जिन्दगीको पहिलो गाडी पनि किनेँ।

आफ्नै फोटो स्टुडियो पनि बनाएँ। सेलिब्रिटीहरू पनि फोटो खिचाउन मेरो स्टुडियोमा आउन थालेँ।

कोरियोग्राफर शामक डावर जसले बाेमन ईरानीभित्र रहेको अभिनेता चिने।

एक दिन कोरियोग्राफर शामक डावरको पोर्टफोलियो शुट गर्दै थिएँ। मेरो कुरा गर्ने शैली उनलाई मन परेछ। हामी लामो समय फोटो शुट गर्दै गफियौँ।

कुरैकुरामा उनले भने, ‘बोमन, एक दिन तिमी एकदमै प्रसिद्ध हुनेछौँ।’

मैले सोधेँ, ‘फोटोग्राफीको कारण?’

उनले भने, ‘होइन, तिमी मञ्चमा कला देखाउन जन्मिएका हौँ।’

मैले उनको कुरालाई गम्भिरताका साथ लिइनँ। एक दिन उनले मलाई लञ्च गराउँछु भनी लगेँ। तर, लञ्चको सट्टा रङ्गकर्मी तथा एड फिल्ममेकर एलिक पद्मसीको घर लगे। 

एलिक त्यो बेला एक साङ्गीतिक नाटक मञ्चन गर्ने तयारी गर्दै रहेछन्। नाटकको नाम थियो – रोशनी

शामकले एलिकसँग मेरो चिनजान गराउँदै भने, ‘बोमनमा प्रतिभा छ, रोशनीको कुनै भूमिका उनलाई दिनुपर्छ।

एलिकले मलाई एकछिने हेरेँ र भनेँ, ‘शामक, म मान्छे देख्नेबित्तिकै थाहा पाउँछु – उसमा कति प्रतिभा छ वा छैन। म यो व्यक्तिमा कुनै प्रतिभा देख्दिनँ।’

मेरो कला नै नहेरी ममा प्रतिभा छैन भन्दिँदा झनक्क रीस उठ्यो। तर, बोलिनँ। शामक नै बोले, ‘बोमनलाई कुनै भूमिका दिइँदैन भने म तिम्रो नाटकमा कोरियोग्राफी पनि गर्दिनँ।’

एलिकले शङ्कोच मान्दै भनेँ, ‘ठीकै छ, म एउटा सानो भूमिका बोमनलाई दिन्छु।’

एलिक पद्मसी जसको नाटकमा बोमन ईरानीले पहिलोपटक अभिनय गरे

यसरी मैले जिन्दगीमा पहिलो नाटकमा काम गर्ने अवसर पाएँ। भूमिका थियो एउटा दलालको। नाटक फ्लप भयो। तर, मिडियाले दलालको भूमिका गर्ने नयाँ रङ्ककर्मीमा प्रतिभा छ भन्दै लेख्यो।

मैले निर्वाह गरेको चरित्रले प्रशंसा पाएकोले दोस्रो नाटक खेल्न पाएँ। नाटकको नाम थियो – आई एम नट बाजिराव। म ३५ वर्षको थिएँ। मेरो भूमिका चाहिँ ७५ वर्षको वृद्धको थियो। 

एक दिन रङ्गकर्मी फिरोज खानको फोन आयो। उनी मलाई आफ्नो नाटक महात्मा भर्सेज गान्धीमा खेलाउन चाहन्थे। मैले भूमिका सोधेँ। उनले भने, ‘गान्धी।’

त्यो बेला म अहिलेभन्दा मोटो थिएँ। दुब्ला–पातला गान्धीको भूमिका कसरी गर्ने? तर, मैले त्यो नाटक गरेँ। त्यही भूमिकाका लागि झण्डै २५ किलो तौल घटाएँ। करङ देखिने गरी दुब्लो भएँ। छोटो समयमै त्यति तौल घटाउँदा अस्पताल भर्ना भएँ। 

रङ्गमञ्चमा गान्धीको भूमिकामा मलाई देखेपछि बलिउडका निर्माता–निर्देशकले मलाई फोन गर्न थाले। तर, मैले फिल्म खेल्ने प्रस्ताव स्वीकार गरिनँ।

किनकि, मलाई लाग्यो – म फिल्म खेल्न मानसिक रूपमा तयार भएकै छैन, मलाई अहिले रङ्गमञ्च नै ठीक छ।

बरु, रङ्गकर्मी सार्थीहरूसँगै मिलेर एउटा सानो प्रयोगात्मक फिल्म बनाएँ। हाते क्यामेराले खिचेको त्यो फिल्मको नाम थियो – लेट्स टक। त्यो फिल्म म आफैंले ८ महिना लगाएर लेखेको थिएँ। शुटिङ चाहिँ नौ दिनमा सकिएको थियो।

अहिलेको जस्तो युट्युबमा हाल्ने र रातारात भाइरल हुने जमाना थिएन। त्यो फिल्म फैलिन पनि समय लाग्यो। घुम्दै–फिर्दै विधुविनोद चोप्राकोमा पुगेछ। चोपडाले मलाई भेट्न बोलाए।

बोमन ईरानी आफैंले लेखेको र हाते क्यामेराले खिचिएको प्रयोगात्मक फिल्म लेट्स टकको पोस्टर। यही फिल्म हेरेर विधुविनोद चोप्राले उनलाई मुन्नभाइ एमबीबीएसमा डिनको भूमिकामा अनुबन्धित गरेका थिए।

पहिलो भेटमै उनले मलाई दुई लाखको चेक दिएँ। म छक्क परेँ। सोधेँ, ‘केको चेक हो?’

उनले भनेँ, ‘म अर्को वर्ष तिमीलाई कुनै फिल्ममा खेलाउन चाहन्छु।’

मैले सोधेँ, ‘कुन फिल्म?’

उनले भनेँ, ‘त्यो त अहिले थाहा छैन। तर, के थाहा छ भने अर्को वर्ष पनि म कुनै न कुनै फिल्म त बनाइरहेकै हुन्छ। जुन फिल्म बनाउँछु, त्यसैमा तिमीलाई खेलाउँछु।’

मैले भनेँ, ‘त्यतिबेलै पैसा लिउँला नि त ! अहिले नै चेक किन?’

उनले भने, ‘आजसम्म तिम्रो फिल्म लेट्स टक अरु निर्माता–निर्देशकले हेर्न पाएका छैनन्, जुन दिन हेर्छन्, त्यो दिन तिमीसँग कामैकाम हुनेछ, मेरो लागि डेट हुने छैन। यसैले, म तिम्रो अर्को वर्षको डिसेम्बर डेट आजै बुक गर्न चाहन्छु।’

६ महिनापछि चोप्राको फोन आयो, ‘बोमन, तिम्रो लागि एउटा राम्रो रोल छ। फिल्मको नाम हो – मुन्नाभाइ एमबीबीएस।’

मैले सोधेँ, ‘केको बारेमा हो?’

उनले भनेँ, ‘एउटा गुन्डा जो डाक्टर बन्न चाहन्छन्...।’

उनी फोनमै फिल्मको कथा सुनाउन थालेँ। मलाई उनको कथामा कुनै दिचलस्पी भएन। त्यो एकदमै सामान्य र घटिया कथा भए झैं लाग्यो। मैले प्रस्ताव स्वीकारिनँ।

मैले भनेँ, ‘पैसा आउँछ भन्दैमा म जे पायो त्यही फिल्म गर्दिनँ।’

म रङ्गकर्ममै फर्किएँ। गुजाराका लागि फोटो स्टुडियो पनि चलाइरहेकै थिएँ।

चोप्राले पनि दबाब दिएनन्। बरु, उनले अमरिश पुरीलाई त्यो रोल अफर गरे। मानेनन्। परेश रावलकहाँ पुगे। मानेनन्। पंकज कपुरलाई भने। मानेनन्। 

हिरो पाउन पनि गाह्रै भएछ। विवेक ओबरायले नाइँ भनेछन्। शाहरुख खानले सुरुमा हुन्छ भनेछन्। त्यसपछि फेरि हुन्न भनेछन्। हिरोइनको रोलमा पनि त्यस्तै समस्या भएछ। ऐश्वर्या राय, काजल र तब्बुले रोल अस्वीकार गरेछन्।

त्यसपछि चोप्राले मलाई फेरि फोन गरे। मैले फेरि हुन्न भनेँ। उनले भने, ‘ठीक छ, कम्तीमा यो फिल्मका निर्देशकलाई त भेट न।’

मैले नाइँ भने। उनले अब चाहिँ जिद्दी गरे, ‘अरे, एकपटक भेट्न गइदेऊ न, यार। ऊ एकदमै नम्र स्वभावको छ। नाम हो – राजु हिरानी।’

मुन्नाभाइ सिरिजका प्रोड्यूसर विधुविनोद चोप्रा र निर्देशक राजकुमार हिरानी

मैले अन्काउँदै हुन्छ भनेँ। तर, २० मिनेटभन्दा बढी भेट्दिनँ भनेँ। तर, जब हिरानीले कथा सुनाउन थालेँ, म उनले कल्पेको दुनियाँमा हराएँ। आठ घण्टासम्म हिरानीको कुरा सुनिरहेँ।

कथा त गज्जब लाग्यो नै, त्योभन्दा बढी मलाई हिरानीको आँखामा आगो झैं धपधपी बलिरहेको प्यासनले आकर्षित गर्‍यो। उनका आँखामा मैले त्यही प्यासन देखेँ, जुन फोटोग्राफी वा रङ्गकर्म गर्दा मेरो आँखामा हुन्थ्यो।

मैले मुखले हुन्छ भनिनँ। आँखाले भनेँ। हिरानीले पनि मेरो आँखामै स्वीकृृति पढे होलान्।

यसरी मैले ४४ वर्षको उमेरमा पहिलो बलिउड फिल्म खेलेँ। फिल्म रिलिज भएपछि फोटो स्टुडियो चलाउन सकिनँ। दिनभरि घरमा फोन बज्न थाल्यो।

घरबाहिर जाँदा पनि सबै मसँग फोटो खिच्न चाहन्थे। अटोग्राफ लिन चाहन्थे। मुन्नाभाइ एमबीबीएस रिलिज भएको सात दिनपछि स्टार स्क्रिन अवार्डमा मेरो नोमिनेशन भएछ। म कार चलाउँदै थिएँ। कारमै खबर पाएँ। यति खुशी भएँ कि व्यस्त सडकको बीचमा झ्याप्प गाडी रोकेँ।

ट्राफिक प्रहरी हवल्दार आए र भने, ‘ए, अगाडि बढ।’

मैले भनेँ, ‘सरी, सरी। अवार्डका लागि नोमिनेशन भएको खबर सुनेर उत्साह दबाउन सकिनँ।’

त्यसपछि उनले मलाई एकछिन नियाल्दै भने, ‘अरे, मामु।’

उनले थपे, ‘तपाईंले पुरस्कार पाउनुहुन्छ। शतप्रतिशत पाउनुहुन्छ। म ग्यारेन्टी लिन्छु।’

म हाँस्दै अगाडि बढेँ। त्यसपछि के भयो? त्यो त सबैलाई थाहा छ। 

(अभिनेता बोमन ईरानीको यो आत्म–कथा उनले सन् २०१४मा भारतको श्रीराम कलेजमा दिएको मन्तब्यमा आधारित छ। मन्तब्य अलि पुरानो भए पनि बोमन ईरानीले प्रसिद्धीको शिखरमा पुग्नुअघि भोगेको जीवनको सार यसमा समेटिएको छ। त्यसयता के भयो भन्ने त फिल्ममा रुचि राख्नेहरूलाई थाहै छ । –सम्पादक)

Published Date: Wednesday, 12th June 16:24:58 PM