सोमबार, असार २२, २०७७

काठमाडौं, पुस १२ :  रोल्वालिङ उपत्यका र खुम्बु क्षेत्रबीच एउटा डरलाग्दो हिमाली भञ्ज्याङ छ – टासिलाप्चा पास।

समुद्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइमा रहेको यो निर्जन भञ्ज्याङ छिचोल्ने क्रममा हिमपात हुन थाल्यो भने ओत लाग्ने ठाउँ छैन। लेक लागेर बिरामी भयो भने आराम गर्ने सुरक्षित आश्रय स्थल पनि छैन। 

यस्तो अनकन्टार हिमाली भञ्ज्याङमा कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले आफ्नै पैसा, समय र परिश्रम खर्चेर हालसालै एउटा बलियो बिवाक बनाएका छन्। जर्मन भाषामा बिवाकको अर्थ हुन्छ –आश्रयस्थल। युरोपका प्रायः सबै अग्ला हिमालहरूमा बिवाकहरू बनेका छन्, जहाँ आरोही र भरियाहरू आरामले रात बिताउन सक्छन्। 

पक्की घरजस्तै बलियो र सुरक्षित बिवाकमा सुत्दा न हिमपहिरोले पुरिने डर, न हिमाली जनावरको आहार बन्ने चिन्ता!

ड्रिमर डेस्टिनेशन कम्पनीका सञ्चालक पनि रहेका फुर्वा भन्छन्, ‘यस्तो सुनसान ठाउँमा आराम गर्ने ठाउँ छ भन्ने थाहा पाएपछि हिँड्दा–हिँड्दै थाकेका पदयात्रीहरूलाई समेत त्यहाँसम्म पुग्ने  जोश आउँछ। यसले पर्यटन प्रवद्र्धनलाई समेत सहयोग पुर्‍याउँछ।’

हिमालयको देश भनेर चिनिने नेपालमा भने सरकारलाई बिवाक बनाउने सोच नै आएको थिएन। आरोही र भरियाहरू खुला आकाशमुनि टेन्ट गाडेर असुरक्षित रात काट्थे, अझै काटिरहेका छन्।

कतिपय आरोहीहरू सुतेकै ठाउँमा हिमपहिरोभित्र पुरिन्छन्। फुर्वाकै दाइ पनि सन् २००६ मा हिमपहिरोको शिकार बनेका थिए। 

त्यो बेलादेखि नै फुर्वाको मनमा लागिरहन्थ्यो – आरोही र भरियाहरूका लागि सुरक्षित आश्रयस्थल बनाउन पाए कति जाती हुन्थ्यो। तर, त्यो बेला फुर्वा भर्खर किशोर वयमा हिँड्नै थिए। उनीसँग न स्रोत थियो, न सहयोगी हातहरू नै थिए। 

आरोहणमा लागेर नाम, दाम र भरपर्दा हितैषीहरू कमाएपछि भने फुर्वाले आफ्नो वर्षौंको सपना पूरा गरेका छन्, दोलखाको गौरीशंकर गाउँपालिका र सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिकाको सिमानामा पर्ने तासी लाप्चा पासमा बिवाक बनाएर।

भिडियाे रिपाेर्ट

यो बिवाक एसियाकै सबैभन्दा अग्लो स्थानमा रहेको हिमाली आश्रयस्थल भएको दाबी फुर्वाको छ। नेपाल भ्रमण वर्ष २०२०को सँघारमा निर्माण सम्पन्न भएको यो बिवाकले विभिन्न देशका पदयात्रीहरूलाई रोल्वालिङ यात्रा गर्न प्रेरित गर्ने विश्वास फुर्वाको छ। 

हेर्दा सानो भए पनि यो बिवाक बनाउन लामो समय र धेरै स्रोत लाग्यो। किनकि, बिवाकमा प्रयोग हुने स्टिल र आल्मुनियमहरू हेलिकोप्टरबाटै त्यति अग्लो स्थानसम्म पुर्‍याउनु पथ्र्यो।

अग्ला हिमालका साँघुरा गल्छीबीच चराजस्तै कावा खाँदै रोल्वालिङ उपत्यका छिर्ने हेलिकोप्टरहरू कतै कुनै चट्टानमा ठोक्किएर भुइँमा पो खस्लान् कि ! बिवाक बनाउन खटिएका कामदारहरू लेक लागेर थला पो पर्लान् कि !

बिवाक नबनुञ्जेल फुर्वाको मन यस्तै चिन्ताले पोल्थ्यो। धन्न कुनै अप्रिय घटना भएन र नेपालको पहिलो बिवाक निर्माण कार्य निर्विघ्न सम्पन्न भयो।  

फुर्वाले यो हिमाली आश्रय स्थललाई डेभिड लामा बिवाकको नाउँ दिएका छन् । नेपाली बुवा र अष्ट्रियन आमाबाट जन्मिएका डेविड अन्तर्राष्ट्रिय स्तरमै परिचित स्पोर्ट क्लाइम्बर हुन्। सन् २०१३ मा नेशनल जियोग्राफीले उनलाई वर्षका सर्वोत्कृष्ट एडभेञ्च्यूरर्को उपाधि दिएको थियो। उनको मृत्यु २८ वर्षको कलिलै उमेरमा सन् २०१९ को अप्रिलमा भयो। 

डेभिडजस्तै फुर्वाले पनि कलिलै उमेरमा विश्व कीर्तिमानहरू रचेका छन्। सन् २००७ को वसन्त ऋतुमा १० दिनभित्रै दुईपटक सगरमाथा आरोहण गरेर सनसनी मच्चाएका फुर्वा सन् २००८ मा त अझ तीन दिनमै दुईपटक विश्वको सर्वोच्च शिखर पुगे। 

सन् २००८मा १० नेपाली महिलाको समावेशी समूहले सगरमाथाको सफल आरोहण गरेको थियो र त्यसको आयोजनामा पनि फुर्वा संलग्न थिए। सगरमाथा आरोहण गर्ने जेष्ठ नागरिकको कीर्तिमान बनाएका मीनबहादुर शेरचनलाई पनि फुर्वाकै टोलीले सघाएको थियो।

फुर्वालाई कुनै बेला सगरमाथा त के, काठमाडौं पनि निकै दूरको संसार थियो। जागिरको खोजीमा उनी भाउजूसँग एक सय रुपैयाँ लिएर पहिलोपटक काठमाडौं आएका थिए। काठमाडौंमा दाइहरू बस्थे, तर उनले दाइहरू बस्ने डेरा पत्ता लगाउन सकेनन्। दाइहरूको फोन नम्बर पनि थिएन।

ट्याक्सीमा सात फन्को काठमाडौं घुम्दा पनि दाइहरूसँग भेट नभएपछि उनी त्यही ट्याक्सी लिएर रातारात दोलखा फर्के, र घरमा फेरि भाउजूसँग थप पैसा मागेर भाडा तिरी ट्याक्सीलाई काठमाडौं नै फर्काइदिए।

त्यो असफल काठमाडौं यात्राले नै उनलाई सगरमाथा आरोहण गर्ने आँट दियो। २४ वर्ष पुग्दा त उनी नौ पटक सगरमाथाको टुप्पोमा पुगिसकेका थिए।

आफैंले सगरमाथाको शिखर पुर्‍याएका एक अष्ट्रियन आरोहीको साथमा फुर्वा पनि सन् २०१२ मा अष्ट्रिया पुगेका थिए। त्यहीँ उनले पहिलोपटक बिवाक देखेका हुन्।
त्यहाँ देखेको बिवाक आफू जन्मिएको गाउँठाउँमा पनि बनाउने सपना र योजना बुनेर उनी नेपाल फर्केका थिए। उनलाई विदेशी साथीहरूले निकै मद्दत गरे।

नेपालको पर्यटन उद्योगलाई फाइदा पुग्छ भने नेपाल बैंक लिमिटेडले पनि १५ लाख रुपैयाँ सहयोग उपलब्ध गरायो। आफ्नो धेरै पैसा र समय खर्च भए पनि रोल्वालिङको अनकन्टार कुनामा बिवाक बनाउन सफल भएकामा उनी निकै प्रशन्न छन्। भन्छन्, ‘मरेर जाँदा के लानु छ र ! बाँचेकै बेला त हो यस्तो काम गर्ने !’

Published Date: Sunday, 29th December 17:47:41 PM