बिहीबार, माघ १६, २०७६

 ‘हे मेरी आमा नरोई बस अँध्यारो कुनामा,
मेरो माया संगेली राख मुटुको कुनामा...

आमाप्रतिको अगाध माया भरिएका शब्द, सारंगीको धुनसँगै बगेको लय र नेपालका डाँडापाखा, नदी–खोला र  लोकजीवन झल्काउने मौलिक स्वर, जब ‘टेलिभिजन रियालिटी सो, भ्वाइस अफ नेपाल’को ‘ब्लाइन्ड अडिसन’मा गुजिन्यो, पछाडि फर्किएका चारैजना ‘कोच’का कुर्सीहरु क्रमशः व्रत गन्धर्वतिर मोडिए। 

भिडियाे  रिपाेर्ट

यी कुर्सीहरुसँगै व्रतको जीवन मोडिएको भने होइन, व्रतको जीवनको बाटो धेरै लामो छ, जो गएर उही प्राण–प्यारी आमासँग ठोकिन्छ। 

व्रत आठ वर्षकी थिइन्, उनकी आमा (चिजमाया)को गर्भमा आठौँ सन्तान हुर्कंदै थियो । बाबुले सारंगी बजाएर ल्याएको अन्नदामले उनीहरुको हातमुख जोडिन्थ्यो । एकपटक सारंगी बजाउन गएका उनका बाबु धेरै दिन बित्दासम्म फर्केनन् । बाबुको सांरगी नै उनीहरुको गुजाराको आधार थियो । 

धेरै दिनसम्म सारंगी बोकेका पति नफर्केपछि चिजमायालाई धेरै चिन्ताहरुले थिच्न थाल्यो– एक त पतिलाई केही भयो कि ! दोस्रो अब यी लालाबालालाई कसरी हुर्काउने ? यता भर्खरै आठौँ सन्तानको रुपमा छोरीले जन्म लिइन्।

चिजमायाका लागि जीवनको सहारा थिए– पति र पतिको सारंगी । पति नै घरमा नफर्केपछि उनले सारंगीको सहारा लिने अठोट गरिन्, आखिर पेट भर्नु थियो । २२ दिनकी सुत्केरी चिजमाया नाबालक छोरी च्याँपेर, आठ वर्षकी व्रतलाई सारंगी भिराएर, घरबाट निस्किन् । यी दुवै आमाछोरीलाई सारंगी बजाउन आउँदैनथ्यो, सारंगी त ‘मागिखाने’ भाँडो न थियो। 

मानिसहरु दयामायाले अन्नदाम दिन्थे । यसरी व्रतका आमाछोरी र सारंगीको कथा अघि बढ्छ । आमा र बाबुका औँला समाएर हिँड्ने उमेरकी व्रतलाई सारंगीले डोर्‍याउँछ, कोसी किनारका बस्तीहरुतिर। 

‘कहिलेकाहीँ त डुल्दाडुल्दै रात परेर बास बस्नुपथ्र्यो,’ व्रतको स्मृतिमा बाल्यको छाया उत्रन्छ, ‘जहाँ रातपथ्र्यो, त्यहीँ कतै रुखमुनि बास बस्थ्यौँ । आमाको थुन्सेमा खाना पकाउने एउटा भाँडो, सलाई पनि हुन्थ्यो।’

त्यो रुखमुनिको बास, आमाको काख– अहिले सम्झँदा व्रतलाई अघिल्लो जन्मको कथा जस्तो लाग्छ, तर त्यो उनको आफ्नै थियो । जसले यति मार्मिक शब्द र लय बनाउन उत्प्रेरित गर्‍यो– ‘हे मेरी आमा नरोई बस अँध्यारो कुनामा...।

०००

पेट पाल्ने नाममा व्रतका कलिला औँला सारंगीसँग खेल्न थाले । तर, उनले अनेक सुन्नुपथ्र्यो– यति सानी छोरीलाई सारंगी भिर्‍याएर के माग्नू?

 

व्रतको कलिलो मस्तिष्कलाई यस्ता शब्दले बिझाउन थाले । उनले बाबुले जस्तै सारंगी रेट्ने अठोट लिइन् । बाबुको पेसा नै सारंगी बजाउने, त्यसैले सारंगीको धुन उनले गर्भैमा छँदादेखि सुनेकी हुन् । उनको अवचेतन मनमा सारंगीको धुन थाहै नपाई गढेको हुनुपर्छ, त्यो प्रस्फुटन हुन समय लागेन । उनले गाउँले दाइहरुसँग छिटै सारंगी सिकिन् । त्यसपछि सारंगी बजाएर पाएको अन्नदामप्रति उनलाई गर्व लाग्न थाल्यो।   

डेढ वर्षपछि पछि उनका बाबु फर्किए, उनी सारंगी बजाउँदै सिक्किमतिर नेपाली माझ पुगेका रहेछन् । त्यसपछि व्रतका बाबुछोरी सारंगी बजाउँदै हिँड्न थाले । 

००० 

सानीनानीले सारंगी बोकेर घुमेको देखेर दुई दशकअघि अधिवक्ता गोपाल शिवाकोटी ‘चिन्तन’ले उनका बाबुलाई सोधे, ‘यी नानी पढ्छिन् कि पढ्दिनन्?’ 

यस्तो उमेरमा यी नानीलाई सारंगी बजाउन लगाउन हुँदैन । यिनलाई पढ्न आवश्यक छ भनी ‘चिन्तन’ले काठमाडौं ल्याएर पढ्ने चाँजोपाँजो मिलाइदिए । ‘मलाई उहाँले काठमाडौं नल्याएको भए म अहिले पनि तुम्लिङटारतिरै सारंगी रेटेर हिँड्थेँ होला,’ व्रत भन्छिन्, ‘मेरो जीवनमा उहाँले निकै ठूलो परिवर्तन ल्याइदिनुभयो।’

चिन्तनले सुरुमा ६ महिनाजति आफ्नै घरमा राखेर व्रतलाई अक्षर सिकाए । त्यसपछि व्रतले ‘त्रिरत्न कोअपरेटिभ स्कुल’मा छात्रवृत्ति पाइन् । त्यही स्कुलका साथीहरूबाट ‘नेपाल संगीत विद्यालय’मा संगीत विषय छात्रवृत्तिमा पढन् पाइने थाहा पाइन् । त्यहाँ संगीतबारे लिइने सामान्य परीक्षा दिएर उनले छात्रवृत्तिमा नाम निकालिन्।  

‘२००७ ट्यालेन्ट’ मा चाइना, नर्वे र नेपालको संगीत वादकबीच प्रतिस्पर्धात्मक कार्यक्रम भयो । जसमा नेपालबाट उनी उत्कृष्टमा स्थानमा पर्न सक्षम भइन् । यसरी संगीत विद्यालय पढ्न पाउनु सुखद क्षण भए पनि दैनिक खर्चले भने उनलाई सताउन छाडेन । केही समयपछि उक्त स्कुलमा संगीत सिकाउने शिक्षिका बनेपछि भने उनलाई आर्थिक खडेरीमा केही राहत मिल्यो। 

२५ वर्ष अघि संखुवासभाको तुम्लिङटारमा सारंगी रेटेर डुल्दै हिँड्ने व्रतको यात्रा काठमाडौं हुँदै नर्वेसम्म पुग्यो । ‘सुरुमा सारंगी बजाउन मलाई निकै आत्मग्लानि हुन्थ्यो,’ विगत सम्झँदै उनी भन्छिन्, ‘तर त्यही सारंगीले मलाई देश/विदेशसम्म मेरो पहिचान र आत्मसम्मान बढायो।’ 

व्रत काठमाडौं आएसँगै पढाइका साथै संगीतमा पनि लगातार साधना गरिरहिन् । विद्यालयमै हुने संगीत प्रतिस्पर्धामा त उनी कहिल्यै दोस्रो हुनुपरेन । ‘संगीत नसिकुन्जेल सबै आउँछ जस्तो लाग्थ्यो,’ उनी भन्छिन्, ‘गुरुहरूले संगीत सिकाएपछि लाग्यो, मलाई केही पनि आउँदैनरहेछ । अझै पनि केही जाने जस्तो लाग्दैन।’

जीवनको पहिलो पाठशाला नै सारंगी बनेकाले जीवनका हरेक यात्रा गराउने क्रम चलिरह्यो । नेपाल संगीत विद्यालमा संगीत सिकाउने शिक्षक र नर्वेमा संगीत सिकाउने शिक्षकबीच ‘स्कुल–टिचर एक्सचेन्ज’ प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना भयो । जसमा उनी उत्कृष्ट भइन् । नेपालको शिक्षकले नर्वेमा र नर्वेकाले नेपालमा संगीत सिकाउने भए । जसमा उनको नाम पनि उत्कृष्ट शिक्षकमा छनोट भयो। 

दशमहिने नर्वेको यात्रामा उनले संगीतको उचाइ कतिसम्म रहेछ भन्ने आभास गरिन् । ‘कुटुम्ब’ ब्यान्डमा गीत गाउन पाउँदा उनलाई लाग्यो– सारंगी निकै सम्मानजनक बाजा रहेछ। 
उनी ‘द भ्वाइस अफ नेपाल’मा टप २४ सम्म पुगिन् । उनको शब्द, लय र स्वर रहेको ‘हे मेरी आमा’  बोलको गीतलाई धेरै नेपालीले मन पराए।
 

त्यति ठूलो प्रतिस्पर्धाबाट बाहिरिएपछि उनलाई आफ्नो संगीत उडानलाई कसरी टाढा लैजाने भन्ने चिन्ताले बाँध्न थाल्यो । रचनाकार, भिडियो डिरेक्टर धनेन्द्र रसाइलीको साथमा उनले नयाँ गीत रेकर्ड गराइन् । धेरै व्यक्तिले उनलाई बिनापैसा गीत रेकर्ड गरिदिएर गुन लगाएका छन् । आफैँले चारवटा गीत दर्शकलाई दिएकी उनलाई आफ्नै खर्चमा गीतको म्युजिक भिडियो बनाउन धेरै रहर छ।

 अहिले विद्यालयदेखि उच्च तहमा अध्ययन गर्ने वर्गका व्यक्तिलाई उनले सारंगी बजाउन सिकाइसकेकी छिन् । आज ह्विल चेयरमा हिँड्डुल गर्ने आफ्नो दुई विद्यार्थीलाई सम्झँदा उनका आँखा खुसीले छचल्किन्छन्। 

सारंगीको साधनासँगै उनलाई कसैको साथको अभाव रहेको महसुस हुन्छ र उनले विनोद गाउँले गन्धर्वसँग प्रेम विवाह गरिन् । दुवैजना संगीतको विद्यार्थी भएकाले वैवाहिक जीवनले उनको जीवनमा थप रङ भरिदिएको छ। 

Published Date: Saturday, 2nd November 16:34:58 PM