सोमबार, मंसिर २३, २०७६

काठमाडौं – उनको घाँटीभन्दा मुनिका अङ्गहरू चल्दैनन्। हात, गोडा वा छाती दुख्छ कि दुख्दैन, त्यो पनि उनलाई पत्तै हुँदैन।

छातीमा सोला हान्दो हो, मुटु चसक्क दुख्दो हो, तर त्यो अनुभूति उनको मस्तिष्कसम्म पुग्दै पुग्दैन। उनको गर्दनमुनिका सबै तन्तुहरू मरिसकेका छन्, जसलाई छिचोल्दै दिमागसम्म पुग्ने सामथ्र्य कुनै दर्दमा छैन।

उनको टाउको चल्छ। सोच्ने शक्ति प्रदान गर्ने इन्द्रीय चल्छ। र, चल्छ सास। यत्तिकै भरमा १० वर्षदेखि बाँच्दै आएका छन्, कृष्ण खड्का।

शरीर नचलेर के भो, उनको दिमाग चल्छ। त्यही दिमागको सदुपयोग गरेर उनी आफूमात्र बाँचिरहेका छैनन्, अरुलाई पनि मद्दत गरिरहेका छन्।

काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन गृहमा रहँदै आएका कृष्ण आफूजस्तै अपाङ्गलाई मद्दत गर्न जहिल्यै अग्रसर हुन्छन्।

आईप्याडबाट काम गर्दै कृष्ण खड्का

कृष्णले पढ्ने मन भएका तीन जना अपाङ्ग किशोरलाई चारपाङ्ग्रे स्कुटरको व्यवस्था गरिदिएका छन्। अन्य १० जनालाई बिजुलीबाट चल्ने मेच उपलब्ध गराएका छन्। उनकै पहलमा खगेन्द्र नवजीवन गृहमा दुई थान सोलार सेट पनि राखिएको छ। उनी अहिले सबैको सुविधाका लागि शौचालय निर्माण गर्ने तयारीमा छन्।

पाल्पाको खस्यौली गाउँपालिकाका ३१ वर्षीय कृष्ण खड्का सधैं यस्ता थिएनन्। उनी सग्लो शरीर लिएर काम गर्न मलेसिया गएका थिए। फर्किदा उनको शरीर हेर्दा मात्रै सग्लै थियो, तर भित्री रुपमा मरिसकेको थियो।

नेपाली 'स्टेफन हकिङ' !

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव तथा कवि चन्द्र घिमिरेले हालै फेसबुकमा एक स्ट्याटस लेख्दै कृष्ण खड्काको अवस्थालाई स्टेफन हकिङको अवस्थासँग दाँजेका छन्।

हुन त कृष्ण खड्का स्टेफन हकिङजस्ता वैज्ञानिक होइनन्, न त विज्ञानका विद्यार्थी नै हुन्। हकिङ त चल्न–चटपटाउन मात्र होइन, बोल्न पनि सक्दैन थिए। उनले बोल्नका लागि खास किसिमको कम्प्युटर बनाएका थिए।

भिडियाे रिपाेर्ट

कृष्ण बोल्न त सक्छन्, तर उनको गर्दनमुनिको शरीर भने लगभग स्टेफन हकिङको झैं छ। जसरी हकिङ कम्प्युटरको सहाराले बोल्ने–लेख्ने गर्थे, कृष्ण भने आइप्याडको सहाराले सबै काम गर्छन्।  

मेसिनकाे साहारामा कष्ण खड्का

कृष्ण हरदम ह्विलचेयरमा हुन्छन्। ह्विलचेयरको अगाडिपट्टि आइप्याड राखिएको छ। उनी हरदम टाउकोमा कामदारले लगाउने जस्तो हेलमेट लगाउँछन्। हेलमेटमा लामो छडी जडित छ, जसको सहाराले उनी आइप्याड चलाउँछन्।

उनको ह्विलचेयर अरुको भन्दा फरक छ। अरू हातैले ह्विलचेयरका चक्का चलाउँछन्। उनको त हात पनि चल्दैन। उनी मुखले नै हेलमेट चलाएर यताउता जान्छन्। यो चेयर उनलाई जापानबाट एक मनकारी साथीले पठाइदिएका हुन्।

जसरी स्टेफन हकिङ आफ्नो लागि भन्दा पनि अरुका लागि बाँचिरहेका थिए, कृष्ण पनि अरुका लागि आफू बाँचिरहेको बताउँछन्। भन्छन्, “म आफ्नो लागि बाँचिसकेँ, अब जति बाँच्छु, अरुका लागि बाँच्छु।” 

खगेन्द्र नवजीवन गृहमा विभिन्न कारणले अपाङ्गता भएका ७३ भन्दा बढी मानिस छन्। उनीहरू स्वाबलम्बी बन्न चाहन्छन्, तर आर्थिक अभावले केही गर्न सकिरहेका छैनन्। कृष्ण त्यस्ता साथी र भाइबहिनीलाई सघाउँछन्। 

उनले माला बुन्ने व्यवसाय सुरु गरी हात चलाउन सक्ने अपाङ्गहरूलाई जागिर दिएका छन्। यो व्यवसायबाट जति आम्दानी हुन्छ, त्यो उनी अपाङ्गता भएका व्यक्तिहरूकै भलाईमा खर्च गर्छन्।

कृष्णले धेरै मनकारी विदेशी साथीहरू बनाएका छन्, जसले उनलाई बेलाबेला आर्थिक सहयोग गर्छन्। तर, उनी त्यो सहयोग आफ्नो लागि भन्दा पनि अरुका लागि उपयोग गर्छन्। उनको समाजसेवी भावनाको कदर गर्दै हालै नोटरी क्लबले उनलाई ३५ हजार रुपैयाँ नगद राशीसहित पुरस्कार दिएको छ।

यसरी मर्‍याे शरीर

स्टेफन हकिङ सानै छँदा न्यूरोनलाई क्षति पुर्‍याउने रोगको शिकार भएका थिए। त्यही रोगका कारण उनी बिस्तारै–बिस्तारै पूर्ण रुपले पक्षघातग्रस्त भए। 

कृष्णलाई भने कुनै रोग लागेको थिएन। उनी बिल्कुलै स्वस्थ थिए। तर, एउटा सानो घटनाले उनको जीवन यस्तो बनाइदियो। 

२०६३ सालको जनआन्दोलन सकिँदा उनी कक्षा ११ मा पढ्दै थिए। तर, गाउँका धेरै साथीहरूले पढ्नेभन्दा पनि कमाउने बाटो रोज्न थालेका थिए।  उनका दौंतरीहरू पैसा कमाउन खाडी पसे। 

कृष्ण भने पैसा कमाउनभन्दा पनि पढ्न नै चाहन्थे। तर, नियतिले उनका लागि अर्कै बाटो कोरिसकेको रहेछ।

कृष्णका बुवा बिरामी परे। बुवालाई उपचारको लागि भरतपुर अस्पताल भर्ना गरियो। तर, बुवाको उपचारमै भएभरको पैसा सकियो। त्यसपछि उनी पनि पढाइ छाडेर विदेश जान बाध्य भए।

कृष्ण खड्काको फोटो एल्बम

२०६३ सालमा उनी मलेसिया गए। उनी हाउस किपरको रुपमा कार्यरत थियो। काम राम्रै चलिरहेको थियो। मासिक २५ हजार रुपैयाँ कमाइरहेका थिए। पढ्न नपाए पनि कमाएर परिवारलाई मद्दत गर्न पाएकोमा उनी सन्तुष्ट थिए। 

विहान काममा जानुअघि उनी कसरत गर्थे। २०६७ मंसिर २४ गते सदा झैं उनी कसरत गर्दै थिए। उनले टाउकोले भुइँ टेकेर खुट्टा आकाशतर्फ फर्काइरहेका थिए। अचानक उनको सन्तुलन बिग्रियो र उनी लड्न पुगे। लड्दा उनको मेरुदण्डको नशा चुँडियो। घाँटीबाट मुनिको भाग पक्षघातग्रस्त भयो।

उनलाई साथीहरूले अस्पताल लगे। उनी कोमामा पुगेछन्। तीन महिनासम्म अस्पतालमा अचेत भई लडे। 

कृष्ण कोमामा पुगेको खबर घरपरिवारले थाहा पाइसकेको थियो। उनका दाइ जंगबहादुर खड्का कोरिया गएको ३ महिना पुगेको थियो। उनी नेपाल फर्के। र, नेपाल सरकार, कृष्ण काम गर्न गएको कम्पनी र विभिन्न संस्थाको पहलमा ११ महिनापछि भाइलाई नेपाल ल्याए। 

मलेसियामा ११ महिना लाश झैं भई अस्पतालमा पल्टिँदा उनको शरीरभरि घाउ भएको थियो। “घाउ पाकेर पूरै जीउ ड्वाङ– ड्वाङती गन्हाउँथ्यो, शरीरमा किरा परिसकेको थियो,” उनी भन्छन्। 

आफुजस्तै साथिभाईहरुसँग कृष्ण खड्का

नेपालमा आएपछि पनि कृष्णको उपचार जारी भयो। घाउ बिस्तारै निको हुँदै गयो। तर, शरीर भने मृतप्रायः नै रह्यो। उनी भन्छ्न, “भोक लागेको समेत थाहा पाउँदिनँ। शरीर त मरिसके जस्तो हुन्छ।”

कृष्ण ११ महिनासम्म बोल्नै सकेनन्। घाँटीमा प्वाल थियो। बोल्दा बाहिर सास आउँथ्यो। अहिले भने त्यो घाउ पनि सञ्चो भएको छ।

साथीको साहारा

नेपाल आउँदा कृष्णले हरेश खाइसकेका थिए। तर, उनले खगेन्द्र नवजीवन गृहमा केही विदेशी साथीहरू भेटे, जसले उनलाई सहयोग मात्रै गरेनन्, अरुका लागि बाँच्ने प्रेरण समेत थिए। 

उनी भन्छन्, “मलाई हौसला दिने साथीहरु नहुँदा हुन् त म कस्तो हुन्थेँ, भन्न सक्दिनँ।” 

उनी भन्छन्, “म अरुकै कारण यो संसारमा जीवित छु भने मैले पनि अरुको लागि केही गर्नुपर्छ भन्ने आँट भयो। म अरु केही गर्न सक्दिनँ, बोल्न मात्रै सक्छु। बोलेर नै काम गरिरहेको छु।” 

कृष्ण मज्जाले अङ्ग्रेजीमा कुरा गर्न सक्छन्, जसले उनलाई विभिन्न देशका मनकारी मित्रहरूसँग नेटवर्किङ गर्न सहज भएको छ। उनी अहिले स्पेनिश भाषा पनि सिकिरहेका छन्। 

उनी भन्छन्, “मलाई कुनै शारीरिक पीडा छैन, तर गाउँघरको याद आउँछ। जन्मगाउँको सम्झनाले सताउँछ। मुटुको शारीरिक पीडा पो थाहा पाउँदिनँ, मन रोएको त थाहा पाउँछु नि!”

उनी भन्छन्, “हरदम गाउँका साथीभाइ सम्झिन्छु, तर उनीहरू आ–आफ्नै दुनियाँमा व्यस्त छन्।”

Published Date: Monday, 5th August 14:59:51 PM