मंगलबार, साउन २७, २०७७

पछिल्लो सय वर्षमा नेपालको सामाजिक एवं राजनीतिक घटना–क्रममा सबैभन्दा ठूलो प्रभाव कसको छ? 

चन्द्र शमशेर ? राजा महेन्द्र ? वीपी कोइराला ? वा, प्रचण्डको? 

तर, अमेरिकी वातावरणीय इतिहासकार टम रोबर्ट्सनको भनाई भने भिन्न छ – लामखुट्टे!

उनी भन्छन्, ‘धेरैलाई लाग्न सक्छ – चन्द्र शमशेर वा राजा महेन्द्रजस्ता राजनीतिक व्यक्तित्वले सन् १९०० पछिको नेपालमा सबैभन्दा ठूला परिवर्तनहरू ल्याए । तर, पछिल्लो सय वर्षमा नेपालमा कसैले ठूल्ठूला परिवर्तनहरू ल्याएको छ भने त्यो हो – एनोफिलिस मिनिमस प्रजातिको लामखुट्टे !’

यो लामखुट्टेका कारण नेपालको तराई क्षेत्रमा कुनै बेला औलो अर्थात् मलेरियाको महामारी थियो । औलोका कारण पहाडका मानिसहरू तराई झर्न सक्दैनन् थिए । तराईतिर फर्केर औंलामात्रै देखाउँदा पनि औलो सर्छ भन्ने धारणा उनीहरूमाझ व्याप्त थियो। 

काठमाडौैंको सिंहासनमा बस्ने शासकहरू घोडा चढेर अहिलेको मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी पहाडको धनकुटा, तेह्रथुम र इलामसम्म पुग्थे । तर, मेची राजमार्ग हुँदै झापा, मोरङ र सुनसरी घुम्न सक्दैनन् थिए। 

शासकहरू तराईको घना बन, उर्वर जमिन र जङ्गली हात्तीतिर आँखा लाउँथे । तर, औलोको डरका कारण ती प्राकृतिक स्रोतको दोहन गर्न सक्दैनन् थिए । यसैले, नेपालको तराई क्षेत्र नेपालकै शासकहरूका लागि समेत ‘फरबिडन किङडम’ झैं थियो। 

औंलोको महामारीले जसरी सन् १९५०–६० को दशक अघिको नेपालको इतिहासलाई प्रभावित गर्‍यो, औलो उन्मूलनले त्यसरी नै त्यसपछिको नेपालको बसाइँसराइँ, जनसांख्यिक संरचना, सामाजिक सम्बन्धहरू, आदिवासी थारुको स्वायत्तता र राजनीतिक घटनाक्रमहरूलाई समेत प्रभावित पार्‍यो।

औलो उन्मूलनपछि तराईका उर्वर फाँटहरू शासकहरूले आफ्ना भाइभारदारहरूलाई बिर्ता र बकस दिए । तराई हुँदै पूर्वी–पश्चिम राजमार्गको रेखाङ्कन भयो । पहाडबाट झरेकाहरूले राजमार्ग आसपास बस्ती बसाए । पहाडबाट मात्र नभई भारतका सीमावर्ती सहरहरूबाट पनि मानिसहरू बसाइँ सरी आए । मलेरियासँग जुध्दै तराईका खेतहरू आफ्नो खुन र पसिनाले सिञ्चित गरेका आदिवासीहरू किनाराकृत भए । माओवादी युद्धको विसर्जनसम्म आइपुग्दा मधेस एउटा राजनीतिक शक्तिको रुपमा उदायो।

तराई–मधेस मात्र होइन, सिङ्गो नेपालकै आधुनिक इतिहासमा यति धेरै प्रभाव पार्ने ठूल्ठूला घटनाहरूको जड टम रोबर्ट्सनले भने झैं एनोफिलिस मिनिमस प्रजातिको लामखुट्टे नै रहेको देखिन्छ।

नेपालको औलोको महामारीका विषयमा थुप्रै अध्ययन–अनुसन्धान गरेका रोबर्ट्सन सन् १९९० मा पहिलोपटक विद्यार्थीका रुपमा काठमाडौं आएका थिए । पछिल्लो ३० वर्षमा १० वर्ष उनले नेपालमै बिताएका छन्। 

पछिल्लोपटक तीन वर्षअघि फुलब्राइट कमिसन नेपालका कार्यकारी निर्देशकका रुपमा आएका रोबर्ट्सन हाल काठमाडौंमै रहेर व्यक्तिगत अध्ययन–अनुसन्धानमा सक्रिय छन्। 

नेपालको आधुनिक इतिहासलाई यति धेरै प्रभाव पार्ने एनोफिलिस मिनिमस लामखुट्टेको बारेमा जान्न–बुझ्न रोबर्ट्सनभन्दा अर्को भरपर्दो स्रोत–व्यक्ति भेटिँदैन । यसैले, म उनलाई भेटेरै औलोको इतिवृतान्त सुन्न चाहन्थे। 

तर, कोरोनाभाइरस महामारीका कारण रोबर्ट्सनसँग प्रत्यक्ष भेट्ने इच्छा पूरा भएन । मैले उनलाई फोन गरेँ । फोनमै मेरो नमस्कार फर्काउँदै उनले प्रष्ट नेपालीमा सोधे – ‘नमस्ते, को बोल्नु भयो?’

तीन दशकदेखि नेपाल आउँदै–जाँदै गरेका र तराईका विभिन्न क्षेत्रका मानिससँग प्रत्यक्ष अन्तक्र्रिया गरी अध्ययन–अनुसन्धान गरेका रोबर्ट्सनले प्रष्ट नेपाली बोल्नु कुनै आश्चर्यको विषय थिएन । तर, उनीसँग औलोका बारेमा भने धेरै आश्चर्यजनक तथ्य र एनेक्डटहरू रहेछन्। 

सञ्चो–बिसञ्चो सोध्नासाथ मैले रोबर्ट्सनसँग औलोको इतिवृत्तान्त उधिन्न थालेँ । आफ्नो मन पर्ने विषयमा कुरा गर्न पाउँदा रोबर्ट्सन पनि उत्साहित हुँदै बोल्न थाले। 

रोबर्ट्सनका अनुसार, सन् १९२० तिर मात्र नेपालमा औलो भित्रिएको थियो । सुरूमा फाट्टफुट्ट मात्रै औलोका बिरामीहरू भेटिन्थे । सन् १९५० को दशकमा भने औलोले महामारीको रुप लियो। 

औलो एक खालको हुँदैन, यसका विभिन्न प्रकार छन् । नेपालमा खासगरी दुई प्रकारका औलो देखिएको रोबर्ट्सन बताउँछन्। 

‘भिभ्याक्स र फाल्सिपेरम औलो नेपालमा देखिएको थियो । यीमध्ये फाल्सिपेरम केही खतरनाक हुन्छ,’ उनी भन्छन्, ‘फाल्सिपेरमले एनीमिया निम्त्याउँछ । यसको समयमै उपचार भएन भने मिर्गी, अन्धोपन, दिमागी समस्या हुनुका साथै मानिसको मृत्युसमेत हुन्छ।’

सन् १९५० मा तराईका घरका भित्तामा लामखुट्टे मार्ने स्प्रे छर्कदै । फोटो : अमेरिकाको राष्ट्रिय अभिलेखालय, कलेज पार्क, म्यारिल्याण्ड

सन् १९५० मा तराईका घरका भित्तामा लामखुट्टे मार्ने स्प्रे छर्कदै । फोटो : अमेरिकाको राष्ट्रिय अभिलेखालय, कलेज पार्क, म्यारिल्याण्ड

‘एनोफिलिस फ्लुभियाटिलिस र एनोफिलिस मिनिमस नामक दुई प्रजातिका लामखुट्टेले नेपालमा औलो ल्याएका हुन् । यी प्रजातिका लामखुट्टेले तराईका सफा पानीको नजिकै प्रजनन गरेर औलो फैल्याएका थिए । यी लामखुट्टेहरु नेपालको तराईमा मात्र नभएर उपत्यका र बेँसीहरुसम्म पुगेका थिए,’ उनले नेपालमा औलो भित्र्याउने लामखुट्टेको कहानी सुनाए। 

तराईको सबै ठाउँमा थिएन औलो

अहिले पनि अधिकांश मानिसले सोच्छन्, तराईका जुनसुकै ठाउँमा औलोको जोखिम उत्तिकै थियो । तर, नेपालीको यो सोचाई गलत भएको रोबर्ट्सन बताउँछन् । त्यसो हो भने कस्ता ठाउँमा चाहिँ औलोको जोखिम थियो त ? रोबर्ट्सन भन्छन्, ‘मानिसहरूले सोचेजस्तो तराईंका सबै ठाउँमा औलोको जोखिम थिएन । तराईका पनि केही ठाउँमा मात्र औलोको प्रभाव थियो, जस्तो कि जंगलको छेउमा भएका बस्तीहरू।’ 
 
त्यतिखेर खासगरी तराईंका पनि विराटनगर र नेपालगञ्ज क्षेत्रमा औलोको प्रकोप बढी हुने धेरेलै आँकलन गरेका थिए, तर ती क्षेत्रमा सोचेभन्दा कम औलो फैलिएको उनले सुनाए । उनी भन्छन्, ‘ती क्षेत्रमा फैलिएको औलो त्यति घातक थिएन, सामान्य औलो मात्र थियो ।’ नेपालको तराईमा मात्र नभई औलो हिमाली क्षेत्रका उपत्यकाहरू र बेँसीहरुमा देखिएको थिए। 

चितवन र सिन्धुलीलगायतका नेपालको चुरे क्षेत्र वरपरका बस्तीहरूमा भने खतरनाक खालको औलो देखिएको रोबर्ट्सन बताउँछन् । उनी भन्छन्, ‘ती क्षेत्रमा अव्यवस्थित बसोबास भएकाले खतरनाक फाल्सिपेरम औलो देखिएको हो।’

फाल्सिपेरम औलो एनोफिलस मिनिमस लामखुट्टेको टोकाइबाट सर्छ । यो लामखुट्टै एकदमै सानो हुने भएकाले मानिसले यसले टोकेको पत्तै पाउँदैनथे, त्यसले पनि यसलाई खतरनाक बनाएको तर्क रोबर्ट्सनको छ। 

औलोबाट बच्न रातभर जाग्राम

‘नेपालमा औलो सार्ने मुख्य दुई एनोफिलिस फ्लूभियाटिलिस र एनोफिलिस मिनिमस लामखुट्टेले राति मात्र मानिसलाई टोक्थ्यो । त्यसैले बर्खाको समयमा चुरे क्षेत्रका मानिसहरू औलोबाट बच्न रातभर जाग्राम बस्थे,’ रोबर्ट्सनको अनुसन्धानको अनुभव बोल्यो । उनले सुनाए ‘त्यो बेला तराईका मानिसहरू धेरै डराएका थिए, त्यसैले लामखुट्टे लाग्ने ३–४ महिना रातभर जागै बस्थे र दिउँसो सुत्थे।’

झुल प्रयोग गर्ने, मस्कुइटोनेट, कुइनाइन प्रयोग गरेर औलोबाट बच्न सकिन्थ्यो । तर, यो अधिकांश नेपालीको पहुँचभन्दा बाहिर भएको रोबर्ट्सनको बुझाई छ । ‘धेरैलाई यसका बारेमा थाहै थिएन, थाहा भए पनि उनीहरुसँग झुल र मस्कुइटेनेट किन्न सक्ने अवस्था नै थिएन,’ उनी भन्छन्, ‘जो मानिसहरु भारत जान सक्थे, उनीहरूले मात्र यो प्रयोग गरेका थिए।’

एकल प्रयास असफल, संयुक्त प्रयास सफल 

नेपालको तराई, चुरे र उपत्यका मानिसको जनजीवन नै विथोल्ने औलो नियन्त्रणका लागि विभिन्न प्रयासहरू भएका छन् । नेपाल सरकार, अन्य विदेशी तथा स्वदेशी एनजिओ र आएनजिओहरूले पनि आ–आफ्नो तर्फबाट प्रयास गरेका थिए। 

औलो नियन्त्रणको प्रयास बारे रोबटर््सन भन्छन्, ‘सर्वप्रथम अमेरिकाले औलो नियन्त्रणको सुरु ग¥यो, सुरुमा यो कार्यक्रम विराटनगर, पोखरा र काठमाडौं लगायतका ठाउँमा लागू गरियो ।’ अमेरिकाले सुरु गरेको यो कार्यक्रम त्यति प्रभावकारी नभएको उनको बुझाई छ। 

‘अमेरिकाले औलो नियन्त्रणको कार्यक्रम सुरु गरेको केही समयपछि नै विश्व स्वास्थ्य संगठनले पनि नेपालमा औलो नियन्त्रणका लागि काम गर्‍यो । विश्व स्वास्थ्य संगठनले खतरनाक औलो देखिएको चुरे क्षेत्रको चितवनबाट औलो नियन्त्रणको अभियान थाल्यो । विश्व स्वास्थ्य संगठनको यो अभियान चाहिँ अमेरिकाको भन्दा प्रभावकारी देखियो,’ रोबर्ट्सनले औलो नियन्त्रणको प्रयासको फेहरिस्त सुनाए। 

अमेरिका र विश्व स्वास्थ्य संगठनको औलो नियन्त्रणको प्रयासले पूर्व रुपमा लामखुट्टे नियन्त्रण हुन नसकेको उनी बताउँछन् । औलो नियन्त्रणका लागि प्रयोग गरिएको किटनाशक र अन्य औषधीले लामुखट्टेमा झन प्रतिरोधक क्षमताको विकास गरेको उनको बुझाई छ।

औलो नियन्त्रणका एकल प्रयासहरु असफल भएपछि नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र अमेरिकाले संयुक्त रुपमा औलो नियन्त्रणको अभियान चलाएको उनले बताए । उनी भन्छन्, ‘यो अभियान सन् १९५९मा सुरु भएको थियो । यो ५–६ वर्षसम्म चलेको थियो । यो संयुक्त प्रयास चाहिँ प्रभावकारी भयो । औलो पूर्ण रुपमा निर्मूल नभए पनि यो अभियान अन्य धेरै देशको भन्दा सफल भएको थियो।’

Published Date: Monday, 11th May 13:40:54 PM