काठमाडाैं, असाेज १२ : जीवनका ८२औं वसन्त पार गरिसकेका प्रेमनाथ जोशी यतिखेर धोबीचौरस्थित आफ्नै घरको निजी पुस्तकालयमा रमाउँछन्। उनको पुस्तकालयमा सैयौँ किताब, म्यागजिन र पुराना पत्रपत्रिका छन्।

काठमाडौं प्रेसको नियमित शृंखला ‘उहिलेको नेपाल’का लागि कुरा गर्न हामी गत हप्ता उनको घरमा पुगेका थियौँ। उनी पुस्तकालयमै थिए। सुरुमा पुस्तकबारे चर्चा भए। रविन्द्रनाथ टेगोरको ‘गीताञ्जली’ उठाएर उनले भने, ‘यो पनि पढ्नैपर्ने पुस्तक हो, नानी।’

प्रेमनाथको जन्म ललितपुरको पाटनमा भएको हो। उनका बुवा भीमनाथ जोशी र आमा मनचैत्य कपडाको व्यापारी थिए। त्यसैले उनले बाल्यकाल वा समग्र जीवनमै अभाव वा गरिबी महसुस गर्नुपरेन।

हामीले उनीसँग उनले बाल्यकाल बिताएको काठमाडौं उपत्यकाको बारेमा जिज्ञासा राखेका राख्यौँ। उनले आफ्नो बाल्यकालसँग जोडिएको उपत्यकालाई सम्झने प्रयास गरे।

‘राणाहरू भागेको खबर भारतीय रेडियोबाट सुन्यौं’

२००७ सालअघि उपत्यकाका केही धनाढ्यबाहेक आमनागरिकको घरमा रेडियो थिएन। देशमा रेडियो स्टेसन पनि स्थापित हुन सकेको थिएन। २००३ मंसिरमा हाल विद्युत् प्राधिकरण रहेको भवनबाट रेडियो नेपाल आरम्भ भएको थियो, तर सात–आठ महिना प्रसारण भएर बन्द भयो।

पछि राणाशासनको अन्त्य गर्ने उद्देश्यले २००६ सालमा विराटनगरमा एक आकाशवाणी केन्द्रको स्थापना गरियो। यसको प्रसारण काठमाडौं, दार्जिलिङ, कलकत्ता, गोरखपुर र बनारससम्म सुन्न सकिन्थ्यो। २००७ सालको परिवर्तनपछि उक्त रेडियोलाई विराटनगरबाट काठमाडौंको सिंहदरबार ल्याएर ‘रेडियो नेपाल’को नामबाट प्रसारण सुरु (२००७ साल २०) गरियो।

तस्बिर: सुजल बज्राचार्य ।

प्रेमनाथ आफ्नो बाल्यकाल सम्झन्छन्, ‘म सानो छँदा धेरै धनी–धनीकहाँ मात्र रेडियो हुन्थ्यो। ‘हाम्रो टोल (पाटन)मा एक जनाको घरमा मात्र रेडियो थियो। त्यहाँ जम्मा भई कान थापेर रेडियो सुन्थ्यौँ। त्यतिबेला रेडियोमा भारतका समाचार बढी आउँथे। राणाहरूले देश छाडेर भागेको भन्ने खबर पनि हामीले भारतीय रेडियोबाटै थाहा पाएका हौँ।’

‘टोपी नलगाउनलाई प्रहरीले पक्रन्थ्यो’

देशमा प्रजातन्त्र आउँदा (२००७ सालमा) उनी ११ वर्षका थिए। सानै भएकाले उनलाई आन्दोलनका बारेमा खासै जानकारी भएन। तर, आन्दोलनका बेला धेरैले जुलुस निकालेको उनलाई सम्झना छ। त्यतिबेला टोपी नलगाई हिँड्दा गुन्डा भनेर प्रहरीले समाउँथ्यो। ‘टोपी नलगाउने र जुल्फी (कपाल) पालेर हिँड्ने मान्छे गुन्डा हुन्छ भन्थे,’ उनी भन्छन्, ‘टोपी नलगाई बाहिर हिँड्नै दिँदैनथे।’

#उहिलेकाे_नेपाल_श्रृंखलामा

‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

‘गाईको बाच्छी पाइन्छ कि भनेर आएको!’

‘एसएलसी दिन १३ दिन हिँडेर काठमाडौं आएँ’

आन्दोलन भएका कारण २००७ सालमा परीक्षा नै नलिई सबैलाई एसएलसी पास गराइएको पनि उनलाई सम्झना छ। जसरी अहिले कोरोनाका कारण गराइयो। उतिबेला परीक्षा नै नदिई एसएलसी पास हुनेहरुको समाजमा चर्चा भएको उनी सुनाउँछन्।

‘रामायण–सीता किताब पढाइन्थ्यो’

उनी स्कुल पढ्दा कक्षा ४ सम्म फस्र्ट बुक (पहिलो किताब) पढाइहुन्थ्यो। जसमा आधारभूत शिक्षाका बारेमा हुन्थ्यो। त्यसपछि ५ र ६ कक्षामा रामायण–सीता नामक किताबको पढाइ भएको उनी सम्झन्छन्। ‘पहिलेको एसएलसी भनेको अहिले स्नातक तह उत्तीर्ण गर्नुभन्दा पनि ठूलो थियो। एसएलसीमा नेपाली, अग्रेंजी, इतिहास, सिभिक्स, गणित, भूगोल लगायत करिब १० वटा विषयमा परीक्षा दिनुपथ्र्यो,’ प्रेमनाथ भन्छन्, ‘त्यसकारण एसएलसीलाई फलामे ढोका पनि भनिन्थ्यो।’

उतिबेला छोरी पढाउने प्रचलन खासै थिएन। आफ्नो विद्यालय कालभर कुनै केटी मान्छे आफूले पढ्ने विद्यालयमा पढ्न आएको उनले देखेनन्। उनी भन्छन्, ‘पद्मकन्या क्याम्पसको स्थापनापछि मात्र महिलाहरू पढ्न सक्रिय हुन थालेका हुन्।’

‘चुरोट खान नपुग्ने तलब भएर जागिर गरिनँ’

प्र्रेमनाथले २०१३ सालमा त्रि–पद्म विद्याश्रमबाट एसएलसी उत्तीर्ण गरे। त्यस्तै, ०१६ सालमा आइए, २०२१ मा डिप्लोमा र २०२७ मा राजनीतिशास्त्रमा स्नातकोत्तर गरे। ‘तीन दाजुभाइमध्येमा म साइँलो हुँ। म आइए पास भएका बेला घरमा बुवाले हजारौँ रकम खर्च गरेर सबैलाई भोज खुवाउनुभएको थियो,’ प्रेमनाथ भन्छन्, ‘मैले बिए पास गर्दा कक्षामा जम्मा पाँच विद्यार्थी थिए। त्यसमा तीनजना केटी थिए, सबै विवाहित। उनीहरूसँग बस्नै लाज लाग्थ्यो।’

यत्रो पढेर पनि उनले जीवनमा जागिर गरेनन्। जागिर नपाएर होइन, तलब निकै कम भएर। उनले एसएलसी दिने समयमा पढेका मान्छे निकै कम थिए। त्यसैले एसएलसी दिनेबित्तिकै जागिरका लागि घरमै लिन आउँथे। तर उनलाई जागिरमा कुनै रुचि जागेन।

‘०१५ सालमा सेक्सन अफिसरको रूपमा जागिर खान मलाई बोलाइएको थियो, तर तलब जम्मा एक सय ७५ मात्र थियो,’ प्रेमनाथ भन्छन्, ‘मलाई चुरोट खान पनि नपुग्ने पैसाका लागि किन जागिर खाने भनेर गइनँ।’

२०१९ सालमा उनी मजदुर संगठनको केन्द्रीय महासचिव पनि भएका थिए। त्यसपछि ‘जोशी पोलिट्री’ नाममा कुखुरा उद्योग खोलेर व्यवसायमा लागे। ०३६ सालतिर उनको रुचि पत्रकारितातर्फ बढ्यो।

प्रजातन्त्रको उदयसँगै नेपालमा पत्रकारितालाई निकै विशिष्ट रूपमा हेरिन्थ्यो। २००८ साउन २१ गते तत्कालीन गृहमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले भनेका थिए, ‘वर्तमान नेपाल सरकारको छापा–स्वतन्त्रता हनन गर्ने नीति छैन। सरकारलाई बेफाइदा हुने असत्य समाचार प्रसारकप्रति सरकार चुप लागिरहने छैन।’

बिपीको यस भनाइले संकेत गर्छ, तत्कालीन अवस्थामा छापा स्वतन्त्रताले टाउको उठाउन खोज्दै थियो। यसकै प्रभावका कारण प्रेमनाथ पनि अन्ततः पत्रकारितामा आए। उनले ०३६ सालमा ‘प्रेरणा मासिक’ दर्ता गरी विकृतिविरुद्ध आवाज उठाउन थाले। सो पत्रिका अहिले ‘न्हुँ प्रेस्टिज नेपाल’ नाममा अरुले चलाइरहेको उनी बताउँछन्। २०३७ सालमा उनले ‘जनदृष्टि साप्ताहिक’ दर्ता गरे। यसरी जीवनका ४० वर्ष उनले पत्रकारितामा व्यतीत गरे। ‘तर पत्रिकालाई व्यवस्थित रूपमा चलाउन नसक्दा मैले भएको सम्पत्ति पनि सिध्याएँ,’ उनी भन्छन्, ‘पत्रकार भएँ, पत्रकारको हितका लागि अनेक काम गरेँ तर पत्रिकालाई निरन्तरता दिन सकिनँ।’

पछिल्ला ४० वर्षयता उनी लाजिम्पाट, धोबीचौरमा बस्दै आएका छन्। उनको रहर वा सोख अहिले पनि लेखपढमै छ। अहिले पनि आफूले उद्घोषकको तालिम दिने तथा लेख लेख्ने गरेको उनी बताउँछन्।

घरमै इनार, खोलामा पौडी

प्रेमनाथको घरछेउमै इनार बनाइएको थियो। त्यसबाट प्रशस्तै पानी आउँथ्यो। उनको टोलमा कुल सातवटा इनार थिए।

#उहिलेकाे_नेपाल_श्रृंखलामा

युवराज वीरेन्द्रलाई भनेँ, ‘हजुरले फेरि भात खुवाएजस्तो गर्नुपर्‍यो’

‘उलिनकाठ चढेर पटना पढ्न गएँ, महिनावारी भएपछि फर्किएँ’

राधादेवी जोशी

राजकुमारी श्रुति फूल किन्न आइन् र भनिन्- ‘सरकार होइन, छोरी भन्नुस्, आमा’

उतिबेला वागमती नदी निकै सफा थियो। उनी शंखमूलमा पौडी खेल्न आउँथे। ‘काठमाडौंको मान्छे लैनचौरस्थित पोखरीमा र पाटनको मान्छे शंखमूल र कुम्भेश्वरमा पौडी खेल्न जान्थे,’ उनी भन्छन्, ‘तर बस्ती बढेसँगै लैनचौरस्थित पोखरी लोप भयो।’

त्यसो त घरमा धारा पनि आएको थियो। ‘धारामा सुन्दरीजल र फर्पिङको पानी आउँथ्यो,’ उनी भन्छन्, ‘१७ सालतिर हामीले घरमा धारा जोड्यौँ, तर १० वर्षसम्म पानी नआएर पाइप यत्तिकै पुरियो।’

‘सलमरु बग्गी वल’

गाउँसमाजमा बालबालिका जे–जसरी खेल्छन्, त्यसले समाजको अवस्था पनि चित्रण गर्छ। प्रेमनाथ सानो छँदा गुच्चा खेल्थे। त्यस्तै, बट्टाको बिर्कोको चक्का बनाएर पाटनदेखि डिल्लीबजारसम्म खेल्न आउँथे। ‘त्यतिबेला मोटर थिएनन्। मोटरसाइकल पनि एक–दुई वटा मात्र देखिन्थ्यो। मोटरका लागि बाटो पनि थिएन,’ प्रेमनाथ भन्छन्, ‘मोटर ल्याउँदा बोकेर ल्याएको भन्ने सुनेको थिएँ, तर देखिनँ। मोटर बोकेर ल्याउँदा सलमरु बग्गी वल अर्थात् घोडा नभएको बग्गी आयो भन्थे।’

मन्दिरै मन्दिरको सहर काठमाडौं खाल्डो पहिले निकै रमणीय थियो। यहाँका नदीखोला सफा थिए।

त्यसै होइन, भानुभक्तले ‘कान्तिपुरी नगरी’ कविता लेखेको–

चपला अबलाहरू एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा।
हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी।।

...

रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी।।

अहिले विकाससँगै काठमाडौंको रूप फेरिएको छ। हामी पुरानो काठमाडौंको कथा खोज्न चाहन्छौँ। आधुनिक विकास र परिवर्तन सँगै काठमाडौंको पुरानो माटोको सुगन्ध फर्काउन चाहन्छौँ। त्यसका लागि हामीले पाका मानिसबाट कथा सुन्नुपर्छ। मानिसको कथाले समाज र समयको चित्र बोल्छ। र, मानिसको कथा घर, परिवार, समाजसँग जोडिएर सुरु हुन्छ, तर प्रेमनाथले विवाह, घरपरिवारका बारेमा त्यति बोल्न चाहेनन्।

(‘उहिलेको नेपाल’ स्तम्भमार्फत हामीले ८० वर्ष उमेर हाराहारीका हजुरबा र हजुरआमाबाट नेपाली समाजको कथा खोतल्ने प्रयास गरेका छौँ। तपाईंहरूसँग पनि आफ्नो जीवनका कथा भन्न सक्ने हजुरबा–हजुरआमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामीले प्रत्येक हप्ता ‘उहिलेको नेपाल’ स्तम्भ प्रकाशित गर्नेछौँ। – सम्पादक।)

#उहिलेकाे_नेपाल_श्रृंखलामा

 

 

Published Date: Tuesday, 28th September 2021 5:37:00 pm